बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तीनको ज्यान जानेगरी भएको दंगामा इमरान खानका भतिजा पनि संलग्न भएको खुलासा

शनिबार, २८ मङ्सिर २०७६, १५ : ५२
शनिबार, २८ मङ्सिर २०७६

एजेन्सी । पाकिस्तानी प्रहरीले लाहोरको अस्पतालमा हुलदंगामा संलग्न भएको आरोपमा देशका प्रधानमन्त्री इमरान खानका भतिजाको खोजी गरिरहेको छ । 

इमरान खानका भतिजा हसन नियाजी वकिल हुन् ।

केही दिनअघि लाहोरको ‘पञ्जाब इस्टिच्युट अफ कार्डियोलोजी’मा वकिलहरुको ठूलो समूहले हिंसात्मक तोडफोड गरेका थिए । 

चिकित्सकसँगको एक विवादका कारण वकिलहरु हिंसात्मक प्रदर्शनमा उत्रिएको बताइन्छ । त्यस क्रममा अस्पतालमा आगजनी भएको थियो । 

सुकिला सुटटाई लगाएका वकिलहहरुले अस्पतालको स्टाफमाथि हात पात गरिरहेको र अस्पताल हातामा रहेका सम्पत्तिमा क्षति पु¥याइरहेका तस्बिरहरु सार्वजनिक भएका थिए । 

शुक्रबार लाहोर प्रहरीले घटनापछि फरार रहेका खानका भतिजाको घरमा छापा मारेको थियो । तर प्रहरीले उनलाई फेला पार्न सकेन । 

लाहोरको अस्पतालमा दंगा साम्य नभएपछि दंगा प्रहरी बोलाउनु परेको थियो । तोडफोडमा उत्रिएका नियाजीका तस्वीर टेलिभिजनहरुमा देखिएको थियो । 

मानिसहरुले समाजिक संजालमा हसन नियाजीको फोटो तथा भिडियो शेयर गर्दै उनको आलोचना गरेका थिए । 

हसन आफैले एक ट्वीटमा लाहोरको दंगामा आफ्नो संलग्नतालाई स्वीकार्दै घटनामा संलग्न भएकोमा पछुतो व्यक्त गरेका थिए । 

अक्सर ट्वीटरमार्फत विभिन्न विषयमा टिप्पणी गरिरहने इमरानले भने हालसम्म यस विषयमा केही उल्लेख गरेका छैनन् । 

हुलदंगा हुँदा विभिन्न टिभी च्यानलले गरेका लाइभ फुटेजहरुमा इमरान खानका भतिजा कुटपिट र प्रहरीको भ्यानमा आगजनी गरिरहेका देखिएका थिए । 
तर पछि प्रहरीको रिपोर्टमा उनको नाम नपरेपछि मानिसहरुले आश्चर्य व्यक्त गरेका थिए । 

दंगा प्रहरीको आगमनपछि अधिकांश वकिललाई पक्राउ गरिँद्या नियाजी कसरी रिहा भए प्रहरीले बताएको छैन । केहीले प्रधानमन्त्रीको नातेदार भएकाले उनी मुक्त भएको त होइन भन्ने प्रश्न गरिरहेका छन् । 
विपक्षी दलहरुले नियाजीलाई तत्काल पक्राउ गर्न माग गरिरहेका छन् । 

प्रहरीले दंगा नियन्त्रण गरेपछि ८० वकिललाई पक्राउ गरेको थियो, जसमध्ये ४६ माथि थप अनुसन्धान भइरहेको प्रशासनले बताएको छ । 

शुक्रबार वकिलहरुको संगठनले हिंसा नियन्त्रण गर्ने क्रममा प्रहरीले आफ्ना सहकर्मीमाथि दुरव्यवहार गरेको भन्दै देशव्यापी हडतालको आह्वान गरे । समाजका विभिन्न तप्काबाट यस हड्तालको आलोचना भएको थियो ।

किन भएको थियो हिंसा ? 
वकिलहरुले अघिल्लो महिना लाहोरको मुटु अस्पतालले आफ्ना सहकर्मीमाथि दुर्व्यवहार गरेको आरोप लगाइरहेका छन् ।  

पहिलेदेखि रुष्ट वलिकहरु तब चिढिए जब अस्पतालका एक चिकित्सकले वकिलहरुमाथि हासो गर्दै एक समाजिक संजाल पोस्ट गरे । 

भिडियो सार्वजनिक भएको भोलिपल्ट आक्रोशित वकिलहरु अस्पताल पुगेका थिए । त्यहाँ उनीहरु स्टाफ पिट्ने, उपकरणहरु तोडफोड गर्ने कार्यमा उत्रिए । 
चिकित्सकहरु आक्रमणबाट ज्यान जोगाउन अत्यन्त गम्भीर अवस्थाका विरामीलाई समेत छाडेर भागेका थिए । 

अस्पताल स्रोतका अनुसार वकिलहरुको आक्रमणको क्रममा कम्तिमा तीन विरामीको ज्यान गएको छ । ज्यान जाने तिनै जना सघन उपचार कक्षमा थिए । 

प्रशासनका अनुसार दंगा प्रहरीले दुई घण्टा लगाएर वकिलहरुको हिंसा रोकेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप