शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संसद् सेवा दिवस सम्पन्न : यी हुन संसद सेवा सर्वोत्कृष्ट र उत्कृष्ट पुरस्कार पाउनेहरु

शनिबार, २८ मङ्सिर २०७६, १९ : २०
शनिबार, २८ मङ्सिर २०७६

काठमाडौं । देशका यावत् समस्या समाधान गर्ने नीति निर्माताका साथमा रहेर भूमिका प्रदर्शन गर्दै आएको सङ्घीय संसद् सेवाका कर्मचारीले शनिबार १३औँ संसद् सेवा दिवस नयाँ बानेश्वरस्थित संसद् भवनमा भव्यताका साथ मनाए ।
 
उच्च पदाधिकारीका साथमा रहेर काम गर्न पाए पनि आफ्ना समस्या र चुनौतीको तत्कालै सुनुवाइ नहुने प्रवृत्ति र आकर्षण नहुँदा सेवा नै छाडेर जाने मनोवैज्ञानिक स्थितिमा रहनुपरेको गुनासो उनीहरुले गरे । 

कार्य र जिम्मेवारी निजामती सेवाभन्दा फरक प्रकृति भएको तथा अन्तरराष्ट्रिय अभ्यास र प्रयोगमा समेत संसद्लाई विशिष्ट र विशेषज्ञसहितको स्वायत्त सेवाका रुपमा विकास गर्ने हेतुले विसं २०५८ मङ्सिर २८ गते संसद् सेवा ऐन जारी भएको थियो ।

संसद् सेवालाई विशिष्टकृत सेवाको रुपमा विकास गर्न अन्य देशले अभ्यास गरेझै यसका काम कारवाहीलाई अनुसन्धानमा आधारित बनाउन नितान्त आवश्यक रहेको विज्ञहरुको भनाइ छ । 

व्यवस्थापनको नवीन मान्यता अनुरुप कर्मचारीलाई उत्प्रेरित गरेर मात्रै उद्देश्य उन्मुख गराउन सकिन्छ भन्ने मान्यता एवं हालसम्मका अनुभव र अन्तरराष्ट्रिय अभ्यासले संसद् सेवाभित्रै प्रभावकारी प्रशिक्षण संयन्त्रको विकास गर्नुपर्ने आवश्यकतामाथि उनीहरुले जोड दिएका छन् ।

 समारोहमा २०७५÷०७६ मा उत्कृष्ठ कार्यसम्पादन गर्ने चार जना राष्ट्र सेवकलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो ।

एक लाख नगद राशीको संसद् सेवा सर्वोत्कृष्ट पुरस्कार उपसचिव दशरथ धमलाले प्राप्त गरे भने ७५ हजार नगदसहितको संसद् सेवा उत्कृष्ट पुरस्कार नायब सुब्बा रेणुका सुवेदीले प्राप्त गरे । 

त्यस्तै जनही  ५०÷५० हजार राशीको संसद् सेवा पुरस्कार  कार्यालय सहयोगी जङ्गबहादुर मगर र प्राविधिक गम्भीरमान सिंहले प्राप्त गरेका छन् । 

समारोहलाई सम्बोधन गर्दै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सांसद र कर्मचारी संयुक्त प्रयासमा मात्र संसद् र संसदीय समितिलाई प्रभावकारी तुल्याउन सकिने भएकाले एकआपसमा हातेमालो गरी एक भएर अघि बढ्नुपर्ने आवश्कतामाथि जोड दिए ।

“सरकारलाई जनताप्रति उत्तरदायी बनाउने भूमिकामा रहेको संसद्का काम कारवाही र गतिविधिलाई परिणाममुखी तुल्याउन कर्मचारीले सक्रिय भएर खटनुपर्दछ”, उनले भ, “सांसद र कर्मचारी एकअर्काका पुरक हुन । एकअर्कोको सहयोग विना पूर्णता हुँदैन । नूनको सोझ मात्रै नगरौँ, जिम्मेवार भएर काम गरौँ ।”

उपसभामुख डा शिवमाया तुम्बाहाङफेले कहिलेकाहीँ केही काम विशेषमा ढिला सुस्ती देखिएपनि समग्रमा संसद् सेवाका कर्मचारीको कामको गति राम्रो रहेको बताइन् । उनले भनिन्, “संसद् सेवाका कर्मचारीकै मेहेनतका कारण संसद्को पाँचौँ अधिवेशनको पूर्वतयारी काम भइसकेको छ, हामी कानून बनाउने थलोमा छौँ, सबै चनाखो भएर कर्तव्य पूरा गर्नुपर्छ, कर्मचारीले गर्ने कामले सांसदको भूमिका प्रभावकारी हुनेछ ।”

संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले संसद् सेवा संसद्को प्रभावकारिता अभिवृद्धि गर्ने महत्वपूर्ण औजार भएकाले यसले खेल्ने भूमिकाका आधारमा संसद् र संसदीय समितिको  काम कारवाहीको मापन गर्न सकिने बताए । 

सचिव डा भरतराज गौतमले सचिवालमा प्राप्त स्रोत र जनशक्तिका आधारमा सेवा प्रवाहलाई चुस्त तुल्याउने काम भइरहेको जानकारी दिए ।

कर्मचारी सङ्घका अध्यक्ष मेघराज अर्यालले संसद् सेवालाई उत्कृष्ट तुल्याउन कर्मचारीको मनोबल उकास्नेतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताए ।

सो अवसरमा अध्यक्ष तिमिल्सेनाले सङ्घीय संसद् सेवा स्मारिक २०७६ को विमोचन गरे । समारोहमा संसद् दिवसका अवसरमा आयोजित अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने कर्मचारीलाई पुरस्कार एवं प्रमणत्रपत्र प्रदान गरियो । 

सङ्घीय संसद् सेवामा हाल ३५० को हाराहारी जनशक्ति रहेको बताइएको छ । राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त रुप रहको सङ्घीय संसद् मातहत १६ वटा विषयगत समिति रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप