शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राजपा नेपालमा फेरि चर्कियो पश्चिम मधेशको मुद्दा

आइतबार, २९ मङ्सिर २०७६, ०९ : १६
आइतबार, २९ मङ्सिर २०७६

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा पूर्वी मधेश र पश्चिम मधेश बीचमा ठूलो खाडल रहेको छ । पार्टीमा बेलाबेला पूर्वी मधेश र पश्चिम मधेशको विवाद सतहमा आइरहन्छ । राजपा नेपालमा पूर्वी मधेशका नेताहरुको वर्चस्व रहेको छ । यही कारणले पार्टीभित्र असन्तुष्टिहरु देखिने गरेका छन् । राजपा नेपालमा पूर्वी मधेशका नेताहरु हावी बनेको र पश्चिम मधेशलाई हेला गरेको भन्दै हृदयेश त्रिपाठी, वृजेश गुप्ता, ईश्वर दयाल मिश्र जस्ता नेताहरुले त पार्टी नै छाडेका छन् ।

अहिले फेरि पश्चिम मधेशको विषयले पार्टीमा प्रवेश पाएको छ । पश्चिम मधेश खासगरि कपिलवस्तु, बाँके, रुपन्देही, दाङ, कञ्चनपुर, कैलाली लगायतका जिल्लाका नेताहरुले छुट्टै राजनीतिक सम्मेलन गरेका छन् । बाँकेको नेपालगञ्जमा मङ्सिर २७ र २८ गते राजपा नेपालको पश्चिम मधेश प्रथम राष्ट्रिय सम्मेलनको आयोजना गरिएको थियो ।

सो सम्मेलनमा पश्चिम मधेशका राजपा नेपालका अधिकांश नेताहरुको उपस्थिति थियो । यसको नेतृत्व पार्टीका उपाध्यक्ष गोविन्द चौधरीले गरेका थिए । पूर्व मधेशका राजपा नेपालका नेताहरुले पश्चिम मधेशका नेताहरुलाई हेला गर्नुको साथै पुरै पार्टीलाई कब्जामा लिएको गुनासो गरेका थिए ।

उपाध्यक्ष चौधरीले भने, ‘दुई दिनसम्म चलेको पश्चिम मधेश प्रथम राष्ट्रिय सम्मेलनमा अधिकांश वक्ताहरुले पूर्वी मधेशका नेताहरुको आलोचना गर्नुभएको थियो । राजपा नेपाल पूर्वी मधेशका नेताहरुको कब्जामा रहेको छ । राजपा नेपालका अध्यक्षमण्डलका सबैजना नेताहरु प्रदेश २ का मात्र रहेका छन् । अधिकांश पदाधिकारीहरु प्रदेश २ का रहेका छन् । त्यही भएर पश्चिम मधेशका जनता र त्यहाँका नेताहरुसँग विभेद गरेको अधिकांशको गुनासो थियो ।’

राजपा नेपालमै रहेर पश्चिम मधेशका नेतालाई गोलबन्द गरी संगठित भएर अगाडि बढ्नका लागि यो सम्मेलन आयोजना गरिएको उनले बताए । जसरी प्रदेश २ का नेताहरु संगठित भएर पार्टी चलाइरहेका छन्, त्यसरी नै पश्चिम मधेशका नेताहरु संगठित भएर अगाडि बढ्नका लागि यो प्रसास भएको उनले बताए । ‘यो सम्मेलन पार्टीभित्रको छुट्टै पार्टी वा छुट्टै समूह बनाउन नभएर पश्चिम मधेशका जनता, नेता र कार्यकर्ताको बीचमा समन्वय गर्न यो सम्मेलनको आयोजना गरेका थियौँ,’ उनले स्पष्ट पारे । सम्मेलन समापन गर्न ढिलाइ भएको कारण आइतबार साथीहरुसँग छलफल गरेर नेपालगञ्ज घोषणापत्र पनि सार्वजनिक गरिने उनले बताए ।

पार्टी विधान विपरित

यता, पार्टीका वरिष्ठ उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले गोविन्द चौधरी लगायत नेताहरुले यो सम्मेलन गरेर पार्टी विधान विपरित कार्य गरेको दावी गरे । पार्टीमा बार्गेनिङ पावर बढाउन र आफ्नो स्वार्थसिद्ध गर्नका लागि पश्चिम मधेश प्रथम राष्ट्रिय सम्मेलन आयोजना गरिएको उनले आरोप लगाए ।

‘राजपा नेपाल अहिले दुई नम्बर प्रदेशमा मात्र बढी केन्द्रीत रहेको कुरा मलाई पनि थाहा छ । म पनि त्यसको विरोधी नै हुँ,’ उनले भने, ‘तर जुन स्वार्थ लिएर पश्चिम मधेशको सम्मेलन गरियो, त्यो निन्दनीयका साथै पार्टी विधानविपरित छ ।’

कार्यक्रममा आफू पनि निम्ता गरिएको तर अवैधानिक कार्यक्रममा आफू नआउने भनेर जवाफ दिएको उनको भनाइ थियो । ‘पश्चिम मधेश भनेर सम्मेलन गर्ने प्रावधान पार्टीमा विधानमा छैन । बरु प्रदेशस्तरीय भेला गर्न सकिन्थ्यो । पाँच र सातको छुट्टा छुट्टै भेला वा संयुक्त बैठक पनि गर्न सकिन्थ्यो,’ उनले भने ।

सम्मेलनलाई पार्टीको कार्यक्रम भन्दै थुप्रै नेता तथा कार्यकर्तालाई भ्रममा पारिएको दाबी गर्दै उनले सम्मेलनमा पुगेका कतिपय नेताले बीचमै कार्यक्रम छाडेको पनि उनले दावी गरे । दाङ, रुपन्देही, कपिलवस्तु लगायतका जिल्लाहरुबाट नै थुप्रै नेताहरु सम्मेलनमा नगएको उनको दावी थियो ।

उपाध्यक्षद्वय गोविन्द चौधरी र नरसिंह चौधरीले कार्यक्रमबारे केन्द्रलाई कुनै जानकारी दिएका छैनन् । राजपा नेपाल अध्यक्षमण्डलका सदस्य अनिलकुमार झाले कार्यक्रमको बारेमा आफूलाई कुनै जानकारी नरहेको बताए । उनले भने, ‘पार्टीमा यो कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो जस्तो मलाई लाग्दैन ।’

यद्यपी, पश्चिम मधेशमा छुट्टै भेला भएको यो पहिलो होइन । २०७४ साउन २ गते रुपन्देहीको भैरहवामा पनि यस्तै भेलाको आयोजना गरिएको थियो । त्यतिबेला त्यसको नेतृत्व हृदयश त्रिपाठी र सर्वेन्द्रनाथ शुक्लाले गरेका थिए । पूर्व मधेशका नेताहरुले विभेद गरेको र त्यसलाई सच्याइएन भने पार्टीमा विद्रोह गर्ने चेतावनी नेताहरुले दिएका थिए । त्रिपाठी, ईश्वर दयाल मिश्र, वृजेश गुप्ता लगायतका नेताहरुले पार्टीबाट विद्रोह गर्दै अलग नै भइसकेका छन् ।

अहिले पनि नारायणीदेखि पश्चिमका नेताहरु सर्वेन्द्रनाथ शुक्ला, गोविन्द चौधरी, पशुपति दयाल मिश्र, नरसिंह चौधरी, मलमती राणा थारु, कमलेश्वर पुरी, अकवाल अहमद, ओमप्रकाश गुल्जारीलगायतका नेताहरु असन्तुष्ट रहेका छन् ।

अध्यक्ष मण्डलमा रहेका छजना नेताहरु सबै पूर्व मधेशका रहेका छन् । पार्टीमा उनीहरुकै हालीमुहाली रहेको आरोप लाग्दै आएको छ । त्यही भएर असन्तुष्ट पक्षले गत साउन २ गते रुपन्देहीको भैरहवामा भेला गरी पाटीभित्र समावेशी नगरे विद्रोह गर्ने चेतावनी दिएका थिए ।

राजपा नेपालको कार्यसमिति ८१५ जनाको रहेको छ । जसमध्ये करिब ११५ जना मात्र पश्चिम मधेशका रहेका छन् । सो पार्टीमा १३६ पदाधिकारी रहेका छन्, त्यसमध्ये पश्चिम मधेशका १४ जना मात्र परेका छन् ।

राजपासँग २०७० को चुनाव जितेका २५ जना सांसद थिए  (एकजना निलम्बन) । त्यसमध्ये छजनाले मात्र प्रत्यक्ष जितेका थिए । प्रत्यक्ष जितेकामध्ये सर्वेन्द्रनाथ शुक्ला, वृजेश गुप्ता, कमलेश्वपुरी गोस्वामी गरी तीनजना पश्चिम मधेशबाट नै जितेका थिए । यता, राजपा नेपालले पाएको १९ जना समानुपातिक सांसदको सिटमध्ये ४ जना मात्र पश्चिम मधेशलाई दिएको थियो ।

२०७४ को आमचुनावमा राजपा नेपालले प्रदेश २ बाहेक कतै चुनावमा भाग नै लिएन । त्यसैले पश्चिम मधेशमा नेताहरुले चुनाव जितेका छैनन् । पहिलो र दोस्रो चरणको चुनाव आन्दोलनका कारण वहिष्कार गरेको राजपा नेपालले तेस्रो चरणको चुनावमा प्रदेश २ मा मात्र भाग लिएको थियो । यसबाट राजपा नेपालमा रहेका पश्चिमका नेताहरुले निकै आक्रोशित बनेका थिए । त्यही कारणले हृदयश त्रिपाठी राजपा नेपाल छाडेर सूर्य छापबाट चुनाव लडेर जितेका थिए । त्रिपाठीको समूहबाट वृजेश गुप्ताले पनि चुनाव जितेका छन् ।

त्यतिबेला राजपा नेपालले चुनाव वहिष्कार गरेपनि सर्वेन्द्रनाथ शुक्ला पक्षका नेताहरु भित्रभित्रै चुनावका तयारी गरेका थिए । कतिपय ठाउँमा उम्मेदवारी पनि दिएको थियो । तर, राजपा नेपालले त्यसको ‘स्वामित्व’ लिइरहेको थिएन । बहिष्कारका बीच हृदयश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ला, वृजेश गुप्ता लगायतहरु चुनावी अभियानमै थिए ।

पूर्वी मधेश र पश्चिम मधेशमा पर्ने जिल्लाहरु बराबर नै छन् । पूर्वका झापा, सुनसरी, मोरङ, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्ला रहेका छन् । यसलाई कोर मधेशको रुपमा बुझ्ने गरिएको छ । पश्चिम मधेशमा आठ जिल्ला रुपन्देही, कपिलवस्तु, नवलपरासी, बाँके, कैलाली, कञ्चनपुर, बर्दिया र दाङ रहेका छन् । राजपा नेपालमा रहेका अधिकांश नेताहरु दुई नम्बर प्रदेश अर्थात् आठवटा जिल्लाका मात्र रहेका छन् । मधेशीको संख्या पूर्वमा अलि बढी भएपनि राजनीतिक रुपमा पश्चिम मधेश पनि आफैमा बलियो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप