शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजेशको घरमा विप्लव समूहले नै गराएको थियो बम विस्फोट ?

आइतबार, २९ मङ्सिर २०७६, १० : ४६
आइतबार, २९ मङ्सिर २०७६

काठमाडौँ । शुक्रबार मध्यरातमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरका राजेश साहको घरमा बम विस्फोट भयो । बम विस्फोटमा परेर प्रहरी निरीक्षक (इन्सपेक्टर) सहित तीनजनाले ज्यान गुमाए ।

साहसँगै १५ वर्षीय छोरा आनन्द र प्रहरी निरीक्षक अमिर दाहालको ज्यान गएको छ । राजेश र आनन्दको घटनास्थलमै निधन भएको हो भने इन्सपेक्टर दाहालको उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै बम विस्फोटमा परेर ४ जना घाइते भएका छन् । राजेशका बाबु भिखारी, छोरा प्रकाश, छोरी अञ्जली र प्रहरी जवान रिजनाथ महतो घाइते भएका हुन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आखिर कसले राख्यो त साहको घरमा बम ?

साहको घरमा कसले बम विस्फोट गरायो भनेर यतिबेला विभिन्न अड्कलबाजी भइरहेको छ । स्थानीयका अनुसार राजेशले रकम लगानी गर्ने र व्यापार व्यवसाय गर्ने भएकाले ऋण लिनेहरूबाटै विस्फोट गराइएको हो कि भन्ने आशङ्का छ ।

यता प्रहरीको प्रारम्भिक अनुसन्धानबाट साहको घरमा बम राख्ने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताको संलग्नता रहनेसक्ने आशङ्का गरेको छ ।

प्रहरीले शनिबार दिउँसो घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरु विप्लव समूहका नेता हुन् ।

पक्राउ पर्नेमा हंसपुर नगरपालिका–२ की ललितादेवी महरा, सीतादेवी महरा र मिथिला बिहारी नगरपालिका–१, भुतहीका रामशोभित धानुक रहेका छन् ।

५१ वर्षीया सीतादेवी विप्लव समूह प्रदेश २ की संयोजक हुन् भने ४१ वर्षीया ललिता केन्द्रीय सदस्य हुन् । प्रहरीका अनुसार रामशोभित भने कार्यकर्ता मात्र हुन् ।

धनुषाका डीएसपी रामेश्वर कार्कीका अनुसार उनीहरुलाई घेरा हालेर पक्राउ गरिएको हो । अहिलेसम्म घटनाको कसैले जिम्मा लिएको छैन ।

इन्सपेक्टरको संयोजकत्वमा अनुसन्धान

प्रहरीले विस्फोटको घटना अनुसन्धानका लागि प्रहरी निरीक्षक उमाशङ्कर साहको नेतृत्वमा ७ सदस्यीय अनुसन्धान टोली गठन गरेको छ ।

पक्राउ परेकाहरु माथि इन्सपेक्टर साहको टोलीले अनुसन्धान सुरु गरिसकेको डीएसपी कार्कीले बताए ।

बम शुक्रबार राति ११ बजे जडान गरिएको र १२ बजे पड्किएको प्रहरीको भनाइ छ ।


यसरी घट्यो घटना

राजेश साहको नवनिर्मित घरको बाहिरको फलामको गेटमा एउटा झोला झुन्ड्याइएको थियो । मध्यरातमा राजेशकी श्रीमती शौचका लागि उठिन् । ढोकामा प्रेसरकुकरसहित झुन्डिएको देखेर श्रीमानलाई पनि उठाइन् ।

राजेशले तत्कालै प्रेसरकुकरसहित झोला झुन्ड्याइएको देखेपछि घरमा सुतिरहेका छोराछोरीलाई बाहिर निकालेर इलाका प्रहरी कार्यालय पुगेर घटनाबारे बताए ।

इलाका प्रहरी कार्यालय सुखुवा महेन्द्रनगगरका इन्सपेक्टर अमिर दाहाल खबर पाउनासाथ नेपाली सेनालाई पनि खबर गरेर आफै घटनास्थल पुगे । इन्स्पेक्टर दाहालले खबर गरेपछि महेन्द्रनगरमै रहेको नेपाली सेनाको बम डिस्पोजल टोली तयार हुँदै थियो ।

ढोकाको मुख्य गेटमा झुन्ड्याइएको झोलामा केही छैन भन्दै इन्सपेक्टर अघि अघि र २ जना प्रहरी जवान पछि पछि गएर हेर्न खोज्दाखोज्दै बम विस्फोट भएको हो ।

झोलामा प्रेसर कुकर देखे पनि इन्सपेक्टर दाहालले तर्साउन राखेको हुनसक्ने अनुमान गरेको प्रहरीले बताएको छ ।

बम विस्फोटबाट घटनास्थलमै २ जनाको मृत्यु भयो भने अन्य घाइते भए । घाइते मध्येका इन्सपेक्टर दाहालको उपचारको क्रममा मृत्यु भएको हो ।

बम विस्फोटबाट साहको बन्दै गरेको घरका झ्यालका सिसा, शौचालयका ढोका, घरको छानोलगायतमा पनि क्षति भएको छ ।

केही प्रत्यक्षदर्शीले प्रहरीले छोएलगत्तै बम विस्फोट भएको बताए पनि आफै पड्किएको प्रहरीको दाबी छ । टाइमर सेट गरेर वा रिमोटबाट बम पड्काएको डीएसपी कार्कीको भनाइ छ ।

सेनाले पनि थाल्यो छुट्टै अनुसन्धान

घटनास्थलबाट पड्केको बमको टुक्रा र अवशेष सङ्कलन गरेर नेपाली सेनाले पनि अनुसन्धान थालेको छ । बमका टुक्रा र कणलाई नेपाली सेनाका विशेषज्ञले सङ्कलन गरेर अनुसन्धान थालेको नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले जानकारी दिए ।

इन्सपेक्टर दाहालको अन्त्येष्टि

सङ्खुवासभाको मादी नगरपालिका घर भएका ४५ वर्षीय प्रहरी निरीक्षक दाहालले ०५५ कात्तिक १ गतेदेखि नेपाल प्रहरीका जागिर सुरु गरेका थिए । असईबाट प्रहरीमा प्रवेश उनी ०७५ मा प्रहरी निरीक्षकमा बढुवा भएका हुन् ।

रौतहटको चन्द्रनिगाहपुर, धनुषाको धनुषाधाम हुँदै दाहाल पछिल्लो समय इलाका प्रहरी कार्यालय महेन्द्रनगरको इन्चार्ज भएर पुगेका हुन् ।

इन्सपेक्टर दाहालको शनिबार काठमाडौँस्थित पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । दाहसंस्कारमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत पशुपति पुगेका थिए ।

सिरहामा पनि विस्फोट, जताततै त्रास

पछिल्लो समय बम भेटिने तथा विस्फोट हुने क्रम बढेको छ । खास गरेर सरकारी कार्यालयहरुलाई लक्षित गरेर बम राख्ने तथा विस्फोट गराउन थालिएको छ । यसले सार्वसाधारणमा त्रास बढेको छ ।

शुक्रबार राति साहको घरमा विस्फोट भएकै समयमा सिरहाका लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा बम विस्फोट गराइएको छ । सिरहा प्रहरीका अनुसार कार्यालयको माथिल्लो तलामा भएको विस्फोटबाट झ्याल र ढोकामा क्षति पुगेको छ ।

घटनास्थलबाट इन्टेल मोबाइलको ब्याट्री, किप्याड, तार र सुतली भेटिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप