शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्रीज्यू ! अब विश्राम लिनुस्

आइतबार, २९ मङ्सिर २०७६, १५ : ०५
आइतबार, २९ मङ्सिर २०७६

-रणधीर चौधरी  

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, तपाईंको स्वास्थ्य लाभको कामना हरेक नागरिकले गरिरहेका छन् । तपाईंको स्वास्थ्य गम्भीर भएर अस्पताल भर्ना भएको बेला तपाईंका आलोचकले पनि सामाजिक सञ्जालमा स्वास्थ्य लाभको कामनासहित टिप्पणी लेखेका छन्, ती पढ्दा खुसी लाग्छ । यसले नेपालीमा पनि मानवताको बीउ नष्ट नभइसकेको देखिन्छ । 

प्रधानमन्त्रीज्यू तपाईंलाई इख र हठ पालेर बस्ने नेताको रूपमा बुझिन्छ । इख र हठ बारे चर्चा गरिराख्दा यसको व्याख्या सापेक्षिक हुन्छ । नेपालमा पानी जहाजको तत्कालीन उपयोगिताको औचित्यमाथि प्रश्न गर्दा सरकारले पानीजहाज कार्यालय खोलेर देखाइदियो, तपाईंको उक्त कदमले तपाईंभित्रको इखलाई झल्काउँछ । सीमान्तकृत समुदायले संविधानमा अधिकार खोज्दा संविधान संशोधनको औचित्य माथि प्रश्न खडा गर्नु र संशोधनका लागि तगारो हाल्ने काम जुन तपाईंले गर्नुभयो त्यसले तपाईंको हठलाई सजिलै प्रस्तुत गरेको छ । यी दुई घटना प्रतिनिधिमूलक मात्र हुन् । कोट्याउने हो भन्ने दर्जनाँै यस्ता कथा छन् । 

तपाईंको प्रतिकूल स्वास्थ्यले नेपाल कम्युनिस्ट पार्टी अर्थात दलभित्र कस्तो प्रभाव परेको छ, त्यो आमजनताको सरोकारका विषय भए । मिडियाले ‘स्पेस’ दिए पनि तर जब तपाईंकै मन्त्रीमण्डलका सदस्यहरुले भन्छन् प्रमसँग आवश्यक सल्लाह हुन पाइरहेको छैन । यसले के दर्शाउँछ भने जनतासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालयले नेपाली करदातालाई सेवा प्राप्त गर्न अवरोध पैदा गरिराखेको छ । जुन दुःखद् तथा निन्दनीय पक्ष हो । हुन त प्रधानमन्त्री आफैमा एउटा संस्था हो, सङ्गठन हो ।  

लेखक चाैधरी

प्रमको सचिवालय हुन्छ । पछिल्लो महिना मात्र तपाईंले आफ्नो सल्लाहकार समूहलाई एकै पटक राजीनामा गारउनुभएको थियो । सायद सल्लाहकार समूहको कार्यक्षमतामा त्रुटि भएर होला । सल्लाहकार समूह अहिले पनि छ तर रातारात ती सल्लाहकारले दिव्य ज्योती प्राप्त गरेका होलान् जस्तो लाग्दैन । प्रम स्वयम्को सक्रियता र सहभागिता र समूहको सक्रियतामा फरक हुन्छ । कार्यकारिणी अधिकारधारी बढी जवाफदेही हुन्छ र चाहँदा नचाहँदै काम गरेको देखाउनुपर्छ । तर प्रधान मन्त्री जस्तो ओहदामा बसेर सल्लाहकार समूहको भरमा देशलाई छोडिदिने हो भने यसले देशलाई आवश्यक गतिमा लग्नै सक्दैन । 

विश्वमा प्रम वा कार्यकारी ओहदावालाहरु सर्वज्ञानी हुँदैनन् । उनीहरूसँग अवश्य पनि योजनाकारहरुको समूह हुन्छ । विज्ञ समूह वा सल्लाहकारहरुले दिने योजनाहरुको विश्लेषण गर्ने जिम्मा प्रमको हुन्छ । सल्लाहकार जस्ता समूहमा बिचौलियापन र खास स्वार्थपनाको मात्रा अधिक हुन्छ । प्रमज्यू, यसो भनिराख्दा देश निर्माणप्रतिको तपाईंको इच्छशक्ति छैन भनी म निर्णयमा पुग्न खोजेको होइन । यद्यपि तपाईं अब विश्राम गर्नुपर्छ भन्ने चाहना राख्ने नेपालीको सङ्ख्या बढ्दो छ, तपाईंको दीर्घायुको कामनासहित । 

नेपालका केही नेताहरुले उमेरको हद हेरेर राजनीतिबाट विश्राम लिएको इतिहास छ । तर ती नेताहरुको नाम म यहाँ पस्किन चाहन्न । ती नेता तपाईंको विरोधी दलको पर्नगए म पनि कित्तामा पर्छुु भन्ने डर छ । तर हाम्रो छिमेकी देश भारतमा त्यहाँका राजनेताहरुले आफ्नो उमेर र स्वास्थ्यलाई ख्यालमा राख्दै कतिले राजनीतिबाट पूर्णतः बिराम लिए भने कतिले सक्रिय राजनीति त्यागे । ती नेताहरुमध्ये एक हुन् अटल बिहारी बाजपेयी । बाजपेयीको मृत्यु हुँदा तपाईंले पनि टुइटरमा उनको निष्ठा र त्यागको राजनीति गर्ने पात्रका रूपमा श्रद्धाञ्जलि दिनुभएको थियो ।

अटल तिनै नेता हुन् जो वृद्धावस्थामा शारीरिक रूपमा ऊर्जावान नहुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै राजनीतिबाट विश्राम लिनुभएको थियो । त्यसैगरी भारतकै पूर्वविदेश र अर्थमन्त्री सुष्मा स्वराज र अरुण जेटलीले आफ्नो कमजोर स्वास्थ्यका कारण लोकसभाको चुनावमा सहभागी भएन्न र देश हित र आफ्नो दलको भलाइ सोच्दै देहत्याग गरेका थिए । नेताहरुका यस्ता निर्णयले तिनको कद बढाइमा सहयोगी भूमिका नै खेल्यो । 

प्रधानमन्त्रीज्यू, हामीले के बिर्सनुहुन्न भने देशका हरेक नागरिक आफ्नो स्तरबाट देश हितबारे नै सोच्छन्, कर तिरेर । देशको हितैषी कुर्सीमै बसेर मात्र हुन सकिँदैन । इच्छाशक्ति पो बलियो हुनु आवश्यक छ । 
धेरै समयपछि नेपालले दुई तिहाइको बलियो सरकार पाएको छ । बलियो सरकराले धेरै काम गर्नुपर्ने आवश्यकता हुन्छ । जनअपेक्षाको पहाड पनि सरकारले चढ्नुपर्ने हुन्छ । बलियो सरकारले कार्यसम्पादनका लागि लामो र कठिन यात्रा तय गर्नुपर्ने हुन्छ ।

त्यस्ता यात्राको सफल पदार्पण गर्न सरकाररूपी चालक स्वस्थ्य हुनु अति आवश्यक हुन्छ । तपाईं बिमार भए पनि साग खेलको उद्घाटन आइपेडमा हेरेको भिडियो सार्वजनिक गर्नुहुन्छ । खेलाडीलाई बालुवाटारमा भोजको निम्तो दिनुहुन्छ । यी क्रियाकलाप प्रदर्शनबाट तपाईं आफ्नो इक्षशक्ति दर्शाउन खोज्नु हुन्छ, त्यो तपाईंको सबल पक्ष होला तर यथेस्ट भने पक्कै होइन । यस्तो कुन मोहले तपाईंलाई राजीनामा दिनबाट रोकिरहेको छ ? तपाईंले आफ्नो पार्टीबाट कुनै अरू नेतालाई प्रधानमन्त्री बनाउँदा के बिग्रन्छ ? कि तपाईंभन्दा काबिल कोही छैन नेकपामा ? देशलाई स्थिर सरकार चाहिन्छ भने तपाईंको अभिव्यक्तिसँग नेपाली जनता सहमत छन् ।

संसदीय राजनीतिमा त सङ्ख्या वा भनौँ अङ्कगणितले सरकारको स्थिरता र अस्थितरतालाई निर्धारण गर्ने हो । प्रधानमन्त्रीको कुर्सीले होइन । नेकपासँग प्रस्ट दुई तिहाइको बहुमत छ र भूतपूर्व प्रधानमन्त्रीहरुको जत्था पनि । प्रधानमन्त्रीज्यू, आसेपासेले तपाईंको विकल्प छैन भनी फुर्ती लगाउँदा हुन् तर त्यो चाप्लुसीभन्दा अरू केही होइन भन्ने बुझाइ आम नेपाली जनताको छ । तपाईं नेपाली जनताको भावनाको कदर गर्नुस्  । 
भनिन्छ हरेक प्रशासकले आफ्नो वरिपरि त्यस्तो व्यक्तिलाई राख्नुपर्छ, जो दर्पण होस् ।

त्यस्ता व्यक्ति जसले कुशल प्रशासकलाई देशको ‘मुड’को प्रतिबिम्बित गराओस् । विडम्बना ! नेपालमा अहिलेसम्म यथार्थ भन्ने ल्याकत बेकेका मानिसको कमी छ । प्रशासकहरू पनि आफ्ना वरिपरि ‘एसम्यान’हरुको चहलपहल रुचाउने गर्छन् । प्रधानमन्त्रीज्यू, तपाईंको कार्यको मूल्याङ्कन त इतिहासले गर्ने नै छ तर तपाईं अस्वस्थ भएर देशको सर्वोच्च कुर्सीमा बस्ने बालहठ त्याग्नु भएन भने तपाईंको मूल्याङ्कन नेपाली जनताले ‘भिन्न किसिम’ले गर्न बाध्य हुनेछन् । तपाईंको स्वास्थ्य लाभको कामना । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप