शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपामा प्रचण्डको पहिलो प्रतिवेदन :  देशमा अस्थिरता सिर्जना गर्ने कसरत, राजावादीमाथि हमला

आइतबार, २९ मङ्सिर २०७६, १७ : ४३
आइतबार, २९ मङ्सिर २०७६

काठमाडौँ । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) ले देशमा अस्थिरता सिर्जना गर्ने ‘कसरत’ भइरहेको विश्लेषण गरेको छ । कुनै व्यक्ति विशेषको नाम नकिटेपनि नेकपाले यस्तो कार्यमा सामन्ति निरंकुशतावादी, राजावादी र प्रतिक्रियावादी दलाल तत्त्वहरुको सक्रियता रहेको औल्याएको छ । 

नेकपा अध्यक्ष प्रचण्डले आइतबारदेखि सुरु भएको पार्टी स्थायी कमिटी बैठकमा पेश गरेको आफ्नो पहिलाे राजनीतिक प्रतिवेदनको बुँदा नम्बर २ मा राखिएको ‘राष्ट्रिय राजनीतिक परिस्थितिका सम्बन्धमा’ उल्लेखित शीर्षकमा भनिएको छ, ‘लामो समयसम्म अस्थिरता र अराजकताबाट अनुचित लाभ उठाइरहेका सामन्ती निरंकुशतावादी र प्रतिक्रियावादी दलाल तत्वहरु आज पनि आन्यौल र अस्थिरता सिर्जना गर्न कसरत गरिनै रहेका छन् ।

देशभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरुले कम्युनिस्ट पार्टीमाथि अधिनायकवादीको झूटो आरोप लगाइ जनतामा भ्रम छर्ने जारी नै राखेका छन् ।’

राजावादी र परिवर्तन विरोधी शक्तिहरुले अझैपनि प्रतिक्रान्तिको तानाबाना बुन्न नछाडेको भन्दै प्रतिवेदनमा भनिएको छ, ‘निरंकुश राजतन्त्रका पक्षपोषकहरु, परिवर्तन विरोधी, यथास्थितिवादी शक्ति तथा विभिन्न रुप र रंगका साम्प्रदायिक एवम् अतिवादी तत्वहरुलाई, कम्युनिस्ट पार्टीको नेतृत्वमा देश स्थिरता र समृद्धिको दिशामा अगाडि बढ्न लागेको कुरा विल्कु्ल पचेको छैन । अतः यस्ता तत्वहरु आफ्नो वर्ग चरित्रअनुसार अँध्यारो कोठामा बसेर प्रतिक्रान्तिको तानाबाना बु्न्न छाडेका छैनन् ।’

प्रतिवेदनमा उनीहरुको प्रतिगामी क्रियाकलापलाई निस्तेज पार्न सबै परिवर्तनकारी शक्तिहरु एकठाउँमा हुनुपर्नेमा पनि जोड दिइएको छ । 

सामन्ति निरंशकुलताविरुद्ध लामो राजनीतिक संघर्ष र बलिदान पश्चात इतिहासमा पहिलो पटक नेपाली जनता साँचो अर्थमा सार्वभौम बन्न पुगेको  भन्दै नेकपाको प्रतिवेदनमा भनिएएको छ, ‘राजनीतिक अस्थिरता र अराजकताको दुष्चक्रबाट बाहिर निक्लेर राजनीतिक स्थायित्वसहित समृद्धिको नयाँ यात्रातिर नेपाली समाज अघि बढदैछ । ’

यस्ता अवस्थामा प्रतिक्रियावादी शक्तिको चलखेल घातक हुने निष्कर्षसहित नेकपाले यसलाई परास्त गर्न परिवर्तनकारी शक्तिहरुले आफ्नो सजगता झन् बढाएर लैजानुपर्नेमा जोड दिएको छ । 

नयाँ राजनैतिक प्रणालीको अभ्यासको प्रारम्भमा केही जटिलता र चुनौतिहरु हुने भन्दै नेकपाले भनेको छ, ‘यस एतिहोसिक सन्दर्भमा संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर सम्पूर्ण देशभक्त एवम् लोकतान्त्रिक शक्तिहरु एकताबद्ध भइ जनअपेक्षाअनुसार सुशासन, विकास र जनसेवामा समर्पित भइ प्रतिक्रियावादी शक्तिहरुका षड्यन्त्रहरुलाई परास्त गर्नु आजको आवश्यकता हो ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप