बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रचण्डको निष्कर्ष : नेकपा संस्थागत छैन, गुटबन्दी र अन्योलग्रस्त छ !

आइतबार, २९ मङ्सिर २०७६, १७ : ५६
आइतबार, २९ मङ्सिर २०७६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा संस्थागत हुन नसकेको स्वीकार गरेका छन् । 

आइतबारबाट सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले जारी गरेको राजनीतिक प्रतिवेदनमा नेकपा संस्थागत ढंगले चल्न नसकेको तथा अन्योलग्रस्त अवस्थामा रहनुका साथै गुटबन्दी मौलाएको निष्कर्ष निकालिएको छ । 

प्रचण्डले बैठकमा जारी गरेको प्रतिवेदनको ‘पार्टी एकता सुदृढ गर्ने सम्बन्धमा’ उपशीर्षकमा पार्टी एकताको ऐतिहासिक महत्त्व र देशको राजनीतिक निकासमा एकताले असाधारण भूमिका खेलेपनि पार्टी एकतालाई पूर्णता दिन भएको ढिलाइका कारण पार्टीमा अन्योल र गुटबन्दी मौलाएको उल्लेख छ ।

 ‘पार्टी एकतालाई पूर्णता दिन भएको ढिलाइ, पार्टीको आधिकारिक र व्यवस्थित प्रकाशन, प्रचार प्रशिक्षण र स्कुलिङको अभावका कारण आज पार्टी संगठन अन्योलग्रस्त अवस्थामा रहेको छ । पार्टी संस्थागत छैन । बरु विभिन्न प्रकारका गुटहरु झाँगिदै जान थालेका छन्’, प्रचण्डले भनेका छन् । त्यस्तै उनले पार्टीभित्र घात अन्तर्घात र अराजकाताका प्रवृत्तिहरु बढिरहेको उल्लेख गरेका छन् । 

‘पार्टी अनुशासनको स्तर दयनीय अवस्थामा छ । पार्टी अनुशासनको स्थान गुट अनुशासनले लिने खतरा दिनप्रतिदिन बढ्दै गएको छ’, प्रचण्डको ठहर छ । 

त्यस्तै उनले आलोचना, आत्मआलोचना राम्रो काम गर्नेहरुलाई प्रोत्साहन, गल्ती गर्नेलाई दुरुत्साहन गर्नेजस्ता सजिव र गतिशीलता कम्युनिस्ट पार्टीका निम्ति अपरिहार्य विधि र प्रणालीको पालना नभएको बताएका छन् । 

प्रचण्डले पार्टीलाई सही ट्रयाकमा हिँडाउन र सुधार गर्न केही सुझावहरु पनि प्रस्तुत गरेका छन् । उनले भनेका छन्, ‘विचार र विधिमा स्पष्टतासहित दृढ इच्छाशक्ति र संकल्पका साथ अगाडि बढ्नुको विकल्प छैन ।’

पार्टी सुधारका लागि प्रचण्डले पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवादको दर्शन, राजनीतिक अर्थशास्त्र एवम् वैज्ञानिक समाजवादका बारेमा व्यवस्थित र योजनावद्ध स्कुलिङ सञ्चालन गर्ने कामलाई पार्टीको आधारभूत कामका रुपमा अगाडि बढाउनुपर्ने सुझाव दिएका छन् । 

‘मार्क्सवाद लेनिनवादका आधारभूत सिद्धान्तबारे आधारभूत र उपल्लोस्तरसम्मको ज्ञानका लागि आवश्यक परीक्षा प्रणाली समेत अपनाउन जरुरी छ,’ प्रचण्डको राजनीतिक प्रतिवेदनको ५ नम्बर पेजमा भनिएको छ । 

त्यस्तै पार्टीको राजनीतिक प्रतिवेदन र विधानबारे पनि प्रचण्डको प्रतिवेदनमा उल्लेख छ । जसमा भनिएको छ, ‘आज हाम्रो पार्टीको रणनीतिक लक्ष्य र आधारभूत कार्यक्रम समाजवाद हो तथा तत्कालीन ठोस कार्यक्रम समाजवाद उन्मुख जनताको जनवाद हो भन्ने कुरा स्पस्ट गरिनुपर्छ ।’

त्यस्तै प्रचण्डको प्रतिवेदनमा मदन भण्डारी र जनताको बहुदलीय जनवादको योगदान तथा माओवादी जनयुद्ध र एक्काइसौँ शताब्दीको जनवादबारे उल्लेख छ । 

प्रचण्डको आठ बुँदे सुझावमा पार्टी र सरकारका विरुद्ध जनतामा भ्रम छर्नेगरी पार्टी अनुशासन र पद्धति विपरित बोल्ने लेख्ने, भेला बैठक गर्ने काम बन्द गर्नुपर्ने उल्लेख छ । ‘अनुशासनहीन काम गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्छ,’ सुझावमा भनिएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप