बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको लागि पुनः जग्गा अधिग्रहण !

आइतबार, २९ मङ्सिर २०७६, २१ : ००
आइतबार, २९ मङ्सिर २०७६

पोखरा । सुनकमली विक पोखरा महानगरपालिका वडा नम्बर १४ की सदस्य हुन् । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि भन्दै ०३२ मा निमार्णाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले विकको ३ कित्ता जग्गा मध्येको एक कित्ता लियो । 

अन्तर्राष्ट्रिय विमानस्थलजस्तो गौरवको आयोजना बनाउने भइसकेपछि विकको परिवारले ३ कित्तामध्येको एक कित्ता विमानस्थलले लिने भइसकेपछि बाँकी २ कित्ता जग्गा र मु–अब्जा पाउँ भन्ने व्यहोरासहितको निवेदन विमानस्थल आयोजनालाई पठायो । जग्गाको लगत कट्टा गरी विमानस्थललाई चाहिने जग्गा लिएर बाँकी जग्गाको छिनोफानो गर्न विक परिवारले विमानस्थल आयोजनालाई पटक–पटक झक्झकाई रह्यो । तर, पनि उनीहरुको मागको कुनै सुनुवाई भएन । 

विक परिवारले ०३२ मा अधिग्रहण गरिएको जग्गाको मु – अब्जा पाउँने बाँकि थियो, ०७२ मा फेरि थप जग्गा अधिग्रहणको लागि सूचना आयो । पहिलो १ कित्ता र पछिल्लो पटकको सूचनामा परेको जग्गाको मुआब्जाको लागि विक परिवारले पुन विमानस्थल आयोजनालाई पत्र पठायो । तर, विमानस्थल आयोजनाले पहिले नै मुआब्जा लिएको भन्दै विकलाई रित्तै फर्काइदियो । 

विमानस्थल आयोजनाले मुआब्जा दिन आनकानी गरिसकेपछि विक जिल्ला मालपोत कार्यालयमा गुहार माग्न पुगिन् । तैपनि कुनै सीप लागेन । विमानस्थल आयोजनाले विकको परिवारले मुअब्जा लिइसकेको भन्दै मुअब्जा दिन इन्कार गर्यो । ‘मसँग प्रमाण छन् । २ वर्ष पहिले पाउनुपर्ने मुआब्जा पाएको भए केही उपाय निस्कन्थ्यो होला !’ उनले भनिन् । राज्यले आफूहरुलाई अन्याय गरेको भन्दै उनले गुनासो पोखिन् । 

पोखरा १४ मझेरीपाटनकी देवी कार्की पनि विमानस्थल आयोजनाकी पीडित हुन् । अहिले कार्कीको जग्गा रोक्का गरिएको छ । ०७२ को जग्गा अधिग्रहणसम्बन्धि सूचना निस्किसकेपछि कार्की १ सय विमानस्थल पीडितको हस्ताक्षरसहितको पत्र लिएर काठमाडौंसमेत पुगेकी थिइन् । ‘काठमाडौं पुगेर पटकैपिच्छे जग्गा अधिग्रहण नगरियोस् । बरु एकैपटक होस् । अहिले पनि सूचना आएको छ, खास कुरा के हो भनेर मैले भनेकी थिए,’ उनले भनिन्, ‘त्यतिबेला दक्षिणपूर्वी भागमा अलिकति खोच परेको जग्गा छ । त्यसपछि विमानस्थल वरीपरि बाँकी रिङ रोड बनि सकेपछि, अरु जग्गा अधिग्रहण हुन्न भनेर हाकिम साबले मैसँग भन्नुभएको थियो ।’

यी त केबल प्रतिनिधि पात्र हुन् । ०३२ सालदेखि विमानस्थलको लागि सुरु भएको जग्गा अधिग्रहण अझै सकिएको छैन । करिब दुई साताअघि विमानस्थल आयोजनाले विमानस्थलका लागि थप १ सय ४८ रोपनी जग्गा आवश्यक रहेको बताउँदै जग्गा अधिग्रहण गर्ने सूचना निकालेको छ । यसपटक दक्षिण पूर्वमा १ सय ६ रोपनी र उत्तरपूर्वतर्फ ४२ रोपनी जग्गा अधिग्रहण गर्ने सूचनामा उल्लेख छ । पछिल्लोपटक ०७१ मा जग्गा अपुग भएको भन्दै विमानस्थल आयोजनाले जग्गा अधिग्रहण गरेको थियो । 

दुईपटकसम्म आफ्नो जग्गा दिएका आयोजना प्रभावितले अब भने जग्गा नदिने अडानमा छन् । अब अधिग्रहण गरिने भनिएको जग्गाका कारण १६ घरधुरी प्रभावित हुने छन् । विमानस्थल आयोजनाबाट प्रभावित पोखरा १४ मझेरीपाटनका स्थानीय कुनैपनि हालतमा विमानस्थलका लागि जग्गा नदिने अडानमा छन् । स्थानीयले समिति नै बनाएर आन्दोलनको कार्यक्रम थालेको छ । 

पोखरा विमानस्थल जनसरोकार समितिका अध्यक्ष गणेश पौडेलले विमानस्थल आसपासका स्थानीयलाई पटकपटक आतंकित बनाइएको आरोप लगाए ।  कुनै पनि हालतमा आफूहरु जग्गा दिने पक्षमा नरहेको उनले प्रस्ट्याए । ‘एउटा व्यक्तिले आफ्नो जीवनमा कतिपटक घर बनाउँछ ?’ लेखक समेत रहेका अध्यक्ष पौडेलले भने, ‘कम्तिमा पनि एक पटक । घरै मात्र बनाई रहने अरु काम नै हुँदैन ।’ 

विमानस्थलको लागि जग्गा नदिने पक्षमा रहेको उनले बताए । राज्यले केही शर्तहरु पूरा गरेर आएमा पुन विचार गर्न सकिने उनको भनाई छ । यसअघि अधिग्रहणको नाममा गरिएका पीडितलाई न्याय दिनुपर्ने, पहिलेको मुआब्जा लिन बाँकी रहेकाहरुको क्षतिपूर्ति लगायतका समस्या समाधान गरिनुपर्ने शर्त समितिको छ ।

पटकपटक अधिग्रहणको पटके सूचना निकाल्नुभन्दा पनि एकैपटक जग्गा अधिग्रहणको प्रक्रिया थाल्न समितिले सरकारलाई सुझाव दिएको छ । विमानस्थल निर्माणले खेतीयोग्य जमीन सबै मासिने अवस्थामा पुगेको स्थानीयको गुनासो छ । ‘विमानस्थलको रनवेले नहर पु¥यो, नालीको पानीले खेती ग¥यौँ,’ विमानस्थल पीडितमध्येका अर्का पीडित राजुकुमार थापाले भने, ‘खेतीयोग्य जग्गालाई मासेर निकालिएको पटके सूचनाले उठिबास बनाइयो ।’

पटके सूचनाले आफूहरुको उठिबास लागेको बताउँदै थापाले अब एक इन्च पनि जग्गा नदिने चेतावीन दिएका छन् । स्थानीयले विकास विरोधी नभएको प्रस्ट्याउँदै सामाजिक र साँस्कृतिक विचलन नहुने गरी आफूहरुले न्याय पाउनुपर्ने माग राखेका छन् । जग्गा अधिग्रहणको निर्णय तत्काल खारेज गर्नुपर्ने स्थानीयको माग छ ।

अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ) को मापदण्डअनुसार फोरडी मोडलमा बनिरहेको विमानस्थलको सन् २०२१ भित्र निर्माण सकेर उडान सुरु गर्ने लक्ष्य लिएको छ । विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्ने बताइएको छ । विमानस्थल निर्माणका लागि ४ सय ५० जनाले नियमित रुपमा काम गरिरहेका छन् । त्यसमा चिनियाँ २ सय जना र नेपाली २ सय ५० जना सक्रिय छन् । चिनियाँ सरकारसँग २२ अर्ब रुपैयाँ ऋणमा लिएर यो विमानस्थल बनाउन सुरु गरेको हो ।

विमानस्थलको लागि ०३२ सालमा ३१ सय ५० रोपनी जग्गाको अधिग्रहणको सूचना जारी गरी २०३४ सालबाट मुआब्जा वितरण गर्न थालिएको थियो । तत्कालीन समयमा १ सय ५० घर परिवार विस्थापित भएका थिए । ०७५ मा अन्तिमपटक भनि आउटर पेरिफेरल रोडको नाममा तारवारको वरिपरि १० मिटर चक्लाईको जग्गा अधिग्रहण गरिएको थियो ।

विमान अवतरणमा समस्या देखिने भएपछि विमानस्थलको दक्षिण पूर्वी भागमा रहेको रिठ्ठेपानी डाँडा पनि कटान भइरहेको छ । 

के भन्छ विमानस्थल आयोजना ? 
०३२ मा विमानस्थल आयोजनाको लागि जग्गा अधिग्रहण गर्दा अन्तर्राष्ट्रिय विमानस्थलको अवधारणा बनिसकेको थिएन । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख बिनेस मुनकर्मिका अनुसार अहिलेको आन्तरिक विमानस्थलकै लागि सो जग्गा अधिग्रहण गरिएको थियो । 

‘त्यतिबेला अन्तर्राष्ट्रिय भन्ने शब्द नै थिएन । नयाँ भन्ने थियो, चलिरहेको विमानस्थल सानो हुने देखिएपछि ठुलो बनाउने भनेर जग्गा अधिग्रहण गरिएको थियो,’ उनले भने । ‘अन्तर्राष्ट्रिय विमानस्थलको अवधारण निस्किसकेपछि पुनः जग्गा अधिग्रहण गरिएको थियो’ उनले अघि थपे । 

पछि ०७४ मा आएर स्थानीय जनताको माग पनि सम्बोधनको लागि ‘पेरिफेरि रोड’ बनाउने योजना बनाएर जग्गा अधिग्रहण गरिएको थियो । उनी थप्छन्, त्यतिबेला विमानस्थलको काम पनि सुरु भएको थिएन । 
चिनियाँ निमार्ण कम्पनीलाई निर्माणको सम्पूर्ण जिम्मेवारी दिइएको हुनाले आफूहरुको जिम्मेवारी रेखदेख गर्नेमात्र रहेको उनले सुनाए । ‘विमानस्थल इपिसी कन्ट्रयकटमा बनिरहेको छ,’ उनले भने, ‘हामीले त रिभ्यु गर्ने मात्र हो । उनीहरुको डिजाइनअनुसार काम हुन्छ ।’

दिइएको क्षेत्रफलमा निर्माण कम्पनीले स्ट्रक्चर बनाउनुपर्ने भए पनि साँघुरो हुने भएकाले जग्गा अधिग्रहण गर्नुपरेको उनले प्रस्ट्याए । अब्स्ट्याकल क्लेयर्सको लागि ३० मिटर चौडा एक किलोमिटर जग्गा चाहिने उनले सुनाए । ३० मिटरमा १० मिटर बाटो पनि जोडिने छ । जसमा सम्पूर्ण इक्युपमेन्ट अट्ने छ ।

जग्गा बाँकी नै रहेपनि अरु भौतिक संरचना विस्तार गर्न नमिल्ने उनले बताए । ‘हामीले राखे पनि उहाँहरुले त्यहाँ केही विस्तार गर्न पाउनुहुन्न,’ उनले भने, ‘दक्षिण पूर्वमा जुन ३० मिटर चौडा १ किलोमिटर जग्गा अधिग्रहण गर्दै छौं, त्यहाँ केही हुँदैन १० मिटरको बाटो हुन्छ । तर, त्यसलाई डिस्टर्ब हुनेगरी कुनै संरचना त्यहाँ रहनुहुँदैन ।’ जग्गा हुने तर केही संरचना बनाउन नमिल्ने भएपछि स्थानीयलाई जग्गा दिएर पनि अन्याय हुने उनको ठहर छ । 

सन् २०२१ मा उडान सुरु गर्नको लागि अहिलेको १ सय ४८ रोपनी जग्गाले पुग्ने भए पनि दिर्घकालिन रुपमा थप जग्गा पनि चाहिने उनले बताए । ‘यति जग्गा भई सकेपछि स्मुथ्ली फ्लाइट अप्रेशन गर्न पुग्छ । तर, दिर्घकालीन रुपमा यो पनि अपुग छ,’ उनले भने । 

विमानस्थल सञ्चालनका लागि जग्गा अधिग्रहण जसरी पनि हुने उनको भनाई छ ।  विमानस्थलको धेरै समय लाग्ने मुख्य–मुख्य काम सकिइसकेको र बिल्डिङको काम पनि सकिन लागेको उनले जानकारी दिए । अहिले विमानस्थलको ५२ प्रतिशत काम सकिएको उनको भनाई छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप