बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकारमाथिको जनविश्वास

सोमबार, ०५ भदौ २०७४, १२ : १८
सोमबार, ०५ भदौ २०७४


लक्ष्मीप्रसाद पङ्गेनी 
पत्रकारलाई जनताले कति विश्वास गर्छन् ? यो प्रश्नको उत्तर दिन जोकोहीलाई पनि हम्मेहम्मे पर्न सक्छ । तर आमसञ्चारको क्षेत्रमा क्रियाशील संस्था ‘शेयरकाष्ट इनिसिएटिभ नेपाल’ ले वि.सं.२०७३ मा गरेको एउटा मत–सर्वेक्षणको आँकडा अनुसार सर्वसाधारणले नेपाली पत्रकारलाई राजनीतिक नेता, सामाजिक कार्यकर्ता, गैसस, नागरिक समाज, मानव अधिकारकर्मी, राष्ट्रिय स्तरका पत्रपत्रिका, स्थानीय पत्रपत्रिका, साथीभाइ, छिमेकी र आफू सम्बद्ध समूहभन्दा बढी विश्वास गर्छन् । तथ्याङ्कअनुसार ४०.२ प्रतिशत सर्वसाधारण नेपाली जनताले पत्रकारलाई विश्वास गरेको देखिन्छ । सेयरकास्ट इनीसीएटीभ नेपालका एक सदस्य तथा शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालका अनुसार ‘¥यान्डम’ छनोटको आधारमा देशभरिका ५,५५५ जना उत्तरदातामाझ गरिएको उक्त मत–सर्वेक्षणको ‘लोकत्रान्त्रिक अभ्यास’ खण्डको शुरुकै प्रश्नमा ‘तपाईं सबैभन्दा बढी कसका कुरा पत्याउनुहुन्छ ?’ भनी सोधिएको थियो । प्रश्नको सम्भाव्य जवाफको सूचीमा २० वटा विकल्प राखिएकोमा सबैभन्दा माथि ‘राजनीतिक नेता’ रहेका थिए भने ‘पत्रकार’ भन्ने विकल्प ५औं स्थानमा थियो । जवाफको समग्र सूचीमा पत्रकारहरू दशौँ स्थान अर्थात शीर्ष दस भित्र आउन सफल भएका छन् ।


सर्वेक्षण अनुसार देश बनाउँछु, सुशासन दिन्छु, जनताको जनजीविकालाई उकास्छु आदि भन्दै राजनीतिक गरेका नेताहरूले सबैभन्दा कम अर्थात ४.४ प्रतिशत मात्र जनविश्वास प्राप्त गरेको देखिन्छ । त्यस्तै सामाजिक कार्यकर्ता, गाउँघरमा शौचालय, धारा, विद्यालय आदि बनाइदिने गैरसरकारी संस्था, नागरिकको आवाज बुलन्द गर्ने नागरिक समाज, मानवअधिकारको वकालत गर्ने मानवअधिकारकर्मीहरू भन्दा पत्रकारहरू जनताको विश्वासको स्तरमा केही माथि रहे तापनि पत्रकारहरूले प्राप्त गरेको सो विश्वासको मत (४०.२५) लाई कुनै विद्यार्थीले परीक्षामा ल्याएको अङ्कमा तुलाना गर्ने हो भने यो उत्तीण प्रतिशत मात्र हो । राज्यको चौथो अङ्गका साथै समाजको ‘वाच डग’को उपाधि पाएका पत्रकारहरूले उत्तीर्ण प्रतिशत मात्रै हासिल गर्नु पक्कै पनि सुखद अनुभूति होइन । यो तथ्याङ्कलाई आधार मान्ने हो भने आगामी दिनमा नेपाली समाजमा विश्वासिलो पत्रकारहरूको खडेरी पर्न सक्ने आँकलन गर्न सकिन्छ ।


आफ्नो पेसालाई मर्यादित, व्यवस्थित र विश्वासिलो बनाउनका लागि पत्रकार स्वयं लागिपर्नुपर्ने हुन्छ । पछिल्लो समयमा विभिन्न उद्देश्यले पत्रकार हुने लहड देखिन्छ । कोही पत्रकारिता क्षेत्रमा भविष्य देखेर पत्रकार हुन्छन् भने कोही पत्रकारको खोल ओडेर पीतपत्रकारिता गर्न उद्दत देखिन्छन्, गरिरहेका पनि छन् । त्यसमा पनि राजनीतिक दलपिच्छे पत्रकारका सङ्घ सङ्गठन हुनुले पनि पत्रकारहरूले समाजमा राम्रो छवि बनाउन सकिरहेका छैनन् । अरुलाई मात्र प्रश्न तेर्साउने पत्रकारहरूलाई जनताले पनि प्रश्न तेर्साउन थालेको देखिन्छ । अरुलाई जवाफदेहिताको पाठ सिकाउने पत्रकार आफू पनि जवाफदेही हुनुपर्छ । पत्रकारहरूले कसरी जनविश्वास गुमाउँदै छन् त्यसको आधार खोज्नुपर्ने बेला आएको छ ।

अर्को पाटो 
२०७३ चैत्र महिनाको पहिलो हप्ता नेपाल पत्रकार महासङ्घ, नवलपरासीको नेतृत्व चयनका लागि सहमति हुन नसक्दा चुनाव नै भयो । पत्रकारहरू प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, प्रेस सोसाइटी जस्ता सङ्गठनहरूमा विभाजित थिए । केहीले चुनावी तालमेल समेत गरेका थिए । सदस्य सङ्ख्याको आधारलाई हेर्दा महासङ्घमा कुनै एक सङ्गठनको प्यानलले नै विजय प्राप्त गर्ने अवस्था पनि थियो । तर उक्त सङ्गठनले महासङ्घको मुख्य पदमध्येको कुनै एक र केन्द्रीय प्रतिनिधिका केही पदहरूमा जित निश्चित हुँदाहुँदै पनि पराजय व्यहोर्नु परेपछि एकाएक अन्तर्घातको कुरा आयो । आक्रोसले भरिएका अभिव्यक्तिहरूले सामाजिक सञ्जाल पनि रंगिए । अन्तर्घात गर्ने सदस्यलाई अनुशासनको कारवाही गरिने कुरा पनि आए । केही हप्तापछि स्थानीय पत्रकार तथा कलाकार खगराज सापकोटाले सो पत्रकार महासङ्घ,नवलपरासीको चुनावलाई लिएर आइरहेका प्रतिक्रियालाई व्यङ्ग्य गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत एउटा विवरण सार्वजनिक गरे र त्यसमाथि थुप्रै सकारात्मक तथा नकारात्मक टिप्पणी–प्रतिटिप्पणी पनि आएको थियो । उनले फेसबुकमा राखेको विवरण यस्तो थियो– सुन्नमा आयो आफ्नो निर्णय सही थियो..... हामीलाई जसरी पनि जिताउनु पर्ने, हामीले हामीलाई भोट नदिए भाटे कारवाही गर्छौं, तत्काल निष्काशित गर्छौ, खुट्टा भाँच्छौ भन्दा पनि हामीलाई भोट दिइएन र हामी हार्यांै । अब केन्द्रले हामीले भने बमोजिम अध्यक्षलाई बर्खास्त, सदस्यलाई भाटे कारवाही, मतदातालाई गाउँ निकाला अविलम्ब गरोस भन्ने उर्दीको कुरो आयो... कस्ता मूर्ख जनता त्यतिभन्दा पनि नडराई उनीहरूलाई भोट किन नदिएका होलान्....तयार होउ न अब कारवाही भोग्न मूर्खहरू.... ।

अव यसमाथि भएका केही टिप्पणीहरू हेरौंँ–
१. विकास नरसिंह रानाले स्थानीय भाषामा यसो लेखे, ‘इ कैसन धम्कि हो बबुवा । हमरोका हाथ गोडा बाटे दुई मे चार त होवे करि ।’ 
२.गोविन्द पाण्डेको टिप्पणी यस्तो आयो, ‘अब त भोटिङ् गर्दा पनि सिसि क्यामरा जडान गरेर कसले के गर्छ कता हाल्छ भन्दै निगरानी गर्न पर्यो ।’
३. प्रकाश वस्यालले सुझावसहित यस्तो लेखे, ‘अहमताले आफन्तहरू टाडा बनाउँछ । संगठनमा सानालाई उचित संस्कार दिन जरुरी छ । ता कि सधैँ एक मत होस् ।’
४. राष्ट्रिय राजनीतिको उदाहरण दिँदै अर्जुन अविरल लेख्छन्, ‘सहमतिको नाममा गरिएको बेईमानीमा प्रचण्डबाट सबैले सिक्नु नि ! अनि आफ्नै भित्र मिलाउन नसक्नेले अरूसँग झूटो सहमति किन गर्नु ? संगठनभित्र निर्णय नभईकन बाहिर बाहिर अर्कै सहमति गर्नेलाई पनि के कारवाही हो गरोस् ।’

पहिलो विवरण सार्वजनिक गरेको करिब एक हप्तापछि उनै खगराज सापकोटाले पुनः अर्को विवरण सार्वजनिक गरे । उनको दोस्रो विवरण यस्तो छ– कोही २ दिनमा होटलमा बसेर ९५ हजारले नुहाए, कोही होटलको ५५ हजार अझै नतिरेर बेइजत गरे, कोही  हारे भनेर कोकोहोलो मच्याए, कारवाहीको माग अझै गर्दैछन् ... पत्रकार महासङ्घ चुनाव अझै सकिएन, यिनीहरूका पुच्छरले आगो खोजेको होला कि के खोजेका हनुमानजी ?
यसलाई पत्रकार हरि शर्मा सहज रुपमा लिँदै छोटो टिप्पणी गरे, ‘यस्तै हो ।’
सहज राना मगरले रोमनमा यसो लेखे, ‘अलपत्रकारहरू ।’


खगराजलाई यतिले चित्त बुझेन छ क्याहो, उनले फेरि तेस्रो पटक अर्को विवरण सार्वजनिक गरे । उनको तेस्रो विवरण यस्तो छ– खागराज आजकल उग्र भएको छ भन्ने हरूलाई मेरो अनुरोध– यहाँहरूले पत्रकारिताको खोल ओडेर कति लुट्नुभो, कति ठाउँमा पत्रकारको नाममा खाको बिल तिर्नु भएन ? त्यो हिसाब किताब सुन्दा मलाई मात्र हैन घरका मेरा बाआमालाई नि उग्र बन्न मन लाग्यो रे । ‘थुक्क पत्रकारिताकाको घिउ खाएका कुकुरले छेरेको छेर’, यसो भन्छन् बाआमा । मेरो भन्नु केही छैन, सम्झाओ न आफै मेरा बाआमालाई, मलाई के दोष ?


उनको यो विवरणको पक्ष विपक्षमा पनि धेरैले टिप्पणी र प्रतिटिप्पणी गरे । केही पत्रकारहरूले यो घर भित्रको कुरो यसरी सामाजिक संजालमा सार्वजनिक गरेर आफनै पेसाको बेईजत नगरेको हुन्थ्यो भनेर पनि टिप्पणी गरे । अधिकांश स्थानीय पत्रकारहरूलाई राम्ररी चिनेका एक जना शिक्षक सुरेन्द्र भुर्तेलको अलि कडा प्रतिक्रिया आयो । उनले लेखे,   
‘मैले त सुनेको कुपत्रकारले छापे नि पैसा आउँछ रे ! नछापे त झन धेरै रे ! त्यतिले पनि पुगेनछ त ?’
देवेन्द्र सेन्चुरी सुनारले रोमनमा यसो लेखे, ‘होइन, कागले आफ्नो नाम त काड्दै छैन ?
सुनिल पौडेलले भने बधाई दिँंदै यसो लेखे, ‘आफैले आफ्नो पेसामा देखिएको विकृतीलाई उजागर गरेकोमा बधाई !’


खगराज सापकोटाले व्यक्त गरेका अभिव्यक्तिहरूलाई लिएर प्राप्त भएका टिप्पणीहरूले थोरै भए पनि पत्रकार र पत्रकारितामा देखिएका समस्यालाई उजागर गरिदिएको छ । ‘पत्रकार त्यस्ता छैनन् र पत्रकारितामा त्यस्तो हुदैन’ भनेर कोही कसैले खण्डन गरेको पाइएन । खगराज सापकोटाको फेसबुक मित्रमा कोही न कोही केन्द्रीय तहका पत्रकारहरू पक्कै थिए होलान् । खगराजले पत्रकार र पत्रकारिताको सम्बन्धमा गलत कुरा सार्वजनिक गर्यो भनेर टिप्पणी गर्ने आँट कसैले गरेनन् । कारवाहीको कुरा त परै जावस । नीतिले के भन्छ भने ‘मौन स्वीकृति लक्षणम्’ अर्थात आफुमाथि लागेका आरोप खण्डन गरिदैन भने त्यसलाई स्वीकार गरेको मानिन्छ ।

पत्रकारको वचाउमा कसैले एक शव्द पनि लेखेनन् । यसको एउटा अर्थ हुन्छ– हुँदै नभएको आरोप लागाइएको हैन पत्रकारहरूलाई । कति आक्रोस रहेछ पत्रकारप्रति ! पत्रकारलाई अलपत्रकार भनिएको छ । पत्रकारलाई ‘लेखे पनि पैसा, नलेखे झन् धेरै पैसा’ भन्ने गम्भीर आरोप छ । अझ पनि केही बिग्रेको छैन । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन सम्पन्न भईसकेको छ । अब पत्रकारहरू पनि आआफ्नो स्थानीय तहमा फर्कनु पर्दछ । स्थानीय सरकारको काम कारवाही इमान्दारीपूर्वक जनतासामु सम्प्रेषण गर्नु पर्दछ । जनताको सुख दुःख अनि समाजमा भए गरेका विकास निर्माणका खवरलाई प्राथमिकता दिनुपर्छ । ४.४ प्रतिशतमात्र जनविश्वास भएको राजनीतिक नेताको भन्दा पत्रकारकै जनविश्वास निकै बढी अर्थात ४०.२ प्रतिशत छ । हरेस खानु पर्ने अवस्था छैन । जनताको मन जित्दै र आफ्नो आचरण सुधार गर्दै पत्रकारले अबका दिनमा आफ्नो मान आफै उठाउन सक्नु पर्छ । पत्रकारहरूको मान, सम्मान, गरिमा र पेसागत सुरक्षा गर्न नेपाल पत्रकार महासङ्घको २५ औं महाधिबेशन सफल होओस, शुभकामना ।

 
 
स्रोत : ‘सञ्चारको प्रयोग एवं लोकतान्त्रिक अभ्यास’ शीर्षकको मत सर्वेक्षण–२०७३ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप