बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अख्तियार आतङ्क : विमानस्थल अध्यागमनमा कर्मचारीको अभाव, गृहसचिवबाट पक्षपात !

सेवाग्राही २ घण्टासम्म लाइन बस्न बाध्य, महानिर्देशक भन्छन्, ‘कर्मचारी आउनै मान्दैनन्’
मङ्गलबार, ०१ पुस २०७६, १६ : ३८
मङ्गलबार, ०१ पुस २०७६

काठमाडौँ । कुनै समय थियो, आकर्षक अड्डाका रूपमा लिइने त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा जान कर्मचारीको तँछाडमछाड हुन्थ्यो । राम्रो कमाइ हुने अड्डाका रूपमा परिचित अध्यागमन कार्यालयमा जान कर्मचारीले नेता, सांसद र मन्त्रीको सोर्सफोर्स लगाउनुपर्थ्यो । 

तर अहिले भने त्यही अध्यागमन कार्यालयमा जाने कर्मचारी नपाएर दरबन्दीको एक तिहाइ कर्मचारीकै भरमा अध्यागमन कार्यालय चलाउनु परेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अफिसरहरुको पूर्ति नहुँदा दैनिक कार्य सम्पादनमा अप्ठ्यारो मात्रै परेको छैन, सुरक्षा चेकजाँच र अध्यागमन पार गर्न २ घण्टाभन्दा बढी समय लगाउनुपर्ने अवस्था सिर्जना भएको छ । 

दरबन्दी १ सय ३६, अधिकृत कर्मचारी ९८ जना
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अहिले कुल १ सय ६२ जना कर्मचारीको दरबन्दी छ ।

 १ सय ६२ कर्मचारीमध्ये १ सय २९ जना अफिसर अर्थात् शाखा अधिकृत, ६ जना उपसचिव र एकजना सहसचिवको दरबन्दी रहेको छ । 

तर यतिबेला अध्यागमन कार्यालयमा जम्मा ९४ जना शाखा अधिकृत र ३ जना उपसचिव मात्रै कार्यरत छन् । उनीहरुमध्ये पनि कतिपय विदामा बसिदिन्छन् भने कतिपय बिरामी हुने गर्छन् । 

जसका कारण दैनिक करिब ८५ जना कर्मचारी मात्रै कार्यालयमा आउने गरेका छन् । जसको कारण अध्यागमन कार्यालयको डेस्क खाली हुँदा सेवाग्राही र पर्यटकले भने घन्टौँ लाइनमा बस्नुपरेको छ । 

विमानस्थल अध्यागमन कार्यालयका प्रमुख दीर्घ नारायण पौडेलका अनुसार अहिले १ सय ३६ जना अधिकृतको दरबन्दी भएको अध्यागमन कार्यालयमा जम्मा ९४ जना अधिकृत मात्रै कार्यरत छन् । 

पौडेलका अनुसार कार्यालयमा १ सय २९ जना शाखा अधिकृत, ६ जना उपसचिव र एक जना सहसचिवको दरबन्दी छ । तर १ सय ३६ जना कर्मचारीको दरबन्दी रहेको भए पनि कार्यालयमा भने जम्मा ९४ जना कर्मचारी मात्रै काम गरिरहेका छन् । उनका अनुसार अहिले शाखा अधिकृत ९० जना, उपसचिव ३ जना र एकजना सहसचिवले मात्रै काम गरिरहेका छन् । जसका कारण अध्यागमन कार्यालयको काम ज्यादै सुस्त गतिमा चल्ने गरेको छ । 

पूरा डेस्क सञ्चालनमा आएन
अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३७ वटा डेस्क छन् र प्रत्येक डेस्कमा एकजना अधिकृतस्तरको कर्मचारी चाहिन्छ । विमानस्थलमा २२ वटा डेस्क आगमनतर्फ र १५ वटा डेस्क प्रस्थानतर्फ रहेको छ ।

तर कर्मचारीको अभावमा कारण यी सबै डेस्क सञ्चालनमा आउन सकेको छैन । जसको कारण अध्यागमन कार्यालयमा बाहिर जानका लागि करिब २ घण्टा कुर्नुपर्छ भने विदेशी पर्यटक नेपाल आउँदा पनि करिब त्यत्ति नै समय कुर्नुपर्ने अवस्था छ । 

एक सिफ्टमा कम्तीमा ४० कर्मचारी आवश्यक
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख पौडेलका अनुसार पूरै डेस्क सञ्चालन गर्नका लागि एक सिफ्टमै कम्तीमा ४० जना अफिसरको आवश्यकता हुन्छ । ३७ वटा डेस्कका लागि ३७ जना अफिसर, एकजना डिपार्चर अफिसर र एकजान अराइभल अफिसर तथा एकजना वरिष्ठ अध्यागमन अधिकृतसहित एक सिफ्टमा ४० जना कर्मचारीको आवश्यकता रहेको हुन्छ । 

अबको केही दिनमा नै एअरपोर्ट २१ घण्टा सञ्चालनमा आउने भएकाले अब ३ सिफ्टमै कर्मचारी व्यवस्थापन गर्दा कम्तीमा पनि १ सय २० जना कर्मचारी आवश्यक हुन्छ । साप्ताहिक बिदाको व्यवस्थापन गर्दा अरू थप १५ जना कर्मचारीको आवश्यकता रहन्छ ।

 त्यसकारण पनि अध्यागमन कार्यालयका पूरै डेस्क सञ्चालनमा ल्याउने हो भने दरबन्दी अनुसारका सबै कर्मचारी आवश्यक रहेको पौडेल बताउँछन् । तर कर्मचारी अभावका कारण अहिले पूरै डेस्क सञ्चालनमा ल्याउन सकिएको छैन । 

कर्मचारीको आरोपः ‘गृहसचिवले आफ्नो मान्छे खोज्दा कर्मचारीको अभाव’


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमै कार्यरत एकजना अध्यागमन अधिकृतका अनुसार गृहसचिव प्रेमकुमार राईले आफ्नो मान्छे मात्रै खोज्दा अध्यागमनमा कर्मचारीको अभाव भएको हो । 

ती कर्मचारीका अनुसार राईले आफू निकट र आफ्नो राजनीतिक आस्था रहेको कर्मचारी खोज्दाखोज्दै अध्यागमन कार्यालयमा कर्मचारीको अभाव हुन पुगेको हो ।

 केही समयअगाडि मात्रै अध्यागमन कार्यालयमा कार्यरत ५ जना अध्यागमन अधिकृतहरु अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि निलम्बनमा परेका थिए । 

कर्मचारी एअरपोर्टमा जान मानेनन्ः अध्यागमन विभाग
यता अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेल भने अध्यागमन कार्यालयमा कर्मचारी पठाउने वा नपठाउने सन्दर्भमा गृहसचिव प्रेमकुमार राईको कुनै चाहना र हस्तक्षेप नरहेको जिकिर गर्छन् । 

पौडेल भन्छन्, ‘अध्यागमन कार्यालयमा अफिसरहरुको कमी भएको सत्य हो । कतिपय कर्मचारी निलम्बनमा परेका छन्, कतिपय कर्मचारी बाहिर नै छन् । हामीले पूर्ण क्षमतामा काम गर्न नपाएको कुरा सत्य हो । तर गृहसचिवज्यूले आफ्नो मान्छे पठाउन खाली राखेको कुरामा चाहिँ कुनै सत्यता छैन ।’

महानिर्देशक पौडेलका अनुसार सामान्य प्रशासनले अहिले पनि थप २० जना अधिकृत दिन्छु भनेको छ । तर अध्यागमनमा जाने कर्मचारी पाउन सकिएको छैन ।

कुनै समय एअरपोर्टमा जान फोर्स लगाउने कर्मचारीहरु अहिले एयरपोर्टमा सकेसम्म जानु नै नपरोस् भनिरहेका छन् । उनीहरुलाई रोज्न लगाउँदा पनि एअरपोर्ट प्राथमिकतामा नपरेको र जानुस् न भन्दा पनि उनीहरु एअरपोर्ट जान मानिरहेका छैनन् । 

अध्यागमन कार्यालय एअरपोर्ट विवादित स्थान हुने कुनै एक कर्मचारीको गल्ती वा असावधानीका कारण केही समस्या परे पनि त्यस दिन त्यो सिफ्टमा कार्यरत अफिसरहरु कारबाहीको दायरामा आउने भएकाले उनीहरु सकेसम्म एअरपोर्टमा जान नै मानिरहेका छैनन् । 

७ जना कर्मचारी काजमा मन्त्रालयतिर
अध्यागमन कार्यालयमा दरबन्दी रहेर सरुवा लिए पनि ७ जना अफिसरहरु यतिबेला काजमा मन्त्रालय तथा विभिन्न निकायमा काम गरिरहेका छन् । जसको कारण पनि अध्यागमन कार्यालयमा कर्मचारीको अभाव खड्किएको छ । 

नेपाल भ्रमण वर्षलाई पार्न सक्छ असर
कर्मचारी अभावका कारण अहिले पनि अध्यागमन कार्यालयले चुस्त गतिमा काम गर्न सकिरहेको छैन । 

सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाउन लागिरहेको छ । जसका कारण यस वर्षको पुसको मध्य अर्थात् जनवरी १ बाट पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने सम्भावना रहेको छ ।

 जसको कारण यदि समयमै अध्यागमन कार्यालयमा कर्मचारीको व्यवस्थापन गर्न नसक्ने हो भने नेपाल आउने पर्यटकहरुले अध्यागमन पार गर्न नै २ देखि ३ घण्टा लाग्न सक्छ । 

जसले एकातिर आगमन कक्षमा पर्यटक र आगन्तुकको भीड बढ्छ भने नेपालबारे राम्रो सन्देश पनि नजान सक्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप