शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक, २० गते मनोनयनपत्र दर्ता

बुधबार, ०२ पुस २०७६, १२ : ५५
बुधबार, ०२ पुस २०७६

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य पदका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले बुधबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार पुस १७ गते मतदाता नामावली प्रकाशित हुनेछ । सोही दिन मतदाता नामावली उपर दावी–विरोधको उजुरी दिने समय तोकिएको छ ।

पुस १८ गते उजुरी उपर छानविन गरी अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ भने पुस २० गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ ।

सोही दिन दिउँसो ३ बजेपछि मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने र २२ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने कार्यतालिका छ ।

मनोनयन भएका उम्मेदवारको नामावली भने २३ गते बिहान १० देखि दिउँसो १ बजेसम्म प्रकाशित गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरेको छ ।

यस्तै, २४ गते उम्मेदवारले नाम फिर्ता लिन सक्ने समय तोकिएको छ । २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ । माघ ९ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म मतदानको कार्यतालिका छ ।

मतदानपछि मतगणना सुरु गरिने आयोगले जनाएको छ ।

संविधानको धारा ८६ को उपधारा ४ बमोजिम आगामी फागुन २० गते राष्ट्रिय सभामा एकतिहाई सदस्यको पदावधि समाप्त हुँदैछ । रिक्त हुने सिटका लागि आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप