शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनटीसीको रिचार्ज कार्डको नम्बर मेटिएर ६ वटा नम्बरमात्रै देखिए ? यसरी गर्नुस् रिचार्ज

बुधबार, ०२ पुस २०७६, १५ : ५९
बुधबार, ०२ पुस २०७६

काठमाडौँ । नेपाल टेलिकमका रिचार्ज कार्डमा अधिकांश नम्बर मेटिएर कमसेकम ६ वटा नम्बर मात्र देखिएका छन् भने पनि रिचार्ज गर्न सकिने भएको छ । यसका लागि ग्राहकले पहिलो चरणमा कम्पनीको वेबसाइटबाट आफैंले रिचार्ज गर्न सक्ने जनाइएको छ ।  

कार्डको पिन नम्बर प्रष्ट नभएमा वा कोरिएमा ग्राहकले नम्बर बिग्रिएको रिचार्ज कार्डको सिरियल नम्बर, रिचार्ज कार्डमा देखिने पिन नम्बर र रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर उपलब्ध गराउनु पर्ने टेलिकमले जनाएको छ । 

 यसका लागि कम्पनीको वेबसाइटमा गएर पिन रिकभरीमा क्लिक गर्ने वा सिधै http://pinrecovery.ntc.net.np/ मा लग अन गर्नुपर्छ । ‘रिचार्ज कार्डमा भएका १६ अंकका पिन नम्बर मध्ये कमसेकम ६ वटा अंक देखिने हुनुपर्छ । यसरी देखिने पिन नम्बरलाई कार्डमा लेखिएको अवस्थामा राख्नुपर्छ र मेटिएको अंकमा ‘*’ चिन्ह राख्नुपर्छ । जस्तो कि पिन नम्बरको फर्म्याट १२३४५६७८९०१२३४५६ छ र बीच बीचका पिन नम्बर मेटिएको वा नबुझिने छ भने त्यही अनुसार १**४५*७८**१२**५* संरचना बमोजिम राख्नुपर्छ ।’ टेलिकमको विज्ञप्तिमा उल्लेख छ ।  

यसरी रिचार्ज गर्दा पनि गलत भयो भने बढीमा १० पटकसम्म प्रयास गर्न सकिनेछ । यो भन्दा बढी पटक गलत तरिकाले रिचार्ज गर्न खोजियो भने वेबसाइटबाट सफल हुँदैन र रिचार्ज कार्ड साट्नका लागि कम्पनीको काउन्टरमै जानुपर्ने कम्पनीले जनाएको छ । 

‘कमसेकम ६ अंक पनि नदेखिएमा भने साट्न वा रिचार्जका लागि काउन्टरमै जानुपर्छ । यसअघि सबै प्रकारका कार्ड साट्नका लागि कम्पनीको काउन्टरमै पुग्नुपर्ने बाध्यता रहेकोमा यो व्यवस्था पश्चात हटेको छ । काउन्टरमा गएपछि यसको जाँच गरेर सोही मूल्यको नयाँ रिचार्ज कार्ड दिने व्यवस्था छ । वेबसाइटबाटै ग्राहकले आफंै नै रिचार्ज गर्ने व्यवस्थाले सेवाग्राहीलाई निकै नै सहज हुने अपेक्षा गरिएको छ’, कम्पनीकी प्रवक्ता प्रतिभा वैद्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  

टेलिकमले भविष्यमा ‘नेपाल टेलिकम’ एप र सर्ट कोडमार्फत एसएमएस पठाएर समेत रिचार्ज कार्ड साट्न सकिने व्यवस्था गर्ने कम्पनीको योजना बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप