शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालसँगको खुला सीमाबाट हुने घुसपैठ रोक्न भन्दै भारतद्वारा सिमानामा लेजर फेन्सिङ लगाउन सुरु

बुधबार, ०२ पुस २०७६, १७ : ३७
बुधबार, ०२ पुस २०७६

भारतले नेपालसँगको सिमानामा विदेशी नागरिकहरुको घुसपैठ रोक्न ‘लेजर फेन्सिङ’ लगाउन शुरु गरेको भारतीय मिडिया भाष्करले लेखेको छ । 

नेपाल–भारत सिमानाका सुरक्षामा तैनाथ सशस्त्र सीमा बल(एसएसबी)का डीजी राजेश चन्द्रले मंगलबार यसको जानकारी दिएको भाष्करले लेखेको छ । 

‘भारत–नेपाल सिमानामा घुसपैठ हुने क्षेत्रलाई मार्क गरिएको छ । भविष्यमा बाँकी हिस्सालाई पनि लेजर फेन्सिङको सहयोगले सुरक्षित गरिनेछ ,’ चन्द्राले भने । 

एसएसबीका डीजी चन्द्राले भाष्करसँगको कुराकानीमा नेपाल–भारतबीचको खुल्ला सिमाना प्रयोग गरेर पछिल्लो समय तेस्रो देशका नागरिक अनाधिकृत रुपमा भारत प्रवेश गर्ने प्रयास बढेको बताए । उनले सुरक्षालाई बलियो बनाउनको लागि फेन्सिङ लगाउने कदम उठाएको बताए । 

यो वर्ष हालसम्म ५९ विदेशी नागरिकहरुलाई अनाधिकृत रुपमा भारत प्रवेश गर्न लागेको अवस्थामा पक्राउ गरिएको थियो । यसमध्ये केही पाकिस्तान र चीनका रहेको बताइएको छ । 
अघिल्लो वर्ष यसरी पक्राउ पर्नेको संख्या २८ थियो । 

यही वर्ष नोभेम्बर २०–२२मा नेपाल–भारतका सुरक्षा एजेन्सीबीच भएको वैठकमा नेपालले आफ्नो जमिनको प्रयोग भएर भारतविरुद्ध कुनै आतंकवादी कार्य हुन नदिने प्रतिबद्धता जनाएको थियो । 

नेपाल–भारतबीच १७५१ किमीको खुल्ला सिमाना छ । भारतीय मिडिया र त्यहाँको संस्थापनका केहीले यो सिमाना भारतविरुद्धको आतकंवादी आक्रमणका लागि प्रयोग हुने गरेको आरोप लगाउने गरेका छन् । 

तर नेपालले भने आफ्नो भूमिलाई कुनै पनि मित्र राष्ट्रविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाउने गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप