शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कारको गलत प्रतिवेदन बुझाउने दुई चिकित्सकलाई ६ महिना कैद र २५ हजार जरिवाना

बुधबार, ०२ पुस २०७६, १८ : १०
बुधबार, ०२ पुस २०७६

जनकपुर । बलात्कारको गलत प्रतिवेदन दिने तत्कालिन जनकपुर अञ्चल अस्पतालका २ जना डाक्टरलाई विशेष अदालत काठमाडौंले दोषी ठहर गरेको छ । मंगलबार डा.विजयकुमार सिंह र डा.रम्भा गोइतलाई दोषी ठहर गर्दै जनही ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना तोकिएको हो । विशेष अदालत काठमाडौंका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले उनीहरुलाई दोषी ठहर गर्दै कैद सहित जरिवानाको निर्णय गरेको छ ।

सरकारी अस्पतालमा कार्यरत रहेका चिकित्सक सिंह र गोइतले अधिकारको दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । चिकित्सकद्वयले धनुषाकी १२ वर्षीया बालिका बलात्कृत नभएको भनि गलत प्रतिवेदन दिएका थिए । डा.सिंह र डा.गोइतलाई न्यूनतम चिकित्सकीय आचरण तथा व्यवहार विपरीत मेडिकल रिपोर्ट दिएको ठहर गर्दै उनीहरुको व्यावसायिक प्रमाणपत्र समेत निलम्बन गरिएको थियो ।

घटनाबारे अध्ययन गर्न नेपाल मेडिकल काउन्सिलले गठन गरेको छानबिन समितिले उनीहरुलाई चिकित्सकीय अभ्यासबाट समेत वञ्चित गर्ने निर्णय गरेको थियो । २०७५ भदौ ८ गते धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर २ कि बलात्कृत बालिकाको नमुना परीक्षणपछि बलात्कार नभएको प्रतिवेदन ती चिकित्सकले दिएका थिए ।

अपराधीलाई जोगाउन उनीहरुले गलत प्रतिवेदन तयार पारि दिएको अध्ययनमा पाइएको थियो । जनकपुर र सिरहामा बालिकाको नमुना परीक्षणको फरक–फरक प्रतिवेदन आएपछि मेडिकल काउन्सिलले डा. कालुसिंह खत्रीको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

यस्तो छ घटनाको विवरण 

धनुषाको जनकनन्दनी गाउँपालिकामा काकीसँग बस्दै आएकी १२ वर्षीया बालिकालाई २०७५ भदौमा घरमा सुतिरहेका बेला २३ वर्षीय किरण खत्वेले बलात्कार गरे । आमाको मृत्यु भएको र बुबा रोजगारीका लागि विदेशमा रहेकाले उनी काकीसँगै बस्दै आएकी थिइन् । तर ती बालिकासँग घटनापछि बालिकालाई स्वास्थ्य परीक्षणको लागि इलाका प्रहरी कार्यालय खजुरीले भदौँ ९ गते जनकपुर अञ्चल अस्पताल लगेको थियो ।

अञ्चल अस्पतालले ११ दिनपछि दिएको उक्त रिपोर्टमा स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकद्वय गोइत र सिंहले बालिकालाई स्वास्थ्य परीक्षणमा भेजिना नर्मल र ह्युमेन नर्मल उल्लेख गरेको प्रतिवेदन बुझाएको थियो । तर, पीडित परिवारले तत्कालिन जनकपुर अञ्चल अस्पतालको उक्त प्रतिवेदनमाथि चित्त नबुझेपछि गत भदौ २५ गते जिल्ला अस्पताल सिरहामा बालिकाको पुनः स्वास्थ्य परीक्षण गराएका थिए ।  

डा.राकेशकुमार सिंहले गरेको स्वास्थ्य जाँचमा पीडित बालिकाको गाला र ओठमा ‘बाइट मार्क’ (गाला र ओठ टोकिएको), ‘भेजाइना कन्जेसन’ (योनीमा चोट) र ‘हाइमेन रप्चर्ड’(योनिको झिल्ली च्यातिएको) देखाएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बलात्कारको घटनापश्चात भारत भागेका आरोपित खत्वेलाई पैसा लिन घर फर्केको बेला प्रहरीले गत भदौं ९ गते पक्राउ गरेको थियो । अभियुक्त खत्वेले प्रहरीसँगको बयानमा आफूले अपराध गरेको स्वीकारेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप