शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भिडियो समाचार : अमेरिकी परियोजना ‘एमसीसी’ पास हुने, सत्तारुढ नेकपाबाटै विरोध

बिहीबार, ०३ पुस २०७६, १९ : २३
बिहीबार, ०३ पुस २०७६

‘एमसीसी’ बारे सरकार

सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)पास हुने बताएका छन् । 

 मन्त्री बाँस्कोटाले सोबारे के हुन्छ भनेर चिन्ता गर्नु नपर्ने बताउँदै सरकारदेखि सरकारबीचको सम्बन्ध रहेको जानकारी दिए । 

 सत्तारुढ दल नेकपाभित्र एमसीसीको विषयमा चर्को बहस भइरहेको बेला सरकारका प्रवक्ताबाट भने यस्तो धारणा आएको हो । एमसीसीको नेताहरु भीम रावल, देव गुरुङ, युवराज ज्ञवाली, मणि थापा, रघुजी पन्त, योगेश भट्टराईललगायतले चर्को विरोध गर्दै आएका छन् । 

राजनीतिक दलको विचारधाराले सरकारको प्रतिनिधित्व नगर्ने बताउँदै मन्त्री बाँस्कोटाले देश देशबीचको सम्बन्धमा राजनीतिक विचारधाराले अर्थ नराख्ने बताए । 

मन्त्री बाँस्कोटाले संसदको अघिल्लो अधिवेशनमै पास गर्न लागेको बताउँदै अब संसद बैठक बस्न लागेकोले यो कार्ययोजना पास हुने बताए । 

 एमसीसीलाई इन्डोप्यासिफिक परियोजना भनिनु कि धेरै बुझेको हुनुपर्ने कि केही नबुझेको हुनुपर्ने उनको तर्क उनको छ । 

उनले यो विषय सन् २०१२÷१३ तिर आएको बताउँदै त्यो बेला इन्डोप्यासिफिक भन्ने शब्द नभएको बताए । 

उनले यो परियोजना ५० अर्बको रहेको बताउँदै नेपालको लागि लाभदायक रहेको दावी गरे ।

मन्त्रिपरिषद् निर्णय सार्वजनिक
सरकारले सीमा क्षेत्रमा ११४ सुरक्षा पोष्ट थप गर्ने भएको छ । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मङ्सिर ३० गते बसेको मन्त्रिपरिषद बैठकले सीमा क्षेत्रमा ११४ सीमा सुरक्षा पोष्ट थप गर्ने निर्णय गरेको बताए । 

 मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले सीमा क्षेत्रमा ११४ वटा सुरक्षा पोष्ट थप गरिने बताएका हुन् । यसअघि १०७ वटा सीमा सुरक्षा पोष्ट थिए । सीमा सुरक्षा पोष्ट थपिएसँगै अब २२१ वटा सुरक्षा पोष्ट हुनेछ ।

त्यसैगरी, सरकारले नेपाली सेनाका ३ उपरथीहरुको सरुवा गर्ने निर्णय गरेको छ । मंसिर ३० गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । सेनाका सहायक रथि निर्मलकुमार थापालाई उपरथि, महासेनानी नारायण सिलवाललाई सहायक रथि र प्रमुख सेनानीद्वय लव खत्री र रुपेन्द्र बुढाथोकीलाई महासेनानीमा पदोन्नती गर्ने निर्णय समेत गरेको छ । त्यस्तै महासेनानी दिप सिंह र प्राविधिक महासेनानी डा.अमित जोशीको राजीनामा पनि बैठकले स्वीकृत गरेको छ ।

बैठकले निजामति सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका २ जना अधिकृतलाई सरुवा गर्ने निर्णय पनि गरेको छ । सुदुर पश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद बिडारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव बालकृष्ण घिमिरेलाई सुदुरपश्चिम प्रदेशमा सरुवा गरिएको छ ।

बैठकले सरकारी सार्वजनिक, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाहरुको हिनामिना सम्बन्धी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गठित नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) को छानविन समितिको म्याद २०७६ मंसिर२८ देखि पुस २८ सम्मका लागि एक महिना थप गर्ने निर्णय समेत गरेको छ ।

नेकपाको बैठक

 सत्तारुढ दल नेकपाको जारी स्थायी कमिटी बैठकमा सदस्यहरुले बोल्ने क्रम अन्तिम चरणमा पुगेको छ ।

बिहीबारको बैठकमा १० सदस्यहरुले आ–आफ्नो धारणा राखेका छन् । बिहीबारको बैठकमा किरण गुरुङ, चक्रपाणी खनाल,सुवास नेम्वाङ,भीम आचार्य विष्णु रिमाल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा,माधवकुमार नेपाल र झलनाथ खनालले प्रतिवेदनाथि आफ्नो विचार राखेका हुन् । 

स्थायी समितिका सदस्यहरुमध्ये अव महासचिव विष्णु पौडेलले धारणा राख्न बाँकी रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि जानकारी दिए । महासचिव पौडेलले शनिबार बस्ने बैठकमा आफ्नो विचार राख्ने र त्यसपछि अध्यक्षले सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिएर बैठक समापन गर्ने तयारी छ । 

राजनीतिक प्रतिवेदन तथा विधान संशोधनबारे उठेका प्रश्नको जवाफ र संशोधन गर्नुपर्ने बुँदाका बारेमा अर्का अध्यक्ष केपी ओलीसँग छलफल गर्नका लागि बैठक शुक्रबार नबसि शनिबार राखिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।  

त्रिभुवन विश्वविद्यालय 

त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोहबाट १० हजार १ सय ८३ जना विद्यार्थी दीक्षित भएका छन् ।

पुल्चोक क्याम्पसमा आयोजना भएको त्रिविको दीक्षान्त समारोहबाट सबैभन्दा बढी व्यवस्थापन संकायका ३ हजार ७०३ जना विद्यार्थी दीक्षित भएका छन् । 

यसैगरी मानविकी संकायतर्फ २ हजार ९१, इन्जीनियरिङ्गमा १ हजार १८६, विज्ञानतर्फ १ हजार ९८ र चिकित्सा तर्फ ८६४ जना विद्यार्थीहरु दीक्षित भएका छन् । 

त्यसैगरी कानुनमा १८०, वन विज्ञानमा ३३, कृषि तथा पशु विज्ञानमा १३२, शिक्षामा ७७१, जना स्नातकोत्तर र स्नातक तह उत्तिर्ण विद्यार्थी दीक्षित भएका हुन् । 

यस्तै विद्यावारिधि (पीएचडी) मा ८५ र एमफीलमा ४० जना दीक्षित भएका छन् । त्रिविले विभिन्न संकायमा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पदक समेत प्रदान गरेको छ । समारोहमा सहभागि सहकुलपति तथा शिक्षामन्त्री गिरीराजमणी पोखरेलले शिक्षालाई समृद्धिको एउटा पूर्वाधारका रुपमा अगाडी बढाउन पहल भएरहेको बताए । 

 समारोहमा बंगलादेशको ढाका विश्वविद्यालयका उपकुलपति प्रा.डा. मोहम्मद अख्तरुज्जमानको पनि सहभागिता रहेको थियो । यो वर्ष दीक्षान्त समारोहमा सहभागी हुन ७० हजार ७७ विद्यार्थी योग्य भए पनि १० हजार १८३ विद्यार्थीले मात्र फाराम भरेका थिए ।  

प्रधानमन्त्री ओली अस्पतालमा

प्रधानमन्त्री केपी ओलीलाई नियमित डायलासिसका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर सेन्टरमा लगिएको छ ।

 प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली नियमित डायलासिसका लागि विहीबार अस्पताल गएका हुन् । 

प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि नियमित डायलासिस गरिँदै आएको छ । प्रधानमन्त्री ओलीको कात्तिक १३ गते पहिलो पटक डायलायसिस गरिएको थियो । ०६४ सालमा ओलीको भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसयता उनले औषधि सेवन गर्दै आएका थिए । 

अर्थ मन्त्री अर्थसमिति

अर्थमन्त्री डा. युवराज खतिवडाले नदिजन्य निर्माण सामग्रीको उत्खननले मात्रै ठुला परियोजना निर्माण सम्भव नभएको बताउँदै पहाड फोरेर गिट्टी बालुवा उत्खनन गर्नुपर्ने बताएका छन् । 

अर्थसमितिको बैठकमा अर्थमन्त्री खतिवडाले रणनीतिक राजमार्ग, विमानस्थल तथा रेल्वे निर्माणका लागि ठूला पहाडहरु फोर्नुको विकल्प नरहेको बताए ।  उनले प्रदेश र स्थानीय तहबीचको बहसका कारण पहाडबाट निर्माण सामग्रीहरु उत्खनन गर्न कठिनाई भएको उल्लेख गर्दै यस्तो अवस्था रहिरहे ठुला परियोजनाहरुको निर्माण कार्य प्रभावित हुने बताए । 

अर्थमन्त्री खतिवडाले पछिल्लो समय सार्वजनिक खरिद नियमावलीका कारण पनि विकास निर्माण प्रभावित भएको बताए । 

त्यसैगरी, बैठकमा विभिन्न मन्त्रालयका सचिवहरुले विकास निर्माणमा भौतिक प्रगति भएको तर बजेट निकासामा ढिलाई हुँदा वित्तीय प्रगति नदेखिएको बताए । 


राष्ट्रिय सहकारी 

यता अर्थमन्त्री डा. युवराज खतिवडाले सहकारी बैंक सहकारी संस्थाहरुको संरक्षक भएको बताएका छन् । 

राष्ट्रिय सहकारी बैंकको १६ औं वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री खतिवडाले सहकारी बैंक सहकारी संस्थाहरुको संरक्षक, तरलता व्यवस्थापक, पूँजी परिचालक र सल्लाहकार संस्था भएको बताउनुभएको हो ।

अर्थमन्त्री खतिवडाले सहकारी बैंकले सीमित बैंकिङ कारोबार मात्रै गर्नुपर्ने बताए । 

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारी ऐनअनुसार सहकारी संस्थाहरुले के गर्न खोजेपनि विभिन्न ऐनहरुले बाटो बन्द गरिदिने गरेको बताए । 

स्रष्टा सम्मान कार्यक्रम

उपराष्ट्रपति नन्दबहादुर पुनले कलाकारहरु राष्ट्रका धरोहर भएपनि राज्यबाट पर्याप्त लगानी हुन नसकेको बताएका छन् । 

नातिकाजी स्मृति समाजले उपराष्ट्रपति कार्यालयमा गरेको स्रष्टा सम्मान कार्यक्रममा उनले कलाकारहरुको सम्मानमा राज्यस्तरबाट कमी भएको बताएका हुन् । 

 उपराष्ट्रपति पुनले नयाँ प्रतिभा जन्माउन र प्रतिभा प्रस्फुटनका लागि विशेष पहन गर्न पनि सरकारको ध्यानाकर्षण गरे । 

समारोहमा नातिकाजी राष्ट्रिय विशिष्ट स्रष्टा सम्मानबाट डा. समर बहादुर मल्ललाई सम्मानित गरिएको छ । मल्ललाई २० हजार १ रुपैयाँ नगदसहित सम्मानित गरिएको हो । त्यसैगरी नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मानबाट ८ जना सम्मानित भएका छन् ।

 सम्मानित हुनेमा जगतमर्दन थापा, कर्म योञ्जन, मोहनकृष्ण ढली र सिके रसाइली रहेका छन् । त्यसैगरि भारती उपाध्याय, तीर्थ कुमारी थापा, शम्भु राई र मिलन मोक्तान नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मानबाट सम्मानित भएका छन् ।  त्यस्तै नातिकाजी राष्ट्रिय संगीत पुरस्कार ४ जनालाई प्रदान गरिएको छ ।

११ हजार १११ राशीको यो पुरस्कार प्रमोद ढुंगाना, यम बराल, रेखा शाह र सुरेश अधिकारीलाई प्रदान गरिएको हो । नातिकाजी राष्ट्रिय संगीत प्रतिभा पुरस्कारबट मनराजा नकर्मी, भुपेन्द्र खड्का, टिका प्रसाई र प्रल्हाद तिमिल्सिनालाई प्रदान गरिएको छ । 

बहिर्गमित जनमुक्ति सेना

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले बहिरगमनमा परेका जनमुक्ति सेनाहरुको उचित व्यवस्थापनका लागि छुट्टै कानुन निर्माण गर्नुपर्ने बताएका छन् । 

बहिर्गमनमा परेका जनमुक्ति सेना नेपालले सार्वजनिक सरोकारका मुद्धा, बालसेनाको अधिकार र जिविकोपार्जन सुनिश्चितका लागि गरेको अन्तक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

आत्मसम्मानका साथ समाजमा काम गर्न पाउनुपर्ने वातावरणका सिर्जना गर्न बहिर्गमित जनमुक्ति सेनाको हकमा सरकारले छुट्टै कानुन निर्माण गर्नुपर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप