बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

संसारमै नभएको मुलुक ‘वकान्डा’सँग अमेरिकी सरकारको व्यापारिक सम्बन्ध ?

सोमबार, ०७ पुस २०७६, १२ : २२
सोमबार, ०७ पुस २०७६

वासिङ्टन । अमेरिकाले संसारमै भौगोलिक अस्तित्व नरहेको मुलुक ‘वकान्डा’सँग व्यापारिक सम्बन्धबारे नीतिगत निर्णय गरेपछि यसले अन्तर्राष्ट्रियस्तरमा चर्चा पाएको छ ।

अमेरिकाको कृषि विभागले वकान्डालाई एक मुक्त व्यापार भागिदार देशका रुपमा सूचीबद्ध गरेको हो । जबकि वकान्डा नाम गरेको देश भौगोलिक रुपमा संसारमै छैन ।

‘वकान्डा’को नाम कसरी आयो ?

फिल्म निर्माण कम्पनी डिज्नी मार्वल युनिभर्सको फिल्म ‘ब्ल्याक प्यान्थर’ मा वकान्डा नाम गरेको एउटा काल्पनिक देश छ ।

फिल्ममा उक्त मुलुकलाई धर्तीको सबैभन्दा आधुनिक प्रविधियुक्त देशका रुपमा देखाइएको छ । फिल्ममा वकान्डालाई पूर्वी अफ्रिकी क्षेत्रमा रहेको मुलुकका रुपमा चित्रण गरिएको छ ।

व्यापारिक रुपमा निकै सफल यो चलचित्रबारे अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले समेत प्रशंसा गरेका थिए । उक्त चलचित्रले ओस्कार पुरस्कारसमेत प्राप्त गरेको छ ।

यसअघि सन् १९६६ मा ‘फेन्टास्टिक फोर’ कमिकमा वकान्डाको नाम पहिलो पटक आएको थियो ।

अमेरिकी कृषि विभागको गल्ती

फिल्ममा काल्पनिक देशका रुपमा देखाइएको वकान्डालाई अमेरिकाको कृषि विभागले कसरी व्यापारिक सम्बन्धसँग जोड्दै निर्णय ग-यो भन्नेबारे सर्वत्र चासो बढेको छ । कृषि विभागका प्रवक्ताले परीक्षणका क्रममा भुलवस यस्तो गल्ती भएको बताएका छन् । उनले विभागकै कर्मचारीहरुले परीक्षणकै क्रममा बनाएको सूची अचानक सार्वजनिक हुन पुगेको बताएका छन् ।

अमेरिकी कृषि विभागले आफ्नो अनलाइनमा अमेरिका र वकान्डाबीच व्यापार हुने वस्तुहरुको नामसमेत सार्वजनिक गरेको छ । हाँस, गधा, गाई जस्ता वस्तुलाई दुई देशबीचको व्यापारिक वस्तुका रुपमा उल्लेख गरिएको छ ।

अमेरिकाको कृषि विभागले वकान्डालाई एक मुक्त व्यापार भागिदार देशका रुपमा सूचीवद्ध गरेसँगै धेरैले ठट्यौली गरे । कयौं प्रतिक्रिया आए । धेरैजसोले व्यङ्गात्मक टिप्पणी गरे– ‘अमेरिकाले अब काल्पनिक मुलुकसँग व्यापार युद्ध सुरु गरेछ ।’

त्यसपछि भने अमेरिकी कृषि विभागले वकान्डाको नाम सूचीबाट हटाएको छ ।

यसअघि पनि भएका थिए यस्ता त्रुटि

संसारमा नभएका मुलुकको नाम लिने गरेको घटना यो पहिलो भने होइन । सन् २०१७ मा पोल्याण्डका तत्कालिन विदेशमन्त्री विटोल्ड वाज्जकोभ्स्कीले संयुक्त राष्ट्र सुरक्षा परिषदमा पोल्यान्डलाई सामेल गराउनका लागि विभिन्न मुलुकका प्रतिनिधिसँग आफूले छलफल गरेको बताएका थिए । यस क्रममा उनले बेलीज र सन एस्कोबारको समेत नाम लिएका थिए, जबकि ती मुलुक संसारमै छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप