शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसमा अहिलेसम्मको वार्ता निरर्थक : विवाद ट्रयाक बाहिर !

सोमबार, ०७ पुस २०७६, २१ : ००
सोमबार, ०७ पुस २०७६

काठमाडौं । काँग्रेसको संस्थापन इतरक पक्षले आफ्नो पूर्ववत अडान कायमै राखेको छ । महाराजगञ्जस्थित महामन्त्री शशांक कोइरालाको निवासमा सोमबार अपराह्न इतर पक्षका नेताहरुबीच छलफल भएको थियो । 

आजको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री कोइराला, नेताहरु सिंह, बडू, थानी, डा. रामशरण महत अर्जुन नरसिंह केसी, बद्री पाण्डे, चन्द्र भण्डारीलगायतका नेताहरु सहभागी थिए । यता कृष्णप्रसाद सिटौला समूहबाट गगन थापा र प्रदीप पौडेलको उपस्थिति रहेको थियो । 

पार्टीको १४ औँ महाधिवेशन कार्यतालिका, विभाग र नेविसंघको गठनका साथै तरुण दल विस्तारमा संस्थापन पक्षसँग पूर्ववत अडानका साथ डिल गर्ने उनीहरुले निष्कर्ष निकालेका छन् । संस्थापन पक्षले विभागको संख्या थप गरेर गठन गर्ने, पार्टीको महाधिवेशन २०७७ फागुनभित्र गर्ने गरी कार्यतालिका बनाउने र तरुण दलको अवधि थप गरेर विस्तार गर्ने अडान राखेका छ ।

महाधिवेशन मंसिरमा गर्नुपर्ने, विधान अनुसार मात्र विभाग गठन गर्नुपर्ने, नेविसंघ र तरुण दलमा न्यायोचित भाग पाउनु पर्ने यता इतर पक्षको अडानमा छ । पहिलेको विधानअनुसार महाधिवेशनको दुई महिनामै र नयाँ विधान अनुसार ६ महिनामा विभाग गठन गर्नुपर्ने व्यवस्था विपरीत देउवा ४५ महिनापछि विभाग गठनको तयारीमा छन् । साथै संस्थापन पक्षले विधानले व्यवस्था गरेका २८ विभागलाई बढाएर ४१ विभाग बनाउने प्रस्ताव राखेको छ ।

नेविसंघ तदर्थ समिति बनाउँदा इतर पक्षले अध्यक्ष, उपाध्यक्ष, महामन्त्री, कोषाध्यक्षसहित १ सय १ सदस्यीय कार्यसमिति गठन गर्न माग गरेको छ । अध्यक्षसहित बहुमत सदस्य सभापतिलाई, महामन्त्रीसहित ४० प्रतिशत हिस्सा आफूहरूलाई, अन्य पदाधिकारीमध्ये उपाध्यक्ष सिटौला र कोषाध्यक्ष उपसभापति विजयकुमार गच्छदार पक्षलाई भागबन्डा गर्ने पौडेल पक्षको प्रस्ताव छ । 

तर सभापति देउवाले भने अध्यक्ष र चार महामन्त्रीसहित १ सय १ सदस्यीय कार्यसमितिको अडान राख्दै आएका छन् ।  पौडेल पक्ष भने सिटौला र गच्छदारलाई महामन्त्री दिन नहुने पक्षमा छ । त्यसमा पनि सिटौला पक्षले नेविसंघको विधानमा उल्लेखित ३२ वर्ष उम्मेरहदलाई ध्यानमा राखेर निर्णय लिनुपर्नेमा जोड दिँदै आएको छ । 

उक्त विषयमा सहमति खोज्न पार्टी सभापति शेरबहादुर देउवाले उपसभापति विमलेन्द्र निधिलाई असन्तुष्ट पक्षसँग वार्ता गर्न जिम्मेवारी दिएको छन् । वरिष्ठ नेता पौडेल पक्षबाट प्रकाशमान सिंहको संयोजकत्वमा दिलेन्द्रप्रसाद बडू र हृदयराम थानीसहितको टोलीले निधिसँग वार्ता गरिरहेको छ ।

आजको बैठकमा  सिंह नेतृत्वको वार्ता टोलीले अहिलेसम्म भएको छलफलबारे ब्रिफिङ गरेको  थियो । बैठकमा सहभागी केन्द्रीय सदस्य बद्री पाण्डेले उनीहरुको  ब्रिफिङ अनुसार सहमतिको वातावरण तय भइ नसकेको बताए । मंसिर २६ गते यता सभापति देउवा र उपसभापति विजय गच्छदारले पनि पौडेल पक्षसँग सहमतिका लागि प्रयास गरेका थिए । तर सहमतिको वातावरण भने अहिलेसम्म बन्न सकेको छैन ।


यसको पुष्टि गर्दै उनले भने, ‘अहिलेसम्मको वार्ता निरर्थक भएको देखिन्छ । दुवै पक्ष आफ्नो पूर्ववत अडानमा कायमै रहेको देखियो । यसले सहमति होला जस्तो देखिँदैन । विवाद ट्रयाक बाहिर गएको देखिन्छ ।’ 

यस्तै विधान विपरीत वार्ता समितिलाई निर्णय गर्ने अधिकार नभएको सिटौला पक्षको तर्क छ । सहमतिका नामा विधान विपरीत भएका निर्णय आफूहरुलाई मान्य नहुने प्रदीप पौडेलले बताए ।

तर वार्ता टोलीका सदस्य थानीले विधि–विधानलाई ध्यानमा राखेर वार्ता प्रक्रियालाई अन्तिम टुंगोमा पुर्याउने बताए । मंसिर २६ गतेदेखि जारी काँग्रेस केन्द्रीय समिति बैठक यी नै विषयमा रुमल्लिदा पुस १० गतेका लागि बोलाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप