मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कलङ्कीबाट ‘प्रहरी’ बनेर यसरी लुटियो २ किलो सुन, नेपाल प्रहरीकै सेवानिवृत्त असई पनि संलग्न

लुटिएको सुन ‘तस्करी’ को भएपछि पीडित नै फरार
मङ्गलबार, ०८ पुस २०७६, ०८ : ५१
मङ्गलबार, ०८ पुस २०७६

मंसिर २१ गते साँझ महानगरीय प्रहरी वृत्त कालिमाटीमा ३ जना युवाहरु लुटपाटको उजुरी दिन आइपुगे । साँझ करिब सवा ५ बजेतिर वृत्त आइपुगेका उनीहरुले एउटा सानो निवेदन लिएर आए । निवेदनमा मंसिर १९ गते साँझ कलंकीबाट २ लाख नगद र १ तोलाको सुनको सिक्री लुटिएको कुरा उल्लेख गरे ।

पहिले उनीहरुले निवेदन पनि ढाँचामा लेखेर ल्याएका थिएनन् । पहिलो निवेदन फिर्ता पठाइसकेपछि उनीहरुले पुनः अर्को निवेदन लिएर आए । निवेदनमा उनीहरुले सोही कुरा दोहोराए – मंसिर १९ गते कलङ्कीबाट २ लाख नगद र १ तोलाको सुनको सिक्री लुटियो ।

निवेदनमा उल्लेख भएको कुरा अझै रोचकको थियो । ‘मङ्सिर १९ गते साँझ करिब ६ बजेको समयमा ३ जनाको समूहमा आएका युवाहरुले कलङ्की चोकबाट मलाई अपहरहण गरी मेरो साथमा रहेको २ लाख नगद र एक तोलाको सुनको सिक्री लुटेर लगे । उक्त रकम र सुनको सिक्री लुटिएपछि मेरो परिवारमा तनाव भयो । श्रीमतीले त्यो पैसा र सिक्री खोइ ? तैँले कसलाई दिइस् ? मोजमस्तीमा सकाइस् भन्दै गाली गर्न थालेको र मेरो पारिवारिक विखण्डन हुने खतरा आइपरेकाले कलङ्की चोकदेखि सोल्टीमोडसम्मको सिसिटिभी फुटेज हेरी पाउँ र लुटेरालाई कारवाही गरी पाउँ ।’

पीडित भनिएका व्यक्तिले आफ्नो सम्पत्तिको खोजबिनका लागि भन्दा पनि परिवारका सदस्यलाई ‘कन्भिन्स’ गर्नका लागि सिसिटिभी फुटेज माग गरेको कारण घटना प्रहरीलाई शंकास्पद लाग्यो । पीडित भनिएको व्यक्तिले सायद कतै मोजमस्तीमा रकम सकेर परिवारलाई झुक्याउनकै लागि लुटिएको भनेको हुनसक्ने अनुमान गर्यो । यद्यपि प्रहरीले आफ्नो अनुसन्धान भने जारी नै राख्यो ।

मङ्सिर २१ गते निवेदन परेलगत्तै मंसिर २२ गते महानगरीय प्रहरी वृत्त कालीमाटीका डिएसपी रुगम कुँवरले पीडित भन्दै निवेदन दिने राजेश बिष्टलाई फोन गरी घटनाबारे थप बताउन र प्रहरी कार्यालय बोलाउन आफ्ना प्रहरी अधिकृतलाई निर्देशन दिए । 

तर प्रहरीसँग ‘हुन्छ’ भनेका बिष्ट न प्रहरी कार्यालय आए न त उनले थप खोजबिन नै गरे । त्यसपछि निवेदन नै नक्कली भएको अनुमान गर्दै प्रहरीले आफ्नो समय धेरै खर्च नगर्ने निर्णय ग-यो ।

काठमाडौँमा दक्षिण एसियाली खेलकुद भइरहेको कारण महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी पनि रंगशालाको सुरक्षा र व्यवस्थापनमा ब्यस्त थिए । जब मङ्सिर २४ गते खेलकुद सकियो, त्यसै दिन बेलुका वृत्तका डिएसपी कुँवरलाई एउटा फोन आयो । फोन गर्ने व्यक्तिले वृत्तमा २ लाख नगद र सुनको सिक्री लुटिएकोबारे निवेदन परेकोबारे स्मरण गराउँदै खासमा लुटिएको २ लाख नगद र सुनको सिक्री नभएर २ किलो सुन भएको सुराक दिए ।

त्यसपछि भने कालीमाटी प्रहरीले घटनालाई रहस्यमय भन्दै खोजबिन सुरु ग-यो । पीडित भनिएका व्यक्तिलाई पुनः सम्पर्क गरी प्रहरी कार्यालय आउन भनियो । फोनमा ‘हुन्छ’ भनेपनि पीडित प्रहरी कार्यालय भने आएनन् । बरु उनले घटनामा संलग्न रहेका भनिएका व्यक्तिहरुको हुलिया, त्यसदिन लगाएको कपडा लगायतका बारेमा प्रहरीलाई फोनबाटै जानकारी दियो ।

त्यसपछि मंसिर २५ गते महानगरीय प्रहरी वृत्त कालाीमाटीले घटना भएको भनिएको दिन मंसिर १९ गतेको कलङ्कीको सिसिटिभी फुटेज उपलब्ध गराइपाउँ भनी महानगरीय आयुक्त कार्यालय, रानीपोखरीमा निवेदन दियो ।

यसरी पत्ता लाग्यो लुटेरा समूह

महानगरीय आयुक्त कार्यालयले सिसिटिभी फुटेज उपलब्ध गराएपछि बृहत छानबिन थालेको प्रहरीले घटनामा संलग्न रहेका भनिएका व्यक्तिहरु उक्त दिन घटनास्थलमा रहेको पायो । कलङ्कीको मकालु पेट्रोल पम्प अगाडि ३ जना युवाहरु शंकास्पद अवस्थामा घुमिरहेका देखिए । पहिले माक्स नलगाई वरिपरी घुमिरहेका युवाहरु पछि माक्स लगाएर उभिए । ३ जना युवाहरु यता र उता गरिरहेको देखिए ।

त्यसलगत्तै मकालु पेट्रोल पम्प नजिकै पीडित भनिएका राजेश बिष्ट आउँछन् । बिष्ट आएपछि ती युवाहरुको समूहले उनलाई नियन्त्रणमा लिन्छन् । र, आफूहरु प्रहरी भएको भन्दै कलङ्की चोकबाट कालीमाटीतर्फ जाने बाटोमा आउँछन् ।

त्यसपछि कलंकी चोकबाट कालीमाटी जाने बाटोमा रहेको बा २ ज १८८९ नम्बरको ट्याक्सीलाई खाली हो भन्दै एकजना युवा आएर सोध्छन् । ट्याक्सी चालकले खाली हो भन्छन् । ट्याक्सी खाली हो भनेपछि ती युवाले केही पर रहेका साथीहरुलाई संकेत गर्छन् बोलाउँछन् । त्यसपछि ३ जना युवाहरु पनि ट्याक्सी भएको स्थानमा आउँछन् ।

पहिले ट्याक्सी खाली हो भनेर सोध्ने व्यक्ति थिए, सुजन भन्ने सूर्य अधिकारी । त्यसपछि पछाडि आउने ३ जना युवाहरुचाहिँ एकजना पीडित भनिएका राजेश बिष्ट, अनि २ लुटेराहरु विकास भन्ने टंकप्रसाद अधिकारी र सक्षम अधिकारी थिए ।

ट्याक्सीबारे सोध्ने सुजन भन्ने सूर्य अधिकारी राजेश बिष्टलाई ट्याक्सीमा हालिसकेपछि ट्याक्सीको अगाडि सिटमा आएर बस्छन् । अन्य तीनजना भने ट्याक्सीको पछिल्लो सिटमा बस्छन् ।

ट्याक्सी कलंकी चोकबाट अगाडि बढ्यो । त्यसपछि ट्याक्सीभित्रका युवाहरुले बिष्टसँग सोधपुछ गर्न थाल्छन्, ‘कति ल्याएको छस् ?’ आफूहरु प्रहरी भएको बताएर बिष्टलाई पहिले ने अत्याइसकेका उनीहरुले बिष्टको जीन्दगी अब सकिने भन्दै धम्कीसमेत दिइसकेका थिए ।

त्यसपछि अत्तालिएका बिष्टले २ किलो भएको बताए । कहाँ छ भनेर सोध्दा बिष्टले जुत्ताभित्र लुकाएर राखेको कुरा बताउँछन् । त्यसलगत्तै ट्याक्सीमा भएको ‘प्रहरी’ले बिष्टको जुत्ता खालेर २ थान सुनको बिस्कुट निकाल्छन् । पहिले २ थान छ भनेर जवाफ फर्काएका बिष्टलाई पछि ट्याक्सीको पछिल्लो सिटमा रहेका टंकप्रसाद र सक्षमले एउटा मात्रै छ भन् भनी धम्काए । यो कुरा अगाडि बसेको सूर्यले सुनेनन् ।

*****

सोल्टीमोड चोकमा बिष्टलाई भगाएका ती प्रहरीहरु पनि सोल्टीमोडबाट कालीमाटी जाने बाटोको बीचमा पुगेपछि ओर्लिन्छन् । ट्याक्सीमा रहेका सक्षम अधिकारीले चालकलाई ५ सय रुपैयाँ दिन्छन् र उनीहरु त्यहाँबाट निस्किन्छन् । त्यसपछि ती लुटेरा समूहका सदस्यहरु धुम्बारहीमा रहेको विकास भन्ने टंकप्रसाद अधिकारीको कोठामा पुग्छन् । अनि साथमा रहेको एक किलोग्रामको एउटा सुनको बिस्कुट हेर्छन् । एउटामात्रै सुन रहेको भन्दै पछि भाग लगाउने गरी उनीहरु आ–आफ्नो कोठामा जान्छन् ।

*****

सुनको बिस्कुट लिइसकेपछि ट्याक्सीभित्रका ती युवाहरुले बिष्टलाई हनुमानढोका लगेर बुझाइदेउ भने । ट्याक्सी चालक कान्तबहादुर बस्नेतले यो सब सुनिरहेका थिए । ‘डिएसपीसँग मेरो कुरा भइसकेको छ, हनुमानढोका लिएर हिँड’ भनेर पछाडि बस्ने विकासले सूर्यलाई भन्छन् । ‘तँ अब फसिस्, तेरो जीवन सिद्धियो,’ भनेर उनीहरुले भन्छन् । त्यसपछि ट्याक्सी अगाडि बढ्दै गर्दा बिष्टले आफ्नो बालबच्चा भएको कुरा बताउँछन् । त्यसपछि ट्याक्सीभित्रका ‘प्रहरी’ले बाँच्न मन भए भाग भनेर बिष्टलाई ट्याक्सीबाट बाहिर निकाल्छन् । विकास पनि बिष्टसँगै बाहिर निस्कन्छन् । त्यसपछि पीडित भनिएका राजेश बिष्टलाई विकासले भगाउँछ र विकास बा७४प ८३९ नम्बरको स्कुटरमा चढ्छन् । उक्त स्कुटर अच्युत अधिकारीले चलाएर ल्याएको हुन्छ । विकास त्यही स्कुटरमा बसेर अच्युतसँगै अगाडि बढ्छन् ।

अच्युतको बा७४प ८३९ को स्कुटरसँगै अर्को स्कुटर पनि सँगै आएको हुन्छ । बा७४प ९४६५ नम्बरको स्कुटर पनि कलङ्कीदेखि नै उनीहरुसँगै रहेको हुन्छ । उक्त स्कुटर हेमा घलेको नाममा रहेको हुन्छ र त्यो स्कुटर उनैले चलाएर ल्याएको हुन्छिन् । उनी पनि ती लुटेरा समूहसँगै थिइन्, तर घटनामा उनको प्रत्यक्ष संलग्नता थियो कि थिएन भनेर प्रहरीलाई केही पनि जानकारी हुँदैन ।

सोल्टीमोड चोकमा बिष्टलाई भगाएका ती प्रहरीहरु पनि सोल्टीमोडबाट कालीमाटी जाने बाटोको बीचमा पुगेपछि ओर्लिन्छन् । ट्याक्सीमा रहेका सक्षम अधिकारीले चालकलाई ५ सय रुपैयाँ दिन्छन् र उनीहरु त्यहाँबाट निस्किन्छन् । त्यसपछि ती लुटेरा समूहका सदस्यहरु धुम्बारहीमा रहेको विकास भन्ने टंकप्रसाद अधिकारीको कोठामा पुग्छन् । अनि साथमा रहेको एक किलोग्रामको एउटा सुनको बिस्कुट हेर्छन् । एउटामात्रै सुन रहेको भन्दै पछि भाग लगाउने गरी उनीहरु आ–आफ्नो कोठामा जान्छन् ।

जब प्रहरीले मंसिर २७ गते सिसिटिभी फुटेज पायो र हुलिया मिल्यो, त्यसलगत्तै प्रहरीले ट्याक्सी चालकलाई तत्कालै नियन्त्रणमा लियो । ट्याक्सी चालकसँगै प्रहरीले बा७४प ९४६५ नम्बरको स्कुटर हेमा घलेको रहेको पत्ता लगायो र उनलाई तत्कालै पक्राउ गर्ने योजना बनायो । तर प्रहरीलाई के भनेर बोलाउने भनेर अप्ठेरो पर्यो । प्रहरीले ‘बा७४प ९४६५ नम्बरको स्कुटर तपाईंको नाममा रहेछ, यो स्कुटरले मान्छे हानेर भागेको उजुरी परेको छ कता हुनुहुन्छ’ भनेर सोध्यो । प्रहरीको फोन गएलगत्तै हेमाले आफूले उक्त स्कुटर दसैँदेखि नै गोङ्गबुमा धरौटीमा राखी पैसा ल्याएर चलाएको बताइन् । त्यसपछि कस्कोमा राख्नुभएको हो भेटाउनुपर्यो भनेर हेमालाई प्रहरीले गोङ्गबु बोलाउँछ ।

*****

यतिबेला महानगरीय प्रहरी वृत्त कालीमाटीको हिरासतमा रहेकी हेमा घले नेपाल प्रहरीको अवकाशप्राप्त प्रहरी सहायक निरीक्षक अर्थात् असई हुन् । उनी २४ वर्ष नेपाल पुलिस क्लबमा काम गरेर अवकाश पाएकी हुन् । केही समय अगाडिमात्रै सेवानिवृत्त भएकी हेमाका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेको हेमाले बताएकी छिन् । तर प्रहरीले भने उनका श्रीमान बाहिर नभई नेपालमै कतै हुनसक्ने बताएको छ ।

*****

मान्छेलाई ठक्कर दिएको ‘सामान्य’ घटना सम्झेर गोङ्गबु आइपुगेकी हेमालाई प्रहरीले नियन्त्रणमा लिन्छ र स्कुटर राखेको स्थानमा पु¥याउँछ । स्कुटर राख्ने व्यक्ति थिए, सुजन भन्ने सूर्य अधिकारी । उनको घरमा पुग्दा सूर्य त्यहाँ थिएनन् । प्रहरीले घटना भएको मिति र समय ढाँटेर उक्त स्कुटरले मान्छेलाई ठक्कर दिएकाले तत्काल आउन भने । सुजन घर आइपुगेलगत्तै सोधपुछ गरेको प्रहरीलाई सुजनले उक्त स्कुटर दसैँदेखि नै आफूले धरौटीमा राखेको र हाल आफैले चलाइरहेको जवाफ दिन्छन् ।

तर जब प्रहरीले मंसिर १९ गतेको लुटपाटमा उक्त स्कुटरको संलग्नता रहेको बारे कुरा सुरु गरेपछि केही अत्तालिएका सुजनले घटनाबारे केही थाहा नभएको भन्दै पन्छिन खोज्छन् । बरु आफू मिर्गौलाको रोगी रहेको र एउटामात्रै मिर्गौला रहेको भन्दै बिलौना गर्छन् ।

प्रहरीले थप केरकार गरेलगत्तै सुजनले घटनाबारे ओकल्न थाल्छन् । उक्त दिन एक किलो सुन लुटिएको र उक्त सुन विकासको कोठा धुम्बाराहीमा राखिएको जानकारी दिन्छन् । हेमाको संलग्नता के हो भनी सोध्दा घटनामा हेमाको कुनै संलग्नता नरहेको भन्दै उक्त स्कुटर आफूले धरौटीमा मात्रै राखेको जवाफ दिन्छन् ।

त्यसपछि प्रहरीले हेमा र सुजनलाई सँगै लिएर धुम्बाराहीमा रहेको विकास भन्ने टंकप्रसाद अधिकारीको फ्ल्याटमा लिएर पुग्छ । तर गोङ्गबुमा रहेको सुजनको कोठाबाट धुम्बाराहीमा रहेको विकासको फ्ल्याटमा पुग्दा विकास कोठा खुल्लै छाडेर सुनको बिस्कुटसहित त्यहाँबाट फरार भइसकेका हुन्छ ।

हेमा र सुजन पक्राउ परेको सूचना कसैले दिइसकेको हुन्छ । दुईजना पक्राउ परेलगत्तै सक्षम अधिकारी र अच्युत अधिकारी पनि फरार हुन्छन् । घटनामा हेमाको संलग्नता नरहेको भनेर सुजनले बयान दिएपनि प्रहरीले हेमालाई समेत साथमा लिई कालिमाटी फर्कियो । मंसिर २८ गते राती ८ बजेबाट खोजबिन र अपरेशन सुरु गरेको प्रहरी मंसिर २९ गते बिहान ४ बजे मात्रै वृत्तमा आइपुगेको थियो ।

यता, पहिले घटनामा कुनै संलग्नता नरहेको भनिएकी हेमाको पनि लुटपाटमा संलग्न रहेको तथ्य खुल्छ । प्रहरी कार्यालय ल्याएर सुजनमाथि थप सोधपुछ गर्दा सुजनले घटनामा हेमाको पनि प्रत्यक्ष संलग्नता रहेको र पाँचजना मिलेर सुन लुटिएको कुरा बताउँछन् । त्यसपछि मात्रै हेमाले घटनामा आफ्नो पनि संलग्नता रहेको भन्दै गल्ती स्वीकार गर्छिन् ।

नेपाल प्रहरीको सेवानिवृत्त असई हुन् हेमा

यतिबेला महानगरीय प्रहरी वृत्त कालीमाटीको हिरासतमा रहेकी हेमा घले नेपाल प्रहरीको अवकाशप्राप्त प्रहरी सहायक निरीक्षक अर्थात् असई हुन् । उनी २४ वर्ष नेपाल पुलिस क्लबमा काम गरेर अवकाश पाएकी हुन् । केही समय अगाडिमात्रै सेवानिवृत्त भएकी हेमाका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेको हेमाले बताएकी छिन् । तर प्रहरीले भने उनका श्रीमान बाहिर नभई नेपालमै कतै हुनसक्ने बताएको छ ।

हेमा जुवा तास वा अन्य यस्तै कुलतमा फसेको कारण लुटपाटमा संलग्न रहेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । उनले गोङ्गबुमा धरौटीमा राखेको स्कुटर पनि जुवामा हारेर राखेको हुनसक्ने प्रहरीको शंका छ ।

*****

मंसिर १९ गते २ किलो सुन लुटपाट भएपनि पीडित पक्ष २ दिन चुपचाप बसेको थियो । राजेश विष्टले सुन लैजाने व्यक्तिहरु प्रहरी रहेको भन्दै ‘हनुमानढोका’ जानुभन्दा सुन छाड्न सही ठानी उनी ‘प्रहरी’लाई सुन दिएर भागेका थिए । राजेश बिष्टले यही रिपोर्टिङ सुनका असली मालिकलाई पनि गरेका थिए । तर प्रहरीले सुन पक्रेको २ दिनसम्म पनि न त पत्रकार सम्मेलन गर्यो, न त प्रहरीका हाकिमले नै यसबारेमा केही कुरा बताए । जब मालिकले आफ्ना मान्छेहरु प्रयोग गरी प्रहरीले सुन समातेको कुरा सोध्न पठाए, प्रहरीले सुन समातिएको रेकर्ड नभएको भन्दै जवाफ दिएपछि सुनका असली मालिकले बिष्टमाथि नै शंका गर्न थाले ।

*****

चोरमाथि चकार : एक किलो सुन नै गायब !

प्रहरीलाई आएको सूचना अनुसार मंसिर १९ गते २ किलो सुन लुटिएको थियो । तर पक्राउ परेका हेमा र सुजनले एक किलोको एउटा मात्रै सुन आफूले देखेको र उक्त सुन विकासको कोठामा रहेको बयान दिएका छन् । यसको अर्थ सम्भवतः ट्याक्सीको पछाडि बस्ने विकास भन्ने टंकनाथ अधिकारी र सक्षम अधिकारीले एक किलो सुन गायब बनाएको र सबै साथीहरुलाई भाग लगाउनुपर्दा थोरै मात्रै भागमा आउने भएकाले लुकाएको हुनसक्ने प्रहरीको अनुमान छ ।

पीडित भनिएका राजेश नै सम्पर्कबिहीन !

कालीमाटी प्रहरीले लुटपाटमा संलग्न हेमा घले र सुजन भन्ने सूर्य अधिकारीलाई पक्राउ गरेलगत्तै राजेश बिष्टलाई प्रहरी कार्यालयमा बोलायो । त्यस अगाडिसम्म प्रहरीको सम्पर्कमा रहेका राजेश बिष्ट जब लुटेराहरु पक्राउ परेको बारे जानकारी पाएपछि उनी आफै मोबाइलको स्वीच अफ गरेर सम्पर्कविहीन भएका छन् । प्रहरीसँग अन्तिमपटक सम्पर्क हुँदा नवलपरासीमा छु भनेका बिष्ट त्यसपछि भने सम्पर्कबिहीन रहेका छन् ।

राजेशले कहाँबाट ल्याए दुई किलो सुन ?

प्रहरीले अहिले पनि घटनाबारे अनुसन्धान गरिरहेको छ । राजेश बिष्ट को हुन् र के काम गर्थे भन्नेबारे प्रहरीले खोजबिन गरिरहेको छ । प्रहरी स्रोतका अनुसार राजेश एक सामान्य भरिया मात्रै हुन् । उनी सुनको मालिक होइनन् । सुनको मालिक अर्कै व्यक्ति रहेको प्रहरीको दाबी छ ।

तर जब सुन लुटपाटको एउटा पाटो प्रहरीले पत्ता लगायो, त्यसपछि सुन तस्करीको अर्को पाटो खुल्ने डरले सुनको मालिकले नै राजेश बिष्टलाई गायब बनाएको प्रहरीको निस्कर्ष छ । बिष्ट पक्राउ परेको खण्डमा सुन कसको थियो ? कहाँबाट आयो ? भन्नेबारेमा पोल खुल्ने भएपछि उनीहरु चुपचाप बसेको प्रहरीको दाबी छ ।

प्रहरीले प्रेस मिट नगरेपछि उजुरी !

मंसिर १९ गते २ किलो सुन लुटपाट भएपनि पीडित पक्ष २ दिन चुपचाप बसेको थियो । राजेश विष्टले सुन लैजाने व्यक्तिहरु प्रहरी रहेको भन्दै ‘हनुमानढोका’ जानुभन्दा सुन छाड्न सही ठानी उनी ‘प्रहरी’लाई सुन दिएर भागेका थिए । राजेश बिष्टले यही रिपोर्टिङ सुनका असली मालिकलाई पनि गरेका थिए ।

तर प्रहरीले सुन पक्रेको २ दिनसम्म पनि न त पत्रकार सम्मेलन गर्यो, न त प्रहरीका हाकिमले नै यसबारेमा केही कुरा बताए । जब मालिकले आफ्ना मान्छेहरु प्रयोग गरी प्रहरीले सुन समातेको कुरा सोध्न पठाए, प्रहरीले सुन समातिएको रेकर्ड नभएको भन्दै जवाफ दिएपछि सुनका असली मालिकले बिष्टमाथि नै शंका गर्न थाले । त्यसपछि मालिकले बिष्टलाई कहाँबाट कसरी सुन लुटिएको हो, त्यसको सिसिटिभी फुटेज ल्याउन निर्देशन दिएपछि मात्रै राजेश लुटपाटको सिसिटिभी फुटेज पाउने आशमा महानगरीय प्रहरी वृत्त कालीमाटीमा पुगेर सिसिटिभी फुटेज पाउनका लागि निवेदन दिएका थिए । तर जब सुन लुटिएको सत्य साबित भयो र प्रहरीले लुटेरालाई पक्राउ गरी पीडितलाई बोलायो, त्यसपछि उनीहरु नै गायब भए ।

अहिले महानगरीय प्रहरी वृत्त कालीमाटीले नेपाल प्रहरीको सेवानिवृत्त असई ४५ वर्षीया हेमा घले र ३२ वर्षीय सुजन भन्ने सूर्यराज अधिकारी लुटपाटमा संलग्न रहेको अभियोगमा हिरासतमा राखेको छ । उनीहरुले घटनामा आफ्नो संलग्नता रहेको स्वीकारसमेत गरिसकेका छन् । घटनामा संलग्न रहेका विकास भन्ने टंकप्रसाद अधिकारी, सक्षम अधिकारी र अच्युत अधिकारी भने फरार छन् । यता लुटपाटमा पीडित भनिएका राजेश बिष्ट पनि सम्पर्कविहीन बनेका छन् भने लुटेरा समूहले सुनसमेत गायब बनाएको छ । प्रहरीले यो घटनाको विस्तृत अनुसन्धान जारी राखे पनि अभियुक्त पक्राउ नपर्दा मुद्दा कसरी अगाडि बढाउने भन्ने अन्योलमै रहेका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप