शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

समाजवादी पार्टी सरकारबाट बाहिरियो, दुबै मन्त्रीद्वारा राजीनामा (पत्रसहित)

मङ्गलबार, ०८ पुस २०७६, १५ : ३७
मङ्गलबार, ०८ पुस २०७६

काठमाडौँ । संविधान संशोधनको माग पूरा नभएको भन्दै समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएको छ । समाजवादी पार्टीबाट सरकारमा दुई जना मन्त्री रहेका छन् । 

दुबै मन्त्रीहरु उपेन्द्र यादव र मोहम्मद इस्तियाक राईले पदबाट राजीनामा दिएका छन् ।  उपेन्द्र यादव उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको भूमिकामा रहेका छन् भने राई सहरी विकास मन्त्रीको भूमिकामा रहेका छन् । 

यादव र राईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरेर एक पत्र लेख्दै पदबाट राजीनामा दिएको बताएका छन् । 

राजीनामा पत्रमा यादवले सरकार दुई बुँदे सहमतिबाट पछि हटेको तथा सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएको हुँदा पदबाट राजीनामा दिएको उल्लेख छ । 

यादवले पत्रमा २०७५ जेठ १४ गते संविधान संशोधन लगायत आन्दोलनमा उठाइएको माग र मुद्दाहरु सम्बेधन गर्ने सर्तसहित २ बुँदे सहमति भएर आफूहरु सरकारमा सहभागी भएको उल्लेख छन् । सोही अनुसार आफूहरुले पटक–पटक यी विषयहरु प्रवेश गराउनुका साथै संविधान संशोधनलगायत विषयहरु राखी प्रधानमन्त्री केपी शर्मा ओली समक्ष ध्यानाकर्षण गराएको पनि स्मरण गराएका छन् ।

तर माग पूरा गर्नुको साटो सोमबारको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न सुझाव समिति गठन गर्ने प्रस्ताव लैजाँदा प्रधानमन्त्रीले अस्वीकार गरेर सहमतिबाट पछि हटेकाले नैतिकताको आधारमा राजीनामा दिएको यादवको राजीनामा पत्रमा उल्लेख छ । 

यस्तै सहरी विकासमन्त्री राईले दिएको राजीनामापत्रमा भने संविधानको धारा ७७ को उपधारा २ (क) बमोजिम राजीनामा दिएको उल्लेख छ । उनले अहिलेसम्म सहकार्य गर्ने अवसरमा दिएकोमा पनि प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन् । 

समाजवादी पार्टी (तत्कालीन संघीय समाजवादी फोरम) २०७५ जेठ १४ गते केपी ओली नेतृत्वको सरकारमा सहभागी भएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप