शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१७ वर्षपछि रामकृष्ण ढकालको वैवाहिक सम्बन्धमा पूर्णबिराम

बचन तोडियो कसम पनि तोडियो....
बुधबार, ०९ पुस २०७६, १८ : ११
बुधबार, ०९ पुस २०७६

काठमाडौँ । 
बचन तोडे कसम नि तोडे,
सत्य सत्य ढाँट्दिन भन्नेले,
अन्तै माया साटेर गइन् 
तिमी बिना बाच्दिन भन्नेले....

गायक रामकृष्ण ढकालले गएका माया प्रेमका यस्ता दर्जनौँ गीतले धेरैको जीवनमा मेला खाए होलान् । उनका मर्मस्पर्शी गीतहरु अहिले पनि उत्तिकै घन्किने गरेका छन् । उनै ढकालका धेरै गीतमध्ये यो गीत उनको आफ्नै जीवनमा पनि केही हदसम्म मेल खान पुगेको छ । 

 माथि गीतमा भनिएजस्तै उनको श्रीमती निलम शाहले अन्तै माया साटेकी भने होइनन् तर रामकृष्णसँग सँगै जिउने सँगै मर्ने बचन र कसम भने उनले तोडेकी छिन् । बुधबार ढकाल दम्पत्तिको सम्बन्धबिच्छेदसँगै सबै बाचा र कसम तोडिएको हो । 

अर्थात ढकालपत्नी निलमको निवेदनको आधारमा बुधबार जिल्ला अदालत काठमाडौँमा उनीहरुको सम्बन्धविच्छेदको मिलापत्र भएको छ।  जिल्ला अदालत काठमाडौँका न्यायाधीश विदूर कोइरालाको इजलाशमा सम्बन्धविच्छेदमा मिलापत्र भएको अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले रातोपाटीलाई बताए । 

अदालतका अनुसार निलमले अंश नलिने गरी मिलापत्र भएको हो । यस्तै रामकृष्ण र निलमको एक छोरी रानीको रेखदेख भने दुबैले मिलेर गर्नेछन् । तत्काल भने रानी निलमसँगै रहनेछिन् । 

१७ वर्षपछि सम्बन्धमा पूर्णविराम !
४५ वर्षीय ढकाल निलमसँगको १७ वर्षे सहयात्रापछि एक्लो जीवन जिउने अवस्थामा पुगेका छन् । उनले निलमसँग १७ वर्षअघि अर्थात २०५९ सालमा प्रेम बिबाह गरेका थिए । कार्यक्रमकै दौरानमा निलमसँग पटकपटकको भेटमा प्रेम बसेपछि उनीहरुले विवाह गर्ने निर्णय गरेका थिए । 

कतिपयले यो जोडीलाई उदाहरणीय जोडीको रुपमा लिँदै आएकोमा हाल एकाएक सम्बन्धबिच्छेद हुनुलाई आश्चर्यको रुपमा समेत हेरिएको छ । विगतमा विभिन्न कलाकारको पारिवारिक कहल मिडियासम्म आइपुग्ने गरेको उदाहरण भएपनि ढकालको भने बाहिरिएको थिएन । यस्तै विभिन्न औपचारिक समारोहमा पनि उनले छोरी र निलमको निकै तारिफ गर्ने गर्थे । 

को हुन् ढकाल ?
२०३१ साल साउनमा बारामा जन्मिएका ढकाल नेपालको आधुनिक संगीतका चर्चित नाम हो । विभिन्न रियालिटी सोका जजका रुपमा समेत प्रस्तुत हुने गरेका उनले आधुनिक, पप र फिल्मका सयौ गीतमा स्वर भरेका छन् ।

कतिपयले उनलाई नारायण गोपालपछिका सफल गायकका रुपमा पनि लिन्छन् । बाल्यकालदेखि नै नारायण गोपालका गीतहरु गाएर दर्शक स्रोतका मन जितेका उनी औपचारिक रुपमा भने २०४५ सालबाट संगीत क्षेत्रमा होमिएका थिए । हाम्रो सुन्दर संसार बोलको गीत उनले २०४५ सालमा १४ वर्षकै उमेरमा रकर्ड गराएका थिए । त्यससता उनलाई सांगितिक क्षेत्रमा पछाडि फर्किन परेको छैन । 

ढकालको आशिर्वाद, आशिष, आसा, आरोह, आगमन, मेरोसाथी लगायतका दर्जनौ एल्बम बाहिर आएका छन् भने तीमध्ये अधिकांश हिट छन् । उनी आशिर्वाद नामक फिल्मका नायक समेत हुन् भने थुप्रै म्युजिक भिडियोमा समेत देखिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप