बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भिडियो समाचार : समाजवादी पार्टी अब प्रतिपक्षको बेन्चमा, गायक रामकृष्ण ढकालको डिभोर्स

बुधबार, ०९ पुस २०७६, १८ : ४५
बुधबार, ०९ पुस २०७६

समाजवादीबाट समर्थन फिर्ता
समाजवादी पार्टी नेपालले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ ।  मंगलबार सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएको समाजवादीले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । 
संविधान संशोधनका लागि सरकार तयार नभएपछि समर्थन फिर्ता लिएको पार्टी अध्यक्ष उपेन्द्र यादवले बताए । प्रधानमन्त्री स्वयम आफूले गरेको सहमतिबाट एकलौटी रुपमा पछि हटेपछि सरकारमा बस्नु औचित्य सकिएको उनले बताए । 

यादवले सरकरलाई दिएको समर्थन फिर्ता लिएर अब प्रतिपक्षमा बसी प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय पार्टीले गरेको बताए । 

तराई मधेशका जिल्लाहरुमा तिव्र दमन भएरहेका बेला संविधानको घोषणा गरिएको स्मरण गर्दै उनले तराई मधेशमा संविधान दिवसको दिन ब्ल्याक आउट हुनुको कारण संविधानका कतिपय धाराहरु अस्वीकार्य रहेको बताए । 

त्यसैगरी समाजावादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूले संविधान संशोधनको मुद्दा सुरुबाट नै उठाएको बताएका छन् । 

डा. भट्टराईले आफू पूर्वमाओवादीमा हुँदादेखि नै संविधान संशोधनको पक्षमा रहेको बताएका हुन् । पहिचानमा आधारित संघीयता, शासकीय स्वरुप, नागरिकताको विषय, महिलाहरुको विभेदका विषयहरु पार्टी मुद्दा भएको उनले बताए । 

प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न शैक्षिक संस्थाले सक्षम र योग्य जनशक्ति उत्पादन गर्नुपर्ने बताएका छन् । 

 बालुवाटारमा आज काठमाडौँ विश्वविद्यालय र ब्रिज इन फाउण्डेशन बेल्जियमबीच विश्वविद्यालय विकास सहायता परियोजना सम्झौता कार्यक्रममा उनले मुलुकको समृद्धिका लागि सवल शैक्षिक जनशक्ति तयार गर्नुपर्ने बताए । 

 ब्रिज इन फाउण्डेशनका अध्यक्ष प्राध्यापक टान्को मौह मादोउ र काठमाडौँ विश्वविद्यालयका उपकुलपति एवं धुलिखेल अस्पतालका संस्थापक प्रा डा रामकण्ठ माकजु श्रेष्ठबीच बुधबार उक्त सम्झौतामा हस्ताक्षर भएको हो । 

प्रधानमन्त्री ओलीले शिक्षालाई समुदायमा पु¥याउन र सक्षम जनशक्ति तयार गर्न सहायता परियोजना थालनीले सहयोग पुग्ने बताए । 

पर्यटनमन्त्री भट्टराई

सरकारले ‘भ्रमण वर्ष २०२०’ को उद्घाटन समारोहलाई भव्य बनाउने गरी सहभागिता जनाउन काठमाडौं उपत्यकाका स्थानीय निकायलाई आग्रह गरेको छ । 

दैनिक जस्तो विभिन्न निकायहरुसँग छलफलमा रहेको पर्यटनमन्त्रालयले बुधबार काठमाडौं उपत्यकाका सबै पालिकाहरुसँग छलफल गरेको हो । 

छलफलमा पर्यटनमन्त्री योगेश भट्टराईले हवाई मार्गबाट आउने पर्यटकहरुलई आकर्षित गर्ने पहिलो गन्तव्य काठमाडौं उपत्यकाका भएकाले पनि नगरपालिकाहरुको ध्यान जानुपर्ने बताए । 

 त्यसका लागि नगरपालिकाहरुले ७ वटा विश्व सम्पदा सूचीमा परेका क्षेत्रलाई जोड्ने गरी साइकल लेन निर्माण गर्ने, सहरी सुन्दरता कायम गर्ने तथा राजधानीमा ‘भ्याली बाई नाइट’को अवधारणालाई विकास गर्नुपर्ने बताए । 

मन्त्री भट्टराईले २०२० लाई भ्रमण वर्षको रुपमा घोषणा गर्दा २० लाख पर्यटक भित्र्याउने मात्र नभई पर्यटन क्षेत्रको विकास र नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्नुपनि रहेको बताए । 

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुरको पर्यटकीय सहरमा पर्यटकको बसाई लम्ब्याउन नगरपालिकाले ध्यान दिएको बताए ।  त्यसका लागि सहरको सुन्दरता निर्माण तथा ऐतिहासीक सम्पदाहरुको तस्बिर विभिन्न ठाउँमा राख्न लागेको जानकारी दिए । 

सरकारले भ्रमण वर्ष २०२० को उद्घाटन जनवरी १का दिन भव्य समारोहबीच दशरथ रंगशालामा दिउँसो ३ बजेदेखि गर्दै छ । त्यस्तै सबै प्रदेशका राजधानीमा समेत कार्यक्रम गरी भ्रमण वर्षको सुरुवात गर्न लागिएको छ । 

विकास समिति

विकास तथा प्रविधि समितिमा खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेकमाथि छलफल शुरु भएको छ ।

छलफलमा सांसदहरुले विधेयकको प्रस्तावनामा नै सबैलाई खानेपानीको समान पहुँचको व्यवस्था राख्नुपर्नेमा जोड दिएका छन् । 

त्यस्तै खानेपानीको सार्वजनिक धारा निर्माण र ढल निकास सम्बन्धी विषयमा समेत छलफल भएको छ । खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले सुरक्षीत पानी भन्दा गुणस्तरीय पानी सबैले पाउने गरी विधयेक ल्याउनुपर्ने बताए। छलफलमा खानेपानी मन्त्री बिना मगरले खानेपानीमा समान पहुँचलाई प्रस्तावनामा नै राख्नुपर्छ भन्ने नरहेको बताइन् । 

सांसद जीवनराम श्रेष्ठले सार्वजनिक रुपमा जुन संस्थाले खानेपानीको व्यवस्था गरेपनि गुणस्तरको सुनिश्चितता हुनुपर्ने बताए । 

त्यस्तै सांसदहरुले ढल निकास सम्बन्धी परिभाषा नै स्पस्ट नभएको बताएका छन् । 

चिनियाँ पक्राउ प्रकरण

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) ले चिनियाँ प्रहरीको सूचनाको आधारमा आपराधिक गतिविधिमा संलग्नहरुलाई पक्राउ गरिएको जनाएको छ । 

बुधबार पत्रकार सम्मेलन गर्दै सीआइबीले चिनियाँ प्रहरीको सूचनाका आधारमा थालिएको निगरानीपछि १२२ जनालाई पक्राउ गरिएको बताएको हो ।

 सीआइबीका डिआइजी निरजबहादुर शाहीले चिलिमा भएको इन्टरपोलको ८८ औं सम्मेलनमा चिनियाँ नागरिकहरु पर्यटक भिसामा नेपाल आएर आपराधिक कृयाकलापमा संलग्न रहेकाले सहयोग गर्न आगह गरेपछि निगरानी सुरु गरेको बताए । 

डिआइजी शाहीले तारकेश्वर नगरपालिकाको मनमैजमा ५ घर, बाँसबारीमा ३ र बुढानिलकण्ठमा १ घरमा छापा मारेको बताए । 

 उनीहरुको साथबाट ठूलो संख्यामा मोबाइल, ल्यापटप र सीमकार्ड लगायतका सामान बरामद गरिएको बताए । 

अहिले उनीहरुमाथि पक्राउ गर्न खोज्दा महिला प्रहरीमाथि र सोधपुछका क्रममा प्रहरीमाथि नै दुव्र्यवहार गरेकोले ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ । उनीहरु अन्य आपराधिक कार्यहरुमा पनि संलग्न हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान पनि जारी रहेको जनाएको छ । 


क्रिसमस पर्व

इसाई धर्मावलम्बीहरुले बुधबार विश्वभर हर्षोल्लासपूर्वक क्रिसमस पर्व मनाएका छन् । 

नेपालमा पनि राजधानी काठमाडौं लगायत देशभर रहेका गिर्जाघर तथा पर्यटकीय बजारहरुमा क्रिसमस मनाइएको छ ।  २००० वर्ष भन्दा पहिले इजरायलको बेथलियमको एउटा गोठमा प्रभु येशु क्रिष्टको जन्म भएको खुशियालीमा हरेक वर्ष डिसेम्बर २५ मा इसाई धर्मावलम्बीहरुले क्रिसमस मनाउने गर्छन् । 

भिडियो हेर्नुहाेस्

सूर्यग्रहण

भोली पुस १० गते बिहीबार खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । सूर्यग्रहण काठमाडौंमा विहान ८बजेर ४३ मा सुरु भई ११ बजेर ३३ मा सकिनेछ । सुदूरपश्चिमको महेन्द्रनगरमा ८ बजेर ३८ मिनेटमा सुरु भई ११ बजेर १९ मा सकिनेछ भने पूर्वको झापामा भने ८ बजेर ४८ मा सुरु भई ११ बजेर २७ मा सकिनेछ ।

ग्रहणको अबधि २ घण्टा ४९ मिनेटसम्म रहेनछ । यो सूर्य ग्रहण करिब ६ वटा ग्रहहरु एकैस्थानमा रहेर लाग्न लागेको ग्रहण हुनाले पनि विशेष रुपमा हेरिरहेको छ । यो एकदमै दुर्लभ खगोलीय घटना भएको खगोलविदहरुले बताएका छन् ।

यो सूर्यग्रहण नेपालबाट बिरल छायाँ र खण्डग्रास मात्र देखिनेछ 

काठमाडौंबाट भने खण्डग्रास सूर्यग्रहणको रुपमा मात्र देख्न सकिनेछ । सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छायाँ पृथ्वीमा पर्न गई सूर्य ग्रहण हुन जान्छ । 

सूर्य ग्रहणलाई खाली आँखा, साधारण चश्मा, बाइनाकुलर वा टेलिस्कोपको प्रयोग गरेर अवलोकन गर्नु हुँदैन । यसले आँखालाई असर गर्ने वैज्ञानिकहरु बताउँछन् । 

चर्चित गायक रामकृष्ण ढकालको ‘डिभोर्स’

चर्चित गायक रामकृष्ण ढकालको सम्बन्धबिच्छेद भएको छ । जिल्ला अदालत काठमाडौँमा ढकालको सम्बन्धबिच्छेदको मिलापत्र भएको हो । 

ढकालपत्नी निलम शाह ढकालले मंगलबार अदालतमा छोडपत्रका लागि निवेदन दिएकोमा बुधबार न्यायाधीश विदुर कोइरालाको इजलासमा सम्बन्धविच्छेदमा सहमति भएको हो । 

जिल्ला अदालत काडमाडौँका स्रेस्तेदार आनन्द श्रेष्ठले ढकाल र निलमले सम्बन्धबिच्छेदका लागि मञ्जुर भएको बताए । 

अदालतका अनुसार निलमले अंश नलिने गरी मिलापत्र भएको हो भने रामकृष्ण र निलमको एक छोरी रानीको रेखदेख भने दुबैले मिलेर गर्नेछन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप