बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भिडियो समाचार : सहरका होर्डिङ बोर्ड र पोस्टर हटाउने निर्णय, युवतीको बलि दिने प्रयास विफल

बिहीबार, १० पुस २०७६, १८ : ५१
बिहीबार, १० पुस २०७६

प्रधानमन्त्रीले विश्वासको मत लिनुनपर्ने भनाइ
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने आधार नरहेको बताएका छन् । 

 मन्त्रालयमा बिहीबार गरिएको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले सरकार बनिसकेपछि मात्रै समाजवादी पार्टी मिसिएकोले विश्वासको मत आवश्यक नपर्ने बताएका हुन् । 

यदि संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भएपनि त्यसका लागि कुनै महाभारत नभएको र बहुमत समर्थन रहेको अवस्थामा विश्वासको मत लिन कुनै समस्या नभएको उल्लेख गरे । 

यस्तै मन्त्री बाँस्कोटाले अमेरिकी सहयोग परियोजना एमसीसी र इन्डोप्यासिफिक रणनीति फरक रहेको बताउँदै सो परियोजनाको ५ सय मिलियन डलर ऊर्जा र सडक पूर्वाधारमा खर्च गरिने बताए ।  सन् २०११ मा एमसिसिसँग नेपालको सम्बन्ध रहेको बताउदै इन्डोप्यासिफिक सन् २०१७ पछि मात्रै सुरु भएको उनले बताए । 

त्यसैगरी मन्त्रिपरिषदको पुस ७ गते बसेको बैठकले शहिद गंगालाल राष्ट्रिय ह्रदयरोग केन्द्रको कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीलाई ४ वर्षका लागि नियुक्त गरेको छ । अधिकारीलाई कार्यकारी निर्देशकमा नियुक्तगर्ने निर्णय गरेको संचारमन्त्री बास्कोटाले बताए ।  बैठकले अन्य १३ वटा निर्णय पनि गरेको छ । 

युवतीको बलि दिने प्रयास असफल
महानगरीय प्रहरी परिसर काठमाण्डौले मोडलिङ गर्ने भन्दै एक युवतीलाई विराटनगर पु¥याई बोर्डर पास गराई तान्त्रिक पुजा गरी बलि दिने योजनामा संलग्न सात जनालाई पक्राउ गरेको छ । 

प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ गरेकालाई सार्वजनिक गरेको हो । अनुसन्धानका क्रममा युवतीलाई मोडलिङका लागि छानिएको र नेपाल भारत सीमामा डकुमेन्ट्रीको छायांकन गर्नुपर्ने भन्दै त्यसबापत राम्रो रकम दिने प्रलोभन देखाएको खुल्न आएको प्रहरीले जनाएको छ । 

पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक अशोक सिंहले मोटो रकम पाउने आशामा ६ फिट उचाई भएकी युवतीलाई विराटनगर हुँदै तान्त्रिक पुजाको लागि बोर्डर पार गराउने योजना अनुसार मोडलिङका लागि प्रस्ताव गरेको र युवतीले प्रस्ताव स्वीकार गरेको अनुसन्धानबाट खुलेको बताए ।  पीडित युवतीले शंकागरी महानगरीय प्रहरी परिसर काठमाडौंमा पुस ४ गते जानकारी गराएपछि प्रहरीले अनुसन्धान सुरु गरेको सिंहले बताए । 
प्रहरीले मुख्य योजनाकार दिलिप पोदारलाई भारत विहार मन्दिरका बाबा लगायत अन्य व्यक्तिले पैसा दिई सम्पर्क गरेको देखिएको, प्रेम, माया र कृष्णले ५ लाख रुपैयाँ पाउने आश्वासन पाएको अनुसन्धानमा खुलेको जनाएको छ । उनीहरुको साथबाट मोटो रकम, मोबाइल बैंकको चेक, एटीएम कार्ड तथा तान्त्रिक पुजाका समानहरु बरामद गरेको छ । उनीहरुलाई विराटनगरबाट पक्राउ गरी काठमाडौं ल्याइएको हो । 


सूर्यग्रहण

आज पौष कृष्ण औंसीका दिन विहान खण्डग्रास सूर्यग्रहण लागेको छ । करिब ४० प्रतिशत सूर्यसतह मात्र ढाकिएको खण्डग्रास सूर्यग्रहण नेपालबाट देखिएको थियो । बिहान ८ः४२ मा ग्रहणले स्पर्श गरेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहण बिहान ११ः३१ बजे समाप्त भएको थियो ।

ग्रहण हेर्नका लागि काठमाडौँको स्वम्भुनाथमा मानिसहरुको भीड लागेको थियो । सूर्यग्रहण हेर्नका लागि त्यहाँ विशेष चस्माको पनि व्यवस्था गरिएको थियो । त्यसैगरी काठमाडौंवासीले पनि विभिन्न स्थानबाट विशेष प्रकारको चस्माको प्रयोग गरि सूर्यग्रहण हेरेका थिए ।

वलय खण्डग्रास सूर्यग्रहण एक दुर्लभ घटना भएको र जुन समयमा पृथ्वी, चन्द्रमा र सूर्य एउटै सरलरेखामा पर्दा ग्रहण देखिन्छ । आजको खण्डग्रास सूर्यग्रहणको अर्को महत्वपूर्ण पक्ष पृथ्वीसहित छ वटा ग्रहहरु सूर्यसँग एउटै सरलरेखामा लाइनबद्ध भई रहेका थिए । 

गोकर्ण रिसोर्टको लिज प्रकरण 
सरकारले गोकर्ण रिसोर्टको लिज अवधि थप्ने निर्णय कानून अनुसार नै भएको स्पष्ट पारेको छ । 

नेपाल ट्रष्टको नाममा रहेको गोकर्ण रिसोर्टको जग्गा लिज समय नसकिदै लिजको समय थपिएको भन्दै त्यसबारे सदनलाई जानकारी गराउन माग गरेपछि सरकारको तर्फबाट ट्रष्टका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलले विहिबारको राष्ट्रियसभाको बैठकलाई लिजबारे स्पष्ट पारेका हुन् ।  नेपाल सरकारले नेपाल ट्रस्टको चल अचल सम्पत्तिको प्रयोग कानूनले निर्देशन गरे अनुसार नै गरेको दाबी गरे । उनले सरकारले गरेका कामको गुण दोषको आधारमा दृष्टिकोण बनाउन पनि आग्रह गरे । 

बैठकमा उनले ट्रष्ट गठनदेखि ऐन निर्माण र संसोधन तथा नियमावलि संसोधनको सम्पूर्ण विवरण प्रस्तुत गरे । 

उनले कौडीको भाउमा लिज दिएको विषयलाई अस्वीकार गर्दे लिजमा लिने पक्षले लिज बाँकी रहेको साढे ५ बर्षको भाडा पनि प्रचलित बजारमूल्य अनुसार तिर्न तयार रहेको बताए । 

उनले पूर्वमा धनकुटा देखि पश्चिममा सुर्खेतसम्म ट्रष्टको नाममा रहेको चल अचल सम्पत्ती एकीकृत विवरण संकलन गरी केही दिन भित्र श्वेत पत्र जारी गर्ने समेत बताए । 

युवराज खतिवडा

बैठकमा अर्थमन्त्री युवराज खतिवडाले राजश्व चुहावटको मात्रा अनुसार दण्ड सजाय गर्ने व्यवस्था सहित सरकारले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) २०७५ ल्याएको स्पष्ट पारेका छन् । 

राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) २०७५ माथि विचार गरियोस’ भन्ने प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत गर्दै  उनले अपराधका आधारमा दण्ड सजाय धेरै र थोरै हुने प्रावधान गरिएको बताए । 

दण्ड जरिवानाको विषयमा एकमुष्ट व्यवस्था भएकोमा अहिले कम मात्रै चुहावट गर्नेलाई कम जरिवाना र कम जेल सजाय हुने बढी गर्नेलाई बढी सजाय गर्ने व्यवस्था गरिएको उनले स्पष्ट पारे । 

होर्डिङ बोर्ड हटाउने निर्णय

शहरलाई कुरुप बनाउने गरी राखिएका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तार लगायतका सामाग्री सरकारले हटाउने भएको छ ।

 बिहीबार गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा‘बादल’को प्रमुख आतिथ्यतामा बसेको सरोकारवाला निकायहरु सहितको बैठकले सो निर्णय गरेको हो ।

 बैठकले काठमाडौँ महानगरपालिकाभित्र भोलि देखिनै चार वटा समूह बनाएर होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, भित्तेलेखन हटाउन सुरु गर्ने निर्णय गरेको छ । यस्तै बैठकले अव्वस्थितरुपमा राखिएका टेलिफोन,

केबल तथा ईन्टरनेट सेवाप्रदायकका तारहरु हटाउन समयसिमा तोकि सार्वजनिक सूचना जारी गर्ने र तोकिएको अवधिभित्र नहटाए त्यस्ता तारहरुलाई काटेर हटाउने निर्णय गरेको छ ।

बैठकमा गृहमन्त्री थापाले नागरिकको स्वास्थ्य र नगरको पर्यावरणीय सुन्दरतालाई मध्यनजर गर्दै नगरलाई कुरुप बनाउने गरी राखिएका त्यस्ता संरचनाहरु हटाइन लागेको बताए ।  

यस्तै सर्वोच्च अदालतको समेत यस सम्बन्धमा आदेश दिईसकेको बताउँदै गृहमन्त्री थापाले सो कादेश कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताए ।     

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिका भित्र भोलिबाटनै त्यस्ता संरचना हटाउन सुरु गर्ने प्रतिवद्धता व्यक्त गरे ।  गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले देशभरका यस्ता संरचना हटाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनको पूर्ण सहयोग रहने बताए । 

पुननिर्माणमा ८३ प्रतिशत उपलब्धी
राष्ट्रिय पुननिर्माण प्राधिकरणले पुननिर्माणमा ८३ प्रतिशत उपलब्धी हासिल गरेको जनाएको छ । प्राधिकरणले आफ्नो स्थापनाको चार वर्ष पुरा भई पाँच वर्ष प्रवेश गरेको अवसरमा पत्रकार सम्मेलन गरी भूकम्पबाट सबैभन्दा बढी क्षति पुगेको ६ वटा क्षेत्रमा ८३ प्रतिशत उपलब्धी हासिल भएको जनाएको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ६९ प्रतिशत सम्पन्न भइसकेको र १४ प्रतिशत पुननिर्माणको क्रममा रहेको बताए । उनले निजी आवास पुननिर्माणमा ८६ प्रतिशत प्रगति भएको बताए । 

उनले पुननिर्माणमा अहिले सम्म ३ खर्ब ३५ अर्ब रुपैयाँ खर्च भएको र त्यसमा सरकार र दातृ निकायबाट २ खर्ब ९३ अर्ब रुपैयाँ र गैरसरकारी संस्थामार्फत ४२ अर्ब रुपैयाँ खर्च भएको बताए । उनले पुननिर्माणका बाँकी काम सम्पन्न गर्न अझै ३ अर्ब रुपैयाँ लाग्ने र यसै आर्थिक वर्षमा ३४ अर्ब रुपैयाँ खर्च हुने बताए । 

अबको दशक विकास र समृद्धिको दशक
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अवको दशक विकास र सम्मृद्धिको दशक हुने बताएका छन् । 

 बिहीबार चितवनमा हात्ती महोत्सव २०७६ को उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले प्रकृतिले दिएको स्रोत र साधनको सदुपयोग दशकको रुपमा मनाउनुपर्ने बताए ।  प्रचण्डले भिजिट नेपाल २०२० का कारण गत सालहरुको भन्दा तुलनात्मक रुपमा यो साल विश्वभरी राम्रो संकेत गएको बताए । उनले नेपाल आर्थिक विकासको गतिमा अगाडि बढ्न खोज्दैछ भन्ने अन्तर्राष्ट्रिय जगतले पनि स्वीकारेको बताए । 


कला प्रर्दशनी 

काठमाडौँमा नेपाल र चिनियाँ कलाकारको मैत्रीकला प्रर्दशनी सुरु भएको छ । 

बबरमहलस्थित नेपाल कला परिषद्मा विहीबारदेखि सुरु भएको प्रर्दशनीमा नेपाली कलाकार तथा प्राज्ञ धर्मराज शाक्य र चीनका प्रख्यात कलाकार झेन झोन्गीका चित्रकला र मूर्तिकलाहरु राखिएको छ । नेपाल अन्तर्राष्ट्रिय प्रदर्शनी सङ्घले नेपाल–चीन दाैत्य सम्बन्धको ६५ वर्ष पुगेको सन्दर्भमा दुई देशका कलाकारहरुको मैत्रीकला प्रदर्शनी गरेको हो ।

प्रर्दशनीको उपराष्ट्रपति नन्दबहादुर पुनले क्यानभासमा गणेशको चित्र कोरेर उद्घाटन गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप