बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लेस्टरसँग हारेपछि वेस्टहामका प्रशिक्षक पेलेग्रिनी बर्खास्त

आइतबार, १३ पुस २०७६, ०९ : २२
आइतबार, १३ पुस २०७६

इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानमा रहेको लेस्टर सिटीसँग पराजित भएपछि वेस्टहामले प्रशिक्षक म्यानुअल पेलेग्रिनीलाई बर्खास्त गरेको छ । शनिबार राति भएको खेलमा लेस्टरले वेस्टहामलाई उसैको मैदानमा २–१ गोलले हरायो ।

घरेलु मैदानमा लेस्टरसँग हार खेपेसँगै प्रशिक्षक पेलेग्रिनी वर्खास्तीमा परेका हुन् । पेलिग्रिनी १८ महिनामै बर्खास्तीमा परेका हुन् । उनी सन् २०१८ को मे महिनामा तीन बर्षका लागि वेस्टहाममा अनुबन्ध भएका थिए । वेस्टहाम लिगमा पछिल्ला १२ खेलमध्ये नौ खेलमा पराजित भएको छ ।

लेस्टरको जितमा केलेची इहेनाचोले ४०औं र डेमाराई ग्रेले ५६औं मिनेटमा गोल गरे । वेस्टहामका पाब्लो फोमलसले ४५औं मिनेटमा एक गोल फर्काएका थिए । जितसँगै दोस्रो स्थानमा रहेको लेस्टरको २० खेलबाट ४२ अंक पुगेको छ । १९ अंक बनाएको वेस्टहाम १७औं स्थानमा छ । शीर्ष स्थानमा रहेको लिभरपुलको ५२ अंक छ । तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३८ अंक छ ।

वेस्टहामले प्रशिक्षक पेलेग्रिनी बर्खास्त गरेसँगै पूर्व प्रशिक्षक डेविड मोयसलाई नयाँ प्रशिक्षक बनाउने सम्भावना छ  । वेस्ट हामका अध्यक्ष डेविड सुलिवनले निकै निराशाको साथ पेलेग्रिनीमाथि यस्तो निर्णय लिनुपरेको बताएका छन् । ‘यस सिजन क्लबको महत्वकांक्षा अनुसार खेल भएन । हामी मैदानमा फर्कन केही परिवर्तनको आवश्यकता छ । नयाँ व्यवस्थापकलाई लक्ष्य प्राप्तीका लागि चाहिने समय दिन यस्तो निर्णय आवश्यक थियो,’ डेविडले भनेका छन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप