बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाल भ्रमण वर्षलाई सफल पार्न एनआरएनएको तयारी तीव्र

आइतबार, १३ पुस २०७६, ११ : ५६
आइतबार, १३ पुस २०७६

-नरेन्द्र बस्नेत

लण्डन ।  नेपाल सरकारद्वारा घोषणा गरिएको नेपाल भ्रमण वर्ष २०२० सुरु हुन अब केही दिनमात्र बाँकी छ । 

२० लाख पर्यटन भित्र्याउने लक्ष्य रहेको नेपाल भ्रमण वर्षलाई नेपाल भ्रमण दशककै रुपमा मनाउने प्रसङ्ग पनि उठेको छ । मुस्किलले १२ लाख पर्यटक भित्रिएको अघिल्लो वर्षको तुलनामा नेपाल भ्रमण वर्ष २०२० लाई साकार तुल्याउन सरकारले गरेको तयारी उल्लेखनीय देखिँदैन । 
तर नेपाल सरकारको सपना साकार पार्न भने प्रवासमा बस्ने नेपाली तथा गैर आवासीय नेपाली संघले सुरुका दिनदेखि नै सहकार्य गर्दै आएको छ । 

भ्रमण वर्षलाई सफल पार्नको लागि विश्वभरबाट हरेक गैरआवासीय नेपालीले एक जना विदेशी साथी नेपाल भ्रमणमा पठाउने, सपरिवार नेपाल भ्रमणमा जाने, विदेश स्थित नेपाली दूतावास र नियोगहरुमा “भ्रमण वर्ष प्रवर्द्धन कक्ष” स्थापना गर्ने जस्ता विभिन्न बुँदामा  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको उपस्थीतिमा नेपाल पर्यटन बोर्डमा सचिवालयका संयोजक सुरज वैद्य र एनआरएनए अध्यक्ष कुमार पन्तबीचमा भएको समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ ।

नेपाल भ्रमण वर्षको संघारमै आइपुग्दा एनआरएनएले अंग्रेजी नयाँ वर्ष (न्यु इयर इभ) मा नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार गर्न गैरआवासीय नेपाली समूदायलाई आग्रह गरेको छ ।

 नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सिङ्गो गैरआवासीय नेपाली संघ परिचालित हुने संघका महासचिव डा. हेमराज शर्मा जनाए ।

 नेपाल भ्रमण वर्ष २०२० अभियानको संयोजन एनआरएनए अध्यक्ष कुमार पन्तले गर्ने भएका छन् भने नेपाल भ्रमण वर्ष २०२० समितिका संयोजकमा  निवर्तमान अध्यक्ष भवन भट्ट तोकिएका छन् ।

 नयाँ वर्ष मनाउने क्रममा विश्वका विभिन्न शहरमा हुने नयाँ वर्ष विषेश समारोहको कार्यक्रममा भ्रमण वर्षको प्रचार प्रसार गर्न संघका अध्यक्ष कुमार पन्तले राष्ट्र्रिय समन्वय परिषद् (एनसीसी) लाई पत्राचार गरेको संघले जनाएको छ ।

संघले लण्डन, बर्लिन, न्युयोर्क, टोकियो, सिड्नी, ब्रसेल्स, हङकङ, बेजिङ, दुवई, मस्को लगायतका शहरमा आयोजित न्यु इयर इभ विषेश समारोहमा नेपाल भ्रमण वर्षको प्रचारप्रसार गर्ने तयारी गरेको हो । 

संघले नेपाल भ्रमण वर्षका सामाग्रीहरु (ब्यानर, ह्याट, टिसर्ट आदि) नेपाली दूतावासहरुसंग समन्वयन गरी तयार समेत आग्रह गरेको छ ।

 यसअघि नेपाल सरकार र गैरआवासीय नेपाली संघ बीच नेपाल भ्रमण वर्ष २०२० को लागि सहकार्य गर्न सहमति भएको थियो । नेपाल सरकारले २०२० मा नेपाल आउने पर्यटकलाई भिसा फ्री गर्ने, नेपाल आएपछि कुन गन्तव्यमा जाँदा के सुविधासेवा पाइने त्यसको स्पष्ट व्यवस्था गर्ने, हिमाल आरोहणमा आकर्षित गर्न रोयल्टीमा छुट दिने लगायत सहुलियतको घोषणा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप