शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो समाचार : प्रदेश नम्बर ३ को नाम बागमतीदेखि वैद्य र विप्लव समूहका नेता कार्यकर्ता पक्राउसम्म

आइतबार, १३ पुस २०७६, १८ : २२
आइतबार, १३ पुस २०७६

प्रदेश ३ को राजधानी टुंगियो
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रदेश नम्बर ३ को नाम र केन्द्र टुंगो लगाएको छ  ।

आइतबार बसेको सचिवालय बैठकले प्रदेश नम्बर ३ को नाम बागमती र केन्द्र हेटौडा नै राख्ने निर्णय गरेको हो । 

वरिष्ठ नेता झलनाथ खनालले छोटो समयका लागि बसेको बैठकले प्रदेशको नाम र केन्द्रको विषयमा निर्णय गरेको बताए ।  सबै पक्षहरुलाई ध्यानमा राख्दै साझा नामाकरण गर्न आवश्यक रहेकाले प्रदेशको नाम बाग्मती राख्ने र केन्द्र तत्कालका लागि हेटौडा नै कायम गर्ने निर्णय बैठकले गरेको उनले बताए । 

बैठकमा सभामुख चयन र राष्ट्रिय सभा निर्वाचनको विषयले भने प्रवेश नै पाएन । नेकपाका महासचिव विष्णु पौडेलले समय अभावका कारण बैठकमा सभामुख चयन र राष्ट्रिय सभाको निर्वाचनको विषयमा छलफल हुन नसकेको बताए । उनले अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशनको बारेमा स्थायी कमिटीको निर्णय बमोजिम नै हुने बताए । 

प्रहरी धरपकडमा सीपी गजुरेल पक्राउ

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको मोर्चा देशभक्त तथा जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलसहितका नेताहरु पक्राउ गरिएकोप्रति सो पार्टीले विरोध गरेको छ । 

पार्टीका महासचिव मोहन वैद्य किरणले एक विज्ञप्ति जारी गर्दै भारतद्वारा लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रलाई भारतमा गाभी तयार पारिएको नयाँ नक्सा लगायत राष्ट्रिय स्वाधीनताका विषयमा ज्ञापनपत्र दिन सिंहदरवारमा जाने क्रममा भाटभटेनी सुपरमार्केट क्षेत्रमा प्रहरीले हस्तक्षेप गरेको उल्लेख गरिएको छ । 

प्रहरी धरपकडका क्रममा देशभक्त तथा जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल र महासचिव परि थापा पक्राउ परेको वैद्यको विज्ञप्तिमा उल्लेख छ । उनीहरु पार्टीको स्थायी समिति सदस्य समेत हुन् । 

यस्तै पार्टीका पोलिटब्यूरो सदस्यद्वय पवनमान श्रेष्ठ र सुरेश श्रेष्ठ, केन्द्रीय सदस्यहरु दीपक शाही,  हरिकृष्ण गजुरेल, फुर्नाम्गेल मोक्तान, वसन्त बोगटीसहित खगेन्द्र छन्त्याल, पद्म भण्डारी, सुन्दर श्रेष्ठ, मीन प्रसाद गिरी, नरेन्द्र कार्की, अमित योञ्जनलगायत पार्टी तथा मोर्चाका १५ जना भन्दा बढी नेता तथा कार्यकर्तालाई महेन्द्र पुलिस क्लवमा हिरासतमा राखिएको विज्ञप्तिमा उल्लेख छ । 

लाठी चार्जका क्रममा पार्टीका पोलिटब्यूरो सदस्य दिनेश शर्मा तथा सुरेश श्रेष्ठ, केन्द्रीय सदस्य शारदा महत, महिला नेतृसुनीता बोगटी लगायत पार्टी र मोर्चाका दर्जन भन्दा बढी नेता तथा कार्यकर्ता घाइते भएको पनि वैद्यले जनाएका छन् । 

क्रान्तिकारी माओवादीले गिरफ्तार गरिएका नेता तथा कार्यकर्ताहरुको अविलम्ब रिहाइ र घाइते तुल्याइएका नेता तथा कार्यकर्ताहरुको उपचारका लागि सरकारसंग माग गरेको छ।  

यसैबीच  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जनवर्गीय संगठनका कार्यकर्तालाई पनि प्रहरीले राजधानीबाट पक्राउ गरेको छ । सरकार विरोधी प्रदर्शनको तयारी गरिरहेका बेला प्रहरीले विद्यार्थीहरुको समूहमा धरपकड गरी नियन्त्रणमा लिएको हो ।

सरकारले प्रतिवन्ध लगाएको नेकपाका जनवर्गीय संगठनले संयुक्त विरोध कार्यक्रम आयोजना गर्न लागेका थिए । सोही क्रममा प्रहरीले प्रतिबन्धित नेकपाका पूर्व केन्द्रीय सदस्य मकर गुरुङसहित २० जना भन्दा बढीलाई नियन्त्रणमा लिएको छ ।

प्रदर्शनी मार्गमा भेला भएर विरोध प्रदर्शनको तयारी गरिरहेका बेला प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुले अमेरिकी सरकारसँगको एमसीसी सहयोग कार्यक्रम, कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहितको भूभाग भारतले आफ्नो क्षेत्रमा पारेको तथा अरु विभिन्न मुद्दामा सरकारको विरोध गर्दै प्रदर्शनको तयारी गरेका थिए ।


गोकुल बास्कोटा

सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ‘साइबर बुलिङ’ निरुत्साहित गर्नका लागि सूचना प्रविधि विधेयक ल्याइएको बताएका छन् । 

संसदको विकास तथा प्रविधि समितिमा बाल्दै मन्त्री बास्कोटाले ‘साइबर बुलिङ’ निरुत्साहित पार्नकै लागि विधेयक ल्याइएको बताएका हुन् । 

यता संसदको विकास तथा प्रविधि समितिले समितिले कांग्रेसको असहमतिका बीच आइतबार सूचना तथा प्रविधिसम्बन्धि विधेयक बहुमतबाट पारित गरेको छ । 

समिति सभापति कल्याणी खड्काले विधेयक नियमावलीअनुसार पारित भएको बताइन् । 

त्यसअघि कांग्रेस सांसद बहादुरसिंह लामाले पारित भएको सूचना प्रविधि विधेयकले नागरिकको स्वतन्त्रतामाथि हनन गर्ने, नागरिकको मौलिक हक अधिकार कुण्ठित हुने र संविधानको मर्म विपरित हुने भन्दै फरक मत राखेका थिए । 

स्थानीय तहको ह्याक सफ्टवेयर रिकभर

महालेखा नियन्त्रकको कार्यालयले स्थानीय तहको लेखाप्रणालीका सबै तथ्याङ्कहरु रिकभर भएको जनाएको छ । महालेखा नियन्त्रकको कार्यालयले ७ सय ५३ वटै स्थानीय तहको लेखाप्रणाली व्यवस्थित गर्ने सफ्टवेर ‘स्थानीय कोष व्यवस्थापन प्रणाली’ (सूत्र) ह्याक भएकोमा अहिले सबै तथ्याङ्कहरु रिकभर गर्न सफल भएको जनाएको छ ।

सह–महालेखा नियन्त्रक रमेश प्रसाद शिवाकोटीले पुष ४ गते उक्त सफ्टवेर ह्याक भएको र अहिले प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए । उनल मंसिर ११ गते देखि पुष ४ गते सम्मको सबै तथ्याङ्कहरु नष्ट भएकोमा गत शुक्रबार रिकभर गर्न सफल भएको बताए । 

अनुपराज शर्मा

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नागरिकता सम्बन्धि प्रावधानमा भेदभाव रहेको बताएका छन् । 

‘राज्यविहीनता विरुद्ध अन्तर्राष्ट्रिय कानुनहरुको संगालो’ विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले संविधानमै नागरिकता सम्बन्धि प्रावधानहरु विवादीत भएको बताए । 

शर्माले बाबु नेपाली हुँदा छोरा वंशज हुने र आमा नेपाली र विदेशी हुँदा बंशज नहुने प्रावधान आफैमा विभेदपूर्ण रहेको बताए । 

नेपाल चेम्बर 

पर्यटन सचिव केदारबहादुर अधिकारीले पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताएका छन् । 

भ्रमण वर्ष २०२० नजिकिदै गर्दा नेपाल चेम्बर अफ कमर्सको कान्तिपथ स्थित भवनमा पर्यटन वर्षको लोगो सहितको बोर्ड राख्ने कार्यक्रममा पर्यटन सचिव अधिकारीले निजी क्षेत्रबिना पर्यटन प्रवद्र्धन सम्भव नभएको बताएका हुन् । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले पर्यटन क्षेत्र पूर्ण रुपमा व्यवसाय भएकाले भ्रमण वर्षलाई सफल बनाउन निजी क्षेत्रको सकृयता आवश्यक रहेको बताए । 

कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० आयोजक समितिका संयोजक सुरज वैद्यले सरकारी र निजी क्षेत्रको सहकार्यपछि मात्र भ्रमण वर्ष पूर्ण रुपमा सफल हुने बताए । 

उखु किसान आन्दोलित

सर्लाहीका उखु किसानहरु केही दिनदेखि काठमाडौंको माइतीघरमा धर्नामा बसेका छन् । 

चिनि मिलहरुले विगत ७ वर्षदेखि उखुको भुक्तानी नगरेको भन्दै उनीहरु धर्नामा बसेका हुन् । 

२०७० सालबाट उखुको भूक्तानी नपाइएपछि धर्नामा बस्नुपरेको उखु किसान हरिश्याम रायले बताए । 

 यसअघि पटक पटक भएका सम्झौताहरु कार्यान्वयन नभएको उनको भनाई छ । राईका अनुसार २०७० सालदेखि अहिलेसम्मको करिब ७० करोड बढी भूक्तानी बाँकी रहेपनि अहिलेसम्म कुनै सुनुवाई भएको छैन् । अन्नपूर्ण मिलले ५० करोड  र महालक्ष्मी मिलले २१ करोड भूक्तानी गर्न बाँकी रहेको उनले बताए । 

काठमाडौं आएपछि पुस महिनाको चिसोमा खाने र बस्ने ठेगान समेत नपाएका उखु किसानहरु केहीदिनयता माइतीघरमा नियमित धर्नामा बस्ने गरेका छन् । 

भुक्तानी नदिएसम्म उखु नकाट्ने र मिलहरु कुनै पनि हालतमा चल्न समेत नदिने किसानहरुले चेतावनी दिएका छन् । किसानहरुले उखुको मूल्य पनि सरकारले तोकेअनुसार कार्यान्वयन हुनुपर्ने बताउँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप