बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरियामा ‘क्रिसमस उपहार’ खोज्दै अमेरिकी जासुसी विमान, किमको आन्तरिक तयारी के छ ?

आइतबार, १३ पुस २०७६, २२ : ०३
आइतबार, १३ पुस २०७६

एजेन्सी । यो वर्षको क्रिसमस डे सकिसकेको छ, तर उत्तर कोरियाले दिएको धम्कीको धङ्गधङ्गीले अमेरिकालाई अहिलेसम्म छोडेको छैन। उत्तरकोरियाका नेता किम जोङ उनले क्रिसमस डेका अवसरमा अमेरिकालाई उपहार दिने भन्दै घुमाउरो ढंगले धम्की दिएका थिए । त्यसैले अहिले अमेरिका उत्तरकोरियाले के तयारी गर्दैछ भन्ने कौतुहलतासहित त्यसको खोजीमा लागेको छ । पछिल्ला दिन उत्तरकोरियाको आकाशमा अमेरिकन जासुसी विमानहरु उड्न थालेका खबरहरु बाहिर आएका छन् ।

उत्तरकोरियाले दिएको धम्कीलाई अमेरिकाले निकै गम्भीरतका साथ लिएको यसबाट पुष्टि हुन्छ । अहिले एक अमेरिकी गुप्तचर विमान (RC-135S Cobra Ball plane) किमको क्रिसमसको उपहार खोज्न उत्तर कोरियाको आकाशमा चक्कर लगाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले बताउँदै आएका छन् ।

वास्तवमा उत्तर कोरियाले अमेरिकालाई आफ्नो मुलुकमाथि लगाइएको प्रतिबन्ध हटाउनको लागि ३१ डिसेम्बरसम्मको म्याद दिएको छ। उक्त समयभित्र अमेरिकाले त्यसलाई बेवास्ता गरे उत्तर कोरियाका नेता किम जोङ उनले क्रिसमसको उपहार दिने तयारी गरेको धम्की दिएका थिए । 

उत्तर कोरियाले अमेरिकालाई उपहार दिन्छु भन्नुको अर्थ यदि अमेरिकाले उनीहरूको कुरा नसुने शक्तिशाली मिसाइल वा आणविक परीक्षण गर्ने तयारीमा रहेको सञ्चारमाध्यामहरुको भनाई छ । किमले दिएको अभिव्यक्ति पछि उत्तर कोरियाले एउटा मिसाइलको समेत परीक्षण गरिसकेको छ। तर अमेरिकाले उत्तरकोरियाको क्रिसमस उपहार यतिमै सिमित नहोला भन्ने आशंका गरिरहेको छ ।

क्रिसमस उपहारको अर्थ के हो ?  

गुप्तचर विमानले कोरियाली प्रायद्वीपमा उडान गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किम जोङ उनको क्रिसमसको उपहारको चेतावनीलाई सम्हाल्न अमेरिका तयार रहेको अभिव्यक्ति दिएका थिए । उनले यो उपहार राम्रो हुन सक्ने समेत बताउँदै आएका छन् । यसबाट अमेरिका किमले कुनै ठूलो कदम चाल्न सक्छन् भन्ने त्रासमा रहेको बुझिन्छ ।

अहिले उत्तरकोरियाको आकाशमा गोप्य ढंगले चक्कर मारिरहेको एउटा विमानले जापानको उकिनावाबाट  उडान भरेको थियो । यसबाहेक, अर्को E-8C (JSTARS) विमानले कोरियाली प्रायद्वीपमा करीव ३१ हजार फिटको उचाइमा उडान गरेको थियो।

अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणको आशंका

अमेरिका र उत्तर कोरिया बीचको तनावको वातावरण पछिल्लो समयमा बढेको छ। दुई देशबीचको आरोप प्रत्यारोप चर्किरहेकै बेला उत्तरकोरियाली नेता किमको उक्त अभिव्यक्तिले दुवै देशलाई सतर्क बनाइदिएको छ । किमले क्रिसमस उपहारको अर्थपूर्ण कुटनीतिक धम्की दिएपछि अमेरिकाले कोरियाली प्रायद्दिपमा विमानहरू घुमाइरहेको बताइन्छ ।

वास्तवमा अमेरिकाले उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण गरिरहेको आशंका गरेको छ । त्यसैले पनि अमेरिका निकै सतर्क देखिएको छ । तर उत्तर कोरियाले भने यदि अमेरिका यस बर्षको अन्त्यसम्ममा पनि कुनै निष्कर्षमा पुग्न सकेन भने आफ्नो तर्फबाट नयाँ रणनीति तय गरेर अघि बढ्ने संकेत दिएको छ। उत्तर कोरियाले यो पनि भन्दै आएको छ कि क्रिसमसको लागि कस्तो उपहार चाहिन्छ भन्ने कुरा अमेरिकामै निर्भर रहन्छ। 

ठूलो घोषणा हुन सक्ने संकेत 

जानकारहरुका अनुसार अनिश्चितताको बीचमा उत्तर कोरियाले अमेरिकासँगको वार्ताको सम्बन्धमा ठूलो घोषणा समेत गर्नसक्छ । अमेरिकासँग ३ पटक वार्तामा बस्दा पनि कुनै निश्कर्ष निस्कन सकेको थिएन । दुवै देशको मध्यस्थता गरिरहेको दक्षिण कोरियाले पनि उत्तर कोरियाका पछिल्ला गतिविधि नियालेर हेरिरहेको छ ।

स्मरण रहोस्, उत्तरकोरियाको आणविक मुद्दामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका प्रमुख किम जोंग उनबीच दुई पटक शिखर सम्मेलन भइसकेको छ। पहिलो सम्मेलन जून २०१८ मा सिंगापुरमा भएको थियो भने दोश्रो सम्मेलन फेब्रुअरी २०१९ मा भियतनाममा भएको थियो । यद्यपि यी सम्मेलनमा दुवै देशले वार्ताको निश्कर्षमा पुग्न सकेनन् ।  भियतनामको बैठकमा त ट्रम्प वार्ताको बीचबाटै उठेर हिँडेका थिए । त्यसपछि यी दुई नेताहरुबीच उत्तर–दक्षिण कोरियाको सीमा क्षेत्रमा तेस्रो बैठक भएको थियो। उक्त बैठकमा पनि केही निश्कर्ष निस्कन सकेको थिएन ।

किमद्वारा उच्चस्तरीय नेतासँग छलफल

उत्तर कोरियाली नेता किमले आफ्नो राजनीतिक दलका उच्चस्तरीय नेताहरुसँग छलफल गरेका छन् ।  अमेरिकासँगको उच्चस्तरीय आणविक वार्ता गर्ने यसअघिको सहमति बमोजिम वार्ता स्थगित गरिएको अवस्थामा उनले राजनीतिक दलका उच्च नेताहरुसँग गरेको यो छलफललाई अर्थपूर्ण रुपमा लिइएको छ ।  शनिबारबाट शुरु भएको बैठक आइतबार पनि जारी रहेको बताइएको छ । अन्तर्राष्ट्रिय एजेन्सीहरुको सहयोगमा, प्रस्तुतिः रंगलाल रिमाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप