केन्द्रीय संस्करण
राष्ट्रिय मेलमिलाप दिवस

बेवारिसे त बन्दै छैन राष्ट्रिय एकता र मेलमिलाप ?

person explore access_timeपुस १६, २०७६ chat_bubble_outline0

राष्ट्रिय एकता र मेलमिलापको उपागम बोकेर ०३३ पछि लोकतान्त्रिक आन्दोलनको पथलाई अघि बढाउन कम्मर कसेको बीपीको दल चौधौँ महाधिवेशनको सँघारमा आइपुग्नै लाग्दा तीव्र झगडाले प्रजापरिषद् र कोमिन्ताङ बन्ने धुनमा ध्वनि प्रदूषण पारिरहेका छन् । कुनै पनि देशमा एकता, स्वतन्त्रता, अखण्डता र सार्वभौम बन्न त्यस देशका जनतालाई भावात्मक एकतामा कार्यात्मक बनाउन जरुरी हुन्छ । मन, वचन र कर्मकै त्रिभुजमा लक्ष्यले आकार ग्रहण गर्दछ । यसरी जनताको एकता निर्माणको मूल आधार निस्पृह राजनेताहरुको चिन्तन, सोच र समय सान्दर्भिक घटना विश्लेषणबाट उब्जिएका उदात्त दृष्टिकोण नै हुन्छन् । मूलतः एकतालाई सबल बनाउन मेलमिलाप, सहनशीलता, समावेशिता, सही पात्रहरुको सही स्थान र हर आस्था मूल्य तथा मान्यताका जनसमुदायमा अपनत्व महसुस गराउन सक्नु अनिवार्य छ । जननायक बीपीले यिनै कुरा विश्लेषण गरेर राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्त मूर्त एवं सशक्त ढङ्गले अभ्यासमा उतार्न तीसको दसकपछि उब्जाएको सिर्जनात्मक अभियानको नयाँ अप्रोच वा दृष्टिकोणको नाम हो राष्ट्रिय एकता र मेलमिलाप । यतिखेर ने.का. चवालीसौँ राष्ट्रिय एकता र मेलमिलाप दिवस आन्तरिक झगडा प्रतियोगितामार्फत मनाउने जस्तो देखिन गएको छ । जागरण अभियानका उत्तरार्धका दिनहरु झन् बोझिलो तथा पङ्गु हुनु नेकाका लागि अभिशापै हो । त्यसो त नेपालका मूल धारका दलका शीर्ष नायकहरु बढी आत्मकेन्द्रित बनेका कारण कलहको महारोगले दलभित्र संस्थापन र विस्थापनका कित्ता अस्वस्थ रूपमा सलबलाएका हुन् । टालटुले औपचारिक एकताको घोषणाले दलहरुमा नवजीवन नआउने पक्का छ । नेता कार्यकर्ताहरु आफ्नो दलमा पुनर्जीवन दिने वाचासहित गाउँगाउँमा जाने प्रण लिएर फर्किएका छन् । पार्टी गुटीय गञ्जकभित्र बन्दी बन्दा एकता र मेलमिलाप ‘आकाशको फल आँखा तरी मर्’ तोडिएको कुरा अब उनीहरुले व्यावहारिक रुपमा कतिको देखाउन सक्छन्, यो उनीहरुको परीक्षणको विषय छ ।

नेपालको भूअवस्थिति, दक्षिणपूर्व एसियाको तत्कालीन विषम राजनीतिक दशा, विविधताको नेपाली समाज, युरोपियन मुलुकहरुको नेपालप्रतिको बढ्दो चासो आदिलाई मध्यनजर गरेर नै बीपीले राष्ट्रिय एकता र मेलमिलापको नीति रच्न पुगेका थिए । मूलतः त्यतिबेला नेपाली काङ्ग्रेसलाई एकातिर नेपालको कमजोर हुँदै गएको राष्ट्रियतालाई जगेर्ना गर्न निरङ्कुश शासनसत्ता विरुद्ध सङ्घर्ष गर्नुपर्ने थियो भने त्यही तानशाही तागतसित मिलेर राष्ट्रिय अस्तित्वलाई सुरक्षित राख्नुपर्ने बाध्यता पनि थियो । मतलब राष्ट्रियताको सुरक्षार्थ ‘राष्ट्रिय मेलमिलाप’ र प्रजातान्त्रिक वा लोकतान्त्रिक अधिकारको सम्प्राप्तिमा ‘सङ्घर्ष’ अर्थात् ‘मिलाप र सङ्घर्ष’ दुईमुखे जटिल नीति तय गर्नुपर्ने कारण बीपीको राजनीतिक यात्रा खुकुरीको धारमाथिको साहसपूर्ण दौड जस्तै थियो । १९९७ वि.सं.देखि ०३२ सम्मका काल खण्डमा बीपीको नायकत्वले थुप्रै सशस्त्र र निःशस्त्र क्रान्ति र आन्दोलनलाई संवरण गरेको अनुभव र बदलिँदो विश्व राजनीतिकै सन्दर्भको उपज थियो राष्ट्रिय मेलमिलाप ।


 दिवस, जयन्ती वा उत्सव मनाउनु भनेको विगतप्रतिको कर्मकाण्डीय आस्था नभएर ती अभियान र व्यक्तित्वहरुले देशको बहुपक्षीय उन्नयनमा दिएको बाटो स्मरण गर्दै हाम्रो वर्तमान र आगामिताको सही गन्तव्य के हो ? भनेर जिज्ञासा तथा कार्यान्वयनको दिग्दर्शन हो । यतिखेर नेपालमा क्रियाशील भएका मूल धारका दलहरु आवरणमा दल भनेर सम्बोधित भए पनि यथार्थमा गुटउपगुटहरुको महासङ्घ प्रतीत भइरहेको छ ।


राष्ट्रिय एकता र मेलमिलापको औचित्यलाई स्पष्ट पारी भारतमा निर्वासित रहेका आफ्ना साथीहरुलाई सम्झाउँदै बीपीले भने– ‘हाम्रो देश आज राष्ट्रिय सङ्कटमा छ । यता केही वर्षदेखि यो सङ्कट चर्किँदै गएको कुरा सबैले महसुस गरेकै हो । यसले गर्दा राष्ट्रिय अस्तित्व नै समाप्त हुने स्थिति आएको छ । यस तथ्यलाई अरूले पनि स्वीकार गरेका छन् । महाराजधिराज तथा अन्यले समेत बखत बखतमा राष्ट्रिय अस्तित्वमाथि परेको खतराको चर्चा गरेका छन् । यो गम्भीर वास्तविकतालाई बुझेर हामी स्वदेश फर्कँदै छौँ । मेलमिलाप भनेको २०१७ सालमा जुन राजा र जनताको बीचमा एउटा ठूलो पर्खाल खडा गराइयो, त्यो पर्खाललाई तोडेर राजालाई जनताका समक्ष ल्याउने प्रयास हो । यसैले मेलमिलापको दुईवटा अडान रहेको छ– १ राष्ट्रियता, २. प्रजातन्त्र, जसको राजासितको सम्बन्धमा यसको अन्तरविरोधी सम्बन्ध छ । राष्ट्रवादी र प्रजातन्त्रवादीलाई एक स्थानमा एकत्रित हुने आह्वान नै मेलमिलापको अन्तर्य हो । अझ अघि बढेर बीपीले भने– आदर्श निर्विकल्प हुन्छ, साधन निर्विकल्प हुँदैन । हामीले अहिले जुन नीति लिएका छौँ, त्यो परिस्थितिले निर्धारित गरेको सङ्घर्षको एउटा रूप हो ।’ यसरी बीपीले राष्ट्रियतालाई आदर्श, प्रजातन्त्रलाई सिद्धान्त र समाजवादलाई कार्यक्रमको रूपमा बुभ्mने बुझाउने प्रयत्न गरेका थिए । ती सबैको प्रकार्यात्मक औजार एकता र मिलाप भन्ने नै थियो । उनी यो निक्र्योलमा पुगे कि राष्ट्रियताको रक्षाका लागि प्रजातन्त्र गौण हुन्छ । राष्ट्रियताको प्रथम र अन्तिम तत्व जनता नै हुन् । बीपीले राष्ट्रियताका तीन स्तम्भलाई यसरी उभ्याए– १. जनता, २. तिनका अगाडि उपस्थित भएका समस्या र समाधानको सामूहिक प्रयत्न, ३. अनि प्रयत्न गर्दा अनुभूति भएको एकताको भावना । बीपीले धूर्त तानशाह र भ्रष्ट राजनीतिज्ञले आफ्नो स्वार्थ सिद्धि गर्न र जनअधिकार कुल्चन राष्ट्रियतालाई हतियार पनि बनाउँन सक्छन् है भनेर सचेत पनि गराउनुभएको छ ।

 आजको सन्दर्भमा राष्ट्रिय मेलमिलाप–

 दिवस, जयन्ती वा उत्सव मनाउनु भनेको विगतप्रतिको कर्मकाण्डीय आस्था नभएर ती अभियान र व्यक्तित्वहरुले देशको बहुपक्षीय उन्नयनमा दिएको बाटो स्मरण गर्दै हाम्रो वर्तमान र आगामिताको सही गन्तव्य के हो ? भनेर जिज्ञासा तथा कार्यान्वयनको दिग्दर्शन हो । यतिखेर नेपालमा क्रियाशील भएका मूल धारका दलहरु आवरणमा दल भनेर सम्बोधित भए पनि यथार्थमा गुटउपगुटहरुको महासङ्घ प्रतीत भइरहेको छ । सबै नायकहरु गुट बलियो बनाएर पार्टी कब्जा गर्ने र त्यहीमार्फत सरकारको निर्माण गरी संविधानलाई नै गलत ढङ्गले प्रयोग गर्ने रणनीतिमा छन् । हिजो एकजुट भएर लक्ष्य प्राप्तिका लागि सहयोद्धा बनेका आफ्नै दलभित्रका अनन्य सखा आज किन शत्रुको रूपमा विभक्त मात्र हैन, एक अर्कालाई पाएसम्म सिध्याउने तल्लो स्तरको खेलमा सक्रिय देखिएका छन् । यस्तो नीच मनोवृत्तिले ‘एकता र मिलाप’ दुर्घटित भई विलाप मात्र सहनुपर्ने छ कालान्तरमा । वर्गीय, लिङ्गीय, जातीय, क्षेत्रीय, सीमान्तकृत वर्गीय सन्तुलनको आभा हो एकता र मिलाप । पहिलो कुरा भ्रष्टाचार र दुःशासनको इतिका लागि सङ्घर्ष अनि राष्ट्रिय समृद्धिका लागि हो मेलमिलाप । दोस्रो पक्ष दुईतिरका छिमेकी देश र युरोपियन मुलुकसितको हाम्रो सम्बन्धलाई नयाँ शिराबाट सम्बोधन गर्नसक्ने रणनीति बनाउनु हो राष्ट्रिय मेलमिलाप । त्यसैले आज स्वस्थ, सन्तुलित तथा शालीन रूपमा हाम्रो राजनय ( कूटनीति) प्रकटीकृत गराउने क्षमताको विकास राष्ट्रिय एकतामार्फत हुन जरुरी छ । बीपीले आदर्शको प्रतीक राष्ट्रियता कमजोर पार्न देशी वा विदेशी गलत तागत सलबलाएर हामीलाई भ्रमित बनाउन सक्छन्, जसले हामीमा स्वार्थपरायणता, साम्प्रदायिकता, व्यक्तिवादी मनोवृत्ति र विदेशीको मुख ताक्ने आजको भाषामा भन्नुपर्दा लम्पसारवादले गाँज्ने थिति आउन सक्छ । यसैले त्यस्तो अवस्थामा हामी व्यक्तिगत खतरा राष्ट्रको अस्तित्वको खतरासामु गौण मान्दै देश वा राष्ट्र रहेन भने हामी रहन्नौँ भन्ने कुरा हेक्का गर्नुपर्छ । किनकि राष्ट्र बचाउने दायित्व सबैको साझा हो । वास्तवमा नेपालको सन्दर्भमा राष्ट्रिय एकता र मेलमिलाप नेपाली राजनीतिको मौलिक र सार्वकालिक सिद्धान्त हो भन्दा फरक पर्दैन । हो समय क्रममा राजनीतिक रङ्गशालामा पात्र तथा प्रणालीमा फेरबदल होला तर एकता र मेलमिलापविनाको राजनीतिले न त आन्तरिक एकताको सबलता पाउँछ, न त बाह्य देशको शुभेच्छा तथा सहयोग नै । आजको भूमण्डलीकरणको संसारमा राष्ट्रलाई संवृद्धिको दिशातिर लैजान अन्तर्राष्ट्रिय मञ्चहरुमा राष्ट्रिय एकतामार्फत अनुमोदित मुद्दाहरु मुखर गराउन सक्नु कुनै पनि देशको राजनकीय खुबी ( डिप्लोम्याटिक ट्यालेन्सी) हो । विस्तारै आर्थिक परनिर्भरता हटाएर नेपालको जल, जमिन, जङ्गल र जनशक्तिको उपयोगमार्फत रोजगारी अभिवृद्धि गर्नु भरिलो राष्ट्रवाद हो, यस्तो अवस्था मेलमिलापकै धरातलमा टेकेर हुनसक्छ । राष्ट्र समृद्ध र जनता सुखी त्यो बेला हुन्छन् जब राष्ट्रमा क्रियाशील राजनीतिक शक्तिगृहहरु एकीकृत राष्ट्रिय दृष्टिकोणबाट अनुबद्ध भई देशको सर्वाङ्गीण विकासमा हातेमालो गर्दछन् ।

 विद्यमान संविधानको स्पिरिट चलायमान बनाउन सरकार प्रमुखप्रतिपक्षीलगायत प्रतिपक्षी दलहरु, नागरिक समाज, पत्रकार आम जनसमुदाय राष्ट्रिय एकता र मेलमिलापको अभियानमा मन, वचन तथा कर्मले लाग्नै पर्छ । स्वतन्त्र, अखण्ड, समृद्ध र सार्वभौम नेपालको आधार मात्र एकता र मिलाप हो । यो दिवस सार्थक पार्नु आज सबै दलको लागि अनिवार्य कर्तव्य हो । अफसोस ! राट्रिय एकता र मेलमिलापको औजार बोकेको काङ्ग्रेस नै गृहकलहको चक्रव्यूहमा फस्न जाँदा र सत्ताधारी दल पनि सधैँ आन्तरिक किचलोमा रिङ्दा देश अन्योलग्रस्त भयो । लिम्पियाधुरा लिपुलेकका मुद्दा ओझेलमा पर्ला होसियार नेपालका दलहरु ! दलहरु आन्तरिक मिलाप र अन्तर्दलीय सहकार्यको खिलाप जानु भनेको भोलिको ठूलो विलाप तथा विशाद हो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.