केन्द्रीय संस्करण
सन्दर्भ : राष्ट्रिय मेलमिलाप दिवस

मेलमिलापको नयाँ अर्थ– प्रजातन्त्रका सहयोद्धाहरु फेरि एकताबद्ध होऊ !

person explore access_timeपुस १६, २०७६ chat_bubble_outline0

यो पुसमा विभिन्न संयोग मिलेको छ अहिलेको सङ्घीय संसदमा प्रमुख प्रतिपक्ष दलको रूपमा रहेको नेपाली काँग्रेसका लागि । पुस १ गते काँग्रेसको सरकारसँगै संसद् पनि विघटन गरेर प्रजातन्त्रको हत्या गरेका थिए राजा महेन्द्रले । त्यसको कटुस्मृति छ अझै । पुस ८ गते संस्थापक नेता कृष्णप्रसाद भट्टराईको जन्मजयन्ती अनि त्यसैगरी मुलुक जोगाउन बीपी पनि २०३३ साल पुस १६ मा नै आउनुभएको थियो भारत प्रवासबाट नेपाल । त्यसैले नेपालको राजनीतिक इतिहासमा पुस १६ गतेलाई राष्ट्रिय मेलमिलाप दिवसको रूपमा लिइन्छ पनि । हुन त यो दिन अर्थात् २०३३ साल पुस १६ गते नेपाली काँग्रेसका संस्थापक नेताहरु बीपी कोइराला र गणेशमानजी सहितका नेताहरु विनाशर्त भारत प्रवासबाट नेपालमा फर्कनुभएको थियो । नेपालको खस्कँदो राष्ट्रिय अस्तित्वलाई आधार बनाएर त्यस्तो निर्णय गरिएको थियो, त्यो निर्णय यति अचानक र संवेदनशील अवस्थामा भएको थियो कि यसलाई स्वीकार गर्न नेपाली काँग्रेसका थुप्रै अहिंसावादी नेताहरुलाई पनि लामो समय लागेको थियो । यो भर्भराउँदो पञ्चायती राजनीतिमा गरिएको एउटा जोखिमको खेल थियो र यसका प्रणेता नेपाली काँग्रेसका अध्यक्ष बीपी कोइराला स्वयम् नै हुनुहुन्थ्यो । त्यो नीतिको सोलोडोलो परिणाम आउन्जेलसम्म बीपी रहनु त भएन तर उहाँको जुन भविष्यवाणीका आधारमा मेलमिलापको आधारभूमि खडाभएको मानिएको थियो, त्यसको मर्मलाई कुल्चिँदा नेपालको राजनीतिमा आमूल परिवर्तन अवश्यम्भावी भएको तथ्य आज अथ्र्याउन सकिन्छ । त्यसैको परिणामस्वरूप लोकतन्त्रको बहाली, पुनर्बहाली सम्भव भएको विश्लेषण गर्दा अत्युक्ति हुँदैन नेपाली राजनीतिमा । राजाको प्रजातन्त्र विरुद्धको अनवरत दृश्य अदृश्य लिँढे ढिपीले गणतन्त्र सम्भव भएको पनि माने अत्युक्ति हुने छैन ।

एउटा विरोधलाई कतैबाट पनि नसहने तर मुलुकमा शान्ति छ भन्ने शैलीको मुर्दा शान्तिले बास गरिरहेको बेलामा र राजाले गाउँ फर्क अभियानको नाममा पञ्चायतलाई स्टालिन शैलीमा एकदलीय स्वरूप दिइरहेको बेलामा बीपीले राष्ट्रिय मेलमिलापको नीति लिई नेपाल प्रवेश गर्ने राजनीतिक जोखिम उठाउनु भएको थियो । जोखिम यस अर्थमा कि मदन्मत्त पञ्चहरुले राजालाई यसरी देवत्वकरण गर्दै थिए कि राजाको विरुद्ध जो जान्छ, त्यो फाँसीको हकदार हुने अवस्था थियो किनभने बीपीकै कतिपय अनुयायीहरु फाँसीको सजाय पर्खिरहेका थिए ।

नेपाल भन्ने सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र देश जब विदेशीहरुको खेल मैदान हुन थालेको बीपीलाई अनुभूत भयो, अनि बीपी र गणेशमानजीले नेपालभित्रै गएर राष्ट्रियता र प्रजातन्त्रलाई एउटै सिक्काका दुई पाटोका रूपमा अथ्र्याउने नयाँ राजनीतिक माहोल सिर्जना गर्ने अठोट गरेको पाइन्छ ।  राजनेताहरुले आफ्नो स्वनिर्वासन त्यागी स्वेच्छाले स्वदेश प्रवेश गर्दा पनि कहिलेकाहीँ त्यो निर्णय राजनीतिकरूपमा जनआन्दोलनमा रूपान्तरित हँुदोरहेछ र त्यसले शान्त समुद्रमा ज्वारभाटा आएपछि देखिने  आधारभूत राजनीतिको धार नै परिवर्तन गर्दोरहेछ भन्ने कुराको आधार त्यस दिनलाई लिन सकिन्छ जुन दिनलाई बीपी कोइराला, गणेशमानजीले राष्ट्रभित्र नै  मेलमिलाप गर्नका लागि राजनीतिको नयाँ रूप प्रस्तुत गर्नुभएको थियो ।


तत्कालीन अवस्थामा निर्विकल्प भनी व्याख्या गरिएको र राष्ट्रियताको पक्षमा भनी तत्कालीन अवस्थाका चिनिएका स्वनामधन्य तथाकथित प्रजातन्त्रवादी तथा वामपन्थीहरुबाट समेत स्वीकृत निर्दलीय पञ्चायती व्यवस्थाका विरुद्धमा सदैव असहमति जनाउँदै आउनुभएका र त्यसका विपक्षमा सशस्त्र आन्दोलनसमेत गर्नुभएका नेपाली काँग्रेसका नेताहरु बीपी कोइराला, गणेशमान सिंहसहितका नेताहरुले आफ्नै देशमा शान्तिपूर्ण तरिकाले अहिंसात्मक आन्दोलन गर्न भनी लिएको नीतिलाई नै नेपालको राजनीतिमा राष्ट्रिय मेलमिलापको रूपमा मानिएको छ । किसुनजी र महेन्द्र नारायण निधिजीहरु त नेपालमा नै हुनुहुन्थ्यो अहिंसात्मक आन्दोलनका पक्षमा लाग्दै ।


भारत, बेलायत, अमेरिका र चीनलाई  रिझाउन उनीहरुका चासो सम्बोधन गर्न माहिर राजतन्त्रको घोषित तथा अघोषित नीति भए पनि पुस्तौँ पुस्ता राजा हुनका लागि नेपाल राज्य चाहिने अन्तर्य बुझ्नु भएका बीपीले बरु राष्ट्रियता जोगाउनका लागि राजासँग मिलेर भए पनि कमजोर राष्ट्रियतालाई सबल बनाउने रणनीति तय गरेको बुझ्न सकिन्छ तर प्रजातन्त्रविनाको राष्ट्रियता खोक्रो नारा मात्र साबित हुने भएकोले न सङ्घर्ष, न समर्पणको नीतिलाई अवलम्बन गरिएको थियो भन्दा राष्ट्रिय मेलमिलापको सही विश्लेषण हुन सक्छ ।

प्रजातन्त्रका लागि समर्पण कोहीसँग होइन तर नेपालको हितका लागि जोसँग पनि सहकार्य गर्ने नीति थियो, प्रजातन्त्रका लागि कोहीसँग पनि सम्झौता नगरी प्रजातन्त्र पुनर्बहाली गराएरै छोड्ने नीति थियो बीपीको । प्रजातन्त्र बलियो हुनका लागि मुलुक एक ढिक्का हुनु जरुरी थियो राष्ट्रियताको प्रश्नमा । आज कालापानी क्षेत्रको खुलासाले बीपीको त्यो शङ्कालाई बल पुगेको छ । तर उल्टै त्यो सचेत राजनेतालाई भारतीय दलाल र अर्राष्ट्रिय तत्व भनेर कोकोहोलो गरिएको थियो– कक्षाको पुस्तकदेखि एमएसम्मको पढाइमा । पञ्चायत भन्ने विषयको पढाइ हुन्थ्यो, जसको एउटै लक्ष्य थियो बहुदलीय व्यवस्थाका विरुद्धमा सचेतना । बीपीलाई यो सबै थाहा थियो र पनि उहाँले राष्ट्र जोगाउन कसैले त जोखिम मोल्नै पर्ने हुनाले इतिहासले आफूलाई प्रजातन्त्र स्थापना, प्रवद्र्धन र पुनस्र्थापनाका लागि खटाएको ठानेर प्रजातन्त्र स्थापनाका लागि सबैसँग मेलमिलाप गर्ने नीति लिएको देखिन्छ ।

यसमा लौहपुरुष गणेशमानजी, अथक शान्तियोद्धा कृष्णप्रसाद भट्टराईजी, क्रान्ति नायक गिरिजाप्रसाद कोइराला, अथक प्रजातन्त्रका सेनानी महेन्द्रनारायण निधिजस्ता नेताहरुको बीपीलाई सदैव साथ थियो ।

एकातिर नेपाल संविधान सभाले बनाएको संविधान कार्यान्वयनको चरणमा छ भने अर्कोतिर संविधानवादप्रति पटक्कै आस्था नभएकाहरुको हातमा संविधानको कार्यान्वयनको जिम्मा छ । संविधानअनुसारको सरकार हुनाले विश्वास गरौँ–संविधानको मर्मविपरीत काम नहोला । अहिलेको प्रजातान्त्रिक संविधान पनि संविधान सभाको दोस्रो निर्वाचनले मात्र सम्भव भएको हो र संविधान बनाउनमा नेपाली काँग्रेसले नेतृत्व गरेको सरकार थियो र त्यसको नेतृत्व नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले गर्नुभएको थियो । यसो हेर्दा संविधानको कार्यान्वयन र प्रजातान्त्रिक प्रणाली सबैको अखानोमा परेको बेला छ र आफूलाई प्रजातन्त्रको संवाहक मान्ने नेपाली काँग्रेस आफै आन्तरिक प्रजातन्त्रका लागि सङ्घर्षरत छ, दलका विभिन्न गुट उपगुटहरुका बीचमा मेलमिलाप कुरेर स्वयं नेपाली काँग्रेस बसेको अवस्था छ ।

एकातिर सबै दलहरुसँगको आन्तरिक असैद्धान्तिक प्रतिस्पर्धा र आफैमा अनुशासनहीनताको अन्तद्र्वन्द्वमा फसेको छ, नेपाली काँग्रेस संसदमा काँग्रेस दोस्रो ठूलो दल हो र पनि प्राप्त मत नेपाली काँग्रेसका लागि धेरै कम हो । २०१५, २०४८, २०५६ मा आफैले बहुमतको सरकार बनाएको नेपाली काँग्रेससँग अहिले आफैसँग सरकार बनाउने वा भत्काउने गरी बहुमत पनि छैन । त्यति मात्र होइन कि सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनसमेत पुग्ने मत छैन ।  संविधान कार्यान्वयनका लागि भरपर्दो मित्र शक्तिको आड भरोस गर्ने ठाउँ पनि देखिँदैन तथापि संसदीय व्यवस्थामा देखिने वा भित्र्याइने सम्पूर्ण नराम्रा व्यवहार र अभ्यासको अपजस भने उसैको टाउकोमा थोपरिन्छ जब कि संसदीय व्यवस्थाका पक्षमा काँग्रेस अडिग छ र अडिग रहिरहनु पनि जरुरी छ ।

तत्कालीन अवस्थामा निर्विकल्प भनी व्याख्या गरिएको र राष्ट्रियताको पक्षमा भनी तत्कालीन अवस्थाका चिनिएका स्वनामधन्य तथाकथित प्रजातन्त्रवादी तथा वामपन्थीहरुबाट समेत स्वीकृत निर्दलीय पञ्चायती व्यवस्थाका विरुद्धमा सदैव असहमति जनाउँदै आउनुभएका र त्यसका विपक्षमा सशस्त्र आन्दोलनसमेत गर्नुभएका नेपाली काँग्रेसका नेताहरु बीपी कोइराला, गणेशमान सिंहसहितका नेताहरुले आफ्नै देशमा शान्तिपूर्ण तरिकाले अहिंसात्मक आन्दोलन गर्न भनी लिएको नीतिलाई नै नेपालको राजनीतिमा राष्ट्रिय मेलमिलापको रूपमा मानिएको छ । किसुनजी र महेन्द्र नारायण निधिजीहरु त नेपालमा नै हुनुहुन्थ्यो अहिंसात्मक आन्दोलनका पक्षमा लाग्दै ।


पार्टीभित्र कुन सैद्धान्तिक विमर्शका लागि गम्भीर बहस भएको देखिँदैन तर पनि सधैँ विवाद । कस्तो विवाद, किन विवाद ? कसका लागि विवाद ? आफै राष्ट्रिय मेलमिलापको नीति अख्तियार गर्ने, अनि आफै कहिल्यै मिल्न नसक्ने ? को प्रधानमन्त्री हुँदैमा के हुँदो रहेछ र ? को पार्टी सभापति हुँदैमा के हुँदो रहेछ र ? सिद्धान्त बलियो हुँदा एक्लो बृहस्पतिको बोलीले पनि त परिवर्तन सम्भव भयो त ? अनि दल बलियो हुँदा त प्रजातन्त्र त बलियो हुँदो रहेछ । वामपन्थीको प्रचण्ड बहुमतको सरकार बन्दा पनि दलमा देखिने विवादले प्रजातन्त्रवादीहरुलाई निराश नपारोस् जुन अहिले विद्यमान छ ।


बीपी, गणेशमानजी सहितका थुप्रै नेताहरुलाई फाँसी समेतको माग गरी नेपालका अदालतहरुमा मुद्दा चलाइएको अवस्थामा एकाएक स्वेच्छाले नेपाल प्रवेश गर्ने नीति तयार गरी सम्पूर्ण काँग्रेसहरु बाघको खोरमा मृग पसेजस्तै गरी राजाको प्रत्यक्ष शासनमा ग्वारग्वारती पस्दा  नेपालको राजनीतिमा एउटा सशक्त तरङ्ग उत्पन्न भएको थियो र पञ्चायतलाई नै आफ्नो कब्जामा लिएर राजाभन्दा पनि ठूला राजावादी भएका घुसपैठवादीहरुका लागि त्यो तिलस्मी नीतिको रूपमा अथ्र्याइएको थियो ।

हजारौँ युवा नेताहरुको सक्षम नेतृत्व सदैव उहाँको प्रजातन्त्र प्राप्तिका पक्षमा थियो । नेपाली जनताको जनपक्षीय धारको नेतृत्व बीपीको नाममा मात्र विश्वभर विश्वसनीय रूपमा यसकारणले पनि परिचित थियो कि उहाँलाई राजाले २०१७ सालमा विनाकारण सैनिक बलमा अपदस्त गरेका थिए । त्यसपछि कुनै पनि नागरिकलाई कुनै पनि दलमा स्वेच्छाले लागेकोमा अपराधी घोषणा गरिएको थियो । एक दलीय र निरङ्कुश शासनको यो परिचय नै हो लोकतन्त्रका विरुद्धमा सदैव । आज पनि कतिपय देशमा यो सुन्न र देख्न पाइन्छ ।

राजनीति सरल रेखामा हिँड्दैन । समयले त्यसलाई परिमार्जन र  परिष्कृत गरेकै हुन्छ । तर त्यसको माध्यम त नेता वा नेतृत्व नै हुन्छ । त्यस्तै समयले मागेको नेतृत्वका रूपमा बीपी र गणेशमानजीमार्फत मेल मिलाप गर्ने गरी सुरु भएको २०३३ साल पुस १६ पछि नेपालको राजनीतिले गुणात्मक परिवर्तन आत्मसात गर्यो । त्यसको पछिल्लो क्रमागत उपलब्धि भनेको  संविधानसभा हो र उपलब्धि भनेको नयाँ संविधानअनुसारको नयाँ नेपाल नै हो जहाँ लोकतन्त्र, गणतन्त्र, सङ्घीय स्वरूप र समावेशी चरित्रको शासकीय स्वरूप छ ।

अब चर्चा गराँै, मेलमिलापको अहिलेको सन्दर्भमा । मुलुकमा झन्डै दुई तिहाईको प्रचण्ड बहुमतको  सरकार छ र पनि सरकारको काम हेर्दा कामचलाउ जस्तै छ । कतिपय प्रश्नमा सरकार अनिर्णय र अपरिपक्वताले मुलुक अझै अनिर्णयको बन्दी कतिसम्म हुने हो, भन्न सकिँदैन । दण्डविहीनता मौलाएको छ । भ्रष्टाचार सदाचार भएको छ । दलहरुका बीचमा आपसी र दलीय विवाद आन्तरिक रूपमा कायम छन् । दलहरुका बीचमा नै मेलमिलाप आवश्यकता छ । त्यसैले दलहरुप्रति जनतामा नैराश्यता छ र पनि दलहरु नै लोकतन्त्रका बाहक र उपभोक्ता दुवै रहेको अवस्था छ । सबै दलहरु मिल्नुबाहेक कुनै अर्को विकल्प बाँकी छैन । बीपीले भन्नुभएको बेलामा जस्तो जटिल अवस्थामा मात्र देश छैन । मियो बिनाको दाइँ भइरहेको अवस्था छ । दलहरुका बीचमा विश्वासको सङ्कट छ । कसैको पनि कसैसँग विश्वास छैन ।

 विश्वका लोकतान्त्रिक मुलुकलाई र संस्थाहरुलाई लोकतन्त्रको विकासप्रति विश्वस्त पानसक्र्ने अन्तर्राष्ट्रिय व्यक्तित्व भएको मानिस गिरिजाबाबु पनि अहिले हामीसामु हुनुहुन्न । उहाँले नासोमा छोड्नु भएको दल नेपाली काँग्रेसभित्रमा पनि अहिले आफै राष्ट्रिय मेलमिलापको आवश्यकता छ । प्रत्येक दलको आफैमा मेलमिलापको आवश्यकता छ । मधेस केन्द्रित दलहरुले संविधानप्रति असन्तुष्टि जनाई गरेको आन्दोलनले अन्यौलतासँगै संविधानअनुसारको सरकारलाई समर्थन गर्दै संविधानको विरोधमा पनि छन् र सरकारमा पनि छन्, यस्तो अवस्था पो छ । नयाँ नयाँ समीकरण जन्माएको छ परिस्थितिले । कहिले मिल्यो जस्तो त कहिले कहिल्यै मिल्दैन जस्तो देखिन्छ । कहिले मुलुकको अस्मितामाथि नै धावा बोलेजस्तो त कहिले सबै ठीकै जस्तो देखिन्छ । कहिले कुन दलको निकटको जस्तो कहिलेको जस्तो देखिन्छ । सायद यसैलाई भन्छन् क्या रे सङ्क्रमणकाल र अन्यौलग्रस्त राजनीति ।

त्यसैले आज अन्तर्दलीय मेलमिलापको आवश्यकता देखिन्छ । सरकार सञ्चालनका लागि होस् कि सरकारका काम कारबाहीलाई जनस्तरमा सेवा दिनका लागि होस् वा तीन तहका सरकारका बीचमा संविधान बमोजिमको समन्वय कायम गर्नका लागि होस् । बीपीले भनेजस्तै अवस्था होस् वा नहोस्, उहाँले कल्पना गर्नुभएको मेलमिलापको सैद्धान्तिक धरातलले मात्र आजको समस्या समाधान हुनसक्ने सम्भावना देखिन्छ । मुलुक झन्झन् दुरावस्थामा भासिएको छ । बीपीको एक इसारामा ज्यानको बाजी थाप्न चाहने ती युवाहरु अहिले नयाँ बहुराष्ट्रको परिभाषा खोजिरहेका छन् र मुलुकको अवस्था अझ जीर्ण र कमजोर हुँदा पनि मुलुकप्रति संवेदनशील हुन सकेका छैनन्, किन ? यसको उत्तर आजको नीति निर्माता र नेतृत्वले दिनै पर्छ । हिजो सदाचारका प्रतीक मानिएकाहरु अहिले दुराचारका प्रतीकका रूपमा समाजमा गनाएका छन् र अदालती कारबाहीमा अपराधी मानिएका पनि छन् ।

दिनको हिसाबले त त्यो दिवस पुस १६ गते नै मनाइन्छ, मनाइँदै आइएको पनि छ । तर मेलमिलापलाई, त्यो दिवसलाई काँग्रेसको मात्र सम्झने धृष्टता नगरौँ । सबैले बीपीको त्यो संवेदनशीलतालाई अहिले पनि मनन गरौँ । नेपालको राष्ट्रियता बलियो बनाउन हामी नेपाली मात्र लाग्नु पर्छ । कोही हामीबीच हाम्रो प्रमुख शत्रु वा परम मित्र छैन । हामी एउटै डुङ्गामा सबार छौँ । प्वाल पार्यौँ भने हाम्रो डुङ्गा डुब्ने छ । बाहिरकालाई रमिता हुनेछ । कथा हुनेछ । त्यसैले हामी सबै साझा प्रश्नमा एक भएर काम गर्न सक्यौँ र एक भएर समस्या समाधान गर्न सक्यौँ भने कसैले केही पनि बिगार्न सक्दैन । हामी आफ्ना अतीतका गल्तीबाट सिक्ने भन्दा डराउने गर्दछाँै । हामी गल्ती स्वीकार्ने हिम्मत गराँै र सबै जना मिलेर यो अतीव सुन्दर देशलाई अझ सुन्दर बनाऔँ । सबैको मेलमिलाप र सहकार्यबाट मात्र त्यो सम्भव छ । राष्ट्रिय मेलमिलाप दिवसको मनन गर्ने कुरा पनि यही हो । कसैलाई निषेध गरेर वा चौतर्फी घेरामा पारेर मात्र नेपालको हित हुने छैन । लोकतन्त्रको विपक्षमा नसोचाँै । लोकतन्त्रका विकल्पमा लोकतन्त्र मात्र हुन्छ भन्ने सहमति तयार गरौँ ।

आगामी महाधिवेशनको तयारी गर्ने बेला पनि निकट भविष्यमा नै  आएको छ । काँग्रेस आफै संयुक्त मोर्चाझैँ देखिन्छ । आपसमा मेलमिलाप छैन । मेल मिलापका लागि अरू दलहरुसँग सहकार्य गरेर संविधानलाई कार्यान्वयन गर्ने खास जिम्मा काँग्रेसको हो तर आफैमा तितरवितर भएको काँग्रेसमा त्यो क्षमता कति रहला ? त्यसैले सर्वप्रथम आफ्नो नीतिको कार्यान्वयन आफ्नै दलमा एकता र मेलमिलाप गरेर अरूलाई देखाउन सक्नुपर्दछ । दलका एजेन्डा कार्यान्वयन गर्न एकले अर्कालाई असहयोग गरेको पाइन्छ । जसले नेतृत्व लिए पनि त्यो दुष्चक्र घुमिरहने होला । त्यसो भएमा नेपाली जनताको आस्था काँग्रेसबाट मरेर जाने अवस्थामा देखिने रिक्तताको अहिले कल्पनासम्म पनि गर्न सकिँदैन । काँग्रेसलाई काँग्रेसले मात्र समाप्त गर्न सक्छ भन्ने गिरिजाबाबुको भनाइ अहिले चरितार्थ हुँदैछ ।

बीपीको मेलमिलापलाई प्रशंसा गरेर र व्याख्या गरेर मात्र हुँदैन, त्यसलाई आत्मसात गरेर अभ्यास गरे पनि प्रजातन्त्र बलियो हुन्छ अनि प्रजातन्त्रका विरोधीहरुको तेजोबध हुन्छ । आखिर त्यसले नेपाल र नेपालको प्रजातन्त्रलाई नै सुदृढ बनाउँछ ।

पार्टीभित्र कुन सैद्धान्तिक विमर्शका लागि गम्भीर बहस भएको देखिँदैन तर पनि सधैँ विवाद । कस्तो विवाद, किन विवाद ? कसका लागि विवाद ? आफै राष्ट्रिय मेलमिलापको नीति अख्तियार गर्ने, अनि आफै कहिल्यै मिल्न नसक्ने ? को प्रधानमन्त्री हुँदैमा के हुँदो रहेछ र ? को पार्टी सभापति हुँदैमा के हुँदो रहेछ र ? सिद्धान्त बलियो हुँदा एक्लो बृहस्पतिको बोलीले पनि त परिवर्तन सम्भव भयो त ? अनि दल बलियो हुँदा त प्रजातन्त्र त बलियो हुँदो रहेछ । वामपन्थीको प्रचण्ड बहुमतको सरकार बन्दा पनि दलमा देखिने विवादले प्रजातन्त्रवादीहरुलाई निराश नपारोस् जुन अहिले विद्यमान छ ।

बीपीको राष्ट्रिय मेल मिलापको पछिल्लो व्याख्या यस्तो हुनसक्छ– प्रजातन्त्रवादीहरुसँग बामपन्थी नझस्क, वामपन्थीहरु नेपाली काँग्रेससँग नतर्स । एउटै डुङ्गामा सवार यात्रीहरु डुङ्गा डुब्दा कोही पनि बच्दैनौँ किनभने अहिलेको व्यवस्था तिमीहरुको सङ्घर्षको सकारात्मक परिणाम र उपज हो, तिमीहरु चक्रव्यूहमा फसेका छौ । चक्रव्यूह तोड्ने साहस गर, जसरी बीपीले फाँसीको दण्डसमेतलाई वास्ता नगरी मुलुकको चिन्ता गर्नुभयो र मुलुकलाई नयाँ गन्तव्यमा प्रवेश गराउनुभयो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.