शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रक्रिया नपुगी एक सय शय्याको अस्पताल सञ्चालनको स्वीकृति, गगन थापाले दिए ५ करोड

शुक्रबार, १८ पुस २०७६, १६ : ५२
शुक्रबार, १८ पुस २०७६

व्यावहारिक रूपमा हेर्ने हो भने भक्तपुर क्यान्सर अस्पताल सञ्चालन भएको २३ वर्ष भयो । भक्तपुर अस्पतालको ठीक पछाडि सञ्चालनमा आएको भक्तपुर क्यान्सर अस्पताल उपत्यकामा क्यान्सर रोगको उपचारका लागि राम्रो मानिने एउटा अस्पताल हो ।

२०५५ सालदेखि क्यान्सर रोगको उपचारमा संलग्न रहेको यो अस्पताल २०५६ साल असोज २१ गते तत्कालीन राजा वीरेन्द्रबाट उद्घाटन भयो । त्यसपछि लामो समयसम्म आफ्नै ढङ्गबाट चलिरहेको यो अस्पतालले २०७४ सालमा छलछाम गरेर अस्पताल सञ्चालनको स्वीकृति लिएको पाइएको छ ।

२०७४ साल वैशाख २६ गते स्वास्थ्य सेवा विभागले नेपाल अर्बुद रोग निवारण संस्थाको नाममा पत्र दिएर भक्तपुर क्यान्सर अस्पताल सञ्चालनको स्वीकृति दिएको बताएको छ ।

तर विभागले अस्पताल सञ्चालन स्वीकृति दिँदा पनि न त प्रक्रिया पूरा गर्‍यो न त मापदण्ड नै हेर्‍यो । बरु सत्ता र शक्तिको आडमा विभागले तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको निर्देशनमा प्रक्रिया नै नपुगी १ सय शय्याको अस्पताल सञ्चालनको स्वीकृति दिएको छ ।


तत्कालीन समयमा ५० शय्यादेखि २ सय शय्यासम्मको अस्पताल सञ्चालनका लागि स्वास्थ्य सेवा विभागबाट सञ्चालन स्वीकृति दिने प्रावधान थियो । त्यही प्रावधानका आधारमा स्वास्थ्य सेवा विभागका तत्कालीन प्रमुख मेडिकल अधिकृत डा. हेमन्त चन्द्र ओझाले ३ वर्षका लागि सेवा सञ्चालन गर्ने अनुमति प्रदान गरेका छन् ।

 हेर्नुहोस् विभागले अस्पताल सञ्चालनको लागि दिएको स्वीकृति पत्र ।

तत्कालीन समयमा भक्तपुर क्यान्सर अस्पताललाई नयाँ अस्पतालका रूपमा सञ्चालन स्वीकृति दिइएको छ । किनभने पत्रमा स्तरोन्नतिको कुरा गरेको छैन ।

यसलाई आधार मान्ने हो भने स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नतिका लागि पहिले एलओआई अर्थात् मनसायपत्र लिनुपर्ने हुन्छ । यदि अस्पताल २५ शय्याभन्दा बढीको हो भने वातावरणीय प्रभाव मूल्याङ्कन अर्थात् ईआई रिपोर्ट पनि पेश गर्नुपर्ने हुन्छ ।

पहिले अस्पताल सञ्चालनका लागि एलओआई लिने र भौतिक पूर्वाधार पूरा भएपछि अनुगमन गरी अस्पताल सञ्चालनका लागि अनुगमन गरी सञ्चालन स्वीकृति दिने गरिन्छ ।

अस्पताल सञ्चालन गर्ने हो भने पनि जग्गा तथा भवनको प्राप्ति, भाडामा हो भने घर बहालमा लिएको सम्झौतापत्र, कर प्रयोजनका लागि प्यान नम्बर लिएको हुनुपर्ने, कम्पनीमा दर्ता भएको हुनुपर्ने कानुनी व्यवस्था छ । यदि कुनै एनजीओले स्वास्थ्य संस्था सञ्चालन गर्ने हो भने पनि समाज कल्याण परिषद् र जिल्ला प्रशासन कार्यालयमा दर्ता गराउनै पर्ने कानुनी व्यवस्था छ ।

तर तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको निर्देशनमा भक्तपुर क्यान्सर अस्पताल दर्ता गर्ने प्रयोजनका लागि यी कुनै पनि कानुनी व्यवस्था पूरा गरिएन । बरु गगन थापाले अस्पताल सञ्चालनको स्वीकृति नै नहुँदा रेडियोथेरापी मेसिन खरिदका लागि भन्दै ५ करोड रुपैयाँ अनुदान दिए ।

थापाले २०७४ असार २९ गते निर्णय गराएर क्यान्सर अस्पताललाई ५ करोड रुपैयाँ अनुदान दिएका छन् । पहिलो कुरा त तत्कालीन समयमा दर्ता नै नभएको अस्पताललाई कानुनी प्रक्रियाभन्दा बाहिर रहेर अनुदान दिने नियतले जबरजस्ती सञ्चादन स्वीकृति प्रदान गरिएको छ भने दोस्रो एउटा एनजीओले हडपेको अस्पताललाई मन्त्रीले सहयोग गर्नु पनि कानुनसम्मत देखिँदैन । वीर अस्पतालजस्ता सरकारी अस्पतालले सरकारी अनुदान पाउन कठिन भइरहेको अवस्थामा मन्त्री थापाले किन र के उद्देश्यका साथ उक्त अस्पताललाई ५ करोड रुपैयाँ अनुदान दिएका थिए ?

हेर्नुहोस् मन्त्रालय र एनसीआरएसबीच भएको अनुदान सम्झौता र भुक्तानीको चेक

सामुदायिक अस्पतालमा एनसीआरएसको मनोमानी

 भक्तपुर क्यान्सर अस्पताल एउटा सामुदायिक अस्पताल हो । २०५३ सालमा एउटा सामान्य प्रोजेक्टका रूपमा विकास भई पछि अस्पतालको स्वरूप धारण गरेको यो अस्पतालमा नेपाल अर्बुद रोग निवारण संस्थाको कुनै लगानी र कानुनी हैसियत छैन ।

सुरुमा भक्तपुर अस्पतालकै एउटा अङ्गका रूपमा विकास गरी क्यान्सर रोगको उपचार गराउने उद्देश्यले स्थापना भएको यो अस्पताल पछि बिस्तारै नेपाल अर्बुद रोग निवारण संस्था अर्थात् एनसीआरएसले गैरकानुनी कब्जा गरेको देखिन्छ ।

सुरुमा तत्कालीन श्री ५ को सरकार, भक्तपुर अस्पताल, भक्तपुर नगरपालिका, रोटरी क्लबहरु र भक्तपुरका बासिन्दा आदिको सहयोगले स्थापना भएको यो अस्पतालको जिम्मेवारी बिस्तारै एनसीआरएसले लिएको थियो । अस्पताल स्थापना हुँदा एनसीआरएसका पदाधिकारीहरु आमन्त्रित सदस्यका रूपमा उपस्थित भए पनि उनीहरुले बिस्तारै अस्पताल नै कब्जा गर्ने रणनीति लिए ।

र, २०५९ सालमा नेपाल अर्बुद रोग निवारण संस्थाले आफ्नो विधान नै संशोधन गरेर भक्तपुर क्यान्सर केयर सेन्टर (तत्कालीन नाम) सञ्चालनको व्यवस्थापकीय जिम्मेवारी आफूले लिएको घोषणा गर्‍यो । उसले विधानमा नै नेपाल अर्बुद रोग निवारण संस्थाको अध्यक्ष नै भक्तपुर क्यान्सर केयर सेन्टरको पदेन अध्यक्ष रहने गरी विधान संशोधन गर्‍यो । जबकि हालको भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन समितिमा मात्रै उनीहरु रहेका थिए । तर उनीहरुले अस्पताल नै नेपाल अर्बुद रोग निवारण संस्थाले चलाएको जस्तै गरी आफ्नै विधानमा त्यस्तो विषय उल्लेख गरे ।

त्यति बेलासम्म भक्तपुर क्यान्सर अस्पताल (तत्कालीन भक्तपुर क्यान्सर केयर सेन्टर) मा भक्तपुर नगरपालिकाका मेयर वा प्रशासकीय अधिकृत, जिल्ला विकास समिति, सीडीओ कार्यालयका प्रतिनिधि सदस्य रहने व्यवस्था थियो । तर २०५९ सालमा उनीहरुले विधानमा नै व्यवस्थापनको जिम्मेवारी आफ्नो हातमा लिने घोषणा मात्रै गरेनन्, एक एनजीओको विधानमा हुनै नसक्ने र जिल्ला प्रशासन कार्यालयबाट स्वीकृतसमेत नगराई स्वास्थ्य मन्त्रालयको सहसचिव सदस्य रहने गरी व्यवस्थापन समिति बनाउने निर्णय गराए । र, संस्थाको नाम नेपाल अर्बुद रोग निवारण संस्था भक्तपुर क्यान्सर अस्पतालको नामबाट सञ्चालन गर्ने निर्णय गरियो । आफू लगानी नभएको, आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर रहेको भक्तपुर क्यान्सर अस्पताल नै आफू मातहत ल्याउने गरी यो निर्णय भएको थियो, जुन एनसीआरएसलाई कुनै अधिकार थिएन । तर पनि यही मितिबाट उनीहरुले भक्तपुर क्यान्सर अस्पताल कब्जा मात्रै गरेनन्, सम्पूर्ण अधिकार आफ्नो हातमा लिए ।

एनसीआरएसले २०५९ सालदेखि नै एकलौटीरूपमा भक्तपुर क्यान्सर अस्पताल सञ्चालन गरे पनि न त अस्पतालको कुनै प्यान नम्बर लियो न त अस्पताल दर्ता गर्नुपर्ने आवश्यकता नै देख्यो । बरु आफूखुसी अस्पतालको लेटर हेड र स्ट्याम्प प्याड बनाएर सञ्चालनमा ल्यायो ।

यदि एनसीआरएसले यो व्यवसाय गरेको हो भने उसले त्यसबापत राज्यलार्ई कर पनि तिर्नुपर्ने थियो । पहिलेदेखि नै सञ्चालनमा रहेको अस्पतालले तत्कालीन समयमा ५ प्रतिशत स्वास्थ्य सेवा कर अर्थात् एचएसटी पनि तिर्नुपर्ने थियो । तर अस्पतालले न आन्तरिक राजस्व कार्यालयमा कर बुझायो न त अस्पताल दर्ता नै गर्यो । बरु आफ्नो वेभसाइटमा भक्तपुर क्यान्सर असपताल आफ्नै सम्पत्ति रहेको बताउँदै एनसीआरएसले सञ्चालन गरिरहेको दाबी गर्‍यो । जब कि त्यो अस्पतालको व्यवस्थापन समिति मात्रै एनसीआरएसले ‘कब्जा’ गरेको थियो ।

कानुनविपरीत आफूखुशी विधान संशोधन, सीडीओ कार्यालयबाट स्वीकृत नै नभई कार्यान्वयन !

एनसीआरएसले २०५९ साउन १२ गते बसेको आफ्नो केन्द्रीय कार्यसमितिको बैठकको निर्णय भन्दै भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापनको जिम्मेवारी स्वतः एनसीआरएसका अध्यक्षले गर्ने निर्णय गरको थियो ।

त्यही बैठकले उक्त अस्पताल व्यवस्थापन समितिको सदस्यका रूपमा स्वास्थ्य मन्त्रालयका एकजना सहसचिव पनि राख्ने निर्णय गरेको छ । त्यसैगरी स्वास्थ्य मन्त्रालयका सचिव सल्लाहकार समितिको सदस्य रहने उल्लेख गरेको छ ।

तर जिल्ला प्रशासन कार्यालय काठमाडौँले भने विधानमै उल्लेख गरेको यस्तो व्यवस्था खारेज गरिदिएको छ । विधान संशोधनको तीन महले खण्डमा यो कुरा उल्लेख हुनुपर्ने भए पनि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट यस्तो विधान संशोधनसहित स्वीकृत नै भएको छैन ।

तर एनसीआरएसले भने भक्तपुर अस्पतालमा आफूखुशी बनाएको त्यही विधान र निर्णय देखाउँदै व्यवस्थापन समिति चलाइरहेको छ ।

 हेर्नुहोस्, भक्तपुर अस्पताल व्यवस्थापन समिति गठनसम्बन्धी निर्णय

विधान कसरी संशोधन भयो भन्ने रातोपाटीको प्रश्नमा नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ अर्थात् ईश्वरले उक्त विधान जिल्ला प्रशासनबाट पास नभएको बताए । तत्कालीन समयमा असावधानीपूर्वक सदस्यमा मन्त्रालयका सहसचिव र सचिव राखिएको भए पनि पछि त्यसलाई हटाइएको बताए ।

तर संस्थाका महासचिव विमल कुमार होडा भने जिल्ला प्रशासन कार्यालयबाट विधान पास भइसकेको बताउँछन् । रातोपाटीसँगको कुराकानीको क्रममा होडाले भने, ‘हामीले विधान संशोधन पनि गरिसकेका छौँ र भक्तपुर क्यान्सर अस्पताल एनसीआरएसकै एक अङ्ग हो । उक्त अस्पताल हालसम्म एनसीआरएसले नै सञ्चालन गरिरहेको छ र आगामी दिनमा पनि गर्नेछ ।’

अस्पतालको आम्दानी लुकाएर राजस्व छली

नेपाल अर्बुद रोग निवारण संस्थाले भक्तपुर क्यान्सर अस्पताल आफू मातहतमा सञ्चालनमा रहेको भने पनि अहिलेसम्म अस्पतालको नामबाट प्यान नम्बरसम्म लिएको छैन । अहिले पनि नेपाल अर्बुद रोग निवारण संस्थाले संस्थाकै प्यान नम्बर प्रयोग गरेर अस्पतालको दैनिक प्रशासनिक कार्य गरिरहेको छ ।

स्वास्थ्य सेवा विभागले सञ्चालन स्वीकृति दिँदा कर प्रयोजनका लागि करदाता सेवा कार्यालय पुतलीसडकलाई पनि बोधार्थ दिँदै कर तिर्नुपर्ने व्यवस्था गरे पनि एनसीआरएसले भने अहिले पनि उक्त अस्पतालको कर तिरेको छैन । बरु अस्पताल देखाएर डोनेसन ल्याउने र विभिन्न शीर्षक बनाएर खाने गरेको पाइएको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा भक्तपुर क्यान्सर अस्पतालले १५ करोड ९७ लाख २० हजार ३ सय २६ रुपैयाँ आम्दानी गरेको थियो । त्यसैगरी नेपाल अर्बुद रोग निवारण संस्थाले १ करोड १७ लाख ५१ हजार ६ सय ८३ रूपैयाँ आम्दानी गरेको थियो ।

अस्पताल र संस्थाले एउटै प्यान नम्बर प्रयोग गरिसकेपछि खर्च एकीकृतरूपमा देखाउनुपर्ने हो । तर एनसीआरएसले भने एनसीआरएसको खर्च मात्रै देखाएर कर चुक्ता प्रमाणपत्र लियो तर भक्तपुर क्यान्सर अस्पतालको आम्दानी र खर्चको कुनै विवरण नै कर कार्यालयमा बुझाएन ।

हेर्नुहोस् कर चुक्ताको प्रमाणपत्र र कुल कारोबार रकम

यसबाट के प्रष्ट हुन्छ भने संस्थाले भक्तपुर क्यान्सर अस्पताललाई देखाएर डोनेसन ल्याउने काम मात्रै गरिरहेको छ तर अस्पतालप्रति आफ्नो दायित्व र जिम्मेवारी भने पूरा गरेको छैन ।

अहिले भक्तपुर क्यान्सर अस्पतालले दैनिक ५ सय बिरामीका लागि सेवा दिइरहेको छ । हाल अस्पतालमा १ सय ४० शय्या सञ्चालनमा रहेका छन् भने दैनिक औसत १ सय बिरामी भर्ना भई सेवा लिइरहेका छन् । त्यसैगरी यो अस्पतालमा दैनिक करिब ९ जना नयाँ क्यान्सरका बिरामी दर्ता भइरहेका छन् ।

दैनिक ७ देखि ८ वटा मेजर अप्रेसन, २० देखि २५ वटा केमोथेरापी लिन्छन् भने दैनिक करिब ९० जना बिरामीले लिनायक मेसिनबाट क्यान्सरको उपचार गरिरहेको छ ।

देशको कुल क्यान्सर रोगीमध्ये २० प्रतिशत रोगीलाई यस अस्पतालले सेवा दिइरहेको छ । तर वर्षौंदेखि सरकारी बेवास्ता र एनजीओको कब्जाका कारण अहिले यो अस्पतालको आफ्नै केमोथेरापी गर्नुपर्ने बेला भएको छ । व्यवस्थापन समितिको सम्बन्धमा विवाद हुँदा अहिले यो अस्पताल अभिभावकविहीन बनेको छ । एनसीआरएसले अस्पताल आफ्नो भएको दाबी गर्नु र भक्तपुर नगरपालिकाले आफ्नो जग्गामा बनेको अस्पतालको व्यवस्थापकीय जिम्मेवारी आफूले लिन पाउनुपर्ने दाबी गरेपछि बढेको विवाद अदालतसम्म पुगेको छ र अदालतले पनि नियमअनुसार दर्ता नै नभएको अस्पतालको पुरानो व्यवस्थापन समितिकै पक्षमा अन्तरिक आदेश दिएपछि यतिबेला अस्पताल बेवारिसे बनेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप