शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा र राजपाका नेता-कार्यकर्ताबीच ‘मिलापत्र’

बोके एक-अर्काको झण्डा

आइतबार, २० पुस २०७६, १८ : ४६
आइतबार, २० पुस २०७६

जनकपुर । कुनै बेला यस्तो माहोल थियो कि राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र तत्कालीन एमाले (हालको नेकपा) बीच पानी बाराबारको अवस्था थियो । संघीय निर्वाचनपछि पनि नेकपा र राजपाबीचको सम्बन्धमा दरार कायमै रह्यो । 

तर, राष्ट्रिय सभा निर्वाचन प्रयोजनार्थ राजपा र नेकपाबीच प्रदेश नम्बर २ मा चुनावी तालमेल भएपछि अवस्था फेरिएको छ । अर्थात यी दुई दलबीच राजनीतिक रुपमा मिलापत्र भएको छ । 

 विपरित ध्रुवमा रहेका नेकपा र राजपाबीच भएको २ बुँदे सहमतिले आइतबार जनकपुरको माहोल नै बेग्लै बनेको छ । सहमतिअनुसार राजपा र नेकपाले प्रदेश नम्बर २ मा २–२ सिट बाँडफाँड गरेको छ । 
कतिपयले यसलाई सकारात्मक रुपमा लिएपनि अधिकांशले नेकपा र राजपाको तालमेललाई सत्ता लोलुपताको रुपमा टिप्पणी गरेका छन् । 

राष्ट्रियसभा सदस्यको रिक्त रहेको ४ सिटका लागि उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गराउने क्रममा आइतबार जनकपुरमा नेकपाको कार्यालयबाट राजापासहितको भव्य जुलुस निकालिएको थियो । जनकपुर नगरको परिक्रमा गर्दै संयुक्त जुलुस निर्वाचन आयोगको कार्यालय पुगेर उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । 

सो क्रममा नेकपा र राजपाका नेता तथा कार्यकर्ताले एक अर्का दलको झण्डा बोकेर पार्टी उम्मेदवारको पक्षमा नाराबाजी गरेका थिए । 

मधेश आन्दोलनताका एक दलको कार्यकर्ताले अर्को दललाई तल्लोस्तरसम्म गाली गर्ने गरेको दृश्य जनमानस पटलमा ताजा नै छ ।

संविधान संशोधनको मुद्दालाई लिएर नेकपाका नेताहरुलाई मधेशमा निषेध गर्नेदेखि बोल्नसम्म नरुचाउने नेताहरु अहिले एक अर्कासँग ठट्टा मजाक समेत गरिरहेको दृश्य देखिन्थ्यो । 

राजपा र नेकपाबीचको गठबन्धनलाई कतिपयले राष्ट्रिय राजनीतिको सकारात्मक पक्ष झल्किएको बताउँछन् भने कतिपयले राष्ट्रिय राजनीतिको  फोहोरी खेल भएको बताउँछन् ।

राजपाबाट राष्ट्रियसभाका लागि उम्मेदवारी दिएका मृगेन्द्र सिंह यादवले राजनीतिमा कोही पनि स्थायी शत्रु नहुने भन्दै समयको मागअनुसार नेकपासँग गठबन्धन भएको टिप्पणी गरे । 

राजपाका उपाध्यक्षसमेत रहेका उनले एक अर्का प्रतिको तिक्तता बिर्सेर नयाँ राजनीतिको बाटोमा दुबै दल मिलेर अघि बढेकोमा खुशी व्यक्त गरे । 

यद्यपि आफूहरुको मुद्दा यथावत नै रहेको बताउँदै उनले आगामी दिनमा नेकपाले गर्ने व्यवहारमा थप सहकार्य निर्भर रहेको बताए । उनले दुई पार्टीले राष्ट्रियसभा निर्वाचनकै लागि भएपनि एक ठाउँमा आउनुले राजनीतिमा कोही कसैको परमशत्रु वा सदाका लागि मित्र नहुने कुराको प्रमाणीकरण गरेको स्पष्ट पारे । 

त्यस्तै नेकपाबाट महिला कोटामा राष्ट्रियसभा सदस्यमा मनोयमन दर्ता  गराएकी तुलसा दाहालले गठबन्धनलाई नेपाली राजनीतिको सबैभन्दा सुन्दर पक्ष भएको टिप्पणी गरिन् । उनले विगतमा एक अर्कालाई आलोचना गर्ने दलहरु एकैसाथ मिलेर चुनाव लड्नुलाई सकारात्मक रुपमा लिन लिनुपर्ने धारणा व्यक्ति गरिन् ।

त्यस्तै राजनीतिक विश्लेषक डा. सुरेन्द्र लाभले नेकपा र राजपाबीचको सहकार्यले राजनीतिमा सत्ताका लागि जेपनि हुन सक्ने कुराको उदाहरण पेश भएको टिप्पणी गरे । 
उनले भने, ‘राजनीतिमा कोही कसैको स्थायी मित्र वा शत्रु हुँदैन भन्ने कुराको प्रमाणीकरण त भएकै छ यस प्रकारको सहकार्यले नेपालमा विचारको राजनीति नभई सत्तालिप्साको राजनीति मात्रै हुने गरेको सन्देश आमजनतामा गएको छ ।’

राष्ट्रियसभालाई विभिन्न विषयका ज्ञाताहरुको थलो बनाइनुपर्नेमा दलहरुले संविधानको मर्म विपरित आफ्नै कार्यकर्ता पाल्ने थलो बनाउनु दुर्भाग्य रहेको पनि उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप