बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो समाचार : आम्दानीको १० प्रतिशत रकम आमाबुवाको खातामा जम्मा गर्नुपर्ने प्रावधान हट्यो

आइतबार, २० पुस २०७६, १९ : १५
आइतबार, २० पुस २०७६

राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन

माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दलका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।  

दलका उम्मेदवारहरुले सबै प्रदेशको राजधानीमा रहेको निर्वाचन आयोगको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् । 

राष्ट्रियसभा सदस्यको १८ पदका लागि हुने निर्वाचनमा ४५ जनाको उम्मेदवारी परेको छ । 

निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसङ्ख्यक दुई र अन्य समूहबाट सात सदस्य निर्वाचित हुनेछन् । निर्वाचन आयोगका अनुसार, प्रदेश नं १ मा महिला, दलित र अन्य समूहका एक÷एक पदका लागि तीन/तीनको उम्मेदवारी परेको छ ।

प्रदेश नं २ मा महिला, दलित, अल्पसङ्ख्यक र अन्य समूहका एक÷एक पदका लागि दुई÷दुई जनाले उम्मेवारी दर्ता गराएका छन् ।प्रदेश नं ३ मा महिला र अन्य समूहका एक÷एक पदका लागि तीन÷तीनको उम्मेदवारी मनोनयन पत्र दर्ता भएको छ ।

गण्डकी प्रदेशमा महिला र अन्य समूहका एक÷एक पदका लागि महिलातर्फ दुई र अन्य समूहतर्फ तीन जनाले उम्मेदवारी दर्ता गराका छन् । प्रदेश नं ५ मा महिला एक, अल्पसङ्ख्यक एक र अन्य समूहका एक÷एक पदका लागि क्रमशः दुई, तीन र चार जनाको उम्मेदवारी परेको छ ।

कर्णाली प्रदेशमा रिक्त हुने महिला एक र अन्य समूहको एक पदका लागि दुई÷दुई जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश नं ७ मा महिला र अन्य समूहका एक÷एक पदका लागि दुई दुई जनाको उम्मेदवारी परेको छ । उनान्साठी सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ । 

पदावधि सकिनेमध्ये एक सदस्य मनोनित गरिने छन् । राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुन् ।

काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बेदुराम भुषाल र गंगा बेल्बासेले मनोनयन दर्ता गराएका छन् । 

 त्यस्तै नेपाली कांग्रेसका हरिशरण श्रेष्ठ र छलिकुमारी शर्मा उपाध्याय र नेपाल मजदुर किसान पार्टीका कृष्ण बहादुर तामाङ र गीता काफ्लेले मनोनयन दर्ता गराएका छन् । 

 नेकपाका उम्मेद्वार वेदुराम भुषालले प्रतिनिधि सभाले गरेको कामलाई राष्ट्रिय सभाले हेर्ने भएकोले कानून निर्माणमा भएका कमजोरीहरुलाई सुधार्न भूमिका रहने बताए । 

 त्यस्तै अर्का उम्मेद्वार गंगा बेल्बासे विश्वास अविश्वासका धेरै प्रश्न उठेकाले नीति निर्माणमा महत्वपूर्ण भूमिका निभाउने बताए । 

नेपाली कांग्रेसका उम्मेदवार हरिशरण श्रेष्ठले प्रतिनिधि सभाले पास गरेका गलत खालका कानूनको सुधारमा आफ्नो भूमिका रहने बताए ।  त्यस्तै अर्का उम्मेदवार छलिकुमारी शर्मा उपाध्यायले गलत खालका नीतिहरु सच्याउन आफ्नो भूमिका रहने बताइन् । 

राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि दिउसो ३ बजे सम्ममा मनोनयन दर्ता गर्नुपर्ने व्यवस्था अनुसार दलका उम्मेदवारहरुले आ आफ्नो प्रदेशमा रहेको निर्वाचन आयोगको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् । 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीले आवश्यकता देखेर आफूलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको बताएका छन् । 

उम्मेदवारी दर्ता गर्न जिल्ला निर्वाचन कार्यालय कास्की पुगेका श्रेष्ठले यस्तो बताएका हुन् । आफूले कहिल्यै पनि संसदको सदस्य नहुने वा राष्ट्रियसभामा नजाने भनेर नभएको बताउँदै श्रेष्ठले पार्टीले दिएको जिम्मेवारी विना सर्त पुरा गर्ने बताए । 
 अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सचिवालयबाट दुईजना (बामदेव गौतम र नारायणकाजी श्रेष्ठ) राष्ट्रियसभामा जानुपर्छ भन्ने प्रस्ताव गरेपछि मात्रै आफूले थाहा पाएको उनले बताए । 
श्रेष्ठलाई नेकपाले माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि गण्डकी प्रदेशबाट उम्मेदवार बनाएको थियो । 


नेकपा बैठक सर्यो

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक माघ १५ गते सम्मका लागि सरेको छ । 

आइतबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले केन्द्रीय समितिको बैठक सार्ने निर्णय गरेको हो । 

बैठकले यसअघि पुस २३ गतेका लागि तय भएको केन्द्रीय समिति बैठक माघ १५ गते बस्ने गरि मिति सार्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक  रामशरण बजगाईले जानकारी दिए । 

 राष्ट्रियसभाको निर्वाचनका लागि तयारी गर्नुपर्ने भएकाले केन्द्रीय समिति बैठकको मिति केहीपछि सारिएको उनले बताए । 

महिला समिति

कुल आम्दानीको १० प्रतिशत रकम आमाबुवाको खातामा जम्मा गर्नुपर्ने प्रावधान हटाएर जेष्ठ नागरिक सम्बन्धि ऐन (पहिलो संशोधन) विधेयक २०७६ समितिबाट पारित भएको छ । 

आइतबार बसेको महिला तथा सामाजिक समिति बैठकले उक्त विधेयक सर्वसम्मतिमा पारित गरेको हो  । 

समिति सभापति निरुदेवी पालले लामो सयमसम्म छलफल गरेर विधेयक पारित गरिएको बताइन् । अनिवार्य १० प्रतिशत रकम जम्मा गर्नुपर्ने प्रावधान हटाइएपनि जेष्ठ नागरिकको जीवनयापनमा समस्या देखिएको खण्डमा आवश्यक रकम सन्तानबाट लिइ स्थानीय तहले जेष्ठ नागरिकहरुको हेरचाहका लागि उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ ।

जेष्ठ नागरिकको हकवालाको आर्थिक आम्दानी वा हैसियत अनुसार निश्चित रकम मासिक रुपमा जेष्ठ नागरिकहरुको खातामा जम्मा गराउन सक्ने प्रावधान विधेयकमा छ । विधेयकमा जेष्ठ नागरिकहरुको सीप तथा ज्ञान हस्तान्तरणका लागि स्थानीय तहहरुमा ज्ञान सीप केन्द्रको स्थापना गरिने उल्लेख गरिएको छ । 

निराला न्याय परिषद् 

संघीय संसदको संसदीय सुनुवाई समितिले लक्ष्मीबहादुर निरालाको नाम न्याय परिषद् सदस्यमा सर्वसम्मत अनुमोदन गरेको छ । 
आइतबार बसेको समिति बैठकले निरालाको नाम न्याय परिषद् सदस्यमा सर्वसम्मत अनुमोदन गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले निरालाको नाम सिफारिस गरेका थिए । 
 समितिले १० दिनको म्याद दिएर उनी विरुद्ध उजुरी आह्वान गरेपछि कुनै पनि उजुरी परेको थिएन । समिति सभापति लक्ष्मणलाल कर्णले योग्यता, क्षमता र अनुभवका आधारमा निराला न्याय परिषद सदस्यका लागि योग्य रहेकाले सर्वसम्मतिबाट नाम अनुमोदन गर्ने निर्णय भएको बताए ।

दिगो विकास समिति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता दिनानाथ शर्माले कर्मचारी व्यवस्थापन हुन नसक्दा कर्णालीमा २ प्रतिशतभन्दा कम बजेट खर्च भएको बताएका छन् । 

संघीय संसद राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिमा सांसद शर्माले यस्तो बताएका हुन् । ।

 सामान्य प्रशासन मन्त्रालयले समयमै कर्मचारी व्यवस्थापन गर्न नसक्दा, समयमा ऐन नियम बनाउन नसक्दा र प्रदेश लोकशेवाको गठनमा तदारुकता नदेखाउँदा खर्चको अवस्था न्यून देखिएको उनले बताए । 

सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले स्थानीय तहहरुमा बजेट कम खर्च हुनुको कारण कर्मचारीको अभाव मात्रै नभएको बताए । 

नेपाली सेना

नेपाली सेनाले नागरिकसँगको सम्बन्ध विस्तारमा सहयोग पु¥याउने उद्देश्य सहित स्वास्थ्य सेवा नपुगेको स्थानहरुमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जनाएको छ । 

सेनाले मंसिर २७ देखि पुष ६ गते सम्म महोत्तरीको सोनमा गाउँपालिकामा पनि स्वास्थ्य शिविर सञ्चालन गरेको जनाएको छ । आइतबार पत्रकार सम्मेलन गरी नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले शिविरमा गरी ३४ हजार १ सय ७२ जनाको स्वास्थ्य उपचार गरीएको र ३ सय ३९ जनाको शल्यकृया गरिएको जानकारी दिए ।

 स्वास्थ्य शिविरमा १ सय ८० जना विषेशज्ञ चिकित्सकहरु र १ सय १० जना अन्य स्वास्थ्यकर्मीहरुले सेवा दिएको समेत उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप