बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इराकी संसदले सबै विदेशी सेना हटाउन सरकारलाई आदेश दियो

सोमबार, २१ पुस २०७६, ०३ : ३२
सोमबार, २१ पुस २०७६

इराकको संसदले एउटा प्रस्ताव पारित गर्दै मुलुकबाट सबै विदेशी सेनाहरुलाई हटाउन आदेश दिएको छ । अमेरिकाले बगदादमा गरेको आक्रमणमा प्रमुख इरानी सैन्य कमाण्डारको हत्या गरेपछि इरान–अमेरिकाबीच तनाव बढेको स्थितिमा इराकी संसदले उक्त प्रस्ताव पारित गरेको हो ।

गत आइतबार बसेको इराकी संसदको एउटा असाधारण संसदीय सभाले सरकारलाई इराकमा रहेका सबै विदेशी सेनाहरुलाई हटाउन तथा बगदादसँग मिलेर इलामिक इस्टेट अफ इराक र लाभान्ट –आइएसआइएल) सँग लड्नका लागि अमेरिका तथा उनका सहयोगी राष्ट्रहरुसँग मागिएको सैन्य सहयोग रद्द गर्त पनि आदेश दिएको छ ।

प्रस्तावमा भनिएको छ, ‘सरकारले इराकमा इस्लामिक स्टेटसँग लड्नका लागि चालिएको सैन्य अभियानको अन्त्य र विजय प्राप्तिको कारण विदेशी गठबन्धनसँग मागिएको सैन्य सहयोग रद्द भएको घोषणा गर्दछ ।’

यसअनुसार अब इराकी सरकारले इराकी माटोमा कुनै पनि विदेशी सैन्यको उपस्थितिलाई हटाउने पर्नेछ र उनीहरुलाई आफ्नो जल, थल र आकाश क्षेत्रको प्रयोग गर्न निषेध गर्नुपर्नेछ ।

तर संसदको यो प्रस्ताव अरु कानून जस्तै बाध्यकारी चाहिँ हुँदैन र यसलाई लागि गर्न तथा पूर्व सम्झौताहरु रद्द गर्न नयाँ कानूनको आवश्यकता पर्दछ ।


इराकी प्रधानमन्त्री अडेल अब्दुल माहदीले संसदलाई विदेशी सैन्यको उपस्थिति अन्त्य गर्नको लागि आव्हान गर्नुअघि र मतदानपूर्व हलभित्र ‘हुन्न, हुन्न अमेरिका.... इराक जिन्दाबाद’ को नारा गुन्जिएको थियो ।

मतदानपूर्वको आफ्नो सम्बोधनमा प्रधानमन्त्री महादीले भनेको थिए, ‘हामीले भोग्नुपर्ने सम्भाव्य आन्तरिक र बाह्य समस्याहरुका बाबजूद, यही नै इराकको लागि सैद्धान्तिक र व्यवहारिक रुपमा उचित हुनेछ ।’

गत नोभेम्बर महिनाको एक महिना लामो सरकारविरोधी जनप्रदर्शनका कारण अहिलेको सरकार ‘केयर टेकर’ को अवस्थामा मात्रै छ ।

हामीसँग दुईवटा मात्रै विकल्पहरु छन्’ उनले भने । उनका अनुसार मुलुकले या त तुरुन्तै मुलुकको भूमिबाट विदेशी सैन्यहरुको उपस्थितिलाई अन्त्य गर्नुपर्नेछ अथवा एउटा प्रस्तावबारे सोच्नुपर्नेछ, जसले आइएसआइएलका विरुद्धको लडाइँमा इराकी सुरक्षा बललाई तालिम दिनको लागि अमेरिकी उपस्थतिलाई सुनिश्चित गर्नेछ ।

अब्दुल महादीले अगाडि भने, आइएसआइलको पतन, जसमाथि विजयको घोषणा बगदातले डिसेम्बर २०१७ मा गरेको थियो, एउटा त्यो मुख्य कारण हो, जसले मुलुकमा अमेरिकी शक्तिको उपस्थितिलाई खारेज गरिदिन्छ ।

‘ मुलुकमा विदेशी सैन्य उपस्थितलाई अन्त्य गर्नु इराक र अमेरिका दुबैको हितमा नै हुनेछ,’ उनले भने ।

यतिखेर इराकमा सल्लाहकारको रुपमा करिब ५ हजार अमेरिकी सैनिकहरु छन् । अमेरिकाले इरान समर्थित हसद अल–साहिब समूहसँगसँगै सन् २०१४–२०१७ सम्म इस्लामिक स्टेट समूहका विरुद्ध लडाइँ लडेका थिए । 

बगदादमा रहेका विश्लेषक तारिक हर्वले अलजजिरालाई बताएअनुसार, अब्दुल महादीको इराकबाट अमेरिकी सेना हटाउने भनाइ इरानसमर्थित समूहहरुले त्यसबारे राख्दै आएको प्रतिक्रिया अनुसार पूर्वअनुमान गरिएअनुसार नै थियो । 

‘अब्दुल महादीसँग इराकमा अमेरिकी सेनाको उपस्थितिको विरुद्धमा कडा अडान लिनुका अलावा कुनै विकल्प छैन’ हर्बले अलजजिरालाई बताए, ‘यो निर्णय लिन उनले आफ्नो कडा अडान प्रदर्शन गरेका छन्. र निर्णय गर्ने जिम्मा संसदलाई दिएका छन् ।’

अमेरिकी हवाइ हमलाको जवाफ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा गत शुक्रबार बगदाद अन्तर्राष्ट्रिय एयरपोर्टनजिक अमेरिकी सेनाले गरेको हवाइ आक्रमणमा इरानी मेजर जनरल सुलेमानी र इराकी अर्धसैन्यबलका कमाण्डर अबु महादी अर मुहान्दिस मारिएपछिको प्रतिक्रियामा यो कदम चालिएको हो ।

बगदादस्थित अमेरिकी दूतावासमा हज्जारौं जनताले आक्रमणको प्रयास गरेको प्रतिक्रियामा त्यसको भोलिपल्ट अमेरिकाले काताइब हिज्बुल्लाहविरुद्ध उक्त आक्रमण गरेको थियो । काताइब हिज्बुल्लाह इराक र सिरियामा रहेको छाता संगठन मानिन्छ ।

त्यस हमलामा इरानी र इराकी कमाण्डरहरु मारिएपछि विरोधी सिया राजनीतिक नेताहरुले इराकी भूमिबाट अमेरिकी सेनालाई निष्काशित गरिनुपर्ने आवाज उठाउँदै आएका छन् । तीमध्ये महादीका उत्तराधिकारी मानिएका हादी अल अमिरी पनि छन्, जसले अमेरिकी हमलामा मारिएकाहरुको अन्त्येष्टिमा बारम्बार अमेरिकी सेनाले इराक छोड्नुपर्ने आवाज उठाएका थिए । सो अवसरमा सहभागीहरुले पनि त्यही माग दोहोर्याएका थिए ।

‘हामी सरकारले इराकी भूमिबाट अमेरिकी उपस्थिति अन्त्य गरोस् भन्ने चाहन्छौं, २४ वर्षीय अहमेद हसनले मध्य बगदादस्थित अन्त्येष्टि स्थल हुरिया स्क्वारबाट अलजजिालाई बताए, ‘त्यो नै कम्तिमा अहिले इराकले गर्न सक्छ ।’

कमजोर प्रतिक्रिया

तर उक्त प्रस्तावमाथि प्रतिक्रिया दिँदै इराकी सिया धार्मिक नेता मुक्तादा अल साद्रले इराकमा विकसित घटनाक्रमहरुलाई जवाफ दिनको लागि उक्त कदम कमजोर रहेको बताए । साथै उनले सबै विदेशी सशस्त्र समूहहरुलाई एकताबद्ध हुन पनि आव्हान गरे ।

‘म यो कदमलाई अमेरिकाले इराकी सर्वाभौमसत्ताको उल्लंघन गरेको र क्षेत्रीय अशान्ति फैलाएको विरुद्ध अपर्याप्त र कमजोर जवाफको रुपमा लिन्छु’ साद्रले भने । उनले संसदको सबैभन्दा ठूलो हिस्सा साइरोको नेतृत्व गर्छन् ।

उनका समर्थकले सभामा पढेर सुनाएको पत्रमा, साद्रले थुप्रै मागहरु अघि सारेका छन् । उनले सारको मागहरुमा अमेरिकासँग गरिएका सुरक्षा सम्झौताहरु तत्कालै रद्द गरिनुपर्ने, अमेरिकी दूतावास बन्द गरिनुपर्ने, अपमानजनक ढंगले अमेरिकी सेनालाई फिर्ता गरिनुपर्ने र अमेरिकी सरकारसँगको सम्वादलाई आपराधिक मानिनुपर्ने  जस्ता कुराहरु छन् ।

उनले भनेका छन्, ‘म विशेष गरेर इराकी प्रतिरोध समूहहरु र इराक बाहिर रहेका समूहहरुलाई तत्कालै भेटेर अन्तर्राष्ट्रिय प्रतिरोधी दस्ताको घोषणा गर्न आव्हान गर्छु ।’

प्रस्तावको विरोध

संसदको यो प्रस्तावलाई इराकी जनताले हर्षोल्लासका साथ स्वागत गरेका छन् । तर केहीले भने यसको विरोध पनि गरेका छन् । थुप्रैसुन्नी र कुर्दिस सांसदहरुले आइतबारको उक्त सभामा अनुपस्थित रहे ।

Source: https://www.aljazeera.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप