शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विकृत ठमेल : देहव्यापारले बद‍्नामी

दोहोरीमै पनि भेटिन थाले यौनकर्मी महिला
सोमबार, २१ पुस २०७६, १२ : ४१
सोमबार, २१ पुस २०७६

सोह्रखुट्टे चोकस्थित गणेश मन्दिर नजिकैको एक घरमा चारजना युवतीले २ वटा कोठा भाडामा लिएका छन् । अन्दाजी २० देखि २५ वर्ष उमेरका ती युवतीको रहनसहन हेर्दा उनीहरू धनाढ्य परिवारका छोरीजस्ता देखिन्छन् ।

युवतीहरुको ‘हाइफाइ’ यस्तो छ कि मानौँ उनीहरुका अभिभावक विदेशमा लाहुरे छन् र उनीहरुले आफ्ना छोरीका लागि मासिक खर्चका गर्नका लागि लाखौँ रकम पठाइरहेका छन् ।

उनीहरुको लवाइखवाइ हेर्दा पनि सम्पन्न परिवारको छोरी वा मासिक लाखौँको कमाइ गर्नेजस्ता देखिन्छन् । त्यही युवतीहरु ठमेलक्षेत्रका महँगा होटल र क्लबहरु चहारिरहेका हुन्छन् ।

पेसा सोध्दा विद्यार्थी हौँ भन्छन् । तर साँझपख महँगा कार लिएर पुरुषहरु उनीहरुलाई लिन आउँछन् । प्रष्ट छ, ती युवतीहरू विद्यार्थी होइनन् । बरु उनीहरु विद्यार्थीको नाममा यौनधन्दा चलाइरहेका पेसेवर युवती हुन् ।

ठमेल क्षेत्रमा पछिल्लो समय फैलिएको वेश्यावृत्तिको पछिल्लो र आधुनिक शैली हो यो । कुनै बेला खुलेआम सडकमै मोलतोल हुने गरेको ठमेल क्षेत्रमा पछिल्लो समय सडकमै बसेर ग्राहकसँग मोलतोल गर्ने युवती कमै मात्रै देखिन्छन् ।

मसाज सेन्टरमा अहिले पनि मसाजभन्दा बढी यौनकै व्यापार चल्ने गरेको छ । ठमेलका सरोकारवाला, प्रहरी आदिले बेलाबेलामा अनुगमन गरे पनि मसाज सेन्टरको यौन व्यापार बन्द भएको छैन ।

बरु आफूलाई स्टाफ नर्स, विदेश पढेर आएको, फलानो बैङ्कमा जागिर गर्छु वा एनजीओ र आईएनजीओमा जागिर खान्छु भन्दै चिनाउने पेसेवर यौनकर्मीको कमी छैन । ठूलो होटल वा क्लबहरुमा जाने र धेरै पैसा तिर्ने ग्राहक खोज्ने आधुनिक यौनकर्मीहरु हुन् उनीहरु ।

नेपालमा ‘सेक्स बजार’ प्रतिबन्ध

कानुनी बाटोबाट हेर्ने हो भने नेपालमा ‘सेक्स बजार’ प्रतिबन्धित छ । कानुनले प्रतिबन्ध लगाएको विषयमा स्थानीय प्रशासनले त्यसलाई छुट दिने कुरै भएन ।

तर लामो समयदेखि काठमाडौँको पर्यटकीय केन्द्र मानिने ठमेलमा अवैध रूपमा यौन–व्यवसाय हुने गरेको कुरा यतिखेर ‘ओपन सेक्रेट’को विषय बनिसकेको छ ।

त्यहाँ निर्वाध चल्ने यौन गतिविधिका कारण सहजै भन्न सकिन्छ कि ठमेल ‘सेक्स बजार’का लागि सदाबहार स्थान हो ।

ठमेल क्षेत्रमा हुने गरेको यौन व्यवसाय रोक्ने नाममा काठमाडौँ प्रहरीको सक्रियता पनि बेलाबेलामा हुने गरेको छ । काठमाडौँ परिसर, अपराध महाशाखा, सोह्रखुट्टे वृत्त तथा दरबारमार्ग प्रहरी र कहिलेकाहीँ आयुक्त कार्यालयका घुमुवा प्रहरीको पनि ‘अपरेसन’ चल्ने गर्छ ठमेलमा ।

तर यौन व्यापार नरोकिनु र निर्वाध रूपमा चल्ने गरेको देख्न यौन व्यापार सबैका लागि कमाइखाने भाँडो बनेको आरोप लाग्ने गरेको छ ।

ठमेलमा सञ्चालित डान्सबार, रेस्टुरेन्ट तथा मसाज सेन्टरहरुमा बेलाबेलामा प्रहरीको छापा चल्ने गर्छ । विशेष गरी काठमाडौँ प्रहरी परिसरका प्रमुख परिवर्तन सँगै केही दिन ठमेल क्षेत्रमा त्यस्ता अपरेसन युद्धस्तरमै चल्ने गर्छ, जसको फलस्वरूप केही समय ठमेल शान्त र ‘सभ्य’ बन्छ । तर जसै प्रहरी अपरेसनको रापताप सेलाउँछ, ठमेल आफ्नो पुरानै रपमा फर्कन्छ  ।

दोहोरी र क्लबमा पनि भेटिन्छन् यौनकर्मी

ठमेल यौनकर्मी र यौन क्रियाकपालको केन्द्र हो भनेर ‘रातो बत्ती’ बालिरहनु पर्दैन वा रातो बत्तीका लागि रात कुर्नुपर्ने अवस्था पनि छैन । यौन व्यवसायको मोलमोलाईले ठमेल रातमा मात्रै होइन, दिनमा पनि उत्तिकै तात्तिने गरेको छ । त्यहाँका गतिविधि हेर्दा यस्तो लाग्छ, मानौँ त्यो अघोषित ‘रेडलाइट’ एरिया बनेको छ ।

अहिले सडक, ठूला होटल, क्लब र डान्सबार मात्रै होइन, पछिल्लो समय दोहोरी साँझ पनि यौन व्यवसायका लागि ग्राहक र युवती भेट्ने थलो बन्दै गइरहेको छ  ।

बाहिर देखाउनका लागि दोहोरी सञ्चालन गरेजस्तो गर्ने र अनि भित्रभित्र यौन व्यवसाय पनि सँगसँगै सञ्चालन हुने गरेको छ । ‘रेट’ तय हुनेबित्तिकै यौनकर्मी दोहोरीबाट ग्राहकसँग ट्याक्सीमा बसेर गन्तव्यतिर लाग्ने गरेका छन् ।

दोहोरी साँझलाई अहिले पनि मनोरञ्जनको ‘पारिवारिक केन्द्र’ मानिन्छ । परिवारका सबै सदस्य गएर दोहोरी सुन्न, हेर्न र मनोरञ्जन लिन मिल्ने स्थानका रूपमा दोहोरीलाई लिइन्छ ।

तर पछिल्लो समय कतिपय दोहोरी साँझ आफैले पनि यौनकर्मी युवती दोहोरीमा राख्ने गरेका छन् । कतिपय यौनकर्मी युवती चाहिँ दोहोरी साँझमा छिर्ने र ग्राहकसँग लहसिन थाल्ने गर्छन् । दोहोरी सञ्चालकलाई ती युवती पेसेवर यौनकर्मी हुन् भन्ने पनि थाहा छ ।

तर पनि युवती दोहोरीमा आएपछि व्यापार बढ्ने भएकाले उनीहरु चुपचाप बस्छन् र ती युवतीलाई नै प्रयोग गरेर आफ्नो व्यापार बढाउँछन् । जसको कारण अब दोहोरी साँझ पनि दोहोरी मात्रै हो भन्ने अवस्था छैन ।

साँघुरो र अँध्यारो गल्लीभित्र उकुस–मुकुस लाग्दो घरको भुइँतलामा सञ्चालित अधिकांश रेस्टुरेन्ट र दोहोरीमा यौनकर्मी भेटिन्छन् । पहिलो पल्ट त्यस्ता गल्लीभित्र पस्ने कसैले पनि ती रेस्टुरेन्ट तथा दोहोरीमा ग्राहकको ओइरो लाग्नुको रहस्यबारे खासै चाल पाउँदैनन् । केही समयको बसाइपछि रहस्य थाहा पाउँछन् र यौन प्यास मेट्न त्यहाँ छिर्छन् ।

तीन सयदेखि एक हजारसम्म मोलतोल

ठमेलमा यौन व्यवसायमा संलग्न यौनकर्मीहरु बढेपछि यौनदरमा पनि केही खुकुलोपन देखिएको छ । ठमेलमा यौन व्यवसाय गर्नेहरुको पनि विभिन्न क्याटागोरीमा भाउ छ ।

ठमेलका यौनकर्मीहरु न्यूनतम ३ सय रुपैयाँदेखि ५ सय र १ हजारसम्ममा देह व्यापारमा लाग्ने गरेका छन् । तर यसले ठमेलको समाजभित्र भने नराम्रो असर पारेको छ ।

ठमेलमा सञ्चालित चिया पसलदेखि रेस्टुराँसम्म पटके देहव्यापार गर्नेहरुको वर्चस्व बढी छ भने साँझ परेपछि खुलेआम सडकमा देहव्यापार गर्नेहरुको पनि भीड भने कमी छैन ।

बिहान ११ बजेदेखि बेलुकी ७ बजेसम्म देहव्यापार गर्ने र गराउनेहरुको एउटा समूह छ भने साँझ पर्नासाथ सडकमै आएर मोलमोलाई गरेर शरीर सुम्पने अर्कोथरी यौनकर्मीहरु छन् ।

ग्राहकको इच्छाअनुसार काम हुन्छ

एउटा समूह ग्राहकसँग गएपछि भित्र गल्लीतिर लुकेर बसेका यौनकर्मीहरूको अर्को समूह बाहिर आउँछन् । अनि अर्को ग्राहकलाई फकाएर त्यसरी नै आफ्नो गन्तव्यतिर लैजाने गर्छन् ।

होटल र ट्याक्सी खर्च ग्राहकले बेहोर्ने गरी उनीहरू ५ सयदेखि १ हजार ५ सय रुपैयाँमा ग्राहकसँग जान तयार भएको पाइन्छ । ‘हामी ग्राहकको इच्छा बमोजिम ट्याक्सीभित्रै, होटेल वा डेरा कोठामा गए पनि हुन्छ,’ सुर्खेत घर भएकी अन्दाजी १६ वर्षीय एक यौन व्यवसायीले बताइन् ।

१० हजारभन्दा बढी यौनकर्मी

काठमाडौँ उपत्यकामा मात्रै १० हजारभन्दा माथि यौनकर्मीको सङ्ख्या रहेको अनुमान गरिएको छ । राजधानीको सडकमा क्षेत्री, बाहुन, विभिन्न जातजाति, हिमाल, पहाड तथा तराई सबै भूभागका यौनकर्मी यो पेसामा संलग्न छन् ।

एक सर्वेक्षणअनुसार ठमेलमा भेटिने अधिकांश यौनकर्मीहरुको विगतमा पतिले दिएको पीडा, धोखा, कष्ट र अपमानसँग जोडिएको थियो । बच्चा हुर्काउन र पढाउनका लागि प्रहरीको धरपकड र घोर अपमान सहेर पनि उनीहरू यौन पेसामा लागेको पाइएको छ ।

स्थानीयवासी आजित

ठमेलको यो परम्परागत समस्याबाट स्थानीयवासी आजित भइसकेका छन् । स्थानीयवासीका अनुसार पर्यटकको हब मानिने ठमेलमा यो समस्याले जरो गाडेको छ ।

यौनजन्य गतिविधिका लागि निकै संवेदनशील मानिने ठमेलको सञ्चयकोषदेखि कान्तिपथतर्फको आधा ज्याठा एरिया दरबारमार्ग प्रहरी र सञ्चयकोषदेखि पश्चिमतर्फको ठमेल सोह्रखुट्टे वृत्तको मातहतमा पर्छ । 

ठमेल ज्याठाका स्थानीय कुलदीप महर्जन भन्छन्, ‘प्रहरी देखे पनि नदेखेझैँ बाटो लाग्छन् किनकि उनीहरुको राम्रो आम्दानीको स्रोत देहव्यापारी र व्यवसायी हुन् ।’

यस्तै सोह्रखुट्टेका स्थानीय जनार्दन अर्यालका अनुसार पर्यटकीय क्षेत्रका रूपमा परिचित ठमेलको वातावरणलाई राम्रो बनाउनु ठमेल पर्यटन विकास परिषद्को पनि कर्तव्य हो । तर परिषद्का कार्यसमिति कानमा तेल हालेर बसेको छ । परिषद्लाई ठमेलमा कस्ता गतिविधि हुन्छन् भन्नेसमेत थाहा हुँदैन ।

गुण्डागर्दी पनि उस्तै

ठमेलमा देहव्यापार मात्र होइन त्यहाँ हरेक चिजले सम्पन्न जस्तै छ । गाँजा, लागूऔषध तथा देहव्यापार जस्ता विकृतिले पनि प्रश्रय पाएको हो ।

गुण्डागर्दी, चोरी, डकैती, देहव्यापार, लागूऔषधको प्रयोग जस्ता विवादास्पद विकृतिको थलो बने पनि प्रहरीले बेलाबेलामा यसलाई नियन्त्रण गर्ने गरेको छ । तर ठमेलका स्थानीय पूर्ण रूपमा सन्तुष्ट भने छैनन् ।

फुटपाथ व्यापार, अव्यवस्थित पार्किङ, तेस्रो लिङ्गीहरुलाई ठमेलबाट हटाउने र उचित व्यवस्थापन गर्ने योजना बमोजिम कामहरु भइरहेको महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख सन्तोष सिंह राठौरले बताए ।

राठौरका अनुसार पछिल्लो समय ठमेलका पर्यटन व्यवसायी मात्र नभएर विदेशी पर्यटकले समेत प्रहरीको प्रशंसा गर्ने गरेका छन् । ठमेलभित्र हुने आपराधिक क्रियाकलाप रोक्न प्रहरी सफल भएको राठौरको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप