केन्द्रीय संस्करण
अन्तरवार्ता

मधेसी जनता विकल्पको खोजीमा छन् : प्रमोद मिश्र, प्रध्यापक एवं अनुसन्धानकर्ता

person explore access_timeपुस २५, २०७६ chat_bubble_outline1

अमेरिकाको डुके युनिभर्सिटीमा अध्यापन गराउँदै आएका प्रमोद मिश्र नेपाल आएर मधेस घुमेका छन् । मधेसलाई बुझ्नका लागि उनी पूर्वको झापादेखि पश्चिमको कैलालीसम्मको यात्रा गरे । २३ दिनसम्म तराई मधेसमा विताएका मिश्रले त्यहाँ के देखे, मधेसी जनतामा के भावना पाए लगायतका विषयमा रातोपाटीका लागि प्रध्यापक प्रमोद मिश्रसँग गरिएको कुराकानीः 

अमेरिकाबाट आएर मधेसका झापादेखि कञ्चनपुरसम्म घुम्नुभयो, देशमा आएको राजनीतिक परिवर्तनको प्रभाव तराई मधेसमा कस्तो पाउनुभयो ?

–राजनीतिक परिवर्तनले जनतामा चेतना ल्याएकै छ । त्यसमा सबभन्दा बढी चेतनाको विकास पूर्वपश्चिम राजमार्गको छेउछाउमा पाइएको छ । नयाँ परिवर्तन भएपछि गैरसरकारी संस्थाको पहुँचले पनि जनतामा चेतना ल्याएको देखियो । राजनीतिक परिवर्तनले जनतामा वैचारिक परिवर्तन ल्याएको छ अर्थात राजमार्गमा जुन फ्लोमा गाडी कुदेको छ त्यही फ्लोमा त्यस परिवर्तन विचार फ्लो भइरहेका छ । 

अर्को कुरा के देखियो भने पूर्वपश्चिमका गाउँगाउँमा सडक खनिएको छ । गाउँका भित्री सडक तथा गल्लीहरु पनि खनिएका छन् । यो परिवर्तनको देन हो भन्छन् त्यहाँका जनता । भित्री मधेसको कुरा गर्ने हो भने त्यहाँ चेतनाको कमी  त छँदैछ वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा वृद्धि भएको छ । बाटोघाटो खनिएपछि अब बन्छ भन्नेमा जनता आशावादी छन् । तर त्यसमा भ्रष्टाचार र अनियमितता त्यतिकै भइरहेको जनताको गुनासो पाएँ । सङ्घीयतापछि आएको कर प्रणालीको बारेमा दुखेसा पोखे । 

परिवर्तित राजनीतिप्रति जनतामा चेतना बढी पाउनुभयो कि वितृष्णा ?  

–मेरो विचारमा वितृष्णा नै चेतना हो । पहिले मान्छेले अपेक्षा नै गर्दैनथ्यो । अहिले कमसे कम जनतामा अपेक्षा त जागेको छ । अरू ठूला दल जस्तै साना दल अर्थात मधेसवादी दलहरु पनि भ्रष्टाचार गर्छन्, अनियमितता गर्छन् भन्ने कुराको चेतना आएको छ ।

यद्यपि यो राजनीतिप्रतिको वितृष्णा नै हो । चेतना नअएसम्म वितृष्णा न्यूनीकरण हुन सक्दैन । हामी घुम्दा चेतना पनि प्रशस्तै पायौँ र राजनीतिप्रति वितृष्णा पनि प्रशस्तै पायौँ । जनतामा अपेक्षा निकै बढेर गएको छ ।  मधेसमा पहिला जुनको खालको गरिबी थियो त्यस्तो गरिबी अब मधेसमा छैन । वैदेशिक रोजगारीका कारण पक्की घर बनाएको देखिन्छ भने छोराछोरीलाई बोर्डिङ स्कुल पठाउन थालेका छन् । 

कस्ता खालका वितृष्णा पाउनुभयो ?

–पूर्व–पश्चिम घुम्दा धेरै ठाउँमा पढेलेखेका युवाहरु बेरोजगार छन् । कोही १० कक्षा पास भएर बसेका छन् भने प्लस टु र बीए पढेका युवाहरु पनि देखिएका छन् । उनीहरुले रोजगार नपाएको कुराले राज्यप्रतिको वितृष्णा छ । पटक पटक जागिरका लागि फर्म भरे पनि पास नभएका कारण राज्यप्रति वितृष्णा जागेको छ । पहिला जस्तो थियो, अहिले पनि त्यस्तै छ भन्ने धेरैको गुनासो छ । पहिला पढ्न नै जाँदैनथ्यौँ, अहिले पढे पनि जागिर पाइरहेका छैनौँ । अनि पहिले र अहिलेमा के फरक भयो भने प्रश्न गर्न थालेका छन् । 

विकास कार्यमा भ्रष्टाचार बढेको विषयलाई लिएर जनतामा पनि वितृष्णा जागेको छ । सबै दलमा एकैखाले प्रवृत्ति छन् । भ्रष्टाचारमा कुनै दल कसैभन्दा कम छैनन् । मधेसवादी दलबाट तराई मधेसका जनताले धेरै अपेक्षा गरेका थिए तर ती दल पनि उस्तै भए भन्ने गुनासो जनताले गरेका छन् । 

अर्को कुरा के पायौँ भने लोक सेवाप्रति युवाको आकर्षण पहिलेभन्दा बढेको छ । लोक सेवाको तयारीमा लागेको पनि देखियो । राज्यप्रति भेरोसा गर्न थालेछन् । 

ठूला दलप्रति वितृष्णा जाग्न थालेपछि तराई मधेसका जनताले त्यसको विकल्पमा क्षेत्रीय पार्टीहरु रोजे, ती दलहरुप्रति जनताको सोच कस्तो पाउनुभयो ?

–पूर्वी मधेस खासगरी झापा, मोरङमा हामीले के पायौँ भने प्रारम्भका दिनमा मधेसवादीहरुप्रति आकर्षित थिए । उनीहरुमाथि थिचोमिचो भएको कारणले प्रारम्भिक रूपमा मधेसवादी दलमाथि विश्वास गरेको थिए । तर उनीहरुलाई केही प्राप्त भएन । उनीहरुलाई कुनै पोजेटिभ रेस्पोन्स आएन । उनीहरुको पहिचान दिलाइदिने, अधिकार सुरक्षित गर्ने दिनेमा ती दलहरु सफल भएनन् । उनीहरुले त भनेन् तर हामीलाई थाह छ मधेसवादी दलले आफ्ना नातागोतालाई पदमा लैजाने गरेका छन् । हामीलाई सोधखोज पनि गर्दैनन् । यो कुरा उनीहरुले भने । विकल्प के छ भन्दा उनीहरु भन्छन्, ‘काँग्रेस र कम्युनिस्ट ।’ 

मधेसवादी दलले अपेक्षा पूरा नगरेकाले उनीहरुको झुकाव काँग्रेस र कम्युनिस्टतिर गएको भन्न खोज्नु भएको हो ?

–पार्टीमै गएका छैनन् । हामी उतै जान्छौँ पनि भनेन् तर मधेसवादी दलले हाम्रा लागि केही गरेनन्, आश्वासन मात्र दिए । यसबाट उनीहरुको झुकाव कता छ भनेर बुझ्न सकिन्छ ।

त्यसक्रममा तपाईंले स्थानीय नेताहरुलाई पनि भेट्नुभएको होला नि, के छ उनीहरुको धारणा ?

–काँग्रेस, नेकपाका स्थानीय नेताहरुसँग भेटेँ पूर्वी मधेसमा । त्यहाँ मधेसवादी दलका नेताहरुसँग भेट भएन । कतिपय वडा अध्यक्ष, वडा सदस्यहरु पनि प्रारम्भमा मधेसवादी दलको साथमा थिए तर ती दलले वास्ता गर्न छाडेपछि काँग्रेस र कम्युनिस्टतिर लागेका थिए ।

उनीहरु पनि मधेसवादी दलका साथमा लड्यौँ, आन्दोलन गर्‍यौँ तर ती दलका शीर्ष नेताहरुले वास्ता गर्न छाडेपछि काँग्रेस र कम्युनिस्टमा लागेँ भनेका थिए । हामी धनुषा, सर्लाही लगायतका जिल्ला जाँदा मधेसवादी दलका नेतासँग भेट्दा उनीहरुले जनताका लागि राम्रै काम गरेको दाबी गरेका थिए । मधेसवादी दल मधेसी जनताको साथमा छन् ।

नेताहरु सकारात्मक भए पनि शक्तिको बाँडफाँटमा लागेका छन् । तर जनताले विश्वास गरेका छैनन् ।  विचार प्रवाहको कुरा गर्दा गाउँघरका जनताले ती नेताहरुबाट केही पनि नभएको भन्छन् । कुनै काम भए पनि मधेसी नेताको कारणले भएको हो मान्न तयार छैनन् जनताहरु । 

काठमाडौँ र तराई मधेसको दूरी बढेको हो कि घटेको छ ?

–अहिलेको अवस्थामा घटेको जस्तो लाग्छ । जनकपुरको एउटा कार्यक्रममा मुख्य सचिवदेखि सचिवहरुको उपस्थिति थियो । कार्यक्रममा सहभागी अन्य नेतालाई तीनवटा भाषामा भाषण दिँदा ती सचिवहरु सुनिरहेका थिए, बुझिरहेका थिए । टिपोट गरिरहेका थिए ।

यसबाट प्रस्ट हुन्छ काठमाडौँ र तराई मधेसबीचको दूरी घटेको हो । धेरैजसो पहाडी समुदायले पनि बहुभाषा बुझ्न थालेका छन् । त्यसले सम्बन्ध नजिएको बुझ्न सकिन्छ । तर केन्द्र सरकारका कतिपय अतिवादी कर्मचारीहरुले अझै पनि शासक जस्तो व्यवहार गरिरहेका छन् । अपमान र विभेद गरिहेका छन् । तर दूरी बढाउने काम गर्छन् । यो राज्य हाम्रो हो र यसमा हाम्रो हक छ, त्यो लिनुपर्छ भने भावना धेरैमा पलाएको छ । यो सकारात्मक कुरा हो । 

काठमाडौँप्रतिको बुझाइ पूर्वी र पश्चिम मधेसको एउटै छ या फरक ?

–केन्द्रप्रतिको बुझाइ दुवैको समान लाग्यो । दुवै मधेससँग केन्द्रले एउटै खालको व्यवहार गरेको पाएँ । केन्द्रीय सत्ताले पूर्वी मधेससँग जुन व्यवहार गरेको छ त्यही व्यवहार पश्चिम मधेससँग पनि गर्छन् । त्यसले गर्दा केन्द्रप्रति पूर्व मधेस र पश्चिम मधेसको एउटै रहेको पाएँ । दुवैतिरको पीडा एउटै रहेछ । पश्चिमका थारुहरुले त यस्तो भन्न थालेका छन् कि यी नेताहरुले केही गरेनन् बरु राजा हुँदा केही नकेही गरेका थिए । पूर्वी मधेसमा पनि यस्तो भावना कतै नकतै पाए मैले । 

पूर्व मधेस र पश्चिम मधेसले एकअर्कालाई कसरी बुझेका रहेछन् ?

–एक अर्कालाई बुझ्ने कुरामा धेरै फरक छ । जस्तो कैलालीका थारु र पूर्व झापाका राजवंशीबीच कुनै संवाद छैन । कुनै मतलब पनि छैन । कुनै प्रकारको सञ्चार पनि छैन । उनीहरुलाई एकअर्काका बारेमा थाहै छैन । उनीहरु बीच सञ्चारमा, राजनीतिक गतिविधिमा कुनै संलग्नता हुँदैन । सबैल आआफ्नै तरिकाले गरिरहेका छन् । समस्या एउटै हो, लडाइँ एउटै हो भने मिल्नुपर्ने हो नि तर एकअर्काप्रति अनभिज्ञ छन् । 

सरकारी व्यक्तिहरु एक ठाउँबाट अर्को ठाउँमा जान्छन् । हामी जस्ता व्यक्तिहरु केही जानलाई बुझ्नलाई एक ठाउँबाट अर्को ठाउँमा जान्छौँ तर जनता जहाँको त्यहीँ छन् । ती दुई मधेसको बीचमा कुनै संवाद  र भेटघाट पनि छैन । म झापा, मोरङका मान्छे यत्रो देश दुनियाँ देखिसकेको, बुझिसकेको छु तर बल्ल पहिलो पटक कैलाली पुगे ।

त्यहाँका जनता, त्यहाँका समाजलाई बुझ्ने प्रयास गरेँ । मजस्ता व्यक्तिले यस्तो गरेँ भने सर्वसाधारणको अवस्था कस्तो होला, कल्पना गर्नुस् त । जो राज्य संयन्त्रमा छन्, जहाँ पनि जान सक्छन् । एउटा ग्रासरुटलाई अर्को ग्रासरुटसँग मिलाउने काम कुनै सिस्टम नै छैन । 

तपाईंको बुझाईमा पूर्व मधेस र पश्चिम मधेसलाई जाड्ने मध्यम के हुनसक्छ ?

–एकअर्कालाई जोड्ने माध्यम राज्य पुनःसंरचना नै हो । पश्चिम मधेसलाई थरुहट प्रदेश बनाइ दिनुपर्छ । पश्चिम मधेसलाई कोचिला वा अन्य उनीहरुको पहिचानसँग मिल्ने राज्य बनाइ दिनुपर्छ । त्यसपछि मात्र उनीहरुले एकअर्कालाई बुझ्ने प्रयास गर्छन् । जबसँग दुवै ठाउँमा राजनीतिक सशक्तीकरण हुँदैन तबसम्म विचार प्रवाह र सञ्चार प्रवाह हुनसक्दैन । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Jan. 10, 2020, 7:36 p.m. Sanjay Kumar Yadav
    Doctor saheb le garnu bhayeko survey ho. Ramro kura ho. Teti ramro bisleshan lagen. Mehnat garnu bhayo. survey ko result ek dam sano cha. ANYWAY, Ratopati laie Thanks.
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...