शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा निर्वाचन: उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिन्ह प्रदान

शुक्रबार, २५ पुस २०७६, १६ : ५०
शुक्रबार, २५ पुस २०७६

काठमाडौं ।  निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्नुका साथै निर्वाचन चिन्ह प्रदान गरेको छ । आयोगका अनुसार यस निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का १६, नेपाली काँग्रेसका १६, समाजवादी पार्र्टीका ७, राष्ट्रिय जनता पार्टी नेपालका २, नेपाल मजदूर किसान पार्टीका २ र राष्ट्रिय जनमोर्चा पार्टीका २ जना गरी जम्मा ४५ जना उम्मेदवारले भाग लिएका छन् । 

सबै उम्मेदवारहरूलाई सम्बन्धित पार्टीको निर्वाचन चिन्ह प्रदान गरिएको आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।  यसैगरी सातवटा प्रदेशमा महिला समूहतर्फ ७, दलित समूहतर्फ २, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्फ २ र अन्य समूहतर्फ ७ गरी जम्मा १८ रिक्त पदका लागि महिला समूहतर्फ १६, दलित समूहतर्फ ५, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्फ ५ र अन्य समूहतर्फ १९ गरी कूल ४५ जना उम्मेदवार रहेका छन् । 

निर्वाचन आयोगको स्वीकृत भएको कार्यतालिकाअनुसार प्रदेश १ को मोरङ जिल्लाको विराटनगर, प्रदेश २ को धनुषा जिल्लाको जनकपुर, प्रदेश ३ को ललितपुर जिल्लाको ललितपुर, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को दाङ जिल्लाको घोराही, कर्णाली प्रदेशको सुर्खेत जिल्लाको विरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको डोटी जिल्लाको सिलगढीमा निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २५ गते बिहान १०ः०० बजेदेखि दिनको १ः०० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको हो । त्यस्तै पुस २५ गते नै उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको आयोगले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप