शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भिडियो समाचार : नेपाल ट्रस्ट भवन निर्माण कार्य रोक्न अन्तरिम आदेश,  नेकपाले टुंग्यायो प्रदेश ३ को राजधानी विवाद

शुक्रबार, २५ पुस २०७६, १८ : ५५
शुक्रबार, २५ पुस २०७६

काठमाडौं । उच्च अदालत पाटनले यती समूहले दरबारमार्गमा बनाइरहेको भवन रोक्न भन्दै अन्तरिम आदेश दिएको छ । उक्त समूह र नेपाल ट्रस्टले गरेको सम्झौता त्रुटिपूर्ण रहेको भन्दै अदालतले निर्माणधीन भवनको काम रोक्न अन्तरिम आदेश दिएको हो। 

शुक्रबार मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले  अधिवक्ता परिवर्तन राईले पुस २३ मा दर्ता गरेको रिट निवेदनउपर सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको हो।  अदालतले दुवै पक्षलाई माघ १ गते छलफलमा बोलाएको छ। प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विभिन्न मन्त्रालय, नेपाल ट्रस्ट र थामसेर्कु ट्रेकिङ प्रालिलाई पनि प्रतिवादी बनाइएको छ। 

राईले दर्ता गरेको रिटमा मासिक ४ लाख १६ हजार ६ सय रुपैयाँ भाडा पाउने गरी ट्रस्टले ३० वर्षका एक रोपनी १४ आना जग्गा यती एयरलाइन्सको भगिनी संस्था थामसेर्कु ट्रेकिङ प्रालिलाई दिएपछि राज्यलाई पाँच अर्ब नोक्सान हुने दाबी गरिएको छ ।  

प्रदेश –३ 

प्रदेश ३ को नेकपा संसदीय दलले प्रदेश नं ३ को नाम ‘वाग्मती’ र स्थायी राजधानी हेटौँडालाई नै एकमतले पास गराउने निर्णय गरेको छ । पार्टी सचिवालयको निर्णयलाई नै एक भएर पास गराउने निर्णय भएको नेकपा प्रदेश नं ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।

उनले विगतमा प्रदेशसभा सदस्यहरुले आ–आफ्नो हिसाबले मन्तव्य र विचार व्यक्त गरेको भए पनि एक भएर राजधानी र नामकरण टुङ्ग्याउने सहमति भएको बताइन् । दलको निर्णयअनुसार नै मतदान हुने हुँदा ‘ह्वीप’ वा दण्डको डर वा त्रास देखाउने अवस्था नरहेको शाक्यको भनाइ थियो ।

मुख्यमन्त्री डोरमणि पौडेलले संसदमा एउटा मात्र प्रस्ताव लैजाने सहमति भएको जानकारी दिए । राजधानी र नाममा एउटा–एउटा मात्र प्रस्ताव पेश गर्न राखिएको प्रस्ताव सर्वसम्मतरूपमा पास भएको उनले बताए । पुस २७ गते प्रदेश नं ३ ले स्थायी राजधानी मकवानपुरको हेटौँडा र नाम वाग्मती पाउने पौडेलको भनाइ छ ।

विकासलाई विस्तार गर्नुपर्छ भन्ने अवधारणाका साथ र दीर्घकालीन सोचका साथ हेटौँडालाई नै राजधानी र नाम वाग्मती राख्ने निर्णय भएको नेकपा प्रदेश नं ३ का अध्यक्ष नारायण दाहालले जानकारी दिए ।

हेटौँडालाई राजधानी बनाउँदा समृद्ध नेपाल बनाउने अभियानमा धेरै हिसाबले बल पुग्ने र थुप्रै रणनीतिक कारण पनि हेटौँडा उपयुक्त हुने उनको भनाइ छ । 

प्रदेशसभामा नेकपाका ८०, नेपाली काँग्रसका २२, विवेकशील नेपालीका तीन, राप्रपाका एक, राप्रपा (संयुक्त) का एक र नयाँ शक्तिका एक सदस्य छन् ।
यसअघि पार्टी केन्द्रले प्रदेश ३ को राजधानी हेटौंडा राख्न निर्देशन दिएपछि धेरैजसो प्रदेश सांसदले प्रदेशसभाको अधिकारमाथि हस्तक्षेप गरेको भन्दै विरोध जनाएका थिए । 

राष्ट्रियसभा निर्वाचन 

निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्नुका साथै निर्वाचन चिन्ह प्रदान गरेको छ । 

आयोगका अनुसार यस निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का १६, नेपाली काँग्रेसका १६, समाजवादी पार्र्टीका ७, राष्ट्रिय जनता पार्टी नेपालका २, नेपाल मजदूर किसान पार्टीका २ र राष्ट्रिय जनमोर्चा पार्टीका २ जना गरी जम्मा ४५ जना उम्मेदवारले भाग लिएका छन् ।

  
सबै उम्मेदवारहरूलाई सम्बन्धित पार्टीको निर्वाचन चिन्ह प्रदान गरिएको आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।  

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २५ गते बिहान १०ः०० बजेदेखि दिनको १ः०० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको हो । त्यस्तै पुस २५ गते नै उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिएको आयोगले जनाएको छ । 

हिस्टान 

शिक्षामन्त्री गिरीराजमणि पोखरेलले शिक्षाको स्तर शिक्षकको स्तरबाट मापन हुने बताएका छन् । माध्यामिक विद्यालय शिक्षक युनियन (हिस्टान)को राष्ट्रिय एकता महाधिवेशनको उद्घाटन समारोहमा मन्त्री पोखरेलले यस्तो बताए ।

मन्त्री पोखरेलले गुणात्मक शिक्षा दिनसक्ने शिक्षाबिना गुणात्मक शिक्षाको परिकल्पना गर्न नसकिने बताए । देश कता जान्छ भन्ने कुरा शिक्षा कस्तो छ भन्ने कुराले निर्धारण गर्ने र शिक्षा कस्तो छ भन्ने कुरा शिक्षक कस्तो छ भन्ने कुराले निर्धारण गर्ने उनले बताए ।

पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका नेता रामशरण महतले माध्यामिक शिक्षाको पाठ्यक्रम बनाउने अधिकार स्थानीय तहलाई दिनुले बढी अलमल भएको बताए । नेपालमा शिक्षाको क्षेत्रमा विकास भएको कुरा विद्यालय जाने उमेर पुगेका ९८ प्रतिशत बालबलिका विद्यालय जानुले पनि पुष्टि गरेको उनले बताए । 

माध्यामिक विद्यालय शिक्षक युनियन (हिस्टान)को राष्ट्रिय एकता महाधिवेशन शुक्रबारबाट सुरु भएको छ ।


मन्त्री हृदयेश 

सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले भाषाको कुनै भुगोल नहुने बताएका छन् । 

बाह्रखरी बुक्सले प्रकाशित गरेको ‘उत्कृष्ट कथा २०७६’ को हिन्दी अनुवाद ‘उत्कृष्ट कहानियाँ’ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री त्रिपाठीले भाषाको कुनै भूगोल नहुने भएकाले यसलाई कुनै सिमाले नरोक्ने बताए । 

भारतीय दुतावास काठमाडौं र हिन्दी केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयले विश्व हिन्दी दिवसका अवसरमा आयोजना गरेको क्रार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरिएको हो । 
मन्त्री त्रिपाठीले नेपाल एक बहु भाषी बहु सांस्कृतिक र बहु जतिय विभिदता भएको देश भएकाले भाषा र संस्कृतिमा समृद्ध भएको बताए । 

नेपाली साहित्यका शिखर पुरुष विश्वेश्वर प्रसाद कोइरालाको स्मृतिमा स्थापित बीपी कोइराला भारत¬–नेपाल फाउण्डेसनको सहयोगमा उत्कृष्ट कथा हिन्दी भाषामा प्रकाशन गरिएको हो । 

कार्यक्रममा नेपालका लागि भारतीय कार्यबाहक राजदूत डा. अजय कुमारले नेपाल र भारतलाई भाषाले बलियोसँग जोडेको बताए । दुवै भाषाको लिपि देवनागरिक हुन र संस्कृति एउटै हुनु यसको बलियो आधार भएको उहाँले बताए ।

पुष्तक नेपालको भूगोल, भाषाभाषी, संस्कृति र सम्प्रदायको मौलिकता र आञ्चलिकता जोडने संग्रहसमेत भएकाले हिन्दी भाषामा अनुवाद हुँदा नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन टेवा पुग्ने र नेपाली साहित्यको बजार फराकिलो हुने बाह्रखरी बुक्सले जनाएको छ । 

सूचना प्रविधि विधेयक 

सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा नागरिक स्वतन्त्रता कुण्ठित गर्ने मात्र नभई सरकारको आलोचना गर्ने सबैलाई जन्मकैद सम्मको कारबाही गर्ने व्यवस्था रहेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित ‘अभिव्यक्ति स्वतन्त्रता संरक्षणका चुनौतिहरु’ सम्बन्धमा भएको कार्यक्रममा विज्ञहरुले सरकारले नागरिक स्वतन्त्रता हनन गर्ने मात्र नभई अभिव्यक्ति स्वतन्त्रतामाथि समेत नियन्त्रण गर्न खोजेको बताएका हुन् । 

संविधानविद् भिमार्जुन आचार्यले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदबाट पारित भएमा मुलुकमा एउटै कसुर हेर्ने दुई किसिमका अदालत रहने बताए । 

वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले विकास तथा प्रविधि समितिले २६ बुँदामा संशोधन गरेको भन्दै ती विषयमा पनि छलफल चलाइनुपर्ने बताए । उनले दफा ११५ मा सूचना प्रविधि अदालत गठन गर्न सक्ने व्यवस्था संविधानसँग मेल नखाने भएकाले यसमा सुधार गर्नुपर्ने बताए । 

नेपाली कांग्रेसका सांसद बहादुरसिंह लामाले विकास तथा प्रविधि समितिमा आफुहरुलाई प्रयाप्त छलफल गर्न समेत नदिएको बताए ।

छलफलमा अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक हरिबहादुर थापाले अन्य विधेयकहरु लामो समयदेखि अडकिएर बसेको अवस्थामा सरकारको ध्यान सूचना प्रविधि विधेयक हतार हतारमा निर्माण गर्ने तर्फ केन्द्रीत हुँदा नियत नै ठिक नभएको स्पस्ट हुने बताए ।

त्यस्तै वरिष्ठ पत्रकार कनकमणि दिक्षितले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस भित्रको अस्तव्यवस्तताले विधेयक लेखन प्रकृया नै धरापमा परेको र त्यसैको प्रतिफल स्वरुप सूचना प्रविधि विधेयक आएको बताए ।

विज्ञहरुले राज्य विरुद्ध गतिविधि गर्नेलाई कारबाही हुनुपर्ने तर त्यसका लागि छुट्टै अदालत खडा गर्नु लोकतन्त्रको अभ्यास विरुद्ध भएको समेत बताएका छन् । 

उनीहरुले विधेयक पारित भएमा देशमा दुई प्रकारका अदालत र दुई प्रकारका कानून रहने भन्दै चिन्त्ता व्यक्त गरेका छन् । 

ट्राफिक सामग्री 

ट्राफिक प्रहरीलाई विभिन्न ट्राफिक सामग्री हस्तान्तरण गरिएको छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाललाई माइक र स्टप बोर्ड हस्तान्तरण गरेका हुन् । 

मन्त्री मानन्धरले हन्तान्तरण गरिएका सामग्रीहरले ट्राफिक व्यवस्थापनका लागि सहयोग पुग्ने बताए । पैदल यात्रुलाई व्यवस्थित गर्न सकिए सम्पूर्ण ट्राफिक नै व्यवस्थापन हुने बताउँदै मन्त्री मानन्धरले बाटो काट्दा स्टप लेखिएको बोर्ड बोकेर पास गर्नुपर्ने र माइकबाट पनि सन्देश प्रभाह हुने बताए ।

‘पैदाल यात्रुले जेब्रा क्रसिङ वा आकाशे पुलबाट मात्रै बाटो काट्नुहोला, बाटो काट्दा सडकको दायाँबायाँ अनिवार्य हेर्नुहोला’ जस्ता सन्देश माइकमा बज्ने उनले बताए ।

सुरुमा सिंहदरबार र बानेश्वरमा परिक्षणका रुपमा उक्त सामग्रीहरु प्रयोग गरिने छन् । ट्राफिकलाई प्राप्त सामग्रीहरुको भरपुर उपयोग गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालले बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप