शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पञ्च र श्रवणको सांगीतिक धुनमा दर्शक लठ्ठिए

आइतबार, २७ पुस २०७६, १७ : ५८
आइतबार, २७ पुस २०७६

काठमाडौं । अढाइ दशकदेखि जापानमा रहेर ‘चौतारी समूह’  सांगीतिक समूह मार्फत त्यहाँ नेपाली धुन प्रस्तुत गर्दै आएका पञ्च लामा र श्रबण लामाले ललितपुरमा आफ्ना धुनबाट दर्शक लठ्ठ पारेका छन् ।

ललितपुरको जाउलाखेल स्थित डिएभी स्कुलको बुद्ध हलमा शनिबार साँझ यी दाजु भाइले नेपाली मौलिक धुनहरुको सँगीतिक कार्यक्रम ‘चौतारी साँझ’ मार्फत करिब ८ सय दर्श मन्त्रमुग्ध बनाएका थिए । 

आयोजक संस्था चेतना सन्देश नेपालका अध्यक्ष सुरेन्द्र लामाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सुरुवातमा पञ्च लामाको ३५ वर्षीय साँगीतिक यात्राको बारेमा लघु बृत्तचित्र प्रस्तुत गरिएको थियो ।

करिब दुई घन्टाको बसाईमा कार्यक्रममा पञ्च लामाले आफैं सृजना गरेको १६ ओटा सँगीतिक धुनहरु प्रस्तुत गरे  । उनले ती धुन सृजनाको कथा, धुनको मौलिकता र आफ्नो सांगीतिक जीवनको आरोह अबरोहका प्रसंग बाचन सहित धुनहरु प्रस्तुत गरेका हुन् ।पञ्चलाई सो साँगीतिक साँझमा चौतारी व्यान्डका श्रबण लामाले तवलामा, जापानी कलाकार तेराकादो मित्सुगुले गिटारमा, अनुप दासले बेस गिटारमा र शम्भु बानियाँले पर्कसनमा साथ दिएका थिए ।
गोरखाको मनकामना आसपासको धुनलाई समेटेर तयार गरिएको मनकामना धुनबाट पञ्चले सो मौलिक धुन साँझ सुरुवात गरेका थिए । त्यसपछि उनले सपनाको जँगल...र सिन्धुपालचोकको सेलो धुन प्रस्तुत गरे ।

दुई घन्टासम्म चलेको यो साँगीतिक साँझमा पञ्च र श्रबणका मौलिक धुन सुन्न नेकपाका स्थायी समिति सदस्य रघुजी पन्त र जनसाँसस्कृतिक महासंघका संयोजक खगेन्द्र राई, सेक्सोफोन बादक शुभबहादुर सुनाम, सितारबादक डा. धुर्वेसचन्द्र रेग्मीलगायत विभिन्न बाँसुरी बादकहरु कार्यक्रममा सहभागी थिए ।

चेतना सन्देश नेपालद्धारा सर्लाहीको घुर्कौलीमा सञ्चालित द्धन्द्ध पीडित बालगृहका लागि पञ्च लामाले सो कार्यक्रममा ११ लाख २० हजार रुपैयाँको चेक हस्तान्तरण गरे । सञ्चारकर्मी दिनेश डिसीले सहजीकरण गरेको सो कार्यक्रममा बोल्दै चेतना सन्देश नेपाल सञ्चलानमा पञ्च र श्रबण लामाको अतुलनीय योगदान रहेको चेतना सन्देश नेपालकी सदस्य आरती लामाले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप