शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शिकार खेल्ने क्रममा एकको मृत्युबारे नयाँ खुलासा, ९ जना पक्राउ

आइतबार, २७ पुस २०७६, २२ : १६
आइतबार, २७ पुस २०७६

शिकारमा जाँदा आफैँले बोकेको भरुवा बन्दुक पड्किएर मृत्यु भएको भनिएका बागलुङको तमानखोला गाउँपालिका–१ का ओमबहादुर घर्तीमगरको अर्कैले भिरेको बन्दुकको छर्रा लागेर ज्यान गएको खुलेको छ । 

सँगै शिकार खेल्न गएका लोकबहादुर बुढाले बोकेको एकनाले भुरुवा बन्दुक अचानक पड्किँदा ५० वर्षीय घर्तीमगरको ज्यान गएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको हो । छर्रा लागी घाइते हुनुभएका घर्तीमगरको धवलागिरि अञ्चल अस्पताल ल्याउँदै गर्दा बिहीबार राति बाटोमै ज्यान गएको थियो ।

    मृतक घर्तीमगरको पिँडौला र पिँठ्यूमा गरी तीन ठाउँमा बन्दुकको छर्रा लागेको थियो । शरीरको पछाडिपट्टि चोट देखिएपछि आफैँले बोकेको बन्दुक पड्किएर घटना नभएको निष्कर्षमा प्रहरी पुगेको हो । “शवको प्रकृति हेर्दा अरु नै दुर्घटना हो भन्ने लागेपछि थप अनुसन्धान थाल्यौँ”, बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले भने । उहाँले घटनामा नियत नदेखिए पनि कसरी बन्दुक पड्केर घर्तीमगरलाई लाग्यो भन्नेबारे अझै खुलिनसकेको बताए । शव परीक्षणको प्रतिवेदन पनि आउन बाँकी रहेकाले छिट्टै घटनाको थप यथार्थ बाहिर आउने उपरीक्षक भट्टको भनाइ छ । 
    घटनालाई ढाकछोप गर्न कसैलाई थाहै नदिइ घाइतेलाई अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । मृतक घर्तीमगरको शव शनिबार परिवारले बुझी अन्तिम संस्कारसमेत गरिसकेका छन् । मृतक घर्तीमगरका छोरा मेघबहादुरले कर्तव्य ज्यान मुद्दामा जोहेरी दिएपछि शिकार खेल्न गएका बुढासहित नौ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    चार वटा एकनाले बन्दुकसहित मृतक घर्तीमगर, वडा नं. ३ का लोकबहादुर, गाउँपालिका– १ का २५ वर्षीय भेषबहादुर बुढा, ४० वर्षीय खट्केङ दमाई, २० वर्षीय भीमबहादुर नेपाली, ४७ वर्षीय देवबहादुर पुन, ६७ वर्षीय प्रेमबहादुर पुन, वर्ष ३९ का पृथीबहादुर घर्ती, वडा नं ३ का ४४ वर्षीय फर्षबहादुर बुढा र ३५ वर्षीय दुर्गाबहादुर घर्ती स्थानीय सासवाङको जङ्गलमा गत शुक्रबार दिउँसो शिकार खेल्न गएका थिए । 

    प्रहरीसँगको प्राररम्भिक बयानमा आरोपितले बाँदर धपाउन र शिकार खेल्न गएको बताएका छन् । शिकारमा लगिएका चारमध्ये लोकबहादुरले भिरेको बन्दुक मात्र पड्किसकेको अवस्थामा प्रहरीले घटनास्थलबाट बरामद गरेको थियो । बाँकी बन्दुक पृथीबहादुर, दुर्गाबहादुर र खट्केङको घरबाट प्रहरीले बरामद गरेको हो । घरमा भेटिएका तीनै वटा बन्दुक छर्रा भरिएको अवस्थामा रहेको जनाइएको छ ।

    शिकार खेल्न भनी गए पनि कुनै पनि वन्यजन्तुको शिकार गरेको नपाइएको प्रहरीले जनाएको छ । घटनामा संलग्न नौ जना आरोपितसहित बरामद गरिएका अवैध भरुवा बन्दुक, छर्रालगायत बन्दोबस्तीका सामग्री प्रहरीले आइतबार सार्वजनिक गरेको थियो । अदालतबाट म्याद थप गरी आरोपितमाथि कर्तव्य ज्यान एवं हतियार तथा खरखजना मुद्दामा अनुसन्धान चलिरहेको प्रहरी उपरीक्षक भट्टले बताए । 

    अवैध हातहतियार कसुरमा पाँच वर्ष जेल सजायदेखि ५० हजारसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप