बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ज्वाइँलाई छोरा बनाएर भारतीय नागरिकलाई नागरिकता दिइयो, वडाध्यक्षले एक लाख लिएको आरोप

मङ्गलबार, २९ पुस २०७६, १२ : ३३
मङ्गलबार, २९ पुस २०७६

भारतीय नागरिकलाई नेपाली बनाएर नागरिकता दिइएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले छानबिन थालेको छ ।

सर्लाहीको बलरा नगरपालिका वडा नम्बर–८ का वडाध्यक्ष रविकुमार साहको सिफारिश जिल्ला प्रशासन कार्यालयले नागरिकता प्रदान गरेपछि यसबारे उजुरी परेको थियो । त्यसलगत्तै जिल्ला प्रशासन कार्यालयले वडाध्यक्ष रविकुमार साहलाई नियन्त्रणमा लिई यसबारे अनुसन्धान सुरु गरेको हो ।

यस्तो छ घटना विवरण :

सर्लाहीको बलरा नगरपालिका–८ स्थायी बासिन्दा हुन् मोहन ठाकुर । उनका दुई छोरीहरु थिए । जसमध्ये कान्छी छोरी थिइन्, संगीता देवी ।

उनको विवाह भारतको जिल्ला सितामढी थाना मेजरगञ्ज पञ्चायत बलेडा निवासी जामुन ठाकुरसँग भयो । करिब ११ वर्षअगाडि उनीहरुको विवाह भएको स्थानीयले बताएका छन् ।

उनीहरुको साथबाट ३ वटा छोरी र २ वटा छोराको समेत जन्म भइसकेको छ । जामुन बिहार र नेपाल दुबैतिर बस्ने गरेका थिए ।

त्यसपछि जामुन ससुराली घर सर्लाहीमा पनि पटकपटक आएर बस्न थाले । यसैक्रममा २०६९ सालमा तत्कालीन गढैया गाविसमा उनको जन्म दर्ता गराइयो ।

२०६९ साल चैत ३० गते जामुन ठाकुरको नाम परिवर्तन गरी शिवजी ठाकुरको नाममा जन्मदर्ता गराइयो । जन्मदर्ता गराउँदा २०५० साल साउन ९ गते जन्म भएको र बुवाको नाम मोहन ठाकुर तथा आमाको नाम मनतोरिया देवी भनेर राखियो ।

त्यसको ६ वर्षपछि २०७५ साल वैशाख १३ गते उक्त जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि लिइयो । त्यो प्रतिलिपि दिने व्यक्ति थिए २० वर्षदेखि सोही स्थानमा काम गर्दै आएका वडा सचिव सरोज साह । उनलाई परिवर्तित नाम शिवजी ठाकुर को थिए भन्ने कुरा राम्ररी थाहा थियो । तर पनि उनले ती व्यक्तिको जन्मदर्ताको प्रतिलिपि दिन कुनै आनाकानी गरेनन् ।

फोटो : जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि

जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि लिएपछि उनी त्यसलगत्तै नागरिकताका लागि सिफारिश लिन पुगे । वडा अध्यक्ष रविकुमार साहले ‘सर्जमिन मुचुल्का’ तयार पारेर शिवजी ठाकुर उर्फ जामुन ठाकुरको नाममा नागरिकता सिफारिश गरिदिए ।

वडा नम्बर ८ का वडा सदस्य कोमलकुमार ठाकुरका अनुसार वडाध्यक्ष साहलाई पनि जामुन ठाकुर मोहनको ससुरा भएको थाहा थियो । तर पनि उनले नागरिकताका लागि सिफारिश गरिदिए ।

र, त्यही सिफारिशको आधारमा २०७५ भदौ २५ गते भारतीय नागरिक जामुन ठाकुरले शिवजी ठाकुरको नामबाट आफ्ना ससुरा मोहन ठाकुरलाई बुवा बनाएर नेपाली नागरिकता लिन सफल भए ।

२०७५ भदौको उक्त घटनाबारे २०७६ असारमा पोल खुल्यो । मोहन ठाकुरले टोलकै कुनै व्यक्तिलाई ज्वाइँको नागरिकता बनाउन २ लाख रुपैयाँ खर्च भएको बारे बताए, त्यसपछि मात्रै शिवजी ठाकुरको नाममा जारी भएको नागरिकता र वडाको सिफारिशबारे खोजबिन सुरु भयो । त्यसपछि गएको साउन २ गते अख्तियारमा सो सम्बन्धमा उजुरी पर्यो । र, अख्तियारले छानबिन थाल्यो । अनि मात्रै उक्त पत्र जिल्ला प्रशासन कार्यालय हुँदै वडा कार्यालयसम्म आइपुग्यो ।

फोटो : अख्तियारमा परेको उजुरीको प्रतिलिपि

वडा अध्यक्षले १ लाख लिएको आरोप

मोहन ठाकुरले आफ्नो ज्वाईँलाई छोरा बनाएर नागरिकता दिलाउन करिब २ लाख रुपैयाँ खर्च गरेको वडा सदस्य र स्थानीयसँग बताइसकेका छन् । वडा नम्बर ८ का वडा सदस्य कोमल कुमार ठाकुरका अनुसार यसबारे खोजबिन सुरु भएपछि उनले शिवजी भन्ने जामुन ठाकुर आफ्नो छोरा नभएर ज्वाइँ भएको र उनी भारतीय नागरिक भएको बताइसकेका छन् ।

मुखिया (वडाध्यक्ष)सँग कुराकानी गरी अर्को चुनावमा सघाउने र नागरिकता दिलाएवापत २ लाख रुपैयाँसम्म खर्च गर्ने भनी उनले सिफारिश लिएका थिए । त्यसका लागि सिफारिश गर्न वडा अध्श्यक्ष एक्लैले १ लाख रुपैयाँ लिएको मोहनले बताएका थिए ।

वडा अध्यक्ष रविकुमार साहले सर्जमिन मुचुल्का बनाउन पनि आफू अनुकुलकै व्यक्तिहरु प्रयोग गरेका थिए । ‘केही परे म छु,’ भन्दै स्थानीय अनपढ व्यक्तिहरुलाई उक्त सर्जमिन मुचुल्कामा सिफारिश गर्न लगाएको एक स्थानीयले बताए ।

सिफारिश भएपछि जिल्ला प्रशासन कार्यालयले शिवजी ठाकुरको नाममा भारतीय नागरिक जामुन ठाकुरलाई नागरिकता प्रदान गरियो ।

हेर्नुहोस्, जिल्ला प्रशासन कार्यालय सर्लाहीबाछट शिवजी ठाकुरको नाममा जारी भएको नागरिकताको फोटोकपी

जामुन र संगीताको भारतमै मतदाता नामावली

नेपालमा शिवजी ठाकुरका नामबाट नागरिकता लिएका भारतीय नागरिक जामुन ठाकुरको भारतको निर्वाचनमा समेत मतदाता नामावली रहेको पाइएको छ ।

बिहारको बथनाहा मतदान स्थलमा मतदान गर्ने गरी जामुन ठाकुर र संगीता देवीको मतदाता नामावली भेटिएको छ ।

जामुनको आमाको नाम सुमित्रा देवी र बुवाको नाम शंकर ठाकुर रहेको पाइएको छ ।

त्यसैगरी संगिताले पनि भारतमै आफ्नो मतदाता नामावली लेखाएको भेटिएको छ ।

हेर्नुहोस् भारतीय मतदाता नामावलीको सूची

आरोपी फरार

पुस ११ गते जिल्ला प्रशासन कार्यालयबाट चिठी आएलगत्तै ज्वाईँलाई छोरा भनी नागरिकता प्रदान गराउने मोहन ठाकुर, निजकी श्रीमती मनतोरिया देवी र ज्वाईँ भारतीय नागरिक जामुन ठाकुर फरार भएका छन् । प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाउने भएपछि उनीहरु भारतको पञ्जाब पुगेका छन् ।

वडा अध्यक्ष तारेखमा रिहा, विस्तृत छानबिन सुरु

जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीका अनुसार यसबारे बिस्तृत अनुसन्धान सुरु भएको छ । सोमबार मात्रै वडाध्यक्ष रविकुमार साह जिल्ला प्रशासन कार्यालयमा हाजिर भएका छन् र उनले आफ्नो बयान दिएका छन् । बयानमा आफूले केही गल्ती नगरेको र ती व्यक्तिबारे आफूलाई पूर्व जानकारी नभएको तर स्थानीयले सर्जमिन मुचुल्का गरेकाले नागरिकताको सिफारिश गरेको बयान दिएका छन् । त्यसलगत्तै बोलाएको समयमा आउने गरी उनलाई तारेखमा छाडिएको प्रमुख जिल्ला अधिकारी जिसीले रातोपाटीलाई बताए ।

त्यसैगरी सर्जमिन मुचुल्कामा हस्ताक्षर गर्ने स्थानीयलाई पनि म्याद तामेल गरिएको उनले बताए । १५ दिनभित्र हाजिर भएर बयान दिनु भनी म्याद तामेल गरिएको जिसीले बताए ।

भारतीय नागरिक भएको कागजातबारे के भन्नुहुन्छ भन्ने रातोपाटीको प्रश्नमा सिडियो जिसीले यसबारे अनुसन्धान भइरहेकाले थप केही बताउन नसकिने भन्दै मतदाता नामावलीबारे गृह मन्त्रालय हुँदै परराष्ट्र र भारतीय दूतावासमार्फत् आधिकारिकता बारे बुझ्ने काम भइरहेको उनले बताए ।

वडाध्यक्ष भन्छन् : सब झुठ हो, पैसा लिएको छैन

आरोपी मोहन ठाकुरले स्थानीय बासिन्दा र वडा सदस्यसँग पनि ज्वाइँको लागि नागरिकता बनाउन २ लाख रुपैयाँ खर्च भएको र त्यसमध्ये एक लाख रुपैयाँ वडा अध्यक्षलाई मात्रै दिएको भन्दै बयान दिएपछि वडा अध्यक्ष पनि केही दिन सम्पर्कविहीन रहेको एक वडा सदस्यले बताए । तर उम्कन नसकिने अवस्था आएपछि पुस २८ गते जिल्ला प्रशासन कार्यालय पुगेर आफ्नो बयान दिएको र तारेखमा छुटेका छन् ।

‘तपाईंले पैसा लिएर नागरिकताको सिफारिश गरेको कुरा छ, यसमा तपाइँको प्रतिक्रिया के छ ?,’ भन्ने रातोपाटीको प्रश्नमा उनले यो कुरा सतप्रतिशत झुट भएको बताए । उनले भने, ‘मैले जन्म दर्ता प्रमाणपत्र र स्थानीयको सर्जमिन मुचुल्काको आधारमा नागरिकताको लागि सिफारिश गरेको हुँ । मैले कोहीसँग रकम लिएको छैन । यो सरासर झुठो कुरा हो । त्यो कुरा प्रमाणित गर्न सक्नुपर्यो नि !’

‘सर्जमिन गर्नेहरुलाई पनि केही हुँदैन म छु भनेर फकाएको भन्ने आरोप छ नि ?,’ भन्ने रातोपाटीको प्रश्नमा उनले आफूले कसैलाई नभनेको र मोहनले ल्याएको मान्छेबाट नै वडा कार्यालय र प्रहरी कार्यालयमा सर्जमिन गरिएको भन्दै त्यसमा कुनै सत्यता नरहेको जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप