शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

....त्यसपछि राजीनामा दिन्छु : उपसभामुख तुम्बाहाङ्फेको भिडियो अन्तरवार्ता

मङ्गलबार, २९ पुस २०७६, १५ : ४०
मङ्गलबार, २९ पुस २०७६

लामो समयदेखि संसद सभामुखबिहीन छ । सभामुख चयन गनुपर्ने बेलामा सत्तारुढ दलनै आपसी खिचातानीमा रुमल्लिएपछि संसद बन्धक जस्तै बनेको छ । सत्तारुढ दल नेकपाले सभामुख आफ्नो पार्टीबाट बनाउने बताएपनि पात्र चयन गर्न नसक्दा आगामी माघ ६ गतेसम्मका लागि संसद स्थगित गरिएको छ । यसैबीचमा नेकपाले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गर्न गरेको आग्रहलाई उनले टार्दै आएकी छिन् । के उनी राजीनामा नदिने अडानमा रहेकी हुन् या उपयुक्त समयको पर्खाइमा छिन् ? प्रस्तुत छ, तुम्बाहाङ्फेसँग गरिएको कुराकानीको सम्पादित अंशः

अहिले संसदमा एउटा गतिरोध देखिएको छ । तीन–तीन पटकसम्म संसदको बैठक बस्न सकेन । यो कहिलेसम्म रहन्छ ?
अब यो गतिरोध अन्त्य गर्ने अर्थात प्रतिनिधि सभाको बैठक सुचारु गर्ने भन्ने निर्णय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दल, जसको प्रतिनिधिसभामा बहुमत प्राप्त दल छ, उसकै हातमा छ ।

किन रोकिएको छ संसद, बिजनेस नभएर हो या अन्य केही कारणहरु भन्न मिल्छ ?
यसमा बिजनेस हामीसँग छ । प्रतिनिधि सभाको सभामुख पद रिक्त छ । उक्त रिक्त पदलाई परिपूर्ति गर्नको निम्ति निर्वाचन प्रक्रिया अगाडि बढाउनु पर्ने थियो । उक्त निर्वाचन प्रकृया अगाडि बढाउनको निम्ति सत्तारुढ दलले मैले उम्मेदवार बनाउँछु भनेर उसले अगाडि भनेको थिएन र अहिले तीन दिनजति भयो उसले सभामुख पदमा उम्मेदवार बनाउछु भनेको छ । यद्यपि त्यो दलले आफ्नो उम्मेदवार तयार गरेको छैन । जसको कारणले पुस २७ गतेको बैठकलाई पनि केहीदिन पछाडि सारौं भन्ने आग्रह उहाँहरुले गरेपछि बैठक हामीले पछाडि सारेका छौं । अब माघको ६ गते प्रतिनिधि सभाको बैठक छ । सम्भवतः त्यो दिन प्रकृया अगाडि बढ्ने सम्भावना छ । 

संसदको गतिरोध त संसद भित्रैबाट खोल्ने अभ्यास हो । बाहिर आएअनुसार त संसद भन्दा बाहिर कुनै राजनितिक दलको राजनीतिक निर्णयबाट खोल्ने अथवा त्यसको गतिरोध अन्त्य गर्ने भन्ने कुराहरु आइराखेका छन् । यसबारेमा तपाइँलाई कत्तिको जानकारी छ ?
यसमा के हुन्छ भने, संसदभित्र देखिएको गतिरोधलाई अन्त्य गर्नको निम्ति प्रतिनिधि सभाभित्र जुनजुन दलहरुले प्रतिनिधित्त्व गरेका हुन्छन ती दलहरुभित्र कुन विषयमा कसरी गतिरोध भयो भन्ने विषयलाई निक्र्योल गरेर, छलफल गरेर, अन्तरसंवाद गरेर व्यवस्थापन गर्ने कुरा रहन्छ ।

तर अहिलेको विषय फरक हो । किनभने अहिले प्रतिनिधिसभा सभामुख पद रिक्त छ । त्यो रिक्त पदलाई परिपूर्ति गर्नको निम्ति निर्वाचन प्रकृया बढाउनु पर्ने तर अगाडि बढाउनको निम्ति सत्तारुढ दलले उम्मेद्वार दिन्छु भनेर भर्खर घोषणा ग¥यो । अब यो भन्दा अगाडि के गर्छु भनेर त्यो दलले भनेको थिएन । अन्य दलहरुले सभामुख पदमा उम्मेदवार दिएर पनि उसले निर्वाचनमा निर्वाचित हुने सम्भावना कम छ त्यसैले जसले जित्छ त्यो दलले नै उम्मेदवारी दिनुपर्ने हुन्छ र आहिले सम्म दिएको अवस्था थिएन । त्यही कारणले गर्दा हामीले संसद अथवा प्रतिनिधिसभाको बैठकबाट सबैभन्दा पहिला सभामुख पदको निर्वाचन गर्नुपर्ने हो र त्यो प्रकृयालाई अगाडि बढाउनुपर्ने हुन्छ ।  

पछिल्लो समय सञ्चारमाध्यममा आएको प्रशंग नै उल्लेख गर्न चाहन्छु । यसको केन्द्र्रित पात्रको रुपमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पनि राखिएको र राजीनामा मागिएको भन्ने निर्णय नै हामीले पढ्न पायौँ । तपाइँलाई राजीनामा मागिएकोबारे जानकारी छ ?

यहाँले ठीकै कुरा गर्नुभयो । केन्द्रबिन्दुमा अहिलेको प्रतिनिधिसभा जहाँ सभामुख पद रिक्त छ र त्यो भइसकेपछि प्रतिनिधिसभालाई नेतृत्व प्रदान गर्ने र नेतृत्वदायी भूमिकामा बसेर कामकारबाही गर्ने उपसभामुख केन्द्रबिन्दुमा रहने स्वभाविकै हो यसलाई अन्यथा मान्न मिल्दैन र स्वभाविक रुपले संस्थालाई नेतृत्व प्रदान गर्न पर्छ । मैले पनि सञ्चार माध्यमबाट थाहा पाएको नेकपाले राजीनामा दिनको निम्ति निर्देशन जारी ग¥यो भन्ने थाहा पाएको थिएँ । तर यसपछाडि मैले के भनेँ भने म एउटा स्वतन्त्र संस्था, जुन संस्था एउटा देशको तीन प्रमुख संस्थाहरु मध्ये एउटा संस्था व्यवस्थापिका र त्यो व्यवस्थापिकामा प्रमुख पदमा रहेको व्यक्तिले राजीनामा दिएपछाडि दोस्रो तहमा बसेको व्यक्ति जो उपसभामुखले नेतृत्व गरिराखेको छ त्यसलाई कुनै एक दलले नेतृत्वबाट बाहिर जाउ भनेर भन्न संविधानतः मिल्दैन । र म अहिले प्रतिनिधि सभामा बसेर काम गरे पछाडि म एउटा स्वतन्त्र व्यक्ति हुँ । जतिबेला मलाई दलले उम्मेदवार बनाएर म निर्वाचित भएँ त्यसपछाडि मैले दल त्याग गरेको छु । 

कुनैपनि पदमा साधारण सदस्य समेत नरहनेगरी दलबाट बाहिर निस्किएँ । बाहिर निस्किएपछि स्वतन्त्र ढंगले संस्थालाई नेतृत्व गर्नुपर्छ र अहिले पनि गरिरहेको छु । यद्यपी यहाँले जुन जिज्ञासा राख्नु भएको छ आम नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुले यही जिज्ञासा राखेर बसिरहनुभएको मैले अनुभुति गरेको छु । अहिलेको सन्दर्भमा उपसभामुख किन राजीनामा नदिइ बस्यो त ? दलले निर्देशन दिइसक्यो तर अटेर ग¥यो भन्ने पनि सुनेको छु । तर यस कुरामा मेरो कुरा के छ भने यो प्रतिनिधि सभा एउटा संस्था हो र जुन संस्थालाई मैले नेतृत्व प्रदान गरिराखेको छु । नेतृत्व गरिराखेको व्यक्तिलाई कुनै एक दलले राजीनामा दिएर बाहिर निस्क भन्न मिल्दैन र भनेपनि मैले यो संस्थालाई खाली गर्न हुँदैन भन्ने नै हो । 

संविधानले प्रतिनिधि सभालाई कुनै एउटा समयमा रिक्त हुन भनेर कल्पना गरेको छैन । सभामुख वा उपसभामुखले नेतृत्व गरिरहन्छ भनेर नै कल्पना गरेको छ । त्यो परिकल्पनालाई हामीले ग्रहण गर्नुपर्छ । अहिले म उपसभामुखबाट नेतृत्व गरिरहेको छु । जबसम्म दलले आफ्नो उम्मेदवारलाई टुंग्याएर मेरो उम्मेदवार यो हो भनेर अगाडि सार्दैन त्यतिबेलासम्म मैले राजीनामा गरेर प्रतिनिधिसभालाई नेतृत्वविहीन बनाएर छोडने पक्षमा म छैन । किनभने मैले जतिबेला उपसभामुख पदको लागि सपथ लिएको थिएँ, त्यस बेला संविधानलाई टेकेर, संविधानलाई कार्यान्वयन गर्छु भनेर कसैको डर नमानिकन अगाडि बढ्छु भनिकन मैले सपथ लिएको छु । त्यो भनेको के हो भने प्रतिनिधि सभालाई मैले नेतृत्व प्रदान गर्छु जतिवेला सम्म मेरो पद समाप्त नभएसम्म लगातार मैले नेतृत्व प्रदान गरिरहन्छु भनेर म बसेको हुँ । र अहिले पनि त्यहि अवस्थामा छु ।

जसको कारणले गर्दा मैले राजीनामा दिएको छैन र अझैपनि म राजिनामा दिने अवस्थामा छैन । किनभने दलले आफ्नो उम्मेदवार अगाडि बढाएको छैन । यदि दलले आफ्नो उम्मेदवार अगाडि बढाइसके पछाडि मैले प्रतिनिधि सभाको बैठकमा सभामुखको निर्वाचन प्रकृयालाई अगाडि बढाउने सन्दर्भमा केही अगाडि मात्रै मैले राजीनामा गर्छु । त्यो गरिसकेपछाडि उपसभामुख उपसभामुख पद पनि खाली हुन्छ सभामुख पद खाली छँदैछ । अनि निर्वाचन प्रकृया अगाडि बढ्छ । र मैले के सोचेको छु भने संविधानतः पनि मलाई दिइएको जिम्मेवारी मैले पूरा गर्नुपर्छ । मैले पूरा गर्दाखेरि प्रतिनिधिसभा छोटो समय मात्रै नेतृत्वबिहीन रहन्छ । लामो समयसम्म नेतृत्वबिहीन बनाउने पक्षमा छैन किनकी संविधानले रिक्त बनाउनु पर्छ नेतृत्वबिहीन बनाएर जाउ भनेर मलाई भनेको छैन । त्यसैले संविधान यो नेपालमा सबैभन्दा ठुलो हो । संविधानले निर्देशित गरेर राष्ट्र चल्छ, राज्य चल्छ । त्यस मातहत रहेर नै सबै दलहरु चल्नुपर्ने हुन्छ । त्यही आधारमा अहिले मैले प्रतिनिधि सभालाई रिक्त बनाउने अवस्थामा छैन र राजीनामा नदिएको हो ।

एउटा व्यवहारिक नजिर हेर्दा अहिले हटेर जानु भएको सभामुखलाई पनि दलले निर्देशन दियो, उहाँले राजिनामा दिनुभयो अथवा पद त्याग गर्नुभयो । तपाइँलाई पनि त्यसै गरी भनेको छ । त्यही निर्देशन सभामुखलाई लागु हुने तर उपसभामुखलाई लागू नहुने भन्ने हुन सक्छ ?
तपाइँको प्रश्न नै मिलेन । किन मिलेन भने एउटा त्यो विषय अनुसन्धानको क्रममा राखेको अवस्था छ । निवर्तमान सभामुखलाई चार्ज लगाएको सबैलाई थाहा छ । त्यो चार्ज लगाएर दलले सभामुख पदबाट राजीनामा दिएर बाहिर निस्कन निर्देशन दिन सक्ने अवस्था थियो । त्यतिवेला निर्वतमान सभामुखलाई पक्राउ गरिसकेको अवस्था थियो । त्यो घटना फरक हो र अहिलेको घटना फरक छ । निर्देशन पनि कुन प्रशंगमा दिएको भन्ने छुट्याउनुप¥यो नि त । नि वर्तमान सभामुखको सन्दर्भ उहाँलाई चार्ज लगाएको घटना फरक प्रसङ्ग हो । यो विषयलाई धेरै नकोट्याऔँ । त्यतिबेला उहाँलाई निर्देशन दिनु सान्दर्भिक हो । तर अहिले उपसभामुखलाई निर्देशन दिनु गलत हो ।

किन गलत हो भने प्रतिनिधि सभा त एउटा स्वतन्त्र संस्था हो । दल एउटा संस्था हो राजनीतिक दल हो ऐन अनुसार दर्ता भएर चलेको संस्था हो त्यो पनि । पार्टी पनि दर्ता भएर चल्छ, ऐन अनुसार चल्छ । प्रतिनिधि सभा संविधान मार्फत चल्छ । दललाई पनि संविधानले नै हिँडाएको हुन्छ । तर यो संस्था स्वतन्त्र हो । यी दुई संस्था फरक फरक ढंगले चल्ने संस्था हुन् । आफ्नो आफ्नो काम छन् ।  अहिले प्रतिनिधि सभाको उपसभामुख पद रिक्त भएको अवस्थामा प्रतिनिधि सभाको नेतृत्व गरेको व्यक्तिलाई राजीनामा दिएर छोड भनेर निर्देशन दिन मिल्दैन । निर्देशन उपसभामुखलाई दिन मिल्दैन तर सभामुखलाई मिल्यो किन भने उहाँमा त कुनै एक घटना जोडिएको थियो । प्रसंग फरक थियो । फरक प्रसङ्गलाई फरक फरक तरिकाले नै बुझ्न जरुरी हुन्छ ।

अबको सम्भावित उम्मेदवार तपाइँ आफै पनि हो ? यदि तपाई हो भने किन दलले अर्को उम्मेदवार खोज्यो, किन राजिनामा दिन भन्यो र तपाइँलाई स्वीकार गर्न सकेन ?
यसमा राजीनामा किन दिन भन्यो दललाई नै सोध्नुहोला । तर दलले नभनेपनि मैले राजीनामा दिन्छु नै । दलभन्दा त संविधान ठुलो हो । किनभने संविधानको धारा ९१ को उपधारा १ देखि ६ सम्म जाँदा सबै कुरा लेखिएको छ । त्यसमा लेखिएको छ कि प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्छ भनेको छ र त्यसमा एक महिला अनिवार्य भनेको छ । संविधानले बोलिसके पछाडि अहिले संविधानलाई कार्यान्वयन गराउनु पर्ने अवस्थामा पुगेका छौं । सभामुख पद रिक्त छ, म त्यही दलले उम्मेदवार बनाएर उपसभामुख बनेको र अव सभामुख पद सत्ता पक्षले लिन्छु भनेपछि मैले मार्ग प्रशस्त गर्छु भनेको थिएँ र अहिलेपनि भनिरहेको छु ।  दलले राजीनामा देउ नभनिकन पनि मैले दिनुपर्छ ।  संविधानले मलाई भनेको छ नी । संविधानले सभामुख पद सत्ता पक्षले लिन्छु भनेपछि स्वतः निर्वाचन प्रकृया अगाडि बढाउने क्रममा मैले राजीनामा दिन्छु भनेर तयारी अवस्थामा बसेको थिएँ । तर सत्तापक्षले निर्देशन जारी गरेको छ अरे तर त्यो जारी गर्न मिल्दैन ।

अब यदि त्यसो हो भने के कति कारणले तपाइँ सभामुखको लागि योग्य ? दलले किन योग्य देखेन ?
दलले योग्यता किन देखेन भन्ने जवाफ दलसँग नै छ होला । तर म किन योग्य छु भने सन्दर्भमा मैले अहिले उपसभामुख भएर काम गरेको २ वर्ष वित्न लाग्यो । हुन त म प्रतिनिधि सभामा आएको पहिलो पटक नै हो । मैले पहिले उपसभामुख बन्न जान्न भनेकै हो दललाई । तर जानुपर्छ भनिसके पछाडि नोमिनेसन गर्न एकदम छोटो समय थियो र नोमिनेसन गरेँ र उपसभामुख निर्वाचित भए । आफ्नो इच्छा नहुँदा नहुँदै त्यो गरिएको थियो । त्यो किन गरियो भने आवश्यकता परेछ । मेरो इच्छाले उपसभामुख बनेको होइन म यो कुरा फेरि दोहो¥याउँछु । आवश्यकता प¥यो भनेर पार्टीले भन्यो म तयार भएँ । अहिले पनि मेरो इच्छा होइन तर आवश्यकता हो । आवश्यकता कसरी हो भने सभामुख जो निवर्तमान सभामुख हुनुहुन्थ्यो उहाँ कुनै एक घटना संग जोडिनुभयो उहाँ निस्किनुभयो ।

 उहाँले यहाँबाट राजीनामा गरेपछाडि उपसभामुख मैले केही बद्मासी काम त गरेको छ छैन । मैले पाँच वर्ष काम गर्न पार्टीले पठायो २ वर्ष बित्यो, अब ३ वर्ष बाँकी छ । अबको तीन वर्ष पूरा गर्न मैले किन नपाउने ? म उपसभामुख भएर काम गरिराखेको छु मैले कुनै फट्याइँ त गरेको छैन बदमासी गरेको छैन, यौन दुराचार गरेको छैन, भ्रस्टाचार गरेको छैन भने के चार्ज लगाएर मलाई दलले निकाल्छ मिल्छ ? यो कारणले गर्दा म सभामुख पदको दावेदार हुँ । यो स्वभाविक हो नी उपलाई प्रमुख बनाउन नसक्ने के छ त्यस्तो प्रावधान ? संविधानले रोकेको छ ? छैन । क्षमताको हिसाब गर्नुहुन्छ भने पनि क्षमतामा पनि कुनै कमि छैन भन्ने पनि हो । त्यसैले सभामुख पदको दावी गर्नु त अनौठो मान्नु पर्दैन स्वभाविक नै हो ।

अनि सभामुख पदको लागि तपाइँलाई दलले योग्य नदेख्ने, दलले उम्मेदवार पनि छान्न नसकेको अवस्थामा संसद कहिले कहिले खुल्छ ? 
संविधानअनुसार प्रतिनिधि सभाको नेतृत्व गर्ने ठाउँमा अहिले म छु । यो अर्थमा यो हिसाबले केन्द्रबिन्दुमा रहनु स्वभाविक नै हो । व्यवस्थापिकाको प्रमुख भूमिकामा रहेको व्यक्तिलाई केन्द्रमा नराखेर कसलाई राख्ने त ? अव संसद कहिले खुल्छ कसरी सुचारु हुन्छ भन्ने सन्दर्भ सबै दलसँग जोडिएको विषय हो । म प्रतिनिधि सभाको उपसभामुख र नेतृत्व गरेको हैसियतले यतिसम्म भन्न सक्छु, दलले आफ्नो निकास निकालेर ल्याउनु प-यो । मैले त दलले लिएर आउँछ र प्रक्रियालाई अगाडि बढाइदिने मैले हिजो पनि भनेको थिए नी ।

त्यसैलाई हेर्दा तपाईले पहिला राजीनामा दिँदा दलहरुलाई अझै सहज हुन्थ्यो की ?
मैले राजीनामा कतिबेला दिन्छु भन्ने कुरा तपाइँलाई बताइसकेँ । संविधानले प्रतिनिधि सभा खाली रहन्छ नेतृत्वबिहीन हुन्छ भनेर परिकल्पना नै गरेको छैन ।  नेतृत्व प्रदान गर भनेर मलाई सपथ खुवाएको छ । मैले संविधानको भावना अनुरुप काम गर्छु भनेर सपथ लिइसकेको छु । काम गरिरहँदा कसैको डर नमानिकन काम गर भनेर मलाई भनेको छ नि त । म किन डराउने, जे सपथ लिएको छु म त्यही काम गरिराखेको छु । 

दलले मैले तयार गरेँ, निर्वाचन प्रक्रिया अगाडि बढाउँदा हुन्छ भनेर जतिबेला म कहाँ सन्देश ल्याउनुहुन्छ त्यसपछि मैले राजीनामा दिन्छु । जसरी पुस २७ गतेको बैठकलाई माघ ६ गते पछाडि सारौं न भनेर नेकपा दलले आग्रह ग-यो । ठिक छ भनेर प्रमुख प्रतिपक्ष दलसँग पनि समन्वय गरेको थिएँ । मैले ५ गते गरौं भन्दा ६ गते गरौं भनेर भन्नुभयो दलहरु सँग समन्वय गरेका हामी काम गर्छौँ । उपसभामुखको हैसियतले मैले त्यो काम गर्छु र गरेँपनि । अब मैले राजीनामा कतिबेला दिन्छु भने दलले उम्मेदवार तयार गरेर ल्याउँछ । बैठक मैले ६ गते १ बजे बोलाएको छु । एक बजे अगाडि हामी बानेश्वरमा हुन्छौं । त्यतिबेलासम्म मैले सबै तयार गरेको हुन्छु त्यसपछि बैठकको अध्यक्षता जेष्ठ सदस्यले गर्नुहुन्छ । उहाँलाई मैले मेरो राजिनामा बुझाउँछु । उहाँले बैठकको अध्यक्षता गर्दा उहाँले पढेर सुनाउनुहुन्छ र त्यसपछि म सांसद मात्र रहन्छु । 

यो पनि....​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप