बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रिय सभा चुनावका लागि प्रदेश २ मा मत तानातान, घेराबन्दीमा राजपा

मङ्गलबार, २९ पुस २०७६, १६ : ५८
मङ्गलबार, २९ पुस २०७६

काठमाडौं । माघ ९ गते हुने राष्ट्रिय चुनावका लागि प्रचार प्रसार शुरु भएको छ । उम्मेदवारहरुले प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई घरमै पुगेर भेट्न थालेका छन् । 

अरु प्रदेशको तुलनामा प्रदेश २ मा अलि बढी नै चहलपहल देखिन्छ । दुई छुट्टाछुट्टै चुनावी गठबन्धन रहेको प्रदेश २ मा उम्मेदवारलाई जिताउनका लागि दलहरु दौडधूपमा लागेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टीको एउटा गठबन्धन छ भने काँग्रेस र समाजवादीको अर्को गठबन्धन रहेको छ । 

मतसंख्याको हिसाबले नेकपा र राजपाले जित्ने सुनिश्चित छ । तर काँग्रेस र समाजवादी गठबन्धन राजपा र नेकपाको मत तान्ने प्रयासमा लागेको छ । ती गठबन्धनका नेताहरु नेकपा र राजपाबाट असन्तुष्ट रहेका नेताहरुलाई भेटेर मत तान्ने प्रयासमा छन् । मत तान्नका लागि रणनीतिक रुपमा समाजवादीले राजपा नेपालका उम्मेदवार मृगेन्द्रकुमार सिंहको भाइ अनिरुद्र सिंहलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको छ । 

राजपा नेपालको मत तान्ने सम्भावना यहाँबाट पनि देखिन्छ । राजपा नेपालले सप्तरीकै दुईजनालाई राष्ट्रिय सभाको उम्मेदवार बनाउँदा सो पार्टीभित्रका अन्य नेताहरु असन्तुष्ट छन् । राष्ट्रिय सभा सदस्यका लागि जजसले प्रयास गरिरहेका थिए, तिनीहरु असन्तुष्ट रहेका छन् । र, त्यो असन्तुष्टिको फाइदा समाजवादी लिने प्रयासमा समाजवादी पार्टी छ ।

खासगरि, राजपा नेपालमा रहेको पूर्वतमलोपा खेमाका नेताहरु बढी असन्तुष्ट छन् । उनीहरुको सम्पर्कमा समाजवादी तथा काँग्रेस गठबन्धन गइरहेको छ । 

तर राजपा नेपालका महासचिव मनिष सुमन भने गठबन्धन एकढिक्का भएर चुनावी अभियानमा होमिएको बताए । अहिले उम्मेदवारहरु मत माग्न र प्रचार प्रसार गर्न व्यस्त रहेको बताउँदै उनले अरु अर्को गठबन्धनका नेताहरु आफूहरुको सम्पर्कमा आउन थालेको  दावी गरे । 

उनले भने, ‘चुनावमा भोटको दलाली गर्ने व्यक्तिहरु राजपा र नेकपा गठबन्धनविरुद्ध लागिपरेका छन् । विभिन्न लोभ प्रलोभन दिइरहेका छन् तर त्यसले कुनै असर पर्दैन ।’ 

राष्ट्रिय सभा सदस्यका गैरउम्मेदवारहरु अहिले बढी क्रियाशिल भएपनि राजपा नेपालसँग रहेको ७६ वटा भोट कुनै पनि हालतमा यताउति नहुने उनले बताए । 

केहीदिन पहिले समाजवादी पार्टी प्रदेश २ का अध्यक्ष विजय यादवले  एउटा गोप्य बैठक गरेका थिए । उनी प्रदेश २ सरकारमा आर्थिक मामिला मन्त्री समेत हुन् । उनले आफ्नो पार्टीलाई मत दिने उम्मेदवारलाई वजेट दिने आश्वासन दिएको बताइएको छ । 

 बैठकमा सहभागी एक नेताले भने, ‘मन्त्रीजी (विजय यादव) ले कति बजेट चाहिन्छ म दिन्छु तर समाजवादी र काँग्रेसको उम्मेदवारलाई जिताउनुस् भन्नुभएको छ । तर त्यसबेला कोही केही बोलेनन् । र, मुखमै हुँदैन भन्न नमिलेको कारण विचार गर्छु भनेर पन्छिए ।’

त्यस्तै, वर्दिवासमा प्रदेश २ काँग्रेसको बैठक बसेको थियो । सो बैठकमा गठबन्धनका नेताहरुले राजपा र नेकपाका मत कसरी चोर्ने भनि योजनाहरु बनाएका थिए । 

समाजवादी र काँग्रेसको चहलपहल देखिदा राजपा–नेकपा गठबन्धन त्यसमा पनि राजपा पनि चनाखो बनेको छ । राजपा–नेकपा गठबन्धनका नेताहरुले नियमित आफ्ना मतदाताको सम्पर्कमा रहेका छन् । 
मत तलामाथि नहोस् भनि मतदातामाथि कडा निगरानी बढाइएको छ । 

यहाँसम्म कि मतदाताहरु यताउति नहुन् भनेर मतदाता प्रशिक्षणको नाममा राजपाले सम्पूर्ण मतादातालाई माघ ७ गते महोत्तरीको पावन मिथिला होटलमा बोलाएको छ । त्यो प्रशिक्षण दुईदिनसम्म चल्ने छ । मतदातालाई ७ र ८ गते दिनभरि होटलमा राखेर प्रशिक्षण दिइनेछ र चुनावको दिन विहानै एउटा बसमा हालेर जनकपुरको बुथमा लग्ने तयारी रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप