शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्यान्सर अस्पतालको विकासमा चीनको सहयोग हुन्छ: चिनियाँ राजदूत

मङ्गलबार, २९ पुस २०७६, १८ : ३३
मङ्गलबार, २९ पुस २०७६

चितवन । नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपालको स्वास्थ्य क्षेत्रमा चीन सरकारको सहयोग निरन्तर रहने बताएकी छिन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आज चिनियाँ मेडिकल सहयोगको २०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी दिनमा अस्पतालको स्तरोन्नति र विकासमा सहयोग गर्न चीन दृढ रहेको बताएकी हुन् ।

चीन सरकारले अस्पताल बनाउन सहयोग गरेको र त्यसपछि निरन्तर सहयोग गर्न पाएकामा खुशी प्रकट गर्दै उनले नेपाली जनतालाई अर्बुद रोगको उच्चस्तरको उपचार दिन चिनियाँ चिकित्सक समूह सँधै प्रतिबद्ध भएको बताइन् ।  अस्पताल स्थापनापछि चिनियाँ चिकित्सक समूहलाई अस्पतालका चिकित्सक कर्मचारीले गरेको सहयोग र समन्वयप्रति उनले आभार प्रकट गरिन् । सो अवसरमा राजदूत होउले अस्पताललाई भिडियो एक्सरे र  शल्यचिकित्सा उपकरण तथा अर्बुदरोगीलाई आवश्यक पर्ने औषधि उपलव्ध गराएकी थिइन् ।  

कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा.विजयचन्द्र आचार्यले अस्पतालको अहिलेको अवस्था र भावी योजनाबारे जानकारी दिँदै चिनियाँ सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।  वि.सं २०५७ देखि सञ्चालनमा आएको सो अस्पताल चीन सरकारले निर्माण गरेको हो । अस्पतालका उपनिर्देशक डा.निर्मल लामिछानेका अनुसार अस्पताल स्थापना भएयता निरन्तर रुपमा १४  चिनियाँ चिकित्सक र दुई सहयोगी यहाँ रहँदै आएका छन् । उनीहरुको तलबभत्ता चीन सरकारले बेहोर्दै आएको छ ।

शुरुमा एक सय श्यया रहेको क्यान्सर अस्पतालमा हाल ४५० श्यया छ । गत वर्ष एक लाख ३१ हजार बिरामीले अस्पतालबाट सेवा लिएका थिए । अस्पतालमा उपचारका लागि नेपाल र भारतका सीमा क्षेत्रबाट बिरामी आउने गर्छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप