बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चीनलाई ताइवानको चेतावनीः हमला गरे निकै महँगो मूल्य चुकाउनु पर्ने

बुधबार, ०१ माघ २०७६, ०८ : १०
बुधबार, ०१ माघ २०७६

ताइवानकी राष्ट्रपति साई इंग–वेनले बीबीसीलाई दिएको अन्तर्वार्तामा चीनले ताइवानलाई हमला गरे निकै महँगो मूल्य चुकाउनुपर्ने चेतावनी दिएकी छिन् । उनले अब चीनले ‘वास्तविकताको सामना’ गर्नुपर्ने र ताइवानलाई ‘इज्जत’ गर्नुपर्ने पनि बताएकी छिन् ।

डेमोक्रेटिक प्रोग्रेसिव पार्टीकी साई इंग–वेनले शनिबार आएको नतिजामा भारी मतले जीत हासिल गरेर पुनः ताइवानकी राष्ट्रपति छानिएकी छिन् । आफ्नो चुनावी अभियानमा उनले चीनको खतरामाथि मानिसहरुको ध्यान केन्द्रित गर्ने विशेष कोसिस गरेकी थिइन् ।

चीनको सत्ताधारी कम्युनिष्ट पार्टीले ताइवानमाथि लामो समयदेखि आफ्नो अधिकारी जताउँदै आएको छ । कम्युनिष्ट पार्टीले आवश्यक पर्दा ताइवानलाई बलपूर्वक सम्मिलित गर्ने अधिकार आफूसँग भएको बताएको छ ।

यस्तै, साई ईंग वेनले ताइवानको सम्प्रभुतासँग कुनै पनि स्थितीमा सम्झौता गर्न नसकिने बताउँदै आएकी छिन् ।

६३ वर्षीया वेनले बीबीसीसँगको विशेष कुराकानीमा भनेकी छिन्, ‘ आफूलाई एक स्वतन्त्र देशको रुपमा घोषणा गर्न हामीलाई आवश्यक छैन । हामी पहिलादेखि नै एक स्वतन्त्र राष्ट्र हौं र आफूलाई रिपब्लिक अफ चाइना, ताइवान भन्छौं ।’

दोस्रोपटक चुनाव जितेपछि यो वेनको पहिलो अन्तर्वार्ता हो ।

‘लगातार धम्की बढाउँदै छ चीन’

वेनले जे जस्ता कुरा भनेकी छिन् त्यो पक्कै पनि चीनको पक्षमा छैन । चीनले सधैं ‘एक चीन नीति’ कायम होस् भन्ने चाहन्छ । राष्ट्रपति चुनावमा वेनका मुख्य प्रतिद्वन्द्वी खान ग्वो यी र उनको पार्टी कुओमिनटांग पनि एक चीन नीतिका समर्थक हुन् ।

चीनले एउटा मात्रै चीनियाँ सरकार भएको बताउँदै आएको छ र यो धारणालाई कूटनीतिक रुपमा स्विकार गर्नुलाई एक चीन नीति भनिन्छ । सजिलो भाषामा भन्ने हो भने एक चीन नीतिलाई स्विकार गर्नुको अर्थ ताइवानलाई एक भिन्न देश नभई चीनको नै हिस्सा ठान्नु हो ।

साई इंग–वेन चीन र ताइवानबीचको अहिलेको स्थितीलाई समर्थन गर्छिन् र चीनसँग नजिकको सम्बन्ध कुनै पनि अवस्थामा स्विकार्न चाहन्नन् । उनी हङ्गकङ्गको लोकतन्त्र समर्थक प्रदर्शनकारीहरुको पक्षमा छिन् ।

वेन भन्छिन्, ‘मेरो जीतले ताइवानका मानिसहरुमा एक चीन नीतिका लागि समर्थनको भावना निकै कम छ भन्ने कुरा स्पष्ट रुपमा देखाउँछ ।’

उनी थप्छिन्, ‘स्थिती अब फेरिएको छ । चीन पनि परिवर्तन भएको छ । हामीले राम्रोसँग देखिरहेका छौं कि चीनले पछिल्लो तीन वर्षदेखि आफ्नो धम्की कसरी बढाउँदै आएको छ । उसले ताइवानमा आफ्नो एयरक्राफ्ट र युद्ध जहाज पठाइरहेको छ । यसबाहेक हङ्गकङ्गमा जे भइरहेको छ, त्यसले मानिसहरुलाई चीनको तर्फबाट आइरहेको धम्की वास्तविक हो र त्यो दिनप्रतिदिन गम्भीर हुँदै गइरहेको छ भन्ने कुरा महसुस गराइरहेको छ ।’

‘ताइवानको हित वास्तविकताको सामना गर्नुमा नै छ । विशेषगरी ती ताइवानी युवाको इच्छा र सपना बुझ्नुमा छ, जो आफ्नो भोटमार्फत् मसम्म आइपुगेका छन्,’ वेनले भनिन् ।

‘चीनले ताइवानको इज्जत गरोस्’

वेनले भनिन्, ‘हाम्रो भिन्नै पहिचान छ र हामी अलग देश हौं । यदि यसविरुद्ध कुनै अर्को विचार उठ्छ भने यहाँका युवाले विरोध गर्नेछन् । उनीहरुले कुनै पनि हालतमा यसलाई स्विकार्न सक्दैनन् । हामी एक सफल लोकतन्त्र हौं, हामी निकै राम्रो अर्थ व्यवस्था हौं र हामी चीनको सम्मानको लायक पनि छौं ।’

साई इंग–वेनका आलोचकले उनलाई अनावश्यक रुपमा विरोधी व्यवहार अपनाएको र खुलेआम दुश्मनीको खतरा बढाएको आरोप लगाउने गर्छन् ।

यद्यपि, वेनले आफ्नो व्यवहारमा नियन्त्रण देखाएको बताएकी छिन् । उदाहरणका लागि उनले ताइवानलाई औपचारिक रुपमा स्वतन्त्र राष्ट्र भएको घोषणा गरेकी छैनन्, न उनले संविधानमा कुनै परिवर्तन गरेकी छिन् न त झण्डामा फेरबदल गरेकी छिन् ।

यता चीन ताइवानको तर्फबाट यस्तो कुनै पनि कदमलाई आफूले सैन्य कारवाहीको कारण मान्ने चेतावनी दिएको छ ।

वेनले भनिन्, ‘हाम्रा अघिल्तिर धेरै नै दबाब छन् । तर पछिल्लो तीन वर्षभन्दा धेरै समयदेखि हामीले चीनलाई यथास्थिती बनाइराख्नु नै हाम्रो रणनीति भएको जानकारी दिइरहेका छौं । मलाई लाग्छ चीनका लागि यो निकै मैत्रीपूर्ण व्यवहार हो ।’

ताइवानमाथि हमला भए ठूलो मूल्य चुकाउनुपर्नेः

वेन चीनसँगको कुराकानीको लागि तयार भएको बताउँछिन् तर उनको जीतपछि चीनले ताइवानमाथिको दबाब बढाउन सक्छ भन्ने कुरा पनि उनलाई राम्रोसँग थाहा छ ।

यी सबै कुरालाई ध्यानमा राखेर उनी ताइवानको व्यापारिक सम्बन्धमा विविधता ल्याउन र यसको अर्थव्यवस्थालाई बलियो बनाउने कसरतमा छिन् । यसका लागि वेन चीनमा कारखाना बनाउने लगानीकर्तालाई ताइवान फर्कनका लागि प्रोत्साहित गरिरहेकी छिन् ।

उनी भन्छिन्, ‘तपाईं कुनै पनि समयमा युद्धको आशंकालाई अस्विकार गर्न सक्नुहुन्नँ । कुरा यतिमात्रै हो कि तपाईंले आफूलाई तयार बनाउनुपर्छ र आफ्नो रक्षा गर्ने क्षमताको विकास गर्नुपर्छ ।’

के ताइवान यसको लागि तयार छ ?

यो प्रश्नको जवाफमा वेन भन्छिन्, ‘आफ्नो क्षमतालाई बलियो बनाउनका लागि हामी पूर्ण रुपमा प्रयास गरिरहेका छौं  र यसको अत्यधिक कोसिस पनि । चीनले ताइवानमाथि हमला गरे ठूलो मूल्य चुकाउनुपर्नेछ ।’

जोन सडवर्थ /बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप