बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ५ का मुख्यमन्त्रीसँग चिनियाँ राजदूतको भेट

बुधबार, ०१ माघ २०७६, १२ : ५४
बुधबार, ०१ माघ २०७६

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग बुधबार नेपालका लागि चीनका राजदूत होउ यान्छीले भेट गरेकी छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा राजदूत यान्छीले माघी पर्वको शुभकामना दिँदै प्रदेश ५ ले आर्थिक विकासमा हासिल गरेको उपलब्धिप्रति बधाइ दिएकी छन् । 

मुख्यमन्त्रीले पोखरलेले नेपाल र चीनलाई बौद्ध संस्कृतिले जोडेको चर्चा गर्दै लुम्बिनी दुई देशको सम्बन्धको महत्वपूर्ण माध्यम रहेको बताए । लुम्बिनी र चीनका सम्पदा क्षेत्रको सम्बन्धलाई अझ जीवन्त बनाउने सोचमा आफू रहेको प्रष्ट पार्दै उनले त्यसका लागि आपसमा सहकार्य र सहयोगको खाँचो रहेको बताए ।

उनले प्रदेश ५ र सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम भएको बताउँदै सिचुवानले गरेको कृषिको व्यवसायीकरण र औद्योगिक विकासको अनुभव उपयोगी हुने बताए ।

भेटवार्तामा सिचुवानका गर्भनरलाई प्रदेश ५ भ्रमणको निमन्त्रणा दिएको र त्यसको आवश्यक प्रबन्ध मिलाउन राजदूतलाई आग्रह गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
राजदूत यान्छीले नेपालको विकास प्रयासमा चीन सधैं सहयोगी रहेको चर्चा गर्दै अहिले नेपाल दु्रत विकासको बाटोमा हिँडेको र त्यो प्रयासमा चिनियाँ साथ रहेको  प्रस्ट्याएकी थिइन् ।

उनले केही महिना अघि चिनियाँ राष्टपतिको नेपाल भ्रमण र नेपालका राष्टपति विद्यादेवी भण्डारीको चीन भ्रमणले दुई देशबीचको सम्बन्ध अझ उचाईंमा पुगेको बताएकी थिइन् ।

मुख्यमन्त्रीले पोखरेलले बिआरआई परियोजना अन्तर्गत केरुङ काडमाडौं रेलमार्ग लुम्बिनी ल्याउने योजना पूरा गर्न सक्दा यो क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । 

उनले यो प्रदेशमा रुपन्देहीको मोतीपुर, बाँकेको नौबस्ता र दाङको घोराहीमा ठूला औद्योगिक क्षेत्र बनाउने योजना अघि सारेको र तीमध्ये एउटा चिनियाँ मोडलको औद्योगिक क्षेत्र होस् भन्ने चाहेको बताए । त्यसैगरी, बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालको स्तरोन्नति र सेवा सुधार गर्न लागेको र ती अस्पतालको सुधारमा चिनियाँ अनुभवबाट सहयोग पुग्ने विश्वास पनि उनले व्यक्त गरे ।

लुम्बिनी चिनियाँका लागि आउन चाहने एउटा प्रमुख ठाउँ भएको बताउँदै राजदूत यान्छीले सिचुवानको छेन्दु भैरहवा सिध उडानका लागि सहयोग र अभिप्रेरित गर्ने बताइन् । उनले छेन्दु भैरहवा सिधा उडानले प्रदेश ५ र सिचुवानबीचको सम्बन्ध अझै राम्रो हुने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप