शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खुमलटार–बालुवाटार संवाद नै बन्द

बुधबार, ०१ माघ २०७६, १३ : १७
बुधबार, ०१ माघ २०७६

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र सभामुख चयन प्रक्रिया पेचिलो बनेपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटघाट र संवादको क्रम पातलिन थालेको छ ।

यसअघि दिनहुँजसो भेटवार्ता र छलफल गर्ने ओली र प्रचण्डबीच आइतबारपछि भेटघाट र संवाद नै हुन छाडेको छ । जसले गर्दा नेकपाका लाखौँ नेता–कार्यकर्तामा अन्योल र अनिश्चयको अवस्था पैदा हुनुका साथै पार्टी र संसदका काम प्रभावित हुँदै आएका छन् ।

‘आइतबारपछि नेताहरुबीच गहन छलफल र टेलिफोन संवाद समेत भएको थाहा छैन’, प्रचण्ड निकट एक नेताले भने, ‘अहिले चुपचापकै अवस्था छ ।’

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दुई नेताबीच आवश्यकता परे छलफल र भेटघाट हुनसक्ने प्रतिक्रिया दिए ।

थापाले बुधबार रातोपाटीसँग भने, ‘अहिले भेटघाट र कुराकानीका लागि कुनै समय निश्चित भइसकेको छैन । तर आवश्यकता पर्दा कुरा नहुने भन्ने नै छैन ।’

नेकपाका स्थायी समिति सदस्यसमेत रहेका मणि थापाले सरकारको समेत नेतृत्व गरेको पार्टीका नेताहरुबीचको विवादका कारण पार्टी र संसद दुवैमा नकारात्मक प्रभाव परेको बताए । ‘विवादकै कारण केन्द्रीय कमिटीको बैठक पर सर्‍यो, यो बैठक सरेपछि पार्टीको मुख्य काममा अवरोध हुने नै भयो । उता संसदले सभामुख नपाउँदा नीति निर्माण गर्ने विधेयकहरु अलपत्र परेका छन्’, थापाले भने, ‘यसले पार्टी सरकार र बाह्य जगतमा समेत निराशा बढ्न पुगेको छ ।’


सभामुखमा अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डले फरक फरक व्यक्ति अघि सार्दै आएका छन् । यही क्रममा गत साता अर्का नेता वामदेव गौतमको निवासमा भएको बहुमत सचिवालय सदस्यहरुको ‘जमघट’ले पनि ओली र प्रचण्डबीच भेटघाट र संवादलाई पातलो बनाउन भूमिका खेलेको नेकपाकै नेता कार्यकर्ताको बुझाइ छ । खासगरी भैँसेपाटी जमघटप्रति प्रधानमन्त्री केपी ओली असन्तुष्ट देखिएका छन् । सो जमघट आफ्नाविरुद्ध रहेको उनको बुझाइ छ ।


थापाले नेताहरुलाई देशको भविष्य, नेकपाको भविष्य र जनताको आकाङ्क्षा बुझेर अघि बढ्न सुझावसमेत दिए । ‘देश र जनताको आकाङ्क्षा र भविष्य बुझ्दै उदार हृदयले नेताहरुबीच नयाँ सहमति र सहकार्य गर्न ढिला गर्नुहुँदैन । यदि त्यसो गर्न ढिला भए अस्थिरता बढ्छ र यो बढ्दै गए नेकपा नै दुर्घटनामा पर्नसक्छ । नेकपा दुर्घटनामा पर्नु भनेको राष्ट्र नै दुर्घटनामा पर्नु हो’, थापाको भनाइ छ ।

थापाले सभामुख र एमसीसीमा नेकपाले तत्काल निर्णय गर्नुपर्ने भन्दै त्यसबारे सही निकास निकाल्न ढिला गर्न नहुने बताए ।

दुई नेताबीच सभामुख चयन प्रक्रियामा कुरा नमिल्दा अन्य राष्ट्रिय महत्त्वका विषयहरु समेत ओझेलमा पर्दै आएका छन् । जो नेकपासँग बढी सम्बन्धित छन् ।

नेकपाकै अर्का नेता तथा केन्द्रीय सदस्यसमेत रहेका देवेन्द्र पौडेल विवाद र संवादहीनताको अवस्था लामो समयसम्म नरहने दाबी गर्छन् ।

‘अलिकति विवादजस्तो देखिएको छ । तर संवाद नै नभएको भने होइन,’ पौडेलले भने, ‘कार्यक्रम राखेपछि भेटघाट र संवाद हुन्छ ।’

उनले माघ ६ गतेअघि नै सभामुखबारे निर्णय गर्नुपर्ने भएकाले त्यसअघि दुई नेताबीच छलफल हुने बताए ।

‘आज माघे सङ्क्रान्ति पनि भएकाले नेताहरु आआफ्नै कार्यक्रममा व्यस्त हुनुभएको हुनसक्छ । सायद भोलिबाट संवाद र भेटघाट चल्छ ।’

पौडेलले नेताहरुबीचको विवादले पार्टीका महत्त्वपूर्ण निर्णयहरुमा ढिलाइ भएको भने स्वीकार गरे ।

‘विवाद भएपछि त्यसको प्रभाव पर्ने कुरा त स्वाभाविक हो । त्यो देखिएकै छ’, पौडेलले भने ।

सभामुखमा अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डले फरक फरक व्यक्ति अघि सार्दै आएका छन् । यही क्रममा गत साता अर्का नेता वामदेव गौतमको निवासमा भएको बहुमत सचिवालय सदस्यहरुको ‘जमघट’ले पनि ओली र प्रचण्डबीच भेटघाट र संवादलाई पातलो बनाउन भूमिका खेलेको नेकपाकै नेता कार्यकर्ताको बुझाइ छ । खासगरी भैँसेपाटी जमघटप्रति प्रधानमन्त्री केपी ओली असन्तुष्ट देखिएका छन् । सो जमघट आफ्नाविरुद्ध रहेको उनको बुझाइ छ ।

‘त्यो घटनापछि एकले अर्कालाई हेर्ने दृष्टिकोणमा फरक आएको हो कि ? या आशङ्का पो गरिएको हो कि भन्नेजस्तो देखिएको छ’, नेकपाका एक सचिवालय सदस्यले भने, ‘तर त्यस्तो अवस्था धेरै रहनुहुन्न ।’

सोमबार नेकपाको भ्रातृ संस्था अनेरास्ववियुको एकता भेलामा समेत दुवै अध्यक्ष उपस्थित नभएर महासचिव विष्णु पौडेलले सम्बोधन गरेका थिए ।

दुई नेताहरुबीच संवाद र भेटघाट नै हुन छाडेपछि सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) तथा बेपत्ता पारिएकाहरुको छानबिन आयोगलाई पूर्णता दिने काम, नेकपाको केन्द्रीय समितिका एजेन्डा तय तथा पोलिटब्युरो गठन र एमसीसीबारे छलफल अघि बढ्न सकेको छैन ।

यही अवस्थामा मङ्गलबार चितवन पुगेका अध्यक्ष प्रचण्डले राष्ट्रिय राजनीतिमा केही जटिलता देखिन लागेको सङ्केत गरेका थिए । 

‘केन्द्रीय राजनीतिमा जटिलता देखा पर्न खोज्छन् कहिलेकाहीँ । तिनलाई समाधान गर्न लगातार छलफल गर्नुपर्ने थियो । मलाई नेताहरुले, साथीहरुले यस्तो बेलामा बाहिर नजान भनिराख्नुभएको थियो । तर मैले माडी दुई घण्टाका लागि जाने नै भएँ भनेर आएको हुँ,’ प्रचण्डले भनेका थिए । यद्यपि उनले कस्तो जटिलता भन्ने विषयमा भने केही खुलाएका थिएनन् । उनी फर्किएपछि पनि ओली र प्रचण्डबीच भेटघाट र छलफलका लागि समय जुर्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप