मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

गोरु जुधिरह्यो, दर्शक चिच्याइरहे : तस्बिरमा हेर्नुहोस् नुवाकोटको गोरुजुधाई

बुधबार, ०१ माघ २०७६, १७ : २१
बुधबार, ०१ माघ २०७६

नुवाकोट । नुवाकोटको तारुकामा विगतका वर्षहरुमा झै यसवर्षपनि गोरु जुधाएर रमाइलो गर्दै माघेसंक्रान्ति पर्व मनाइएको छ । 

पछिल्लो एक दशकयता तारुकाको गोरुजुधाइ प्रतियोगिता चर्चित बन्दै गएको छ । यही गोरुजुधाइ प्रतियोगितामा हेर्नकै लागि काठमाडौँसहित विभिन्न जिल्लाबाट मानिसहरु पुग्ने गरेका छन् । 

बुधबार स्थानीय चन्दनीस्थित मैदानमा आयोजित गोरु जुवाइ प्रतियोगितामा यसवर्ष २२ हल गोरु जुधाइएको माघे संक्रान्ति गोरु जुधाइ मेला आयोजक समितिले जनाएको छ । 

कतिपयले पशुलाई जुधाएर रमाइलो गर्नु गलत भन्दै आलोचना गरेपछि यहाँको रौनक भने बेग्लै थियो । गोरु जुध्दै गर्दा दर्शकहरु आफूले पक्ष लिएको गोरुको पक्षमा चर्को हुडिङ गर्दै चिच्याउँदै गरेको देखिन्थ्यो । गोरुहरु आपसमा जुधेर हारजित हुँदा दर्शकहरु कोही निराश देखिन्थे त केही आफूले पक्ष लिएको गोरुले जितेको भन्दै उत्साहित देखिन्थे । बलिया बहर गोरु जबरजस्त जुध्दा उपस्थितहरुले भरपुर मनोरञ्जन लिएका थिए । 

नुवाकोट, माघे संक्रान्ति र गोरु जुधाइ प्रतियोगिताको ऐतिहासिक सम्बन्ध रहेको छ ।  नुवाकोट, धादिङ र रसुवामा नेपाल एकीकरण पूर्व नै गोरु जुधाउने प्रतियोगिता हुँदै आएको बताइन्छ। यद्यपी यो चलन कहिलेबाट शुरु भयो भन्ने ठोस इतिहास भने कतै भेटिँदैन । तर इतिहासलाई हेर्दा विसं १९८७ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शम्मशेरले तारुकालाई विर्ता दिएको सन्दर्भसँग यो परम्परा जोडिएको नजिर छ ।

तत्कालीन बझाङी राजा विक्रम बहादुर सिंहका छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामा घर गएको बेला भान्जालाई मनोरन्जन गराउन यस्तो प्रतियोगितको शुरुवात गरिएको पनि बताइन्छ । बाजागाजासहित जयपृथ्वीबहादुर सिंहलाई मनोरन्जन दिन स्वागत सत्कारस्वरुप माघे संक्रान्तिका दिन गोरु जुधाइएको किंवदन्ती छ । र त्यसै दिनदेखि प्रत्यक वर्ष माघे सङ्क्रान्तिका दिन तारुकामा गोरु जुधाइ कार्यक्रम हुँदै आएको भनाइ छ । 
 हाल यो कार्यक्रम तारुकाबाट विस्तारित भएर नुवाकोटकै अन्य स्थान तथा धादिङ र रसुवामा समेत हुँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप