शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अब सिंहदरबार नयाँ ‘लुक्स’मा : राज्यका तीन अंग एकै ठाउँ, पर्खालदेखि गेटसम्म फेरिने

सिंहदरबार सुधार गुरुयोजना तयार हुँदै
बिहीबार, ०२ माघ २०७६, ०९ : ०९
बिहीबार, ०२ माघ २०७६

काठमाडौँ । सरकारले नेपालको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारलाई नयाँ ढाँचामा व्यवस्थित बनाउने तयारी थालेको छ । सिंहदरबारको एउटै घेराभित्र कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका अटाउने व्यवस्थित सिंहदरबार बनाउने तयारी थालिएको सहरी विकास मन्त्रालयका सचिव मधुसुधन अधिकारीले रातोपाटीलाई जानकारी दिए । सिंहदरबारलाई नयाँ स्वरूप दिनका लागि गुरुयोजना तयार हुने क्रममा रहेको उनको भनाइ छ ।

सचिव अधिकारीले भने– ‘सिंहदरबारलाई नयाँ स्वरूप दिने, राज्यका ३ वटै अङ्ग एकै ठाउँमा हुने, व्यवस्थित सिंहदरबार बनाउने गुरुयोजना निर्माणको काम भइरहेको छ । मन्त्रिपरिषदबाट पास भएपछि काम अघि बढ्छ ।’

सिंहदरबार हाताभित्रै सर्वोच्च अदालतको अर्को भवन बनिरहेको छ । नयाँ संसद भवन निर्माण सम्पन्न भएपछि राज्यका ३ वटै अङ्ग सिंहदरबारभित्र रहनेछन् ।

पुतली बगैचामा सङ्घीय संसद भवन निर्माणको काम सुरु भइसकेको छ । आगामी ४२ महिनाभित्र सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभा, राष्ट्रिय सभा, संसद सचिवालयको कार्यालय भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । अहिले संसद भवन निर्माणका लागि ठाउँ सफा गर्ने तथा जग राख्ने काम धमाधम भइरहेको छ ।

संसद भवन बनाउने ठाउँमा रहेको नेपाली सेनाको चण्डी दल गणलाई हालको रक्षा मन्त्रालयको भवनमा सार्ने तयारी भएको छ । एउटै भवनमा रहेको रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषदको कार्यालयलाई नयाँ भवनमा सारिँदैछ । यस्तै सोही स्थानमा रहेको सेनाको ब्यान्ड गुल्मलाई नारायणहिटी सङ्ग्राहालयमा सार्ने तयारी गरिएको छ ।

यस्तै हाल रेट्रोफिटिङको क्रममा रहेको मन्त्रिपरिषदको पुरानो भवनमा काम सकिएपछि मन्त्रालय सार्ने योेजना छ । हाल भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र वन तथा वातावरण मन्त्रालय एउटै भवनमा छ । प्रधानमन्त्रीको कार्यालयमा ठाउँ नपुगेर ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय भवनको भुइतलामा केही कार्यालय सारिएको छ ।

नयाँ संसद भवन बनिसकेपछि हाल संसद सचिवालय रहेको भवनलाई मन्त्रालयमा परिणत गर्ने योजना बनाइएको सचिव अधिकारीले जानकारी दिए ।

सिंहदरबारलाई नयाँ स्वरूप दिन गुरुयोजनाको प्राविधिक काम अन्तिम चरणमा पुगेको सचिव अधिकारीले जानकारी दिए । उनले भने– ‘सिंहदरबारको गेट, पर्खाल सबै नयाँ ढङ्गको हुनेछ । सिंहदरबार हेर्दै अर्को हुनेगरी योजना बनाइरहेका छौँ ।’

पहिलो संसद भवन भत्काइने, स्टेट हल बनाइने

यसैबीच सरकारले नेपालको पहिलो संसद भवन भत्काउने तयारी गरेको छ । राणाशासनका बेला पहिलो संसदको रूपमा भारदारी सभा बसेको र प्रजातन्त्र आइसकेपछि पहिलो संसद बैठक बसेको राणाकालीन भवन भत्काउन लागिएको हो । २०७२ सालको भूकम्पले असर पुर्‍याएपछि सो भवन प्लास्टिकले छोपेर राखिएको छ ।

परराष्ट्र मन्त्रालयले सो स्थानका विदेशी पाहुनालाई स्वागत गर्ने स्टेट हल बनाउन प्रस्ताव गरेको र प्रधानमन्त्री केपी शर्मा ओलीको पनि रुचि रहेका कारण सो स्थानमा नयाँ भवन बनाउने योजना सारिएको छ । कस्तो भवन बनाउने भन्ने बारेमा भने अहिलेसम्म निर्णय भएको छैन । मङ्गलबार बसेको संसदको विकास तथा प्रविधि समितिले पनि अहिले कायम रहेको परम्परागत शैलीमा त्यस्तै भवन निर्माण गर्न निर्देशन दिएको छ ।

यस्तै सिंहदरबार परिसरभित्र रहेका अनावश्यक भौतिक संरचना हटाउने, खुला स्थानमा बगँैचा र पार्किङ क्षेत्र बनाउने सचिव मधुसुधन अधिकारीले जानकारी दिए । सिंहदरबारको गेटदेखि पर्खाल सबै नयाँ स्वरूपमा निर्माण गर्ने तयारी छ । साथै सिंहदरबार प्रवेशका लागि थप अर्को गेट पनि खुलाइने योजना छ ।

पुल्चोक मन्त्री क्वाटर भैँसेपाटी सारिने

मन्त्री क्वाटर पुल्चोकमा रहेका १९ वटा घर भत्काएर त्यहाँ विदेशी अतिथि पाहुना घर बनाउने तयारी छ । त्यहाँ ८ वटा सुविधा सम्पन्न स्टेट गेस्ट हाउस बनाउने योजना छ । यसको अहिले डिजाइनको काम भइरहेको सचिव अधिकारीले जानकारी दिए ।

मन्त्रीहरुको आवास गृहका लागि भैँसेपाटीको खाली जग्गामा नयाँ भवन बनाइँदैछ । अहिले सातवटै प्रदेशका मुख्य मन्त्री र प्रदेश प्रमुखका लागि काठमाडौँ आएका बेला बस्ने र अस्थायी कार्यालय सञ्चालन गर्न भैँसेपाटीमा १४ वटा भवन निर्माणको काम भइरहेको छ ।

 


हेर्नुहोस्, यसरी बन्दैछ नयाँ सङ्घीय संसद भवन (भिडियो) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप