शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा दाउद इब्राहिमको अड्डा, नेपाली नेताहरु पनि दाउदका ‘बिजनेश पार्टनर’ !

पटनामा समातिएका अन्डरवर्ल्ड डनको खुलासा
बिहीबार, ०२ माघ २०७६, १० : ४५
बिहीबार, ०२ माघ २०७६

काठमाडौँ । अन्डरवर्ल्डका डनका रुपमा चिनिँदै आएका दाउद इब्राहिमले पछिल्लो समय काठमाडौँलाईसमेत आफ्नो अड्डा बनाउँदै आएको खुलासा दाउदकै समूहमा काम गरिसकेका एजाज लकडावालाले गरेका छन् ।

नेपालबाटै भारतको पटना पुगेका एजाजलाई केही दिनअघि भारतीय प्रहरीले पक्राउ गरेको थियो । उनीसँग सोधपुछ गरिरहेको भारतीय प्रहरीले दाउदका बारेमा अहम् खुलासा भएको जनाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार एजाजले काठमाडौँमा अड्डा बनाएर दाउदले आफ्नो कारोबार गर्दै आएको बयान भारतीय प्रहरीसमक्ष दिएका छन् । दैनिक जागरण अखबारमा प्रकाशित समाचारअनुसार नेपालस्थित पाकिस्तानी दूतावासका खास अधिकारीमार्फत दाउदले काठमाडौँबाट आफ्नो धन्दा चलाउँदै आएको बयान एजाजले भारतीय प्रहरीलाई दिएका हुन् ।

प्रभात खबर अखबारले जनाएअनुसार एजाजसँग मुम्बई प्रहरी र राष्ट्रिय गुप्तचर एजेन्सीहरुका तर्फबाट पनि सोधपुछ भइरहेको छ । अन्डरवल्र्ड डन दाउद इब्राहिमले नेपालमा विभिन्न कम्पनीमा करोडौं रकम लगानी गरेको जानकारी एजाजले बयानका क्रममा भारतीय प्रहरीलाई दिएको बताइन्छ ।

‘प्रभात खबर’ अखबारको अनलाइन संस्करणमा लेखिएको छ, ‘२००८/०९ देखि नै काठमाडौँमा दाउद कम्पनीको लगानीको सिलसिला सुरु भएको थियो ।’

उक्त समाचारमा लेखिएको छ, ‘नेपालको राजधानी काठमाडौँमा दाउद कम्पनीले करोडौँको लगानी गरेर निकै ठूलो कारोबार खडा गरेको छ, सबैभन्दा ठूलो लगानी इन्फ्रास्टक्चर क्षेत्रमा छ । कयौं कन्स्ट्रक्सन र अन्य कम्पनीमा उसको लगानी छ, यसमा नेपालका कयौँ नेताहरुको पनि पार्टनरशिप छ ।’

भारतीय सञ्चारमाध्यममा छापिएको समाचारको अंश

एजाजले पाकिस्तानको कराँचीमा दाउदको दुई घर रहेको जानकारी दिनुका साथै भारतीय प्रहरीलाई दुवै घरको ठेगानासमेत दिएको बताइएको छ । एजाजका अनुसार दाउदका भाइ अनिश र खास सहयोगी छोटा शकिल पनि दाउदकै घर आसपास बस्ने गरेका छन् ।

भारतीय प्रहरी अधिकारीलाई उद्धृत गर्दै दैनिक जागरणले जनाएअनुसार एजाजसँगको सोधपुछमा दाउदको नक्कली भारतीय नोटको कारोबारबारे अहम् जानकारी हासिल भएको छ ।

एजाज हाल मुम्बई प्रहरीको नियन्त्रणमा छन् । मुम्बई प्रहरीले नै उनीसँग सोधपुछ गरिरहेको छ ।

एजाज कुनै बेला दाउदका खास सहयोगी मानिन्थे । सन् १९९३ मा मुम्बई विस्फोटपछि उनी छोटा राजनसँगै दाउद समूहबाट अलग भएका थिए । केही समय उनी छोटा राजनको समूहमा रहेर काम गरे पनि रकम बाँडफाँडमा मतभेद भएपछि उनले आफ्नै नेतृत्वमा छुट्टै समूह खडा गरी अन्डरवल्र्डमा सक्रिय भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप