शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आस्था राउत प्रकरण : आखिर के भएको थियो प्रहरी चेकिङमा (भिडियोसहित)

शुक्रबार, ०३ माघ २०७६, १४ : ५६
शुक्रबार, ०३ माघ २०७६

कलाकार आस्था राउतमाथि त्रिभुवन विमानस्थलमा भएको प्रहरी चेकिङ र त्यहाँ भनिएको ‘दुर्व्यवहार’को भिडियो सार्वजनिक भएको छ ।

विमानस्थलमा एक महिला प्रहरीले ‘राष्ट्रिय कलाकार’माथि दुर्व्यवहार गरेको र अपशब्द प्रयोग गरेको भन्दै गायिका राउतले केही दिनअघि प्रहरीलाई गाली गर्दै फेसबुक लाइभ गरेकी थिइन् । उक्त लाइभमा गायिका राउतले प्रहरीलाई प्रहरी मेरो साथी भन्ने ‘स्लोगन’ हटाउन भन्दै प्रहरीमाथि खरो टिप्पणी गरेकी थिइन् ।

तर राउतको टिप्पणीमाथि नै धेरैले आपत्ति जनाएपछि राउतले आवेशमा आएर अपशब्द बोलेको भन्दै माफी मागेकी थिइन् । तर पनि उनले साना प्रहरीहरुलाई ‘म्यानर’ सिकाउन भन्दै ठूला प्रहरी अधिकारीलाई ‘सुझाव’ दिएकी थिइन् ।

आखिर आस्था राउतमाथि त्रिभुवन विमानस्थलको सुरक्षा चेकिङमा भएको चाहिँ के थियो त ? रातोपाटीलाई विमानस्थल सुरक्षाको समयमा राउतमाथि भएको के थियो भन्ने भिडियो प्राप्त भएको छ ।

१ मिनेट ४५ सेकेण्ड लामो भिडियोमा सुरुमा आस्था राउत र अर्का एक युवक सँगै आउँछन् । युवक पुरुषको लाइनमा चेकजाँचका लागि जान्छन् भने राउत महिला प्रहरी भएकोतिर आउँछिन् ।

महिला प्रहरी रमिशा श्रेष्ठ चेकजाँचमा थिइन् । राउतको हातमा कफीसमेत थियो । महिला प्रहरीले राउतलाई ज्याकेट खोलेर आउन भन्छिन् । बरु राउतको हातमा रहेको कफीसमेत महिला प्रहरीले लिइदिन्छिन् र टेबुलमा राखिदिन्छन् । त्यसपछि राउत रिसाउँदै बाहिर जान्छिन् र आफ्नो ज्याकेट खोली एक्सरे मेसिनमा राख्छिन् । त्यसपछि राउत प्रहरी चेकिङमा जान्छिन् । महिला प्रहरीले राउतको शरीर खानतलासी गर्छिन् । त्यसपछि पनि राउत रिसाएर आफ्नो ज्याकेट लिन जान्छिन् ।

राउत निस्कन लागेपछि महिला प्रहरीले कफी लैजान भन्छिन् । तर उनी कफी नलिई निस्कन खोज्छिन् । महिला प्रहरी आफैले कफी ल्याएर दिन्छिन् । तर पनि उनी अझै रिसाएर निस्कन खोज्छिन् । त्यसपछि महिला प्रहरीले राउतको ज्याकेट समातेर फेरि पनि कफी लैजान भन्छिन् ।

तर, राउत कफी लैजान मान्दिनन् । त्यसपछि केही समय महिला प्रहरी र राउतबीच कफी टेबलमा सारासार हुन्छ ।

राउतले आफ्नो ज्याकेट लगाउँछिन् र ब्याग बोकेर कफी नलिई जान खोज्छिन् । त्यसै क्रममा राउतले महिला प्रहरीमाथि नै औँला ठड्याएर केही बोल्छिन् । राउतको हाउभाउ हेर्ने हो भने त्यो धम्कीजस्तो देखिन्छ । राउतले औँला ठड्याएर धम्की दिँदा पनि महिला प्रहरी चुपचाप आफ्नो काम गरिरहन्छिन् ।

ज्याकेट लगाइसकेपछि राउत कफी नलिई त्यहाँबाट निस्किन्छिन् ।

भिडियोकै बीचमा हेर्ने हो भने करिब ५ वर्षकी एक बच्चीले आफ्नो ज्याकेट खोलेर एक्सरे मेसिनमा राख्छिन् र शरीर चेकजाँच गराउँछिन् । अनि चेकजाँच सकिएपछि आफ्नो ज्याकेट लगाउँछिन् र बाहिर निस्किन्छिन् ।

विमानस्थलमा यस्तो चेकजाँच सामान्य प्रक्रिया हो । कुनै कलाकार वा ठूला व्यक्तित्व हुँदैमा शरीर चेकजाँच नगर्ने भन्ने हुँदैन । महिला प्रहरीले आफ्नो नियमित काम गरेकी थिइन् ।

प्रहरी स्रोतका अनुसार महिला प्रहरीले नभएर राउतलेचाहिँ महिला प्रहरीमाथि अभद्र व्यवहार गरेकी थिइन् । ‘मलाई चिन्दैन, म को हुँ ? मेरो चेकिङ्ग गर्नुपर्छ र?’ भनेर राउतले उल्टै विवाद गरेको प्रहरीको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप