शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रेल चालक र सहचालकको योग्यता निर्धारण

शुक्रबार, ०३ माघ २०७६, १९ : १४
शुक्रबार, ०३ माघ २०७६

काठमाडौं । नेपालमा रेल चालक र सहचालकको शैक्षिक योग्यता कम्तीमा माध्यामिक तह हुनुपर्ने भएको छ । रेल्वे सेवा सञ्चालनका लागि सरकारले ल्याएको रेल्वे विधेयकमा रेल चालक र सहचालकको शैक्षिक योग्यता कम्तीमा माध्यामिक तह (दश जोड दुई) वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख गरिएको हो । 

विधेयकको दफा २३ उपदफा १ को (क) मा कम्तीमा माध्यमिक तह )दश जोड दुई) वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ । रेल चालकका लागि कम्तीमा कक्षा १२ वा सो सरहको अध्ययन गरेको हुनुपर्ने व्यवस्था रहेको विभागका महानिर्देशक बलराम मिश्रले बताए ।

त्यस्तै, नेपाल रेल्वे बोर्डबाट मान्यताप्राप्त प्रशिक्षण संस्थाबाट रेल चालउन योग्य भएको प्रमाणपत्र प्राप्त गरेको, रेल चालकको हकमा कम्तीमा पाँच वर्ष सहचालकका रुपमा काम गरेको योग्यता तोकिएको छ ।

विधेयकमा चालक र सहचालक दुवैको न्यूनतम र अधिकतम उमेरसमेत उल्लेख गरिएको छ । चालकका लागि २५ वर्ष र सहचालकका लागि २० वर्ष पुग्नुपर्ने तथा ५० वर्ष नपुगेको हुनुपर्ने विधेयकमा उल्लेख छ ।

कुनै पनि व्यक्तिले अनुमति नलिइ रेल चलाउन पाइँदैन । अनुमतिबिना चलाएमा छ महिनासम्म कैद र रु ५० हजारसम्म कैद हुनेछ । रेल चालक वा सहचालक अनुमतिपत्र अरुलाई दिँदा पनि छ महिनासम्म कैद र रु ५० हजारसम्म जरिवाना हुनेछ । उनले भने, “विधेयकमा चालक र सहचालक दुवै हुन योग्य हुनुपर्ने व्यवस्था गरिएको छ ।”

सो विधेयक अहिले राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा पठाउने तयारी भइरहेको छ । विधेयकले रेलको र यात्रुको सुरक्षाका विषयमा पनि उल्लेख गरेको महानिर्देशक मिश्रको भनाइ छ । 

रेल यात्राका क्रममा यात्रुलाई क्षति पुग्दा त्यसको क्षतिपूर्तिको व्यवस्थासमेत विधेयकमा समेटिएको छ । रेलको सुरक्षाका लागि प्रहरी एकाइको व्यवस्था गर्न सकिनेछ । उनले भने, “समग्रमा रेलको भविष्यसम्मको कल्पना विधेयकमा गरिएको छ ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप